तीन अभिनेता, तीन किस्सा

शनिबार, २५ असार २०७३, १२ : ५७ शुक्रवार , Kathmandu
तीन अभिनेता, तीन किस्सा

संघर्षरत समयमा काम र सफलता नपाएर हैरान भएका अमिताभ बच्चनले निराश भएर एक दिन आफ्नो बुबा हरिवंश राय बच्चनलाई झोक्किएर भने, ‘मलाई किन जन्माउनुभयो ?’
अमिताभको यस प्रश्नले बुबालाई समस्यामा पा¥यो । हरिवंश कवि थिए । उनले कविता लेखेर अमिताभको प्रश्नको उत्तर दिए–
जीवन र जगत्का समस्याबाट
हतास भएर मेरो छोरो मलाई सोध्छ
मलाई किन जन्मायौ ?
मसँग योबाहेक कुनै उत्तर छैन कि
मेरो बुबाले मलाई नसोधी मलाई किन जन्माए ?
मेरो बुबालाई उनको बुबाले
र, उनको बुबाले उनलाई नसोधी किन जन्माए ?
जीवत र जगत्का समस्या पहिला पनि थिए
आज पनि छन्, अलिकति बढी ...
भोलि पनि हुनेछ सायद अझै धेरै
तिमी नै नयाँ सुरुवात गर्नु
आफ्नो छोरोलाई सोधेर जन्माउनू ।

यसपछि अमिताभले कहिल्यै पनि बुबालाई यो प्रश्न गरेनन् ।
०००
बलिउडमा ट्र्याजिडी किङका रूपमा चिनिने अभिनेता दिलिप कुमारका सन्तान नभएको कुरा सबैलाई थाहा छ । तर, उनी बुबा किन बन्न सकेनन् भन्ने कुरा धेरै कमलाई थाहा छ । यो कुराको रहस्य उनले आफ्नो आत्मकथा ‘द सब्सट्यान्स एन्ड द स्याडो’ मा दिएका छन् । उनले लेखेका छन्– ‘सन् १९७२ मा सायरा पहिलो पटक गर्भवती भएकी थिइन् । आठ महिनाकी गर्भवती हुँदा सायराको रक्तचाप बढ्यो । तत्कालै शल्यक्रिया गर्न सम्भव थिएन । सास रोकिनाले भू्रणको मृत्यु भयो । यस घटनापछि सायरा कहिल्यै पनि गर्भवती हुन सकिनन् ।’
०००
बलिउडमा अक्षय कुमारको पहिचान एक्सन हिरोको छ । फिल्ममा उनले दर्जनौँ गुण्डाको रामधुलाइ एक्लै गर्छन् । तर, एक पटक उनले डाँकाहरूबाट बच्न गरेको तिकडम बलिउडमा चर्चित छ । एउटा अन्तर्वार्तामा अक्षयले भनेका थिए– ‘दिल्लीबाट मुम्बई गएर म कुन्दनका गहना बेच्थेँ । पहिलो पटक मुम्बई गएर गहना बेच्दा छ हजार रुपैयाँ फाइदा भयो । खुशी भएर म फेरि दिल्ली गहना लिन पुगेँ । कुन्दनका टन्नै गरगहना किनेँ । दिल्लीबाट मुम्बईका लागि हिँडेँ । चम्बलबाट गुज्रिँदा रेलमा डाँकु पसे । डाँकु देखेर म डराएँ । सुतेको नाटक गरेँ । उनीहरूले मेरा सबै चिज लिएर गए । म हेरेको हे¥यै भएँ ।’

 

 

Leave A Comment