सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

बुधबार, १५ बैशाख २०७३, ०६ : १०
सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ। उनको लवाइ पनि फेरिएको छ। वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन्। खासमा उनको भूमिका फेरिएको छ। अभिनेत्रीबाट उनी नेत्री भएकी छिन्। नयाँ शक्तिकी उनी केन्द्रीय सदस्य हुन्। अहिले संगठन निर्माणका लागि नयाँ शक्तिले खटाएका महŒवपूर्ण १० जनाभित्र उनी पनि छिन्। 'नव–नेत्री' करिश्मासँग डिबी खड्काले राजनीति संवाद गरेका छन्ः

एमाओवादी नेता प्रचण्ड 'म करिश्माजीको फ्यान' भन्नुहुन्छ। तपाईं भने डा. बाबुराम भट्टराईको नयाँ शक्तितिर लाग्नुभयो!

प्रचण्डजीले त्यस्तो भनेको मैले पनि सुनेकी थिएँ। भूमिगतकालमै उहाँले त्यस्तो भनेको कुरा भारतको एउटा पत्रिकामा पनि छापिएको थाहा पाएकी थिएँ। उहाँले यसो भनिरहँदा मलाई नेताले कलाकारिता क्षेत्रलाई पनि उत्तिकै महŒव दिएको जस्तो लागेर खुशी भएकी थिएँ। उहाँले मेरो कलाकारितालाई मन पराउनुभयो। मलाई राजनीतिमा बाबुरामजीको सोच मन पर्योल। उहाँको विचारले प्रभावित भएर राजनीतिमा आएँ।

राजनीतिलाई 'डर्टी गेम' भन्छन्। अब तपाईं पनि यो फोहोरी भनिने खेलमा सामेल हुनुभयो है?

कुनै पनि क्षेत्र सफा वा फोहोरी हुँदैन। राजनीति डर्टी गेम हो भन्ने अहिलेसम्म पर्नुको कारण जनताले विकासको आभास गर्न पाएका छैनन्। त्यसैले आफू शक्तिमा पुग्न नेताले खेल्ने फोहोरी खेल भन्ठाने। पार्टीहरूले देशका लागि सोचेनन् भनेर यस्तो भनिएको होला। मैले अहिले आएर डर्टी गेम भनेर भागिरहनु हुँदैन भन्ने ठानेर आफैँ सहभागी भएँ। जेसुकै भने पनि देश चलाउने नेताहरूले नै हुन्। देशको कमान्ड राजनीतिक पार्टीसँगै हुन्छ। त्यसैले यतातिर भएको फोहोर सफा नगरी म रहेको फिल्म क्षेत्रलगायत अन्य क्षेत्र सफा हुँदैनन्। हरेक क्षेत्रलाई दिशानिर्देश राजनीतिले गर्ने भएकाले यसलाई फोहोरी खेल भनेर उम्किन पाइँदैन।

राजनीतिमा कुटिल चाल चल्नुपर्छ, कूटनीति जान्नुपर्छ, जालझेल पनि गर्नुपर्छ। तपाईंलाई त्यसो गर्न कत्तिको आउँछ?

मान्छे सही छ र सही कामका लागि अघि बढिएको छ भने जालझेल चाहिँदैन जस्तो लाग्छ। तर, पक्ष र विपक्ष, हार र जीतजस्ता कुरा राजनीतिमा जोडिने भएकाले जालझेल, कुटिल चाल आवश्यक नै छैन पनि भन्न पन सक्दिनँ। म गर्छु भनेर कोही स्वच्छ मन लिएर अघि बढ्छ भने यस्ता कुराले असर गर्दैन। मैले राजनीतिलाई सेवाका रूपमा लिएकी छु। सेवा गर्यो् भने राजनीति गर्न जालझेल नचाहिएला। स्वतः जनताको 'सपोर्ट' पाउँछु।

जनताका लागि केही गरौँ भनेर भन्ने भावनाले राजनीतिमा आउनुभएको हो कि फुर्सदलाई उपयोग गर्न?

