हिम्मतहारा !

शनिबार, ०७ असोज २०७४, ०३ : ४५ शुक्रवार
हिम्मतहारा !

खिलक बुढाथोकी
बत्तासिएर आएको बस घ्याच्च रोकियो । दुर्लभ दृश्य देखियो– खाली नै रहेछ सिट ! नियमित रुपमा देखिने दृश्य भने छँदैथिए, मैला सिट कभर, सिसाबिनाका झ्याल र अघिल्ला टिपका यात्रुले छादले फैलिएको दुर्गन्ध ! 
यो देखेपछि एक मनले भन्यो, ‘झरौँ क्यार ! बरु अर्को बसमा जाउँला ।’ अर्को मनले भन्यो, ‘आखिर जुन बस आए पनि हालत उस्तै हो !’
गाडी छिर्न मन नलाग्नुको कारण चाहिँ जाडो ह्वात्तै बढेको थियो, जाडो थेग्ने सिसाको अभाव टड्कारो देखिएको थियो ।
‘यहाँ बस्नुस् दाजै,’ सिसा भएको झ्याल देखायो खलाँसीले ।
सिटको झ्यालमा सिसा भए पनि सिट खाली देखेको थिइनँ । एक जना युवतीसँग बच्चा थियो । खलाँसीको कुरा सुन्नेबित्तिकै ज्ञानी बालकझैँ बच्चा उठेर अर्कै सिटमा बस्यो ।
‘बच्चालाई नउठाको भए हुने !’ मैले माया दर्साएँ ।
युवतीले मुख खोलिन्, ‘बच्चा आमासँग बस्छ ।’ 
सिट खाली हुँदा र युवतीछेउको सिट पाउँदा पनि मेरो बेमन देखेर खलाँसी बोल्यो, ‘दाजै भोलिको बस कुरे पनि यो सुर्वण मौका आउँदैन । बसौँ, बेलुका भाउजुसँग ट्याक्कै !’
मैले खलाँसीलाई आँखा तर्दै सिटमा बसेलगत्तै गाडी हुँइकिन थाल्यो ।
...
सिन्धुलीबाट सुनकोसीको किनारै किनार गाडी अघि बढ्दा सिसा नभएका पछाडिका झ्यालबाट बसभित्र छिरेको सिरेटोले लगलग कमायो ।
‘जाडो धेरै भएजस्तो छ,’ छेउकी युवतीले मोहक मुस्कानसहित प्रतिक्रिया जनाई ।
डराएको बाख्राका पाठाजस्तो चनाखो हुँदै ऊतिर हेरेँ र टाउको हल्लाएँ । उसको ओठको मुस्कान अझै लम्बियो । ऊ नजानिदो पारामा मसँग टाँसिई, मानौँ मलाई तताउन चाहन्थी ! मैले ऊतिर नियालेर हेरेँ । आँखामा हल्का गाजल लगाएकी, आँखीभौं चटक्क मिलाएकी, निधारमा रातो टीका–– समग्रमा एउटी प्याकेज थिई । मनले त्यसै भन्यो ।
निधारमा टीका त मेरो पनि थियो । घरबाट हिँड्ने बेलामा साइत परोस् भनेर आमाले लगाइदिनुभएको थियो । मेरो टीका कटकटिइसकेको थियो, उसको चाहिँ आलो । आलो टीका उसलाई राम्रो सुहाएको देखेँ ।
अब नहेर्नु हेरिसकेपछि मैले उसले लगाएको पहिरनमा पनि ध्यान दिएँ ।  जिन्सको नीलो पाइन्ट र टिसर्ट लगाएकी रहिछ । मैले आफैँसँग उसलाई मैलेचाँही कपडाको पाइन्ट, सेतो सठ र टाई । अरु कसैले देख्दा हामीलाई जोडी नै सोच्दा हुन् । हाम्रो बसाई, उमेरले लख काट्न सकिन्थ्यो । तर, हामी भने एक अर्कामा अपरिचित ।
बेलाबेलामा बस तीन हात माथि उफ्रिन्थ्यो खाल्डामा परेर । यसले अपरिचित हामीलाई नजिक बनाउन सहयोग गथ्र्यो । बेलाबेलामा हाम्रो शरीर खुब ठोकिन्थ्यो ।
बसमा लोक गीतबाहेक अरु बजेको छैन । उसलाई पनि लोकगीत त्यति मन पर्दोरहेनछ क्यारे । त्यसैले उसको गीततिर ध्यान छैन । अलिअलि लजाए जस्तो गरेर पारिपारिको गाउँतिर आँखा पु¥याएर उतै मन डुलाइरहेकी छ ।
‘कसरी होला उनलाई खुसी बनाउने÷लभ गर्न आउँदैन÷पट्याउँदा मान्दिन÷हामीलाई मिलाउने लमी चाहिया’छ,’ यस्ता शब्दका गीत बजिरहेको थियो । गीत सुनेपछि मुखबाट खित्कै छुट्यो मेरो । युवतीले मतिर पुलुक्क हेरेर सोधी, ‘किन हाँस्नुभयो ? के घच परो हौ यसरी हास्नुपर्ने ?’
