थरीथरीका चोर थरीथरीका टेक्निक

सोमबार, १९ भदौ २०७४, ०९ : ३० अनिल यादव
थरीथरीका चोर थरीथरीका टेक्निक

चाडपर्व लागेसँगै राजधानीमा चोरी र लुटपाटका घटना बढ्ने गर्छन् । चोरी जतिखेर पनि हुनसक्छ । सुन चोर्नेदेखि चुरोट चोर्नेसम्म यहाँ सक्रिय छन् । घरमा मात्रै नभएर तपाईं सडकमै पनि लुटिन सक्नुहुन्छ । अरु त अरु भूकम्पले क्षति पुर्याएका घरसमेत चोरले छाडेका छैनन् । अनिल यादवले राजधानीमा हुने चोरी र लुटपाटबारे तयार पारेको सामग्री ।

केस १ : समयः बिहान ९ बजे । काभ्रेकी म्हेन्दोमाया लामा काठमाडौं, कोटेश्वरमा बस कुरिरहेकी थिइन् । त्यहीबेला तीनजना अपरिचित युवा उनको छेउमा आए । ‘तपाईंको सुन हराएको छ?,’ तीनमध्ये एकले सोधे । ‘छैन’, उनले जवाफ दिइन् । ‘तपाईंकै होला यो त !’ ती युवाले हातमा रहेको सुन देखाउँदै म्हेन्दोलाई प्रलोभनमा पार्न खाजे । म्हेन्दोले ‘होइन’ भन्दाभन्दै ती युवाले लोभ्याउन खोजे, ‘यो सुन ५ तोला जतिको छ, तपाईंको होइन भने पनि तपाईं नै राख्नुस् । बरु मलाई तपाईंले लगाउनुभएको सुनको रिङ दिनुस् ।’ म्हेन्दो तयार भइन् । उनले रिङ झिकेर हातमा के राखेकी मात्र थिइन्, ती युवाले उनको हातमा नक्कली सुन थमाइदिएर रिङ आफ्नो हातमा पारे र टाप कसे । यता आफू लुटिएको थाहा पाएपछि म्हेन्दो हेरेको हेर्यै !

केस २ : मंगलबार दिउँसोको कुरा । काठमाडौं, नागार्जुनकी राधिका अधिकारी डेराबाट दुध किन्न भनेर बाहिर निस्किएकी मात्रै थिइन्, फर्कंदा त घरको अवस्था लथालिङ्ग देखिन् । दराजमा राखेको सुनको झुम्का, तिलहरी केही थिएन । ल्यापटप पनि थिएन । पक्कै चोरी भयो भन्ने सोचेर उनी चिच्याउन थालिन् । स्थानीयले उनी चिच्याएको सुनेपछि प्रहरी र स्थानीयको तत्कालको सहयोगले भागिरहेका वीरबहादुर श्रेष्ठ पक्राउ परे।  

केस ३ : २०७२ सालमा आएको महाभूकम्पले काठमाडौं, असनस्थित मच्छिन्द्रबहाल माःसा गल्लीका मीनरत्न बज्राचार्यको घरमा क्षति पुर्यायो। त्यसपछि उनी बसाइँ सरेर बुढानीलकण्ठ पुगे । घर बेचेका थिएनन् न त त्यहाँका सामान नै लिएर गएका थिए । भूकम्पले उनलाई चोट त दिएकै थियो, गत भदौ ६ गते उनको घरमा चोर पसेपछि झन् पीडा थपियो । बाबुबराजेका पालादेखिका पित्तलका भाडाकुँडा चोरिए । घरमुनि कपडा पसल चलाउँदै आएका मोहमम्द जाविर अन्सारीको २० हजार  रुपैयाँ नगदसहित लेहेँगा, साडी लगायत कपडा पनि चोरियो । हाल उनीहरु न्याय खोज्दै प्रहरीको शरणमा पुगेका छन् ।

