‘मैले खत्रा एक्टिङ गर्न थिएटर गरेको हैन’

आइतबार, २५ भदौ २०७४, १२ : ०९ शुक्रवार , Kathmandu
‘मैले खत्रा एक्टिङ गर्न थिएटर गरेको हैन’

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ एउटी कुशल अभिनेत्री हुन् । बाल कलाकार हुँदै म्युजिक भिडियोकी प्रख्यात मोडलबाट चलचित्रमा पदार्पण गरेकी उनले यतिबेला ‘गोल्डेन ब्वाई’ नामक अंग्रेजी नाटकमा अभिनय गरेकी छन् । उनको यो नाटकको चर्चा अंग्रेजी मिडियामा निकै भयो । उनको अभिनय यात्रा र पात्रबारे पुष्पा थपलियाले राखेको चासो :

अहिले नाटकमा व्यस्त हुनुहुन्छ । खास के कारणले यता आकर्षित हुनुभयो ?
म स्कुल पढ्दैदेखि नाटक खेल्थेँ । कक्षा नौमा पढ्दा पहिलो नाटक खेलेको हो मैले । मैले पहिलोपल्ट गुरुकुलको नाटक हेरेँ र त्यो हेरेर नाटक गर्न मन लाग्थ्यो । अनि मैले दयाहाङ राईसँग ‘लेडिज फ्रम द सि’ भन्ने प्ले गरें ।
अहिलेसम्म कति नाटक गर्नुभयो नि ?
अहिलेसम्म चार ओटा गरेँ । सबै अंग्रेजी नाटक हुन् तर यार्मा भने नेपालीमा अनुवाद गरिएको थियो । दया दाइसँग ‘जलपरी’ गरेको थिएँ । मैले खत्रा एक्टिङ गर्नलाई थिएटर गरेको हैन तर यसबाट मैले धेरै कुरा सिक्न पाइरहेकी छु जस्तो लाग्छ ।
तपाईंले २००९ मा ‘जलपरी’ गरिसकेपछि एकैपटक २०११ र २०१४ मा मात्रै नाटक गर्नुभयो र अहिले २०१७ मा ‘गोल्डेन ब्वाई’ गर्दै हुनुहुन्छ, किन यति लामो ग्याप ?
अँ, मैले लामोलामो समय राखेर नै प्लेहरु गर्छु किनभने जुन काम गर्यो, त्यसैमा लामो समय दिने मेरो बानी छ र दिन पनि पर्छ । त्यसका बारेमा जानकारी लिनुपर्यो, रिसर्च गर्नुपर्यो अनि पो राम्रो गर्न सकिन्छ त ! म प्लेमा मात्रै हैन, फिल्म गर्दा पनि लामो समय लिन्छु । अरुजस्तो एउटा गर्दागर्दै अर्कोमा हात बढाउँदिन । मेरो सुरुदेखिकै बानी हो यो र त्यही बानी अहिलेसम्म छ । फेरि प्लेका लागि लगातार एक महिना छुट्याउन जरुरी पनि छ किनभने बिहानदेखि बेलुकासम्म टाइम दिन सकिएन भने प्ले गर्नै सकिँदैन । फेरि कहिले गर्ने कहिले नगर्ने पनि मिल्दैन । त्यसैले समय मिलाउँदै जाँदा लामो ग्याप देखिएको हो, अरु खास कारण छैनन् ।
‘सानो संसार’अघि तपाईं त बालकलाकार हुनुहुन्थ्यो हगि ?
अँ, मैले सरोज खनाल दाइसँग ‘संगिनी’ भन्ने फिल्ममा चाइल्ड एक्टरको रुपमा काम गरेँ । ‘सानो संसार’देखि भने म हिरोइन भएँ ।
अझै पनि तपाईंलाई ‘सानो संसार’की नायिका ऋतु पात्रको सम्झना गर्छन् तर तपाईंलाई पर्सनल्ली कुन चरित्र मन पर्छ ?
