‘मेरा कथा समय लगाएरै पढ्नुपर्छ’

आइतबार, ११ भदौ २०७४, ०१ : ५७ शुक्रवार , Kathmandu
‘मेरा कथा समय लगाएरै पढ्नुपर्छ’

डा. अर्चना थापा गैरआख्यानमा रुचि राख्ने लेखक हुन् । गैरआख्यानलाई अहिलेलाई थाँति राखेर हालै आख्यान ‘कठपुतला’ लिएर पाठकमाझ आएकी छन् । उनका कथासंग्रह र समग्र साहित्य संघर्षका बारेमा थापासँग चाँदनी हमालले गरेको भलाकुसारी ।

गैरआख्यान लेखिरहेको तपाईं कसरी कथातिर तानिनु भयो ?
‘कठपुतला’ लेख्छु भनेर सोचीसम्झी योजना बुनेर गरेको कथा संग्रह होइन । म गैरआख्यानमा काम गर्दै थिएँ । मनमा हुर्कंदै गएका कथाका पात्र अनियन्त्रित र अराजक भएर ल्यापटपका स्क्रिनमा पोखिंदै गएँ । फिक्सन र नन्फिक्सन फरक विधा नै हो । नन्फिक्सन तथ्यमा सीमित भएर लेख्नुपर्छ । त्यसमा कुरा सिधा भन्न सकिन्छ । जबकि फिक्सनमा अलिक शैलीलाई ध्यान दिनुपर्ने हुन्छ । क्रियटिभ राइटिङ हुन्छ । फिक्सनमा पात्र र आफ्ना कल्पनालाई फराकिलो बनाउन सकिन्छ ।
कथा संग्रहबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
लेखकले किताब लेखेपछि त्यो पाठकसम्म पुगोस् भन्ने इच्छा हुन्छ । मेरो अपेक्षा पनि त्यही हो । केही पाठकले केही कथा पढेपछि राम्रा प्रतिक्रिया पनि दिएका छन् । मेरा कथाहरु अलि समय लगाएरै पढ्नुपर्छ ।
पात्रहरु कसरी फुरे त ?
कथाका पात्र खोज्ने प्रयास गरेकी होइन । हाम्रा आफ्नै वरिपरिका मानिस कथाका पात्रसरह काल्पनिक जीवन बाँच्न बाध्य छन् । जे जस्तो ठाउँमा रहे पनि मानिसहरुको मानवीय भावना, तरंग, आवेग उस्तै हुन्छन् । डर, रिस, राग, मोहको मात्रा व्यक्तिपिच्छे फरक होलान् तर सबैमा हुन्छन् । मेरा कथाका पात्रहरु पनि त्यही मानवीय तरंगका प्रतिविम्ब हुन् । फरक देश र अन्तरिक्षबाट आएका हैनन् ।
विज्ञानपात्रको परिकल्पना कसरी गर्नुभयो ?
मलाई विज्ञान उपन्यास मन पर्छन् । नेपालीमा साइन्ससँग सम्बन्धित लेखन कम आएका छन् । रुचि त पूरै साइन्स फिक्सन लेख्ने थियो तर उपन्यासमा समय धेरै दिनुपर्ने हुँदा पहिले कथामा अभ्यास गरौँ भन्ने लाग्यो । युटोपियाको देशको कल्पनामा कठपुतला कथा लेखिएको छ । त्यो साइन्सको फिक्सन नै हो । हाम्रो ग्लोबल समाज भैसकेको छ । नयाँ–नयाँ प्रविधि आइसकेको छ । कही न कही आधुनिकतासँग जोडिएकै छौँ । नयाँ नेपालको समानतामूलक समाज युटोपियाकै कल्पना हो तर त्यहाँ पनि पुत्रैपुत्रले देश चलाएका छन् । महिला कहीँ देखिन्नन् । युटोपियाको परिकल्पनामा पनि महिलालाई पछाडि नै राखिएको एउटा दृष्टान्त छ । अर्को कुरा परिकल्पनाको नयाँ देशका पुरुष पनि कठपुतला हुन सक्छन् है भन्ने हो । साइन्सले मान्छेलाई शक्तिमान बनाउँछ । तर आफूलाई सर्वशक्तिमान सोच्ने पुरुष समय, नियति र प्रविधिकै धोकामा छन् भनेर बुझ्नुपर्छ ।