०००

राजधानीका लागि चोरी र लुटपाट कुनै नौलो खबर होइन । माथिका यी तीन भिन्न प्रकृतिका घटना त उदाहरण मात्रै हुन्, अहिले थरीथरीका चोर र लुटेराहरु भेटिन्छन् राजधानीमा । उनीहरुको लुट्ने र चोर्ने टेक्निक पनि थरीथरीकै छन् ।

नेपालीहरुको ठूलो चाड दसैँ–तिहार नजिकिँदैछ । उपत्यकामा अरुबेला भन्दा चाडपर्वका बेला चोरी र लुटपाट झन बढ्ने गर्छ । एक साताअघि मात्र महानगरीय अपराध महाशाखा, टेकुमा सरुवा भएर आइपुगेका दिवेश लोहनी त्यसैले चनाखो भइसकेका छन् । ‘चाडपर्वमा हुने सम्भावित चोरी र लुटपाटलाई मध्यनजर गर्दै हामीले विशेष सुरक्षा योजना अपनाएका छौँ,’ उनले भने, ‘चाडपर्व सुरु हुनुअगाडि सम्भावित चोरी रोक्न हामीले विशेष अभियान थालिसकेका छौँ । भर्खरै मात्र हामीले भारतीयसहित केही चोर पनि समात्यौँ ।  चाडपर्वका बेला मठमन्दिरमा भिड लाग्ने भएकाले चोरी हुने सम्भावना बढी हुन्छ । धेरैजसो घर छाडेर गाउँ जाने भएकाले चोरीको प्रवल सम्भावना हुन्छ । हामी यी सब सम्भावनाप्रति सचेत भएर अघि बढिरहेका छौँ ।’

टार्गेटमा भूकम्पपीडित
उपत्यकामा भूकम्पले क्षति पुगेका घरहरु अहिले चोरको टार्गेटमा परेका छन् । विशेषगरी काठमाडौँको असन आसपास ठँहिटीदेखि कोहिटीसम्म भूकम्पले चर्काएका पुराना घरहरुमा चोरी बढेको छ । माथि उल्लेखित मीनरत्नको घटना त उदाहरण मात्र हो । फोटोपत्रकारसमेत रहेका उनी भन्छन्, ‘यहाँ मेरो मात्र होइन, थुप्रै पुराना घर चोरी भएको छ । कारण, बन्दै गरेका नयाँ घर बन्न पुगेका छन् । कोही नभएको मौका छोपी निर्माणाधीन नयाँ घरको छतलाई बाटो बनाएर पुरानो घरमा चोरी भइरहेको छ । यहाँ थुप्रै पुराना घरमा पसल राखिएका भए पनि घरमा राति मान्छे बस्दैनन् तर सामान कतै लान नसकिने भएकाले घरमै राखेका छन् । चोरहरुले जे भेटिन्छ, त्यही लाने रणनीतिमा भूकम्पले क्षति पुर्याएका घर टार्गेटमा परिरहेका छन् ।’

गत फागुन २६ गते राति असनकै ढाकाटोलमा गोपाल मानन्धरको घरमा पनि ठूलो चोरी भएको थियो । भूकम्पले घरमा क्षति पुर्याएपछि गोपाल पनि परिवारसहित महाराजगञ्ज सरेका थिए । घर सरे पनि उनले ६८ लाख बराबरको सुन–चाँदीका गरगहना पुरानै घरमा लुकाएर राखेका थिए तर चोरले ढोका फोडेर चोरिदियो । महानगरीय अपराध महाशाखाले चोरको खोजीकार्य भइरहेको बताए पनि हालसम्म कोही पक्राउ पर्न सकेका छैनन् ।

सुन र डलर देखाएर लुट
म्हेन्दो लामालाई जसरी नै नक्कली सुन देखाएर लुट्ने गिरोह नै छ । त्यो गिरोहका दुई जना राजु खड्का र दीपक तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरिसकेको छ भने अन्यको खोजीकार्य जारी छ । उनीहरुलाई साउन ४ गते पक्राउ गरेर मुद्दा चलाइएको छ । प्रहरीका अनुसार उनीहरुले रजनी कटवाल, रीना तामाङ, मन्दिरा थापा, ललिता ढकाल, नानीमाया तामाङ र वेदकुमारी गुरुङलाई पनि नक्कली सुन देखाएर सक्कली सुन थुतेर लगेका थिए । उनीहरुले लुटेर लगेको सुन भक्तपुरमा गणेश विश्वकर्माको सुन पसलमा लगेर बेच्ने गरेका थिए । गणेशलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

