हिट हुन कसलाई मन लाग्दैन र ?

मङ्गलबार, १३ भदौ २०७४, १२ : ४६ शुक्रवार , Kathmandu
हिट हुन कसलाई मन लाग्दैन र ?

नेपाली गायन क्षेत्रमा चम्कदै गरेको नाम हो– टीका प्रसाईं । ‘सेल्फीको जमाना’ गीतकी गायिका टीकाको ‘नाईं मलाई थाहा छैन’ गीत निकै हिट छ । १५ वर्षअघिदेखि संगीतमा संघर्षरत टीकाले करिब आठ वर्ष गजल साँझतिर पनि गाइन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

यसपल्ट कतिवटा तीज गीत गाउनुभयो ?

दुइटा गाएकी छु । ‘हातमा चुरा’ बोलको म्युजिक भिडियो निकै रुचाइएको छ । अर्को एउटाको चाहिँ अडियो मात्र छ, भिडियो बनेको छैन ।

पहिलेका तीज गीतमा त महिलाका दुःख र वेदना झल्किन्थे तर अहिले त ‘तीज’ शब्द राख्नेबित्तिकै तीज गीत हुन्छन् है ?
त्यसरी पनि भन्न मिल्दैन । जस्तो मेरै गीतको कुरा गर्दा महिलाले तीजको अवसरमा सजिएर, रमाएर, नाचेर खुसी व्यक्त गरेको पल झल्किन्छन् । अर्को कुरा पहिलेभन्दा अहिलेको जेनेरेसन चेन्ज भइसक्यो, सोचाइ परिवर्तन भइसक्यो । सासुले बुहारीलाई र बुहारीले सासुलाई गर्ने व्यवहारमा पनि धेरै परिवर्तन आइसक्यो । यतिसम्म कि अहिले त पुरुषहरु पनि तीजलाई भव्य रुपमा मनाउन थालिसके । त्यसैले मलाई समयअनुसार गीतमा गाइने विषय हुनुपर्छ भन्ने लाग्छ ।

तपाईंका डान्सिङ नम्बरका गीतमात्रै हिट छन् त्यसमाथि अधिकांश गीतमा मायाप्रेमकै कुरा हुन्छन् । अरु विषयमा गाउन सकिँदैन ?
मैले गीत गाउनुको उद्देश्य भनेको मनोरञ्जन दिनु मात्रै होइन, परिवर्तन ल्याउन खोज्नु पनि हो । मैले डान्सिङ नम्बर मात्रै नभएर मेलोडियस गीत धेरै गाएकी छु । ‘शिरको टोपी बन्धकी’ बोलको राष्ट्रियता झल्किने गीत गाएकी छु तर किन ‘सेल्फीको जमाना’ र ‘नाईं मलाई थाहा छैन’ नै हिट भए ? जे हिट भयो दर्शकले त त्यस्तै खाले गीत गाउने गायिका भनेर चिन्छन् तर गाउन त धेरैखाले गीत गाइएको हुन्छ । मलाई हामीकहाँ मायाप्रेमका मात्रै गीत रेकर्ड भएका छन् भन्ने लाग्दैन । धेरैजसो ट्याक्सी, पार्टी लगायत ठाउँतिर रोमान्टिक डान्सिङ नम्बर नै बजिरहेका हुन्छन् किनभने हामी नेपाली दुःखका पल त्यति सेयर गर्दैनौँ । नत्र गीत अरुखाले पनि बनेका छन्, लुकेका मात्रै हुन् ।