त्यो त हो तर मलाई मैले गरेका सबै फिल्मका पात्र मन पर्छन् । पात्र मन परेर, त्यसको कथा मन परेर नै मैले फिल्म गर्छु । तर ऋतु पात्रलाई अरु दर्शकले जस्तै म पनि सम्झिन्छु । त्यसबाहेक मलाई आफ्नो राम्रो भुमिका भएको पात्र ‘मौन’ फिल्मको वर्षा पनि राम्रो लाग्ने पात्र हो किनभने सबैको नजरमा सुन्न नसक्ने, बोल्न नसक्ने भन्नेबित्तिकै हाम्रो दिमागमा नराम्रो मेन्टालिटी आइहाल्छ । सुरुमा मेरो पनि आएको थियो तर जब म रिर्सचका लागि उनीसँग समय बिताउन थालेँ, उनीहरुसँग बोल्न थालेँ, मलाई हामी नर्मल मानिसहरु भन्दा उनीहरुमाथि रुचि लाग्न थाल्यो । सबै नजरबाट उनीहरुको बानीबेहोरा मन प¥यो । हाम्रो नजरमा उनीहरु केही गर्न सक्दैनन् होला भन्ने सोच्छौँ तर उनीहरु त हामीभन्दा धेरै लाइभ्ली रहेछन् ! उनीहरुबाट मैले धेरै कुरा सिकेँ । त्यसैले मलाई वर्षा पात्र एकदमै मन पर्छ ।
‘मौन’ फिल्ममा तपाईंको अभिनयलाई सबैले आश्चर्यका साथ हेरे तर ‘मेघा’ फिल्मलाई चाहिँ तपाई कसरी सम्झनुहुन्छ ?
यो समाजमा फिल्मको जस्तो ‘मेघा’ धेरै छन् । यसको निर्देशक पनि फिमेल नै हुनुहुन्छ । धेरै कन्ट्रोभर्सी पनि भयो किनभने हाम्रो सोसाइटीमा मेघाजस्तो लाइफलाई स्वीकार्दैनन् तर त्यस्ता पात्र यहाँ धेरै छन् । मैले पनि मेघा बन्ने ट्राई गरेँ । त्यसैले म यसलाई एउटा राम्रो  फिल्मको रुपमा लिन्छु ।
‘सोल सिस्टर’ ?
यो मेरो आफैँले प्रोड्युस गरेको थ्रिलर मुभी हो । हामी सर्ट मुभी बनाउने क्रममा साथीभाइसँग छलफल भएर यो फिल्मको कन्सेप्ट आएको हो । सिक्किममा जम्मा १३ दिनमा हामीले यसको सुटिङ सकेका थियौं । सोचेजस्तो रिजल्ट भने मैले पाउन सकिनँ तर म यसबाट खुसी छु । यो एउटा एक्सपेरिमेन्ट थियो, एक्सपेरिमेन्ट कहिले सफल हुन्छ कहिले असफल ।
पछिल्ला फिल्महरु भने तपाईका त्यति चलेनन्, फिल्म नचल्दा कस्तो महसुस हुँदोरहेछ ?
पछिल्लो भन्नाले मेरो फिल्म ‘क्लासिक’ र ‘पर्व’ हो । क्लासिक त चलेकै हो, पर्वदेखि पनि मेरो प्रोड्युसरहरु मदेखि खुसी नै हुनुहुन्छ किनभने पहिले नै हामी यसको रिजल्टबारे तयार थियौँ । थ्रिलर फिल्म नेपालमा हेर्ने दर्शकहरु कम छन् । जसलाई थ्रिलर मनपर्छ, उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । अझ सबैले थ्रिलर फिल्म भएर विदेशमा त राम्रो दर्शक पाउँदैन भने यसले त पाएको हो भनेर कुरा गर्नुभएको थियो । त्यसमाथि यो एकदमै कम बजेटमा बनेको फिल्म पनि हो । फरक यही हो कि केही नयाँ काम गर्दा रिस्क पक्कै लिनुपर्छ नै त्यसैले थ्रिलर जनराको फिल्म चलेन भनेर म भन्दिनँ तर अरुभन्दा कम भने पक्कै हो ।
त्यसो भए जनरा फरक भएरै फिल्म नचलेको हो त ?
फेरि फिल्म नचलेको भन्नुभयो । फिल्म नचलेको होइन क्या ! यसका अडियन्स कम भएकाले त्यस्तो लागेको हो । ब्लड, डरलाग्दो दृश्य हेर्न कसैले मन पराउँदैनन् तर पनि हामीले रिस्क लिएर फिल्म गरेका हौँ । हामीले अरुले नयाँनयाँ जनरामा काम गरुन् भनेर यस्तो ट्राई गरेका हौँ । अब लभस्टोरी त मैले धेरै गरिसकेँ, ‘सानो संसार’ गरेँ, ‘मेरो एउटा साथी छ’ गरेँ, ‘नोबेम्बर रेन’ गरेँ र यी फिल्महरु सफल पनि त भए ! लभ स्टोरी जनराको फिल्ममा त म सफल भइहालेँ, अब नयाँ ट्राई गरौं भनेर हो मैले ‘पर्व’मा रिस्क लिएको ।
अब एक्कैछिन स्वदेशी फिल्म छाडेर विदेशीतिर जाउँ । विदेशी फिल्म कत्तिको हेर्नुहुन्छ ?