सस्तोमा सुन पाउने लोभ राख्दा गत भदौ ५ गते काठमाडौं, चाबहिल बस्ने धादिङका विष्णुबहादुर बस्नेत नराम्रोसँग लुटिए । दुई महिनादेखि उनको एक व्यक्तिसँग सामान्य चिनजान रहेछ । ती व्यक्तिले एक दिन मसँग एक किलो सुन छ, तपाईंलाई म सस्तोमा (१० लाख रुपैयाँ)मा दिन्छु भनेछन् । सुन सस्तोमा पाउने भएपछि विष्णुले न्युरोडका सुनपसले पञ्चसुन्दर बज्राचार्यलाई पनि सुनाएछन् । उनीसँगको सरसल्लाहमा उनले ती व्यक्तिलाई फोन गरेछन् र पैसा लिएर मुडे पुगेछन् । मुडेमा ती व्यक्ति नआएपछि उनीहरु त्यत्तिकै फर्किए । फेरि अर्को दिन फोन गर्दा गोकर्ण बोलाइयो तर त्यो दिन उनीहरु पैसा बिना नै गएकाले त्यत्तिकै फर्कायो । फेरि उनलाई थानकोट बोलाइयो । झोलामा १० लाख रुपैयाँ लिएर उनीहरु पुगे । त्यसपछि चार जनाको समूहमा आएकाले उनीहरुको झोला लिएर भाग्यो । महानगरीय अपराध महाशाखाले अहिले यो घटनाको तीव्र अनुसन्धान गरिरहेको बताएको छ ।

यसैगरी अहिले उपत्यकामा विदेशी मुद्राको लोभ देखाएर लुट्नेहरु पनि कम छैनन् । महानगरीय प्रहरी अपराध महाशाखाले यसरी लुट्दै आएका गुल्मीका साभे कुमाल र दुर्गा कुमाललाई पक्राउसमेत गरेको छ । ‘यिनीहरुले बिहान झिसमिसेमै मान्छेहरुलाई भेट्दै विदेशी मुद्रा देखाउँदै साटिदिनुस् भन्दा रहेछन्,’ महाशाखाका चोरी पिलरमा कार्यरत सब–इन्स्पेक्टर केदार तिमल्सिनाले भने, ‘छेउछेउमा विदेशी मुद्रा राखे पनि बीचमा ५–१० रुपैयाँको नोट राख्दारहेछन् । अनि मान्छेहरुको पैसा लुट्दा रहेछन् ।’

डलर देखाएरै चोरिएको अर्को रोचक घटना पनि छ । झापा अर्जुनधाराका २७ वर्षीय राधाकृष्ण दाहाल झापामा कपडाको व्यापार गर्ने भएकाले काठमाडौं आउने–जाने गरिरहन्थे । काठमाडौं आएका बेला एक अपरिचित व्यक्तिले उनलाई ‘मसँग १० हजार डलर छ, ५ लाख रुपैयाँमा लिनुस्’ भन्यो । डलर देखायो र साट्नुस् भनेर ५० डलर दियो पनि । डलर सक्कली रहेछ । १० हजार डलर भनेको नेपाली १० लाख रुपैयाँमा पर्न जान्छ । फाइदा हुने भएपछि कसको मन नलोभिएला ? राधाकृष्ण पनि लोभिए । घरमा श्रीमतीलाई फोन गरेर तत्काल पैसा मगाए । चाबहिलको गणेश मन्दिरमा गत भदौ ७ गते उनीहरुको भेट भयो । कालो झोलामा पैसा लिएर पुगेका उनले १० हजार डलर पाएनन्, बरु आफूले लगेको पाँच लाख रुपैयाँ नै गुमाए । डलर दिने भनेर आएका दुई व्यक्तिले उनको पैसाको झोला लिएर टाप कसे । कागजैकागज भरेर पोको पारिएको रुमाललाई डलरका रुपमा थमाइदिएर उनीहरु हिँडिहाले । यता रुमाल खोल्दा मात्र थाहा भयो, ‘डलर होइन, कागज परेछ !’ अहिले ती लुटेराहरुको खोजीमा महानगरीय अपराध महाशाखाको प्रहरी लागिरहेको छ ।