‘गीत सुनेर,’ उसको जिज्ञास मेटाइदिए ।
‘ठीकै हो नि । लमी त चाहिन्छ नै ।’ मेरो अनुहारतिर हेर्दै अनुभवी जस्तै भएर बोली ‘लमी भएन् भने त बेलाबेलामा परेको झगडा कस्ले मिलाउँछ नि ?’
‘खै होला, आफु त सोझो परे । अहिलेसम्म लभसभको अनुभवै छैन् ।’
‘खलासीेले भाउजु भेट्न भन्दै थियो त ।’ मेरो व्यक्तिगत कुरा कोटाई उसले ।
‘हो त, भाउजु । दाइको बुढी ।’ म मुसुकुराए मात्रै ।
‘हजुरचाँही कस्लाई भेट्न नि ?’
‘राजकुमारलाई ।’
‘को राजकुमार?’
‘खै ? भर्खर बसमा चढेको छ ।  चिनजान बाँकी नै छ ।’
आश्र्चयमा परे म । एकछिन दुबै जना मौन रह्यौं । मौनता मैले नै तोडे ।
‘घर कता हो तपाईको ?’ 
‘तपाई पत्रकार हो कसो ?’ थोरै लजाए जस्तो गरी मलाई प्रश्न थमाई उस्ले ।
‘होइन ।’ 
‘बोल्ने शैली त ठ्याक्कै पत्रकारै जस्तो छ,’ उसले यसरी भनी मानौं पत्रकारलाई अन्तरवार्ता दिँदादिँदा ऊ खप्पिस भइसकेकी छ । पत्रकार कसरी बोल्छन् भन्ने सबै थाहा भएसरी उसको टिप्पणीपछि मैले भनेँ, ‘पत्रकार बाहेक कसैले सोधे भन्ने चलन छैन त ?’
उसले हात अघि बढाई, हात मिलाउनलाई र भनी, ‘घर ओखलढुंगा, बरुणेश्वर ।’
मैले पनि उसले दिएको हातलाई थामेँ, स्वाभाविक कोमल थियो उसको हात ।
ऊ भन्दै थिई, ‘स्नातक तेस्रो वर्षमा अध्ययनरत छु । नाम रचना । जाडो बिदा छल्न गाँउ आएकी । भक्तपुरमा बस्छु ।’ 
खासमा हात छुटाउन उसले कसरत गर्नुपर्ने थियो, गरिन । मलाई कुन बेला हात फिर्ता ल्याऊँ भइरह्यो ।
छोटो परिचयपछि पनि उसले हात दिइरही, मानौँ अब भन्ने पालो मेरो हो !
भनेँ, ‘घर ओखलढुंगा, फेदीगुठ । काठमाडौंमा बस्छु । स्नातक यसै वर्ष सक्काएँ । घरायसी कामले गाउँ पुगेर फर्केको ।’ यसो भन्दा मेरो मुख हाँस्न खोजेजस्तो भएर लगभग च्यात्तिएको जस्तो देखियो होला भन्ने गुनेँ ।
मैले मेरो नाम पूरा भनिनँ । कारण, बोल्ने कुरा सकिएला भनेर काम र नामलाई छुट्ने बेलामा मात्रै भनौँ कि भन्ने मनमा थियो ।
‘जिल्लाबासी परेछौं,’ रचनाले उसको शरीर मतिर ढेस्याउँदै भनी । 
आफू सम्हालिने बहानामा बल्ल उसले हात फिर्ता लगी । मेरो हातले निकैबेर त्यो मखमली हातको रमरमी महसुस गरिरह्यो ।
बोल्ने कुरा केही नभएपछि ऊ झ्यालबाट पारितिर हेरिरही । सायद उसले मलाई समय दिएकी हुँदी हो, पारिको पहाडको सौन्दर्य हेरिञ्जेल म म पनि उसको शारीरिक भूगोलको सौन्दर्य हेरूँ ! 
