मीरा शर्मा
बाहिर झरी परिरहेछ
पुराना ती यादहरु
अतित बनेर झरीसँगै बर्सिदिँदा
निथ्रुक्क भिजेको छु म
स्याखु ओडेर धान रोप्दा
हिलाम्मे भएको सम्झना बोकेर
यहाँ लम्सार फराकिला सडकहरुमा
एउटा गह्रुँगो मन
पाइलाहरु घिसारिरहेछ
तर अर्को उड्ने मन
आँफ्नै घरआँगन
गाउँ घर र खेतबारीको
उही हिले माटोमा
रोपाइँ गर्न पुगिसकेको छ
उसैगरी गाउँदैछन् चराहरु
त्यसरी नै सुस्तरी सुस्तरी
चलिरहेछ बतास पनि
अविरल झरी पछि उज्यालिएको
आकाशको उज्यालोले
मोती जस्तै टल्केका छन्
चेरीका पातमा अडेका
पानीका थोपाहरु
तर यतिखेर मेरो मन
सम्झनाको असारे झरीले
निथ्रुक्क भिजेको छ
त्यही मन
गाउँघरको यादले फुरुंग पर्दै
रोपाइँ गर्न
बेसीतिर झरेको छ
कति अनौठो छ जिन्दगी
कल्पनामा म
घरि मकैका ढोड फाँडेर
वर्षात्को मुख ताक्दै
टारी खेत खोपिरहेछु
घरि आली लाएर पानी तल्याएका
गराहरु हिल्याउँदै
ब्याडमा धानको बीउ काडेर
गैह्री खेत रोपिरहेछु
तर यथार्थमा
यहाँ हली दाइ र हल गोरु देखिँदैन
बाउसे दाइ र कोदालो भेटिँदैन
रोपाहरको असारे गीतसँगै
ब्याडे दिदीको भाका गुन्जिदैन
कहाँ पाउनु पन्ध्र असारमा
मैले खाएको दही चिउरा
यहाँ खाने चिउरामा
गाउँको ढिकीको स्वाद भेटिदैन
यहाँ खाने दहीमा
उही ठेकीको अमिलो गन्ध भेटिदैन
जे जे खाए पनि
जसरी अघाए पनि
जब जब असार आउँछ
मलाई मेरी आमाले पकाएको
असारे खाजा
‘पुवा’को तिर्सना मेटिँदैन ।
यो सहरको सधैँ असारजस्तो मेरो जिन्दगी
जब जब साँच्चिकै असार आउँछ
मलाई मेरो सम्झनाले हरदम
मेरै गाउँघर पुर्याउँछ ।
Leave A Comment