चुरोट चोर्ने गिरोह
उपत्यकामा सुन र पैसा चोर्ने मात्र छैनन्, चुरोट चोर्नेसम्म छन् । त्यो पनि गुडिरहेको गाडीबाट फिल्मी शैलीमा । यसरी चोरी गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

घटना साउन १२ को हो । जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट ६९ कार्टुन मार्लबोरो चुरोट गाडीमा लोड गरेर मूलवीर विश्वकर्मा र राजन खड्का महाराजगञ्जतर्फ लागे । त्यहाँ पुगेर अनुभव ट्रेड सेन्टरमा सामान झार्ने क्रममा उनीहरुले थाहा पाए, आठ कार्टुन चुरोट त गायब छ ! मिनिटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याइएको थियो । गाडी कतै रोकिएको पनि थिएन तर पनि चुरोट रहस्यमय तरिकाले हराएपछि उनीहरु चकित भए । हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो । कतै खस्यो भन्ने आँकलन गरौँ भने गाडीको पछाडिको ढाको बन्द थियो । उता कम्पनीका प्रबन्धकहरुले विश्वकर्मा र खड्गाले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्न लगाए । घटना भएको दुई दिनपछि उनीहरु साउन १४ गते महानगरीय अपराध महाशाखा टेकु पुगे । ‘केही दिनअघि मात्र त्यस्तै किसिमको अर्को उजुरी आएको थियो । कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा चुरोट बाटोबाटै हराएको उजुरी थियो,’ महाशाखामा २४ वर्षदेखि चोर पिलरमा कार्यरत इन्स्पेक्टर भरत थापाले भने, ‘हामीले सिसिटिभी फुटेजका आधारमा चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिलराज खड्गीलाई १६ साउनमा समात्यौँ । त्यसपछि दुवै घटनामा उसको संलग्नता रहेको खुल्यो ।’

पक्राउ परेका खड्गी जगदम्बा ग्रुपकै जगदम्बा ओभरसिज प्रालिमा केही समय काम गरेका रहेछन् । पेप्सीकोलाको सोही गोदाम रहेको ठाउँमा गएर अन्तर्वार्ता दिएकाले सोही गोदामबाट होलसेलमा चुरोट बिक्री गर्ने उनले थाहा पाएका थिए । प्रहरीका अनुसार चुरोट चोरेर सजिलै पैसा कमाउन सकिने साथीको सल्लाह बमोजिम खड्गी चुरोट चोरीमा लागेका रहेछन् । उनीहरुले त्यो दिन पनि फिल्मी शैलीमा गुडिरहेको गाडीबाट चुरोट चोरेछन् । कसरी ? चुरोट लोड गरेर निस्किएको बा.१०च ५२५१ नम्बरको मिनी टाटालाई उनीहरूले बा.६२प ४२३५ नम्बरको स्कुटरले पछ्याए । स्कुटर उनै खड्गीले चलाएका थिए, गाडीको पछाडि उनका साथी बसेका थिए । चुरोट कम्पनीका कर्मचारी दुवैजना गाडीको अगाडि बसेका थिए । गोठाटारको बालुवा वासिङनजिकै पुगेपछि खाल्डाखुल्डीमा गाडीको गति कम भयो । स्कुटरको पछाडि रहेका शाहीका साथी गाडीको पछाडि लगाएको सानो ताला फुटाएर भित्र छिरे । दुई कार्टुन चुरोट दुईतिर च्यापेर फुत्त हामफाले । स्कुटरमा चढे र सो चुरोट नजिककै पसलमा लगेर राखे । फेरि गाडीकै पिछामा लागे । गोठाटारको उकालोमा गाडीको स्पिड कम भयो । उनी पुनः गाडीमा छिरेर दुई कार्टुन चुरोट लिएर निस्किए । पहिलेजस्तै नजिकैको पसलमा चुरोट राख्न दिएर गाडीको पिछामा लागे ।