‘मलाई झ्यालतिर बस्न दिनु न?’ मैले अनुरोध गरे । 
‘मैले हेरेको देखेर डाहा लाग्यो ?’ रिसाएजस्तो ठाडो शब्द बोली उसले । प्रत्युत्तरमा छाद आउन लागेजस्तो ‘वाक्क्क’ गरिदिएँ ।
‘सरी... सरी...,’ परिस्थितिको गम्भीरता बुझ्दै उसले मलाई झ्यालतिर सारी । झ्यालबाट दृश्य नियाल्दा निकै रमाइलो हुन्थ्यो तर हावाको चिस्यानले सेक्नु सेक्दोरहेछ । त्यो जाडो मलाईभन्दा पनि रचनालाई बढी भएजस्तो लाग्यो किनभने झोलाबाट गम्छा निकालेर ओढ्न दिई ।
मलाई अप्ठेरो लागेको भाका उसले पढी क्यार ! 
उसले गम्छा ओढी । ऊतिर हेरेर म घुटुक्क थुक निलेँ, एउटा गज्जबको अवसर गुमाएकोमा । तर एक्कैछिनपछि मलाई पनि ओढाई । त्यति मात्र होइन, ऊ लपक्कै टाँसिई पनि ।
यत्तिकैमा गाडी घ्याच्च रोकियो । 
‘आम्मुई सेल्फी डाँडो आएछ !’ लगभग उत्रने हतारो देखाउँदै उसले भनी ।
थाहा पाएँ, बिपी राजमार्गको ४/५ घुम्ती घुम्ने ठाउँ आइपुग्यो । यस सडकको यात्रा गर्दा त्यस घुम्तीमा सेल्फी नखिच्ने सायदै कोही हुन्छन् । एकै छिनमा थाहा भयो, उसले पनि पटक–पटक घर जाँदा–आउँदा सेल्फी खिचिसकेकी रहिछ  तर पनि उसको धोको अझै पुगेको थिएन ।
मलाई समेत ओराल्दै उसले भनी, ‘हिन्नु जाऊँ, खिच्नु पर्छ ।’
‘मोबाइल नै अफ छ, के सेल्फी खिच्नु ?’ मैले गनगन गर्न खोजेँ तर थपेँ, ‘एक्लै खिच्नुभन्दा त मलाई विफी खिच्न मनपर्छ ।’ 
‘विफी त गल्फेन्डसँग पो खिच्नुपर्छ, मसँग खिचेर काँ हुन्छ ?’ उसले ठट्यौली गरी ।
‘गल्फ्रेन्ड भए पो खिच्नु...,’ म अन्कनाएँ ।
‘यस्तो ह्यान्सम भएर पनि गल्फेन बनाउन नसक्ने त हिम्मतहार पो हुन्छन् !’ उसले मलाई पूरापूर चुनौती दिई । 
‘हिम्मत गरेको भए त तिमीसँगको भेटको अर्थै हुँदैनथ्यो नि,’ मैले उसलाई पट्याउन खोजेँ ।
‘भेट्दैमा हुने भए त के–के भइसक्थ्यो !’ उसले ओठ लेप्य्राई ।
मलाई भने भाउन्न भयो । उसको जवाफ के दिने भनेर सोच्दासोच्दै उसले तानेर सेल्फी डाँडोमा आफ्नो तस्बिर खिच्न लगाई । 
उसले मेरो एक्लो तस्बिर पनि खिची र विफी पनि लिई । म आफैँदेखि कुँढिएँ किनभने मोबाइल अफ थियो । मोबाइलतिर ध्यानै नदिई, रिचार्ज नगरी हिँडेकामा पहिलो पटक आफैँलाई गाली गरेँ ।