म एकै दिन निर्णय गरेर आएकी होइन। केही वर्षदेखि नै राजनीतिमा आउने सोच थियो। मेरो सोच मिल्ने पार्टी यही समयमा गठन भएकाले यतिबेला आएकी हुँ। एउटा कलाकारका रूपमा मैले जनताको मन–मुटुमा ठाउँ पाइसकेकी छु। त्यसबाहेक खानलगाउनदेखि अन्य केही गरौँ भन्ने इच्छा जाग्यो भने पूरा गर्न नपुग्दो केही छैन। म पहिलेदेखि नै विदेश जाँदा महसुस गर्थें, हाम्रो देशमा चाहिँ किन सिस्टम नभएको? विकास किन नभएको? हाम्रो देशका हरेक व्यक्ति राष्ट्रभक्त छन्। हरेकलाई देशका लागि केही गर्ने चाहना हुन्छ तर त्यो अवसर नै छैन। ममा पनि त्यही चाहना थियो। जनसेवा गरौँ भन्ने थियो। अवसर अहिले मिलेको हो। राजनीति जनसेवाका लागि सही बाटो हुनसक्छ भन्ने महसुस गरेर लागेकी हुँ।

आरोप त 'रिटायरमेन्ट'लाई उपयोग गर्न खोजेको भन्ने छ!

म फिल्म क्षेत्रबाट रिटायर्ड भएकै छैन। फिल्ममा अफर आएसम्मका फिल्म गरिरहेकै छु। कुनै उद्घाटन कार्यक्रममा समेत पारिश्रमिक नलिई जाँदिनँ। म फिल्म मेकिङमा छु। वर्षमा एउटा फिल्म बनाएँ भने पनि मलाई काम पुग्छ। त्यो गरिरहेकी छु। हरेक दिन व्यस्त छु। कसरी रिटायर्ड भएँ? म जे मनैदेखि गरौँ लाग्दैन, त्यो गर्दिनँ। जसले जे भने पनि देश र जनताका लागि काम गर्न पाउँदा खुशी छु।

अहिले तपाईं आबद्ध नयाँ शक्ति नेपालकै खास एजेन्डा छैनन् भने तपाईंका के होलान्?

देशको अवस्था अहिले अन्योलग्रस्त छ। यस्तै अवस्थाको निकास दिन केही सोच आउँछन्। नयाँ शक्ति पनि यही सोचपछि बनेको हो। जनताले अहिले यस्तो अव्यवस्था र अन्योलबाट मुक्त हुने बाटो खोजिरहेका छन् । मलाई पनि यसबाट पार लगाउने वैकल्पिक धार चाहिन्छ जस्तो लागेको थियो। त्यो बाटो नयाँ शक्ति हो । हाम्रो पार्टी यही कारणले बनेको हो। आर्थिक सम्वृद्धि हाम्रो मुख्य एजेन्डा हो।

तपाईंलाई को–को नेत्री मन पर्छन्?

मलाई नेतृत्व तहमा पुगेका हरेक महिला मन पर्छन्। आरक्षण होइन, अधिकार चाहिन्छ भन्ने लाग्छ मलाई। अधिकारको लडाइँ लडेर मात्रै हरेक महिला नेतृत्वमा पुगेका हुन्। एकजना कोही भन्दा पनि सबै नेत्रीलाई म मन पराउँछु ।

नयाँ शक्तिमा लाग्न संयोजक डा. भट्टराईले नै 'एप्रोच' गरेका हुन्?

यो पार्टी गठनअघि संयोजक डा. भट्टराईले सम्पूर्ण क्षेत्रका प्रतिनिधि बोलाएर छलफल गर्नुभएको थियो। उक्त छलफलमा म पनि सहभागी हुन पाएँ। उहाँले म यसरी अघि बढ्न खोजिरहेको छु, के हुन्छ? भनेर सबैसँग सल्लाह गर्नुभयो। उहाँले अघि सार्नुभएको सोच र गर्न खोज्नुभएको काम मलाई मन पर्योि। उहाँको सोचसँग मेरो सोच मिल्यो। त्यसैले म पनि नयाँ सोचसहित देशलाई आर्थिक रूपमा सम्वृद्ध बनाउने अभियानमा सहभागी भएकी हुँ। उहाँले मलाई व्यक्तिगत रूपमा भेटेर एप्रोच गर्नुभएको होइन।

फिल्म क्षेत्रबाट राजनीतिमा आउनुभएको छ। फिल्म क्षेत्र सुधारका लागि पनि केही एजेन्डा छन् तपाईं र तपाईंका पार्टीका?