त्यसपछि पटक–पटक चुरोट निकाल्ने प्रयास गर्दा पनि उनीहरू सफल भएनन् । सुकेधारा पुगेपछि गाडीमा बल्ल चढ्न सफल भए । त्यहाँ पनि उनीहरुले दुई कार्टुन चुरोट निकाल्न सफल भए । यसरी चार ठाउँमा गरेर उनीहरूले आठ कार्टुन चुरोट चोरे । यस्तो चोरी राजधानीमा नयाँ शैलीको भएको प्रहरी निरीक्षक थापा बताउँछन् । थोरै चोरी गर्दा पनि धेरै मूल्य बराबरको हुने र सजिलै बिक्री गर्न सकिने भएकाले उनीहरुले यसरी चोरी गर्दैै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरोहका मुख्य नाइके र उनका दुई सहयोगी भने अझै फरार छन् ।

चोरको चोर्ने ‘टेक्निक’
चोरले चोरी गर्ने बेलामा अपनाउने ‘टेक्निक’ कस्तो हुन्छ ? प्रहरीका अनुसार अधिकांशले दिउँसोको समयमा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गर्छन् । ‘कतिपयले दिनमा सहकारीको निगरानी गर्ने र राति नगद, ल्यापटप, कम्प्युटर चोर्ने गरेको पनि भेटियो,’ इन्स्पेक्टर थापाले भने, ‘आफन्त खोज्ने अर्थात् कोठा भाडामा लिने बहानामा घरभित्र पसेर चोरी गर्ने, रातको समयमा झ्यालबाट हुक छिराई कोठामा भएका ल्यापटप तथा बहुमूल्य सामान चोरी गर्ने, नक्कली सुन तथा डलर देखाई लुटपाट गर्नेहरु पनि छन् ।’ काठमाडौँको चोरी–ट्रेन्ड हेर्ने हो भने प्रायः चोरले नगद, सुनचाँदी र इलेक्ट्रोनिक्स सामान लाने गर्छन् । त्यस्ता सामान उनीहरुले तुरुन्तै उपत्यकाबाहिर लगेर व्यवस्थापन गर्ने गर्छन् । प्रहरीका अनुसार चोरी घटनामा संलग्न व्यक्तिहरु प्रायः उपत्यका नजिकका जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ र मकवानपुरको हुने गरेका छन् । ‘बाहिरी जिल्लाबाट आएर यता होटलमा बस्ने अनि चोरी सकेपछि गाउँतिर भाग्ने गरेको पनि पाइयो,’ महाशाखाका सई तिमल्सिनाले भने । सुन चोरी गर्नेहरुले भने भर्खरै खुलेका, थोरै लगानीमा खुलेका, दर्ता नभएका सुनचाँदी पसलमा बेच्ने गरेका छन् । प्रहरीका अनुसार कवाडी समान बोक्न गएको बहाना बनाई घरभित्र प्रवेश गरेर चोरी गर्ने समूह पनि  सक्रिय छ । एक जनाले बाहिरबाट निगरानी गर्ने र अर्कोले भित्र प्रवेश गरेर चोरी गर्छन् । प्रहरीका अनुसार समूह बनाई चोरी गर्नेदेखि सडक बालबालिकासम्म यस कार्यमा सक्रिय छन् । महानगरीय अपराध महाशाखाले आर्थिक वर्ष ०७३/०७४ मा मात्र चोरीमा १ सय सात जना र लुटपाटमा १४ जनालाई पक्राउ गरेको थियो ।