गाडी हिँड्यो । उसको शरीर मसँग बगाइरहेकी थिई । घुम्तीघुम्तीमा लपक्कै ढल्किन्थी । कुनैकुनै बेला त ऊ मेरो काखमा सुतेझैँ गर्दिन्थी । म पनि ऊसँगै बगेँ । घुम्तीमा बस घुम्दा म पनि उसको शरीरमा ढेस्सिन थालेँ । कुनै नकारात्मक प्रतिक्रिया आएन । उसले पनि त्यो निहुँ खोजिरहन्थी । यस्तो दुवै जनाले गर्यौँ तर दोष घुम्तीलाई दिन्थ्यौँ ।
बस रोक्किने, यात्रु झर्ने र चढ्ने अनि फेरि बस गुड्ने क्रम चलिरह्यो । एक पटक खाल्डोमा परेर बस बुरुक्क उफ्रियो, मानौँ कसैले बहरको पुच्छर निमोठिदिएको होस् । यही बेला उसले मौका छोपी र मेरा तिघ्रामाथि खुट्टो चढाई । म लाजले भुतुक्कै भएँ । धन्न दुवैले गम्सा ओढेका थियौँ र पूरै शरीर छोपिएको थियो । अनि अरुले देख्न पाएनन् । पछि निदाएको बहाना गरेर कुमतिर टाउको अड्याउन आई । खुट्टो निकाल्ने त कुरै छैन ! घरिघरि गाडी घुम्तीमा घुम्दावर्दा मेरो हात उसले चढाएको खुट्टाको तिघ्रासम्म पुग्दा करेन्ट दौडन थाल्यो । उसले कुनै प्रतिक्रिया दिइन, मेरो हिम्मत यहाँभन्दा अघि बढ्न सकेन ।
निकैपछि ब्युँझिएझैँ गरी उसले सोधी, ‘कहाँ आइपुग्यो ?’
‘नेपालथोक आउनै लाग्यो,’ जवाफ  दिएँ ।
अलि जाडो भएजस्तो गरी ऊ टाँस्सिई । यस्तो खेपेको थिइनँ, त्यसैले मलाई लाज लाग्यो र ऊतिर हेरेँ । उसको कुनै प्रतिक्रिया थिएन । यस्तो लाग्यो, उसलाई बोल्न मन थिएन । मलाई पनि बोल्न त कहाँ मन थियो र ? अपरिचित हामी अपरिचित नै रह्यौ तर हाम्रो शरीरले भने वर्षौंदेखि परिचितभन्दा पनि बढी कुराकानी गरिरहेका थिए ।
‘तपाईको बसाइ कुन ठाउँमा ?’ निक्कै पछि उसले सोधी ।
‘बौद्ध ।’
‘टाढा रहेछ ।’
गोजीबाट मोबायल निकाली । झुलुक्क मोबायल बाली । ‘राम...५ पो बजेछ । ८ बज्ने रहेछ काठमाडौं पुग्दा,’ उसको एकालाप चल्यो ।
‘चाबहिलसम्म त यही गाडी जान्छ,’ उसलाई बोर नपार्न भनेँ, ‘त्यसपछि गाडी नपाए हिँड्नुपर्ने भयो ।’
‘मेरोमा जाउँ न त आज,’ कुमले ठोक्काउँदै सानो स्वरमा उसले भनी ।
पहिलो पटक भेटेकी केटी । शरीर घोटिरहेकी छे । अब फेरि घर जाऊँ पो भन्छे बा ! अचम्म लाग्यो र सोचमग्न भएँ ।
‘किन टोलाएको ?’ प्रश्न तेर्स्याई ।
उसको कुरा सुनेर मेरा अनुहार, कान, ताता, राता भइसकेका थिए । मुटुको धड्कन उसैगरी बढेको थियो । दोधारमा परेँ म, ‘पहिलो पटक भेटेको केटीकोमा कसरी जानु ?’ मनले थप्यो, ‘केटीसँगको स्पर्शको रोमाञ्चकता कसरी त्यागूँ !’