तपाईंको पछिल्लो हिट गीत ‘नाईं मलाई थाहा छैन’ त सामाजिक सञ्जालतिर थेगोकै रुपमा खुब प्रयोग भइरहेको छ, कस्तो लाग्दैछ ?
खुसी नलाग्ने त कुरै भएन नि ! जतिबेला आशीष अविरलले मलाई यो गीतको शब्द दिनुभएको थियो, त्यतिबेला गीतको पहिलो लाइन ‘जोडी ढुकुर सँगै डुलेको किन होला ?’ ले मलाई त्यति छोएको थिएन । पछि पढ्दै जाँदा ‘नाइ मलाई थाहा छैन’ भन्ने शब्द भेट्नेबित्तिकै मलाई मनप¥यो किनभने प्रायः बोलिचालीमा झुण्डिने शब्द हो यो । यही शब्दले छोएर मैले गीत पक्का गरेकी थिएँ । पहिले मेरो मात्र मन छोएको थियो, अहिले त दर्शककै छोइरहेको छ । त्यसैले एकदमै खुसी छु ।

कतिपयले त गीतको बोलबाटै जिस्काउँदा पनि हुन् ?
हो नि ! कतिपयले प्रश्न सोध्छन् अनि जवाफ भन्न नपाइकन ‘नाईं मलाई थाहा छैन भन्ने होइन है’ भनिहाल्छन् । फेसबुकमा फोटो हाल्दा पनि ‘नाईं मलाई थाहा छैन’ भनेर कमेन्ट गरिरहेका हुन्छन् । कसैलाई केही बोल्न मन लागेको छैन भने पनि यो शब्दले टार्न मद्दत गरेको छ ।

एकछिन पछाडि फर्कौं, तपाईंको गायिका बन्ने रुचि सानैदेखिको हो ?
म बच्चैदेखि रेडियो सुन्थेँ । परबाट रेडियोमा गीत बजेको सुन्नासाथ दौडेर पुगिहाल्थेँ । स्कुलमा टिचरले गीत गाउन लगाउनु हुन्थ्यो । मेरो घरमा सबैजना गायक हुनुहुन्थ्यो । ममी, दिदी, मामा, हजुरआमा सबै राम्रो गाउने । हजुरबुबा राम्रो बाँसुरी बजाउनुहुन्थ्यो । उहाँ बाँसुरी बजाउनुहुन्थ्यो, म नाच्थेँ । गायिका बन्ने यतिसम्म लोभ थियो कि मैले एसएसली नदिइकन काठमाडौँ जान्छु भनेर रोएकी थिएँ । पछि एसएलसी दिएपछि गायिका बन्ने लक्ष्य बोकेरै म काठमाडौँ आएँ ।

पहिलोपल्ट गीत रेकर्डिङ गराउँदाको क्षण सम्झना छ ?
त्यतिबेला मैले भर्खर १० कक्षाको परीक्षा दिएकी थिएँ । म बिर्तामोड (झापा) तिर भेटघाट चौतारी, साहित्य चौतारी लगायत साप्ताहिक श्रृंखलामा गइरहन्थे । लीला अनमोल, कृष्ण धरावसीहरुले रेडियोमा गीत गाउन बोलाउनुहुन्थ्यो । त्यसैले माइकमा रेकर्ड भएको भ्वाइस कस्तो सुनिन्थ्यो भन्ने अनुभव मैले गरिसकेकी थिएँ । एक दिन इलामको साहित्यिक कार्यक्रममा जाँदा मैले गाएको गीत सुनेर स्थानीय रेकर्डिस्ट दाइ प्रभावित हुनुभएछ । उहाँले ‘तपाईंको भ्वाइसमा गीत रेकर्ड गर्छु’ भन्नुभयो । भोकल रेकर्ड गरेपछि धेरै राम्रो आउँदोरहेछ भनेर प्रतिक्रिया दिनुभयो । पछि ‘झस्को’ एल्बमका लागि दुई वटा गीत एकैदिन रेकर्ड गरेँ ।
गाउने रहर गरेर राजधानी आउँदा कत्तिको गाह्रो हुने रहेछ त ?
सुरुमा कहाँ जाने ? के सिक्ने ? केही थाहा हुँदैन । मेरो दाइ हरि प्रसाईंले ललितकला कलेज र डोरेमी म्युजिक स्कुलमा गएर बुझ्नुभयो । न्ह्यु बज्राचार्य दाइको डोरेमी जाँदा मलाई न्ह्यु दाइले गीत गाउन लगाउनुभयो । मैले ‘काली पारि, दाइ कति राम्रो’ बोलको गीत गाएँ । उहाँले मेरो भोकल टेस्ट गरेपछि पढ्नमा छुट दिनुभएको थियो । मैले त्यहाँ भानुभक्त ढकाल, ईश्वर अमात्य, गुरुदेवसँग चार वर्ष जति संगीत सिकेँ । बिर्तामोडमा कुशेश्वर राईसँग तीन महिना सिकेकी थिएँ । पछि रत्नबहादुर खड्गीसँग करिब तीन वर्ष नै भ्याएको बेला सिक्न गएँ । उहाँले निःशुल्क सिकाउनुहुन्थ्यो ।