पेशेवर पाकेटमार
उपत्यकामा चोरी मात्र होइन, पाकेटमारीदेखि पनि उत्तिकै सचेत हुन जरुरी छ । सार्वजनिक यातायात र भीडभाड भएका स्थानमा पाकेटमारी बढी हुने गर्छ । पाकेट मार्ने प्रक्रिया रोचक हुन्छ । महाशाखाका सइ तिमल्सिना भन्छन्, ‘तीन–चार जनाको समूह हुन्छ । एउटाले धकेलेर भीड बनाइदिन्छ, अर्कोले चोरिसक्छ । त्यो चोरेको समान अर्कोलाई पास गर्छ । कतिपय अवस्थामा एउटाले झुक्याएर तल हेर्न लगाउने र अर्कोले चोरेर भाग्ने गरेको पनि पाइन्छ ।’ गत वर्षको साउनदेखि यो असारसम्ममा मात्र राजधानीमा २१ जना पक्राउ परे । प्रहरीले पटक–पटक पाकेटमारमा संलग्न भएकाहरुको सूची पनि बनाएको छ । पेशेवर पाकेटमारहरुले आ–आफ्नो एरिया बनाएका छन् । उनीहरु आफ्नो सम्बन्धित रुटमा मात्र पाकेटमारी गर्ने गर्छन् । पेशेवर पाकेटमारको सूचीमा सिन्धुपाल्चोकका हरि घले, दोलखाका रामकुमार घर्ती, ललितपुरका होमबहादुर प्रहरी, काभ्रेका ठुलाई तामाङ, मोरङका कृष्ण खड्का, काभ्रेका कमल तामाङ, वीरबहादुर तामाङ, सुनबहादुर तामाङ, नुवाकोटका केदार थपलिया, काभ्रेका कपिल लामा रहेका छन् ।

खुंखार चोर
पटक–पटक चोरीमा संलग्न रहनेहरुको समूह पनि उपत्यकामा उत्तिकै छ । चोरहरू निश्चित समय जेल बस्छन् र धरौटीमा छुट्छन् । फेरि चोर्छन् । फेरि धरौटीमै थुनामुक्त हुन्छन् । यही क्रम निरन्तर चल्ने गरेकाले चोरी रोक्न मुस्किल परेको प्रहरीको भनाइ छ । प्रहरी अधिकारीहरू चोरीको मामिलामा  फितलो कानुन भएकाले यसलाई न्यूनीकरण गर्न गाह्रो भएको बताउँछन् । महानगरीय अपराध महाशाखामा एसएसपीका रुपमा रहेका बेला हालका डिआइजी सर्वेन्द्र खनालले भनेका थिए, ‘हिजोको चोर आज पनि सक्रिय छ ।  कानुनलाई आफूअनुकूल प्रयोग गर्ने गरिन्छ । चोरको पहुँच पनि छ या अरू कुनै त्रुटि छन् । नत्र त सशक्त कारबाही हुन्थ्यो नि !’ उनले भनेको अवस्थामा अझै सुधार आएको छैन । मंगलबार मात्रै राधिकाको डेराबाट चोरी गर्ने (माथि उल्लेखित केस नं. २) वीरबहादुर श्रेष्ठ प्रहरीको खुंखार चोरको सुचीमा पर्छन् । प्रहरीका अनुसार श्रेष्ठ अदालतबाट चार महिनाअघि १० लाख धरौटी तिरेर छुटेको खुंखार चोर हुन् । दोलखा शौलुङश्वरी घर भएका उनी काठमाडौँमा स्वयम्भू बस्दै आएका छन् । दोलखाकै सुभाष परियार र विजय सोझो भन्ने अर्जुनबहादुर श्रेष्ठ पनि प्रहरीको पटके चोरको सुचीमा छन् । बागबजार बस्ने काभ्रे सरमथलीका बाङ्देन लामा पनि पटके चोरको सुचीमा पर्छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाअन्तर्गत पर्ने असन आसपास बढी चोरी हुने क्षेत्रका रुपमा लिइन्छ । ०७३/०७४ मा मात्र ४३ वटा चोरीका मुद्दा यहाँ दर्ता भए । मुद्दा नचली मिल्ने त थुप्रै थिए । त्यहाँ कार्यरत मुद्दा शाखाका असई विशाल पौडेलले पीडितहरुले मुद्दा दर्ता गर्न नचाहँदा चोरलाई प्रोत्साहन हुने गरेको बताए । ‘थुप्रै केसहरुमा हामी चोर समात्छौँ तर अदालती प्रक्रिया झन्झट हुने भन्दै पीडितले मुद्दा दर्ता गर्न चाहँदैनन्,’ उनले भने, ‘उदाहरणका लागि एउटा मोबाइल चोरी भएको हुन्छ । त्यो मोबाइलसहित हामी चोर पक्राउ गर्छौं । ‘हामीलाई मोबाइल दिनुस्, भइहाल्छ, अदालतको पछि लाग्यो भने मेरो मोबाइल दुई–तीन महिना त्यत्तिकै थन्किन्छ’ भन्दै पीडित सामान लिएर आफ्नो बाटो लाग्छ । सामानबिना चोरलाई मुद्दा चलाउन नसकिँदैन यस्तो परिस्थिति धेरै पटक बनेको प्रहरी वृत्त जनसेवामा एकसाता अघि मात्र इन्चार्ज भएका डिएसपी मोहनकुमार थापाले बताए । उनले आफ्नो क्षेत्र चोरीका मामिलामा संवदेनशील रहेकाले चाडपर्वमा हुने सम्भावित चोरी रोक्न सुरक्षा योजना कडा बनाएर लाग्ने तयारीमा रहेको बताए ।

