भ्रष्टाचारविरुद्ध नेपाल मिडिया सोसाइटी

शनिबार, २४ भदौ २०७४, १२ : ३७ शुक्रवार , Kathmandu
भ्रष्टाचारविरुद्ध नेपाल मिडिया सोसाइटी

नेपालका प्रतिष्ठित छापा तथा इलोक्ट्रोनिक्स मिडिया सञ्चालकहरुको साझा संस्था नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारविरोधी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममार्फत सोसाइटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

अर्बौंको एनसेल कर मिनाहा प्रकरण, कर फस्र्योटका नाममा कर छलीका लागि भएको घिनलाग्दो खेलमा राजनीतिक दलका नेताहरु, उच्च पदस्थ कर्मचारी र मन्त्रिपरिषदका सदस्य संलग्न भएका घटना, भ्रष्टाचार नियन्त्रणका लागि बनाइएका संस्थामा संस्थाकै बदनाम हुने गरी राजनीतिक स्वार्थ प्रेरित ढंगबाट गरिएको नियुक्ति र बहिर्गमनसम्मको खेल, न्यायिक सर्वोच्चता र सुशासनका पक्षमा उभिनबाट हतोत्साही गर्ने गरी प्रधान न्यायाधीश माथिको महाअभियोग प्रकरण र नेपाल आयल निगमका लागि जग्गा खरिद प्रकरण आदिले देशलाई गम्भीर दुर्घटनाउन्मुख बनाएको मिडिया सोसाइटीको ठहर छ । यस्ता डरलाग्दो पक्षमा प्रमुख राजनीतिक दलहरुकै संलग्नता र मौनता देखिएको भन्दै विशेष अभियान चलाउने निर्णय गरेको हो ।
जनताको रगत पसिनाका रुपमा असुल गरिएको करमाथि मुठ्ठीभर शासकले ब्रह्मलुट गर्ने प्रवृत्ति मौलाएको निष्कर्ष निकाल्दै सोविरुद्ध सबै तह र तप्काका नेपाली उठ्नुपर्ने अवस्था देखिएको सोसाइटीको विज्ञप्तिमा उल्लेख छ ।
‘देशलाई भ्रष्ट्राचारमुक्त गर्न राजनीतिक शुद्धता र पारदर्शिताका लागि सबै पेशागत र तह तप्काका जनसमुदायलाई समेत ऐक्यबद्धता र खबरदारीका लागि हाम्रो विनम्र अनुरोध छ,’ सोसाइटी अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाली मिडियाले फेरि पनि नीतिगत, संस्थागत, संगठितलगायत सबै प्रकारका भ्रष्टाचार अन्त्यका लागि एक विशेष प्रकारको अभियान चलाउने अठोट गरेको छ ।’

Leave A Comment