स्थापित हुनलाई संघर्ष कत्तिको गरियो ?
डेरामा बुबा र म बस्थ्यौँ । बिहान पाँचै बजे उठेर घरको काम सबै गरेर, खाना बनाएर म साढे आठ बजे म्युजिक सिक्न जोरपाटीबाट जमलसम्म पुगिसक्थेँ । त्यसपछि दिउँसो कलेज जान्थेँ । कोठाबाट बिहान सात बजे हिँडेको मान्छे साँझ अबेर घर पुग्थँे । मैले त्यतिवेला संगीतका लागि एकदमै धेरै संघर्ष गरँे । भएभरका रियालिटी सो चहारेँ । ‘नेपाली तारा’को पहिलो श्रृंखलामा टप ४० सम्म सेलेक्ट भएँ । त्यतिबेलै ‘तिम्रो सुर मेरो गीत’ पनि चलिरहेको थियो, त्यहाँ म विजेता नै भए । टाइम्स एफएमले गर्ने डबली गायन प्रतियोगितामा फस्ट रनरअप भए । यसरी मैले एफएम, टिभी कतैको रियालिटी सोमा भाग लिन छोडिनँ । कतै जितेँ त कतै आउट भएँ । एनटिभीबाट आउने ‘अन्ताक्षरी’ कार्यक्रममा मैले गीत गाएको देखेर संगीतकार महेश खड्काले मलाई पहिलोपल्ट ‘पाँच पाण्डव’ फिल्ममा ‘सररर सररर’ बोलको दसैँ गीत गाउने मौका दिनुभएको थियो । संघर्षका बेलामा कहिले भोकभोकै बसियो, कहिले बिरामी भइयो, कहिलो कोही साथी नभएर एक्लै भइयो त कहिले गाडीमा चढ्ने भाडा पनि भएन होला तर जीवनमा हरेश कहिल्यै खाइएन । कतिपयले ‘ल भोलि गीत रेकर्डिङ छ’ भनेर बोलाउँथे तर भोलिपल्ट जान तयार हुँदा त्यो गीत अर्कैले गाइरहेको हुन्थ्यो । गीतका लागि रातभर रिहर्सल गरिन्थ्यो, गाउनलाई उत्साहित भइन्थ्यो तर भोलिपल्ट निर्माताको आफ्नो मान्छेले गीत गायो भनेको सुन्दा कसलाई नरमाइलो लाग्दैन ? यस्तो परिस्थिति मैले धेरैपल्ट भोगेँ । अहिले पनि भोगिन्छ, कहिलेकाहीँ । यति भएर पनि मलाई जिन्दगीमा अरुसँग गीत माग्दै ‘प्लिज’ भन्न कहिल्यै आएन । सायद यो मेरो कमजोरी पनि होला । जसले मेरो आवाज मन पराएर गीत गाउन दिए, उनीहरुका गीत मात्रै गाएँ । मलाई लाग्छ– मान्छेले जीवनभर संघर्ष गर्न छाड्नु हँुदैन । मेरो संघर्ष अझै जारी छ ।

