मनोज बोगटीका कविता

आइतबार, २६ असार २०७३, १२ : ३४ शुक्रवार , Kathmandu
मनोज बोगटीका कविता

मिथ
एउटा धर्का तानेर पर्खिबस्छ
केही लेख्न ।
नेताबाट दुईवटा अक्षर बटुल्छ
ठेकेदारबाट दुईवटा
कम्पनीबाट दुईवटा
यस्ता अनेकौँ एजेन्सीहरू छन्
जो उसलाई अक्षर निर्यात गर्छ
हज्जारौं अक्षरहरू नाङ्लोमा राखेर
केलाउँछ केलाउँछ केलाउँछ
जीवन एकातिर मृत्यु एकातिर छुट्याउँछ
दुःख एकातिर सुख एकातिर छुट्याउँछ
बनाउँछ एउटा बलियो वाक्य
र, पटास पटास पटास पटास बज्छ जब बजार
प्याकेजिङ गर्छ
र, पसलमा निकाल्छ ।

म किन्छु
केही ‘यातना’ किनभने त्यो सस्तो छ
केही ‘अत्याचार’ किनभने त्यो सस्तो छ
केही ‘दमन’ किनभने त्यो सस्तो छ
केही ‘दुःख’ किनभने त्यो सस्तो छ
केही ‘मृत्यु’ किनभने यो झन् सस्तो छ

अहो, त्यसको पसलमा किन नबेचेको होला ‘संघर्ष’ ?
०००
संवेदना तारमा सुकाउँछ
भावुकतामा पानी हालेर हरियो बनाइराख्छ
चेतनामा काँटी ठोकेर भित्तामा टाङ्छ
मान्छेको छाला च्यातेर खुर्किन्छ मानवताको बोसो
सहिष्णुतालाई ढुंग्रोमा खाँद्छ र गुन्द्रुक बनाउँछ
परोपकारलाई किनेमा बनाउँछ
अहो, त्यसको अग्र्यानिक व्यापार किन खुब सप्रिन्छ ?

साला सरकारले नि तेल्लाई नै हेल्प गर्छ ।
०००
भट्टु समयले पाखुरामा ट्याटु खोपेको छ
जिब्रोमा काँटी खिलेको छ
बोली निचोरेर बनाएको छ जुन भाषा
त्यसैमा गाउँछ गीत–

‘...ओइ झ्याम्ले..आइज मोर्नु
मोर्नु मत्तै हाम्रो मितमन
जिउनु त दुश्मन दुश्मन
हाँस्नु त दुश्मन दुश्मन

आ है दुश्मन, ल है दुश्मन

आइज हो आइज, छिटो आइज
ओइ झयाम्ले, जिन्दगी पुर्नु
टुटुल्को बोकेर तालुमा
केन हास्नु आबो झ्याम्ले
जुङ मोर्नु, आइज मोर्नु
मोर्नु मत्तै हाम्रो मितमन...’

साला त्यो राउडिज समय पनि त्यसको जिग्री छ ।
०००

पूजाथानमा पसेर मेरा भगवानहरूको घाँटीमा दोरी कसेर
उषा फ्यानको रडमा झुन्डाउँछ
मैले पढ्दै गरेका किताबबाट जम्मै अक्षरहरूलाई बाहिर निकालेर
कोर्रा लाउँछ र थुन्छ फलामको कोठामा
मेरो मनलाई छुरीले
कच्याककच्याककच्याककच्याककच्याककच्याक हान्छ
आँखा निकालेर बिरालोलाई खेलाउन दिन्छ
मेरा भर्जिन आवाजहरूलाई समातेर यत्तै जगाट्छ उत्तै जगाट्छ
रेपै गर्छ

साला, गुण्डागिरी गरेर
साह्रै हेप्छ
साह्रै हेप्छ ।
०००
खोलाको पानी गोजीमा बोकेर निक्कै दिन हरायो
रूखको लौरो टेकेर कता गयो गयो
डाँडामा चल्ने सिरिरिरिरिर हावा सप्पै किन्यो
जंगलका चराहरूको गीत फ्रिजमा हालेर
माटोलाई खैनी बनाएर
डाँडापाखा, झर्ना, हरियालीलाई काँडेतारले बारेर
के गरेको हो तेल्ले ?

साला, बौलाएको छ ।
०००

खास कुरा के भने नि पाठक
मानिसका सपनाका जम्मै इलाकाहरूको किनबेच गर्दै त्यो
राजधानी पुगिसक्यो

यो कवितामा जुन मिथ छ...
अहो,
मिथ भनेको के हो बुझ्छौ तिमी ?

बुझ्दैनौ ?