कथा लेख्दा कस्ता समस्या आउँदा रै’छन् ?
मेरा समस्या र अरु लेखकका समस्या फरक हुन सक्छन् । मलाई पहिलो दिन लेखेको हरफ दोस्रो दिन चित्त बुझ्दैन । त्यसलाई फेरि दोह¥याएर लेख्छु । अनि फेरि अर्को दिन पढ्दा, त्यो पनि मन पर्दैन । फरक दृष्टिकोणबाट एउटै कुरालाई दोहो¥याई, तेहो¥याई लेख्ने प्रयासमा मेरो धेरै समय गयो । लेखनमा आत्मसन्तुष्टि तत्काल नहुनु नै मेरो समस्या हो । एकपल्ट त यस्तो भयो– लेखिएका सात वटा कथा कम्युटरको पानाबाटै डिलिट भए । सरसफाइ गर्ने बानी त्यो दिन नराम्रो बन्यो । कम्प्युटर सफा गर्दा आफ्नै रचना मेटिदिएँ । घरमा आफैँतिर औँला सोझिएला भन्ने डरले भनिनँ । तर फाइदा युनिकोडमा छिटो लेख्न सक्ने भएँ । कथामा पहिले आएका फिलिङ्स र शब्द सम्झन सकिन । कि त फेरि लेख्नुप¥यो कि त कथा नै बिर्सिनुपर्यो भन्ने चुनौती आयो । चुनौती नै ठानेर लेख्न बसेँ । कथाहरु निरन्तर लेखिएका हैनन् । अन्य कामको व्यस्तताले आठ वटा कथा पुग्न डेढ वर्ष लाग्यो ।
कथामा आफूलाई मन परेको र मन नपरेको केही छ ?
पुस्तक बजारमा आइसकेको छ । कथामा मलाई मन परेको र मन नपरेको कुरा अब गौण भइसके । अब त मात्र पाठकको प्रतिक्रियाको प्रतीक्षामा छु । केही सुझाव आए भने व्याकरणगत सम्पादनसहित थोरै सुधार गर्न चाहन्छु ।
नेपाली साहित्यमा कथा साहित्यको अवस्था के देख्नुहुन्छ ?
नेपाली साहित्यमा कथा साहित्यको बजार पहिलाभन्दा पक्कै बढेको छ किनभने पाठक संख्या बढेको छ । त्यसैले कथा साहित्यको बजार अवस्था राम्रो छ जस्तो लाग्छ । मानवीय संवेदना लिएर कथा लेखिने हुनाले ती कुनै विदेशी कथाभन्दा कम छैनन् तर गतिलो अनुवाद नहुँदा अन्तर्राष्ट्रिय पाठकसम्म पुग्न सकेको छैन । गहकिलो अनुवाद नभएका कारण बाहिरका पाठकले मन पराउँदैनन् । केही सीमित कथा मात्र मन पराइएका छन् । अनुवादमा सरकारको मुख्य कमजोरी देख्छु । प्रज्ञा प्रतिष्ठानले अन्तक्र्रिया, अन्तरसंवाद र सम्बन्ध बनाउने गर्नुपर्छ ।
साहित्यमा म्याजिकल रियलिज्म र सोसियल रियलिज्म बीच एक प्रकारको द्वन्द्व छ भनिन्छ । तपाईं कुन पक्षमा हुनुहुन्छ ? किन ?
पक्ष र विपक्षको भन्दा पनि पाठकको रुपमा मेरो रुचि म्याजिकल रियलिज्ममा बढी छ । अभिव्यक्तिको स्वतन्त्रता सीमित रहेको अवस्थामा म्याजिकल रियलिज्मको ‘अन्डर द लाइन’ अभिव्यक्तिमा राजनीति र शक्तिको आलोचना गर्नसक्ने प्रशस्त सम्भावना हुन्छ । साथै, यस प्रकारको लेखनमा शाब्दिक अर्थको संभावना पनि प्रशस्त हुन्छ तर कहिलेकाहीँ त्यही अर्थको असीमितता लेखनको कमजोरी पनि बन्न सक्छ ।

 

Leave A Comment