संगीत धेरैका लागि जीवन होला तर तपाईंका लागि त जीवनसाथी जुराइदिने माध्यम पनि भयो है ?
त्यसै भन्नुपर्ला । काठमाडौँ आएको चार वर्षपछि उहाँ (गायक लेखराज गुरुङ) सँग मेरो बिहे भयो । ‘अन्ताक्षरी’ कार्यक्रम हुँदैखेरी उहाँसँग मेरो भेट भएको थियो । मेरो फ्यान हुनुहुँदोरहेछ । त्यतिवेला उहाँ रेडियोमा कार्यक्रम पनि चलाउनुहुन्थ्यो ।

पतिपत्नी दुवै गाउने हुँदा के फाइदा हुँदारहेछ ?
धेरै फाइदा हुन्छ । दुवैले यो क्षेत्रलाई बुझेका हुन्छौँ । दुवैले गाउने गीतका पहिलो श्रोता एकअर्का हुन्छौँ । एकअर्काको गीतमा सुझाव दिनुपर्ने ठाउँ भयो भने सुझाव दिन्छौँ । जे होस्, एकदमै सजिलो भएको छ ।

तपाईंले लामो समय गजल साँझमा गाउनुभयो । रेस्टुराँ र स्टेजमा गाउँदाको फरक के हुन्छ ?
मैले अन्नपूर्ण होटल, एभरेस्ट होटल, हयात हुँदै मधुशाला गजल साँझ सबैतिर गाएँ । गजल साँझमा गाउन छाडेको ८ महिना जति भयो । स्टेज कार्यक्रमको अफर धेरै आउन थालेपछि निरन्तरता दिन नसकेर छाडेँँ । खासमा गजल साँझ र स्टेजका अडियन्स नै फरक हुन्छन् । गजलमा स्लो गीतहरु बढी गाइन्छ र त्यहाँ आउने अडियन्स शब्दलाई ध्यान दिएर गीतमा रमाइरहेका हुन्छन् । कन्सर्टमा भने बढीजसो डान्सिङ नम्बर खोजिन्छ र दर्शक उफ्रीउफ्री नाचिरहेका हुन्छन् ।

गजल साँझमा गाउँदाका दुःख के रहेछन् त ?
गजल साँझमा गाउने भन्नेबित्तिकै कतिपयको दृष्टिकोण नराम्रो हुन्छ । किन हुन्छ मलाई थाहा छैन तर मलाई त्यहाँ दुःखभन्दा पनि धेरै सिकिन्छ जस्तो लाग्छ । म्युजिकमा आफ्नो स्वर सुधार्नका लागि ठूलो भूमिका खेल्छ । राति चार–पाँच घण्टा लगातार गाउनुपथ्र्यो । तैपनि संगीतप्रति ठूलो प्रेम भएकाले म इन्जोय गर्थें ।
 
तपाईंलाई संगीत क्षेत्रको के कुराले चित्त दुख्छ ?

कसैले यत्रो वर्ष काम गर्नुभयो तर नाम त चलेको छैन नि भनेर सोध्दा नरमाइलो लाग्छ । यो त समयसापेक्ष र संयोगले हुने कुरा हो । चल्ने कुरा पनि सिर्जना गर्नेको हातमा हुन्छ र ? हिट हुन कसलाई मन लाग्दैन र ? यहाँ एउटै गीत गाएर हिट भएका पनि छन् नि ! कतिपयले मलाई पनि ‘एउटै गीत गाएर हिट हुनुभयो है’ भनेर म्यासेज पठाइरहेका हुन्छन् । त्यत्रो लामो समयदेखि संघर्ष गरिरहेका बेला त्यसो भनिदिँदा कता–कता मन दुख्दोरहेछ ।

Leave A Comment