त्यसो हो भने
त्यसको अघिल्लो शिकार फिक्स ।

बाँदर
आफ्नै परेलीले आँखा फुटाएर
आफ्नै दाँतले जिब्रो चबाएर
म बाँदर
यो जानकारी गराउँदछु
कि
ए गान्धी
यो जुन कान बाँकी छ
त्यो मैले
तिम्रो मृत्युको खबर सुन्न
बचाएको हुँ ।

पोस्टर

पोस्टरको संवेदना हुँदैन
०००
छात्तीको चेन खुल्लै राखेर
स्वाभिमानलाई स्तनजस्तै देखाउने
सेलिब्रिटी राजनीति
अहिले
देहधन्दा गर्दै पसेको छ गाउँमा ।

त्यसको फिलाभरि पोखिएको
स्वप्नदोषहरूलाई
जाली शब्दको जाँतोमा पिसेर निकालिएको
छलहरूको पीठो बाँड्दै छ ।

भोका वर्तमानहरू
(जो भोकै भविष्यहरूलाई पेट बाँधेर पचाएका छन्)
निधारजस्तो कुच्चिएको थाल थाप्न उभिएका छन् ।

त्यसको कामुक भाषामा
कति छिट्टो साटिन्छ
मान्छेको मर्यादा ।
०००
रित्ता थालहरूबाट टिपिएका अक्षरहरू
पोस्टर टाँस्दै छन्
आफ्नै निधारमा

पोस्टरमा
पढ्दै छन् आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले ।
०००
पोस्टरको ऐनामा टल्किएका मागहरूका चहकले
अहिलेसम्म चिम्म छ
सरकारको आँखा ।

रोग
खिच्रिङमिच्रिङ दुःखको ससाना एकएक खुट्टा
पिटिकपिटिकपिटिक भाँचेर भाँचेर भाँचेर
अगेनुको खरानी आधा जलेर निभेको बाँसको चोइटाले
खोतलेर खोतलेर खोतलेर
के गरेको होला यो केटाले

न निस्कियोस् सुनको दाना त्यसरी अगेनु खन्दा
न निस्कियोस् पानीको थोपा त्यसरी खरानी खन्दा

बुच्चे कानहरूको यो हरहर्ति तिर्खाको पहिचानबारे
संविधानमा कुनै जिकिर छैन
त्यसको काम मर्नु मर्नु र मर्नु हो
किन बुझ्दैन त्यो साले

त्यसको सपना राती राती
छिचिमिराको पखेटामा टाँस्सिएर भागिजाँदोरहेछ
त्यसको रहर कुनै तरुनीको तिघ्रामा पोखिजाँदोरहेछ
हरेक रात आफैँले ओढेको कम्बलले
थिचेर थिचेर थिचेर
हरेक बिहान मरिजाँदोरहेछ

चिहानहरू टेक्दै टेक्दै टेक्दै
पुगिजाँदोरहेछ नाइट बार
र, रक्सी पिइरहेका मन्त्रीहरूको कानपाटामा
थप्पड हानिराखेर फर्किंदोरहेछ

टिभीमा जुन एचडी फम्र्याटमा विज्ञापन आउँछ सपनाको
त्यो हेरेपछि त्यसलाई त्यसको आँखा चिलाइजाँदोरहेछ
नगरमा कुदिबस्ने हज्जारौँ गाडीहरूको हर्न सुनेपछि
त्यसको कान फाट्दै फाट्दै फाट्दै गइजाँदोरहेछ

दुई सर्को गाँजा चियागाछको फेदमा लुकेर तानेपछि
साइरनको डाइनोसर आवाजले
मुख आँ गरेर खेदाइजाँदोरहेछ

किताबहरूलाई चितामा राखेर के के बर्बराइरहन्छ
भुइँमा सिन्काले देशको मानचित्र बनाएर
हेरेको हेरेको हेरेको गर्छ
त्यसपछि प्यान्ट खोलेर लुरुरुरुरु मुत्छ

के आइप¥यो यस्तो
पढेलेखेको मानिस बौलिन्छ भन्थे बाजेबोजु
बिग्य्रो केटा ।
०००
जंगलबाट हात्ती सीधै हाम्रो भान्साघर ताकेर आउन थालेको छ
बाँदरले मकै भुर्कुट पार्न थालेको छ
पानी परेपछि परेकै परेकै परेकै
पैह्रो गएपछि गएकोगएकै गएकोगएकै
घाम लागेपछि लागेकोलागेकै लागेकोलागेकै
कुनै कुरा नियममा छैन
कुनै कुरा संयममा छैन
कुनै कुरा ठीक ठीक छैन
कुनै कुरा उचित छैन

म आफैँ पनि एकोहोरो पारीको
पैह्रेनी भित्ता हेर्ने भइसकेको छु
के रोग लागेको यो केटालाई
के रोग लागेको हो मलाई

के रोग लागेको हो यो ऋतुलाई
के रोग लागेको हो समयलाई
के रोग लागेको हो यो पिर्थिबीलाई
०००

डाक्टरसाब !
रोग नखुट्याई यत्रो पैसा किन लिनुभको हो भन्नुस त ?

हलीदाजुको निधार
हलीदाजुको निधारमा
पसिना निस्किएन भने
खेतलाई सर्दी लाग्छ
त्यो सर्दी
खेतबाट निस्किएर आलीआली हिँड्दै
गाउँ पस्छ
गाउँ खोक्न थाल्छ
हो, त्यही बेला मिडियाले
देशलाई हैजा लागेको समाचार सुनाउँछ
नाथु मिडिया
आफ्नै कमजोरीको विज्ञापन गरेर पैसा कमाउँछ ।
हैजा लागेको देश
पैसाको खुट्टाले कति दह्रो उभिन्छ ?
हलीदाजुको निधार छैन भने
देश कहाँ उभिन्छ ?

Leave A Comment