गाह्रो छ पक्रिन
चोरलाई समाउन सजिलो छैन । संसारभर अपराधका विभिन्न थरीमध्ये चोरी गर्नेलाई पक्रन सबैभन्दा मुस्किल मानिन्छ । चोरलाई समाउने क्रममा  राजधानीमा पनि पटक–पटक मुठभेड नै हुने गर्छ । दुई वर्षअघि चोरलाई समाउने क्रममा चोरले अपराध महाशाखाका सई केदार तिमल्सिनाको हात नै टोकिदिएका थिए । ‘बौद्धस्थित एउटा घरमा चोरी हुन लागेको गोप्य सूचनाको आधारमा हामी त्यहाँ पुगेका थियौँ,’ हातको खत देखाउँदै उनले भने, ‘जीवन तामाङको नेतृत्वमा पाँच जनाको हतियारधारी समूह थियो । हामी पनि पाँच जना थियौँ । देख्नेबित्तिकै भागे । हामीले खेद्यौँ । म अघिअघि थिएँ । घमासान फाइट नै पर्यो । एउटाले मेरो हातमै टोकिदियो । पछि ती चोरहरूले १४ ठाउँमा चोरी गरेको पत्तो लाग्यो । त्यस्तै २०६५ सालतिर नेपालटारमा त्यसैगरी मुठभेड हुँदा मकैबारीमा चोरसँग घमासन फाइट परेको थियो । आँखामुनिको भाग टोकेको दाग अझै छ । त्यतिबेला मैले चोरलाई फुत्किन दिएको थिइनँ । यस्तो खतरा मोलेकामा मलाई तत्कालीन एसएसपी हेमन्त मल्ल ठकुरीले एक हजार रुपैयाँ पुरस्कार पनि दिनुभएको थियो ।’  

कसरी बच्ने ?
सम्भावित चोरीबाट कसरी बच्ने त ? महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी छोटकरीमा सुझाउँछन्, ‘घरबाट बाहिर निस्कँदा बहुमूल्य चिज साथमै लिएर हिँड्नुस् । घरबाहिर निस्कँदा छिमेकीलाई जानकारी गराउने, घर कुर्ने मान्छे राख्ने, राति घरअगाडि बत्ती बाल्ने र सक्ने मान्छेले सिसिटिभी राख्ने गर्दा पनि चोरीबाट जोगिन सकिन्छ ।’