म एकदमै धेरै फिल्म हेर्ने मान्छे हुँ । त्यसमा पनि मलाई विदेशी फिल्म धेरै मन पर्छ । हेरेको जति सबै मन परेको छ । स्पेसल्ली ‘माई लेफ्ट फुट’, ‘लभ इन द टाइम अफ कोलेरा’जस्ता फिल्महरु नेपालमा पनि बने हुन्थ्यो जस्तोे लाग्छ । सबै प्रकारका फिल्म हेर्न दर्शक तयार छन् जस्तो लाग्छ मलाई चैँ ।
फिल्म काँचको पर्दामा र थिएटरमा लाईभ नाटक गर्दा अनुभव एकै हुँदोरहेछ कि फरक?
आई एम आर्टिस्ट । त्यही भएर मलाई दुवै मन पर्छ । थिएटरमा लाइभ हुने भएकाले दर्शकको कमेन्ट एकैछिनमा पाइन्छ । दुवैमा अरु कलाकारको साथ चाहिन्छ । त्यही भएर त्यस्तो फरक खासै लाग्दैन ।
थिएटरका कलाकार लाउड हुन्छ भन्छन् नि ?
अँ, अब धेरै दर्शक भएको ठाउँमा ठूलो स्वरले त बोल्नै पर्यो तर यसले फिल्मलाई असर पार्लाजस्तो लाग्दैन । मेरो फिल्महरुमा त्यस्तो पाउनुभएको छ र ?
बाल्यकालदेखि नै हो यसप्रति रुचि बढेको ?
रुचि त हैन तर सानैदेखि सबैले मलाई कलाकार बन्नुपर्छ भन्थे । मैले चाइल्ड ¥याम्प सो पनि गरेको छु । एक महिना तालिम लिएको थिएँ मैले त्यो बेला । पछि रेडियो कान्तिपुरमा आरजे भएर काम गरेँ र त्यो समयमा केही म्युजिक भिडियो गरिरहेको थिएँ, आलोक नेम्वाङसँग । त्यही समयमा आलोक दाइ (नेम्वाङ)ले सानो संसार फिल्मको अफर गर्नुभयो, स्क्रिप्ट राम्रो लाग्यो र गरेँ ।
तपाईंको कर्मा लाउञ्ज पबको व्यवसाय कस्तो छ ?
भेरी गुड । अहिलेसम्म राम्रै चलिरहेको छ र हामी ठाउँ चेन्ज गर्ने सुरमा छौँ । सात वर्ष भइसक्यो एक्कैठाउँमा बसेको पनि ।
आफ्नो व्यवसायका ग्राहक र अभिनयका दर्शकलाई कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
म कहिलेकाहीँ मात्रै जान्छु । जस्तो कि मिटिङ, केही स्पेसल अकेजन, फुड टेस्टिङ । अरु समयमा मेरा पाट्र्नर र काम गर्नेहरुले सम्हाल्छन् । त्यही भएर सन्तुलन मिलिरहेको छ तर सुरुसुरुमा भने म आफैँले सर्भिस पनि गरेँ, कुकिङ पनि गरेँ । त्यो बेलाको अनुभवले यतिबेला व्यवसाय सञ्चालन गर्न सहयोग गरिरहेको छ ।
तपाईंलाई कुकिङ गर्न पनि आउँछ?
आउँछ नि ! पकाएँ भने मलाई सबथोक पकाउन आउँछ । त्यसमा पनि स्पेसल्ली कार्वनारा ।
के हो कार्वनारा भनेको ? खानेकुराकै नाम हो नि ?
हाँस्दै, अँ खानेकुराकै नाम हो । केही दिन भयो मैले कार्वनारा बनाउन थालेको । यो बनाउन कुकिङ मिल्क, एग्स, चिज, साल्ट चाहिहाल्यो अनि पेपर र चिल्ली पेस्ट । अनि बन्छ कार्वनारा ।
जीवनमा मान्छे कैयौं पटक लड्छ तर कसरी सम्हालिने भन्ने थाहा पाउँदैन । तपाईंजस्तै लडेका र भित्रैबाट कुण्ठितहरुलाई के सल्लाह दिनुहुन्छ ?
म के भन्छु भने, हामी एक दिन खुसी भयौँ भने सधैँ खुसी भइरहन सक्तैनौँ । त्यस्तै एकदिन दुःखी भयौँ भन्दैमा जीवनभर दुःखी पनि भइरहिन्न भन्ने बुझेर अगाडि बढ्नुपर्छ ।

Leave A Comment