बुधबारसम्मको तथ्यांक हेर्ने हो भने यस पटकको बर्षातले एक सय ११ जनाको देहान्त गराइसकेको छ । लगातारको वर्षा र त्यसले निम्त्याएको बाढीपहिरोले यत्तिका जन साथै अकल्पनीय धनको क्षति भइसकेको छ । तराईका कतिपय जिल्ला जलमग्न भएका छन् भने पहाडमा पहिरोले धेरै बस्ती विस्तापित नै गर्नुपर्ने अवस्थामा पुगेकोे छ । यस्तो बेला पानीजन्य रोगले सताउन सक्ने चिकित्सकको भनाइ छ । सहिद शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुन यस्तो समयमा झाडापखालाको जोखिम बढी हुनसक्ने बताउँछन् । सरसफाईको कमी वा दुषित पानी र खानेकुराका कारण मानिसहरुमा झाडापखाला, हैजा, टाइफाइड, आउँ, जण्डिसजस्ता रोगले सताउने उनको भनाइ छ ।
पानीजन्य रोगहरुबाट बच्ने केही उपाय
१. खोला, धारा वा मूलको पानी सिधै पिउनु हुँदैन ।
२. रोगबाट बच्नका लागि शुद्धीकरण गरेको पानी मात्र पिउनुपर्छ । पानीलाई उमालेर, फिल्टर गरेर, पियुष, अक्वाट्याब्स वा अन्य क्लोरिनजन्य औषधि हालेर पानी शुद्धीकरण गर्न सकिन्छ ।
३. अक्वाट्याब्स् पानीमा घोलेर मात्र प्रयोग गर्नुपछ र सो पानीमा हालेको ३० मिनेटपछि मात्र पानी पिउनुपर्छ । अक्वाट्याब्स् यत्तिकै निल्नुहुदैन, यसो गरेमा स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन सक्छ । अक्वाट्याब्स् नभएमा पानी कम्तीमा एक भुल्का उमालेर पिउनुपर्छ जसले गर्दा हानिकारक जीवाणु नाश हुन्छन् ।
४. पिउने पानीलाई सफा भाँडामा छोपेर राख्नुपर्छ र सफा भाँडाले पानी झिक्नुपर्छ ।
पानीबाहेक कतिपय रोगहरु हाम्रै लापरबाहीले पनि लाग्न सक्छ । जसबाट बच्ने उपाय निम्न छन् :
१. रोग लाग्नबाट बच्नका लागि, दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहोर कुरा छोएपछि, खाना खानुअघि र बिरामीहरुको उपचार गर्दा उनीहरुलाई छोएपछि, मिचिमिची साबुन पानीले हात धुनुपर्छ ।
२. बासी र सडेगलेका खानेकुराहरू खानु हुँदैन ।
३. राम्ररी पाकेको खाना खानुपर्छ । खानालाई राम्ररी पकाउनुपर्छ र तातो छँदा नै खाइहाल्नुपर्छ ।
४. खानेकुरा र पिउने कुरामा झिँगा भन्किन नदिन छोपेर राख्नुपर्छ ।
५. खाना पकाएपछि भाँडा राम्ररी माझ्ने÷धुने गर्नुपर्छ ।
६. फलफूललाई सफा पानीले धोएर मात्र खानुपर्छ । सम्भव छ भने फलफूल ताछेर खानुपर्छ ।
७. तरकारी काँचै खानुहुँदैन ।
नवजात शिशुको हकमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । अन्य कुनै थप खाना र पानीसमेत खुवाउनु पर्दैन । ६ महिना पुगेपछि २ वर्षसम्मका शिशुहरूलाई अन्य खानेकुराका साथै आमाको दूध पनि खुवाइराख्नु पर्छ । बिरामी वा झाडापखाला लागेका बालबालिकाको शरीरमा पानीको कमी हुन नदिन आमाको दूध सकेसम्म धेरै पटक खुवाइराख्नु पर्छ । गर्भवती महिला, सुत्केरी आमा र ६ महिना पूरा भएका बालबालिकालाई पटक–पटक खाना र झोलिलो पदार्थ खुवाउनुपर्छ ।
यस्तो समयमा वातावरणीय सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ । जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नु हुँदैन । चर्पीमा मात्र दिसा–पिसाब गर्नुपर्छ । चर्पी उपलब्ध नभए तोकिएको ठाउँमा खाडल खनेर दिसा–पिसाबलाई पुरिदिनु पर्छ । यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ । त्यस्तै शिशु/बालबालिकाको दिसा–पिसाबलाई पनि चर्पीमा हाल्नुपर्छ वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुपर्छ । चर्पी सधैँ सफा राख्नुपर्छ ।
घर वरिपरि सफा राख्नु पर्छ । फोहोरलाई तोकिएको ठाउँमा वा फोहोर फाल्ने भाँडोमा मात्र फाल्ने गर्नुपर्छ । पाल्तु, छाडा जनावरलाई आफू बसेको ठाउँ नजिक आउन दिनु हुँदैन ।
रोगको पहिचान र उपचारः
बारम्बार पातलो दिसा भएमा, बान्ता भएमा, पेट कटक्क काटेमा, ज्वरो आएमा, शरीरमा पानीको मात्रा कम हुने आदि भएमा प्रशस्त झोलिलो खानेकुराहरू तथा पुनर्जलीय झोल पिउनुपर्छ । नजिकको स्वास्थ्यकर्मीको सल्लाहअनुसार बालबालिकालाई जिङ्क चक्की पनि खुवाउनुपर्छ ।
झाडापखाला लागेमा साबिकको खाना खुवाइ राख्नुपर्छ । बिरामी हुँदा भएको कमजोरीबाट तंग्रिनका लागि र कम हुन गएको पोषणको परिपूर्ति गर्नका लागि अरु बेलाभन्दा बढी खानेकुरा दिनुपर्छ ।
तुरुन्त नजिकको स्वास्थ्य संस्था, डाक्टर वा क्लिनिकमा सम्पर्क राख्नुपर्ने अवस्थाहरूः
क. तारन्तार पातलो दिसा भएमा, दिसामा रगत देखिएमा, बिरामीको आँखा गडेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्केमा, शिशु सुस्त भएमा वा मुर्छा परेमा, तारन्तार बान्ता भइरहेमा, ज्वरो आएमा
ख. शिशुलाई २४ घण्टासम्म दिनको ३ पटकभन्दा बढी दिसा लागेमा
ग. ठूला मानिसहरूलाई ३ दिनसम्म ३ पटकभन्दा बढी दिसा लागेमा
पुनर्जलीय झोल तयार गर्ने तरिकाः
एक लिटर वा सो बराबरको ६ चिया गिलासभरि शुद्धीकरण गरेको पानीमा एक प्याकेट पुनर्जलीय झोल बनाउने धुलो हालेर सफा चम्चाले राम्ररी घोल्ने ।
२४ घण्टाभित्रमा बनाएको पुनर्जलीय झोल प्रयोग गरिसक्नु पर्छ । बाँकी भए फालिदिनु पर्छ ।
पुनर्जलीय झोल नजिकको स्वास्थ्य स्वयंसेविका÷स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।
Leave A Comment