‘चोरीमा फितलो छ ऐन ’
अनन्तराज लुइँटेल, अधिवक्ता
चोरी पनि एउटा गम्भीर अपराध हुँदाहुँदै पनि कानुन कार्यान्वयका निकायहरुको अप्रभावकारीताका कारण चोरीको अभियोगमा कम सजाय हुँदै आएको पाइन्छ ।  
मुलुकी ऐन चोरीको महलको १२ नं. बमोजिम डाँका, रहजनी, जबर्जस्ती चोरी र नकबजनी बाहेक अरू साधारण चोरीमा कसूरदारलाई जनही सो चोरीको जम्मा बिगो बमोजिम जरिवाना र पहिला पटककोेलाई एक महिना, दोस्रो पटककोलाई तीन महिना, तेस्रो पटककोलाई छ महिना, चौथो पटककोलाई एक वर्ष, पाँचौँ पटककोलाई दुई वर्ष, छैटौं पटककोलाई चार वर्ष र सोभन्दा बढी जतिसुकै पटक भए पनि छ वर्ष कैदसमेत गर्नुपर्छ भन्ने व्यवस्था छ ।
चोरीको महलले यो अपराधमा संलग्न व्यक्तिलाई समेत अधिकतम बाह्र वर्षसम्म कैदको व्यवस्था नगरेको होइन तर पनि चोरीको मुद्दामा प्रभावकारी अनुसन्धान हुन नसक्दा, दशी फेला नपर्दा तथा चोरीको सम्पत्ति मासिसकेको कारण दावी बराबरको धनमाल फिर्ता गराउने र चोरीको अभियोगमा अधिकतम हदसम्म सजाय हुन सकेको पाइँदैन ।  
चोरीको महलको १३ नं.मा १२ नम्बर बमोजिम सजाय हुने अवस्थामा चोरीको बिगो पचास रुपैयाँभन्दा कम रहेछ भने पहिलो पटककोलाई सो नम्बरमा लेखिएको जरिवानाको र दोस्रो पटकदेखिकोलाई जरिवाना कैद दुबैको आधा सजाय गर्नुपर्छ भनिएको छ । पटक कायम गर्दा जतिसुकै पटकमा साबित भए पनि अड्डाबाट कसूरदार ठहराई फैसला भएको प्रत्येक पटकलाई एक पटकको हिसाब गरी कायम गर्नुपर्छ भनिएको छ । पटक पटक चोरीको अपराधमा संलग्न भएको भएतापनि त्यस्तो अभियोगको प्रमाण पु¥याउन नसक्दासमेत अपराध बमोजिमको सजायसमेत भएको पाइँदैन । यसबाट चोरीको अपराधमा सजाय नै कम भएर हो कि भन्ने सम्मको अवस्था समेत सिर्जना भएको छ ।
कैदको हिसाबले कम सजाय भएको नभई १४ नं. ले नकबजनी गर्नेलाई १२ नम्बर बमोजिम हुने सजायको डेढो बढाई सजाय गर्नुपर्छ, जबर्जस्ती चोरी गर्नेलाई १२ नम्बर बमोजिम हुने सजायको डेढो बढाई सजाय गरी जरिवाना वापत समेत कैद गर्नुपर्छ र सो बमोजिम गर्दा चार महिनादेखि घटी कैद हुने भएमा चार महिना कैद गर्नुपर्छ भन्ने व्यवस्था छ । साथै रहजनी गर्नेलाई यसै महलको १२ नम्बर बमोजिम हुने सजायको दोब्बर बढाई सजाय गरी जरिवाना बापत समेत कैद गर्नुपर्छ र सो बमोजिम गर्दा छ महिनादेखि घटी कैद हुने भएमा छ महिना कैद गर्नुपर्छ भनिएको छ ।  
डाँका गर्नेलाई बिगोको डेढो बढाई जरिवाना गरी पहिलो पटककोलाई छ वर्ष, दोस्रो पटककोलाई नौ वर्ष र तेस्रो पटकदेखिकोलाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद समेत गर्नुपर्छ ।

 

Leave A Comment