दुःखले खारिएको मान्छे

शनिबार, २५ असार २०७३, १२ : २४ दिलीप पौडेल , Kathmandu
दुःखले खारिएको मान्छे

काठमाडौँको मुटु दरबारमार्ग । स्वदेशीदेखि विदेशी पर्यटकको चहलपहल हुने ठाउँ । बिदा र फुर्सदको समयमा सबैको गन्तव्य पनि हो दरबारमार्ग । दरबार मार्गको मध्यभागमा अवस्थित एक भवनको तेस्रो तल्लामा वेटर राजु तामाङ टेबलमा गएर ग्राहकको अर्डर लिन्छन् । काउन्टरमा राखिएको कम्प्युटरमा ‘इन्ट्री’ गर्छन् । उक्त बिल अटोमेटिक किचनमा प्रिन्ट हुन्छ । कुकहरूले त्यसकै आधारमा खानाका परिकार तयार गर्छन् । अनि, खाना उपभोक्ताको टेबलमा पुग्छ । उपभोक्ताले पैसा तिर्न क्यास बोकिरहनु पनि पर्दैन । काउन्टरमा राखिएको मेसिनमा भिसा÷मास्टर कार्ड छिराएर पैसा तिर्ने व्यवस्था छ । क्यासियरले पैसा हिनामिना ग¥यो भन्ने चिन्ता पनि छैन । हरेक ग्राहकले उपभोग गरेको वस्तुको १५ प्रतिशत कर स्वतः राजस्वमा दाखिला हुन्छ । जुन सफ्टवेयरलाई कर कार्यालयले पनि सजिलै निगरानी गर्न सक्छ । काठमाठौँका थोरै रेस्टुरेन्टले मात्र यो सफ्टवेयर प्रयोग गरेका छन् ।
गर्न सकिँदैन भनेर बसेर मात्र कहाँ हुन्छ । बागलुङ दुर्गम गाउँको एक ठिटो अध्ययनका लागि काठमाडौँ छि¥यो । आईकम पढ्दापढ्दै जापान हानियो । १९ वर्षकै उमेरमा जापान पुगेर रेस्टुरेन्टमा भाँडा माझ्दै, वेटर, कुक हुँदै व्यवसाय सञ्चालन ग¥यो । अनि, जन्मभूमिमै केही गर्नुपर्छ भनेर स्वदेश फर्कियो । ‘म दुःखले खारिएको मान्छे हुँ,’ उनले भने ।  
२० वर्षअघि जापानमा भाँडा माझ्न गएका बागलुङ बुर्तिवाङका नकुल शेरचन जसले अहिले स्वदेशमै ८० जनालाई रोजगारी दिएका छन् । सरकारलाई लाखौँ राजस्व तिरेका छन् । शेरचनले चार वर्षअघि काठमाडांैँै गौरीधाराबाट सुरु गरेको ‘एसिल रेस्टुरेन्ट’को दरबारमार्गमा विस्तार भएको छ । ‘एसिल’लाई ब्रान्डकै रूपमा स्थापित गरी उपत्यकाको ललितपुर र भक्तपुरमा पनि विस्तार गर्ने योजना भएको नकुलले बताए । ‘गाउँमा जन्मिएर जापानसम्मको यात्राले आत्मविश्वास जगायो,’ शेरचनले भने, ‘मेहनत र परिश्रमले सफल भइन्छ भन्ने लागेर रेस्टुरेन्टतिर लागे ।’ करिब चार करोडमा खोलिएका दुई रेस्टुरेन्टका लागि मासिक घर भाडामा सात लाख रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन् ।
जापान गएर भाँडा माझ्दामाझ्दै कुकिङ सिकेका उनको रेस्टुरेन्टमा अधिकांश ग्राहक पारिवारिक हुन् । थकाली, जापानिज, कन्टिनेन्टलसहित करिब सय प्रकारका खानाका परिकार एसिलमा पस्किन्छन् । उनी मालिक होइनन् । आफैँ कामदार पनि हुन् । ‘किचनमा कुकहरूलाई सघाउँछु । काम सानोठूलो हुँदैन । मैले विदेशबाट सिकेको पाठ यही हो,’ उनले भने, ‘गुणस्तरमा कम्प्रमाइज गर्नु हुँदैन । उपभोक्तालाई सन्तुष्टि दिनसके मूल्यमा कुनै कमेन्ट गर्दैनन् ।’
मध्यम वर्गीय ग्राहक उनको रेस्टुरेन्टमा ‘टार्गेट’ उपभोक्ता हुन् । बिहान ११ बजेबाट खुल्ले उनको रेस्टुरेन्टमा मध्यरातसम्म चहलपहल हुन्छ । ‘प्रतिव्यक्ति एक हजार रुपैयाँले भेराइटिज डिनर खान सक्छ,’ उनले भने, ‘अहिले दैनिक करिब पाँच सयजना खानाका पारखी हाम्रो रेस्टुरेन्टमा आइपुग्छन् ।’ गैरीधारामा १ सय ५० र दरबार मार्गमा ९५ जना बस्ने र सेवादिन सक्ने रेस्टुरेन्टको क्षमता छ ।
यहाँको व्यावसायिक वातावरण सकारात्मक नभए पनि सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘सधैँ सरकारलाई मात्र दोष दिएर भएन,’ उनले भने, ‘रोजगार सिर्जना गरेर सरकारलाई कर तिर्नुप¥यो ।’
उनको रेस्टुरेन्टमा काम गर्नेले मासिक न्यूनतम २० हजारदेखि ६० हजार रुपैयाँ तलब पाउँछन् । ‘म आफँै बिहान १० देखि बेलुका १० बजेसम्म खटिन्छु,’ उनले भने, ‘मेहनत गर्ने र काममा दत्तचित्त हुनेलाई राम्रो तलब दिएको छु । विदेशमा काम गर्दा यही क्षेत्रमा समय बिताएँ,’ उनले भने, ‘त्यहाँ सिकेको सीपलाई यहाँ प्रयोग गर्न पाउँदा सन्तुष्टि मिलेको छ ।’ मानसिक रूपमा पूर्ण तयार भएर मात्र व्यवसायमा हात हाल्नुपर्ने उनको सुझाव छ ।
उपभोक्ताको कमाइ र मानसिकता परिवर्तन हुँदै गएको नकुल बताउँछन् बताए । ‘घरबाहिर गएर लन्च÷डिनर खाने परम्पराको थालनी भएको छ,’ उनले भने, ‘त्यसैले नेपालमा रेस्टुरेन्ट व्यवसायको भविष्य राम्रो छ ।’
शेरचनले सीप नभएका युवालाई रेस्टुरेन्टमा ल्याएर सिकाउने गरेका छन् । ‘धेरै युवाहरू यहीँ आएर तालिम लिएपछि राम्रो कमाई हुने ठाउँ विदेश गएका छन्,’ उनले भने, ‘हामी नेपालीलाई तुरुन्त धेरै पैसा चाहिने भएकाले धैर्य नहुँदा विदेश पलायन हुने क्रम बढेको छ ।’

 

Leave A Comment