म फिल्म क्षेत्रबाटै राजनीतिमा आएकी हुँ। फिल्म क्षेत्रले चाहिने जति हक–अधिकार पाएको छैन। फिल्मकर्मी कम राजनीतिमा आए पनि त्यहाँभित्र भने कोही पनि राजनीतिबाट अछुतो छैन, सबैलाई थाहा भएकै कुरा हो। फिल्म क्षेत्रका लागि कसैले केही गर्दैन। एउटा चलचित्र विकास बोर्ड भन्ने फिल्म क्षेत्रका लागि छ तर केही गर्न सकिरहेकै छैन। त्यहाँ आएको बजेट फिल्मको विकासका लागि खर्च हुँदैन। बक्स अफिस लागू हुन सकेको छैन। चुरोटको बट्टामा अहिले पनि हिसाब बुझ्नुपर्छ हामी निर्माताले। अस्ति भर्खर मैले बनाएको फिल्मको मामिलामा त्यही भयो। अँध्यारोमा गोली हानेको जस्तो भयो फिल्म निर्माण। यो सुधारका लागि आफू 'पावर'मा हुनुपर्छ। मेरै साथीभाइ भए पनि म भन्छु, अहिलेसम्म पार्टीका कार्यकर्ता विकास बोर्डमा नियुक्त भए, फिल्मका लागि केही गर्छु भन्नेहरू होइन।

जीवनमा यत्रो समय नगरेको के काम राजनीतिमा लागेपछि गर्नुपर्यो ?

अहिलेसम्म म एक्लै कहीँ बाहिर हिँडेकी छैन। फिल्म सुटिङमा जाँदा हरबखत एसिस्टेन्ट हुन्थे। तर, अस्ति म एक्लै ड्राइभिङ गरेर राति हेटौँडा पुगेँ। पार्टीको संगठन निर्माणको काम थियो। पहिलाको जस्तो सोच पनि छैन अहिले। किनभने, म देशका लागि काम गरिरहेकी छु भन्ने ठान्छु।

आगामी निर्वाचनमा सांसद्का लागि उम्मेदवार भएर चुनाव लड्नुहुन्छ?

पार्टीसँग आबद्ध भएपछि पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तव्य हो। पार्टीले अघि बढायो भने म तयार छु।

ब्यानर बोकेर बाबुरामका पछि बस्नु नयाँ काम भनेर सामाजिक सञ्जालमा तपाईंको मजाक उडाइँदै छ। अहिले नयाँ शक्तिले कुनै नयाँ जिम्मेवारी दिएको छ?

मलगायत १० जनालाई पार्टीको संगठन निर्माणको काम लगाइएको छ। यो एक महिना हाम्रो काम पार्टीलाई स्थापित गर्ने र नयाँ सदस्यलाई संगठित गर्ने जिम्मेवारी छ।

तपाईंलाई प्रचारको हतियार बनाइँदै छ भनेर फिल्म क्षेत्रमै कुरा काटिन्छ नि?

हाम्रो पार्टीको नीति छ– कसैले गलत नियत राखेर कुरा गर्छ भने त्यसको जवाफ नफर्काउने। त्यसैले यसमा मैले भन्नु केही छैन, समयले आफैँ बताउँछ।

तपाईंले फ्यान र जनतामा के अन्तर पाउनुभयो?

एउटै पाउँछु । धेरैले चिन्नुहुन्छ। मन पराउनुहुन्छ, हाम्रो हिरोइन भन्नुहुन्छ। मैले उहाँका पक्षमा राम्रो राजनीति गरेँ भने हाम्रो नेता पनि भन्नुहोला। पहिले म उहाँहरूका लागि 'सेलिब्रिटी' थिएँ। अहिले उहाँहरूको चेलीबेटी भएकी छु।

Leave A Comment