‘महको म’ आयो

शनिबार, २४ भदौ २०७४, ०१ : २३ शुक्रवार
‘महको म’ आयो

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ बजारमा आएको छ । यसअघि महमध्येका हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’ पछि मदनकृष्णको पुस्तक पनि आउने अपेक्षा गरिएको थियो ।
पुस्तक आएकामा मदनकृष्णलाई शुभकामना दिँदै हरिवंशले भने, ‘धेरै पहिले मैले एउटा स’रिलो रुखको आत्मकथा पढेको थिएँ । त्यो पढेपछि  सबै चीजको आत्मकथा हुँदोरहेछ भन्ने लागेको थियो । मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने कुरै भएन । म मेरो जीवनदाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा ढुक्क छु ।’
साहित्यकार रवीन्द्र समीरले पुस्तकमाथि टिप्पणी गरेका थिए । ‘प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म एउटा शास्त्रीय आत्मकथा हो !’ उनले भने, ‘आत्मप्रशंसा, आत्मश्लाघाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो ! महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक् पहिचान भएको पुस्तक हो !’
चार दसक लामो सहयात्रामा रहेका ‘मह’ र हरिवंशले ‘मह’को सम्बन्ध सियो र धागो भएर मह जोडी बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसङ्ग नदोहोरिनु अर्को विशेषता भएको समीरले बताए । ‘महको म पढ्दा कहिले एक्लै हाँसो लाग्छ, कहिले गम्भीर बनाउँछ, कहिले घोत्लिन बाध्य गराउँछ, कहिले रुवाउँछ, कहिले लेखकप्रति अगाध श्रद्धा उत्पन्न हुन्छ त कहिले मीठो ईष्र्या लाग्छ ! प्रेम, अन्तरजातीय विवाह, यसोदा भाउजुको क्यान्सर सङ्घर्ष, लेखकको पार्किन्सनको कारण “चिप्स र ब्याट्री” ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउँछ !’ उनले भने । असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा भएको प्रकाशक निरज भारीले बताए ।

 

Leave A Comment