पुलुक्क उसको अनुहार नियालेँ । बाहिर झपक्क अँध्यारो भइसकेको छ । त्यस्तो अँध्यारोमा पनि रचनाको अनुहार बाहिर भर्खर उदाएको जूनजस्तो छ । त्यसैबेला खलाँसीले बत्ति बालिदियो । रचनाको अनुहार अझै चमकदार देखियो ।
‘मिस्टरलाई हाम्रो मनको मिलन गराउन जाउँ भनेको केही उत्तर नै आएन,’ मिस्टरको साइनो लगाएर मेरो जवाफ कुर्ने यस्ती युवतीलाई मैले पहिलो पटक भेटिरहेको थिएँ र हरेक शब्दमा मैले अर्थ खोज्न थालेको थिएँ ।
‘भोलिपर्सि जाउँला नि !’ म टक्टकिन खोजेँ ।
‘अँ भोलिपर्सि भनेर बस,’ अब ऊ सिधै तिमीमा झरी, ‘अवसर तिमीलाई सधैँसधैँ आउँदैन नि मिस्टर ।’ यसो भन्दा लगभग उसले कानमा साउती गरिरहेकी थिई । बसमा भएका अरुले सुन्लान् भन्ने पिर थियो सायद ।
‘गाह्रो मान्नु पर्दैन, कोठामा एक्लै बस्छु,’ उसले फकाई मलाई ।
शरीरको स्पर्श, उसले देखाउने माया ती सबै कुरा कल्पदा छोड्न त मन छँदै थिएन । ‘पहिला मेरोमा अनि तपाईंको घरमा जानुपर्छ,’ उसले जिद्दि गरी । जान्छु नभनेसम्म उसले धरै दिइन मलाई ।
झन् जान्छु भनेपछि त मसँग अझै बढी नजिक हुन खोजी । घुमाउरो बाटोमा काखमै सुतौँलाझैं गरी । पहिलाको भन्दा झनै टाँस्सिई । उसको टँसाई देख्दा म भने अरु नै सुखको कल्पनामा डुब्न थाल्छु ।
तर फेरि सोच्छु, कसरी जानु उसको घर ? न उसले मलाई चिनेकी छ ? न त मैले उसलाई चिनेको छु । कसैले देखे भने के भन्ने होला ? यस्तै प्रश्न मनमा उब्जिरहेका छन् ।
‘साँगा छ भने झर्नुस् है,’ खलासी मज्जैले चिच्यायो । ऊ ब्युँझिएको नाटक गरी । 
‘साँगा आइसकेका हामी ?’ उसले आश्चर्य मान्दै गरेजस्तो मलाई सोधी ।
‘कहाँ झर्ने हो तिमी ?’ 
‘जगाती झर्नपर्छ हामी ?’ उसले फेरि ‘हामी’मा जोड दिइरहेकी थिई ।
‘पछि जाउँला नि तपाईंको घरमा । आज जान ‘अड’ लागिरहेको छ ?’ सानो स्वरमा उसको प्रस्ताव अस्वीकार गरेँ मैले ।
‘कति हिम्मतहारा हौ तपाईं ?’ दोस्रो पटक हिम्मतहारा भन्दै उसले थपी, ‘हिम्मत नहारेको भए तिमीसँग कसरी भेट हुन्थ्यो भन्या होइन अघि ।’
मेरो मुखमा बुझो लाग्ने गरी बोली ऊ ।
जगातीमा बस रोकियो । 
‘झर्ने छु है यहाँ !’ ऊ चिच्याई । अघिको नरमपन गायब थियो । घडीले ठीक आठ बजाएको थियो । बाहिर अन्धकार भइसकेको थियो । 
‘उठ न, जाऊँ मिस्टर,’ उसले आग्रह गरी ।
उसको झोला अलि गह्रौँ थियो । गाउँबाट चामल, तरकारी ल्याएको छ भन्दै थिई ।
मैले भने, ‘तिमी तल झर । म झ्यालबाट झोला समाउन दिन्छु । अनि म आउँला, हुन्न ?’
ऊ भुइँमा झरेर झ्यालतिर आई । झ्यालबाट झोला समाउन दिएँ मैले । निहुरिएर झोलाको धुलो टक्टकाउन थाली । म सिटबाट अगाडि पाइला सार्दै थिएँ गाडी गुडिहाल्यो । खाली सडकमा तीव्र गतिमा बस हुँइकियो । झर्दैछु भन्न मन लागेन । भाडा दिने बेला भनिसकेको थिएँ, चाबहिल झर्छु । 
झ्यालबाट चिहाउँदा रचनाले बसतिर हेरिरहेको देखेँ । हेर्दाहेर्दै ऊ देखिन छाडी । अँध्यारोमा ऊ विलाइई तर मेरो मनबाट भने अझै बिलाउन सकिन । अझै पनि सोच्छु, सायद उसले मलाई ‘हिम्मतहारा’ केटोको संज्ञा दिँदै मन बुझाई होली । 
अझै पनि जब बसमा चढ्छु र घर ओहोरदोहोर गर्छु मलाई रचनाको सम्झना आउँछ । कतै ऊ भेटिई पो हाल्छे कि !

Leave A Comment