चाडपर्वको मेकअप

मङ्गलबार, २७ भदौ २०७४, ०२ : ०९ शुक्रवार , Kathmandu
चाडपर्वको मेकअप

चाडपर्व नजिकिँदैछ । यस्तो अवस्थामा उत्साहले नै मन नै फुरुङ्ग हुन्छ । चाडपर्वमा राम्रो खाने र राम्रै लगाउने विशेष मौका हुन्छ । चाडपर्वमा धेरै मानिसहरुसँग भेट हुन्छ । त्यसैले यो समय राम्रो देखिने चाहना सबैमा हुन्छ ।
हामीले आफ्नो अनुहारको आकारअनुसार मेकअप गर्नुपर्छ । अनावश्यक मेकअप गर्दा अनुहारमा समस्या हुन सक्छ । चाडपर्वमा विभिन्न देवीदेवताका मन्दिरमा पूजा गर्ने, दिदीबहिनी जम्मा भएर नाचगान गर्ने गरिन्छ । त्यसबेला मेकअप बिग्रन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले वाटरप्रुफ मेकअप प्रयोग गर्दा राम्रो हुन्छ । यसको लागि पहिले त क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि आइस लगाउने र टोनर प्रयोग गर्नुपर्छ । अनि छालाको प्रकृतिअनुसार मोस्चराइजर लगाउन भुल्न हुन्न । घाममा लामो समय बस्नुपर्ने भए सन ब्लक पनि प्रयोग गर्न सकिन्छ । त्यसपछि छालाको रङसँग मिल्ने किसिमको वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नुपर्छ । कम्प्याक्ट पाउडर पनि वाटरप्रुफ नै भएको राम्रो हुन्छ अनि वाटरप्रुफ प्यानकेक लगाउनुपर्छ  ।
हाम्रो समाजमा विवाहित महिला र अविवाहित महिला बीचको श्रृंगारमा पनि केही फरक हुन्छ । त्यसलाई सन्तुलनमा राख्न विवाहिता महिलाले रातो आइस्याडो र अविवाहिताले ग्रीन र रेडको मिक्स लगाउँदा राम्रो हुन्छ । ओठको आकारअनुसार आउटलाइलिङ गर्ने र पहिरनलाई म्याच हुने गरी लिपिस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । चाडपर्वमा रातो रङलाई प्राथमिकता दिँदा ठीक हुन्छ । त्यसपछि ब्रसले रोज लगाउनुपर्छ । यस्तै हातमा चुरा वा बाला लगाउँदा पनि सुहाउँछ । अविवाहिता महिलाले हरियो र रातो चुरा लगाउनु राम्रो हो भने विवाहिताका लागि रातोले सुन्दरता थप्छ । कानमा झुम्का र रिङ लगाउन सकिन्छ भने घाँटीमा हरियो र रातो पोते, नेक्लेस एवं हरियो पोतेमा छड्के तिलहरी लगाउन सकिन्छ । हातमा रातो नेलपोलिस लगाउँदा राम्रो देखिन्छ ।
यी सबै मेकअप र श्रृंगारका साथमा ध्यान दिनुपर्ने कुरा हो, हेयर स्टाइल । अविवाहिताले केश त्यसै छोड्न सक्छन् वा हल्का कर्ली पनि गर्न सक्छन् । विवाहिताले साधारण किसिमको फ्लावर जुरो बनाएर त्यसमा प्राकृतिक गुलाबका पात राख्न सक्छन् । जुरोमा स्टोन र अन्य फ्लावर त्यति राम्रो देखिँदैन । जुत्ता पनि रातो नै भए राम्रो हुन्छ । 

Leave A Comment