सपिङको लहर

आइतबार, ०८ असोज २०७४, १२ : १३ पुष्पा थपलिया
सपिङको लहर

‘हेल्लो हेल्लो ! अँ, राम्रोसँग सुनिएन, के भनेको रे । रातो कलरको अँ, अँ, अनि अरु ?’
फोन राखिसकेपछि उनी मुसुक्क मुस्कुराइन् र भनिन्, ‘घरमा आमा बा र भाइबहिनीलाई नयाँ कपडा चाहियो रे, भाइलाई नीलो टिसर्ट पाइन्ट अनि कालो चस्मा, बहिनीलाई रातो र नीलो मिसिएको अम्रेला कुर्ता सुरुवाल, आमालाई रातो फरिया र बालाई कालो रङको हाफ पाइन्ट ।’
असनको व्यस्त सडकको एक कुनामा उभिएर अर्डर लिइरहेकी धादिङकी सबिना घलेले फोन अन्तर्वार्ता सुझाइन् र सपिङ गर्न लागिन् असनका गल्लीतिर ।
नुवाकोट घर भएकी सुनिता पौडेल यस पटक दसैँमा घर जाने तरखरमा छिन् । उनका पति दुबई कामको सिलसिलामा गएका छन् । त्यसैले घरका सबैको सपिङ जिम्मा सुनिताकै काँधमा छ । काठमाडौँमा नन्द र देवर पढाउँदै आफूसमेत पढ्दै गरेकी उनलाई नयाँ कपडा, मासुमा राख्ने मरमसाला लगायत किन्न दौडादौड छ । भाटभटेनी सुपर मार्केट कलंकीमा नन्द र देवरका साथ सपिङ गर्न पुगेकी सुनिताले एक लाखभन्दा बढीको सपिङ गरिसकेको र अझै केही खरिद बाँकी रहेको खुलाइन् ।
नयाँ लुगा लगाउने, मीठो खाने र परिवारसँग भेटघाट गर्ने चाड दसैँले सबैलाई खुसी दिने गरेको छ । वर्षाको अन्त्य हुने, गर्मी सकिएर मौसम शितल बन्ने र अन्नबाली भिञयाउने समयमा आउने दसैँले आम नेपालीको घरमा खुसी ल्याउने गर्छ । मीठो खाने र राम्रो लगाउने यो चाडमा मानिसहरूले सकेको खर्च गर्ने हुनाले व्यापार अरु समयको तुलनामा ह्वातै बढ्छ । टाढाटाढाबाट घर पुगेर आफन्तसँग खुसी साटासाट गर्ने, सानालाई आशीर्वाद दिने र ठूलाबाट आशीर्वाद लिने यो चाड शुरू हुँदै गर्दा गाउँ—सहर—बजार सबैतिर चहलपहल देखिन थालेको छ ।
दसैँ नजिकिंदै जाँदा पसलमा मानिसको घुइँचो बढ्दो छ । सामान उत्पादक कम्पनी र बिक्रेताले आफ्नो उत्पादनमा सहुलियत दिने भएकाले पनि कैयौँ उपभोक्ताहरू दसैँलाई किनमेल गर्ने अवसर बनाउँछन् । धेरैजसो भने दसैँका बेला नयाँ कपडा, गहना लगाएर राम्रो देखिने परम्परागत र सोचकै कारण किनमेल गर्छन् ।

२ असोजमा काठमाडौं न्युरोडको न्यूसिटी श्रृंगार पसलमा सुन किन्दै गरेकी बुटवलकी अनिशा श्रेष्ठ सुन किन्नु पर्दा सधैं दसैँ पर्खने गरेको बताउँछिन् । दसैँमा सबै आफन्त जम्मा हुने भएकाले राम्री देखिन सुन र कपडा किन्ने गरेको होटल व्यवस्थापनमा स्नातक गरेकी अनिशाको भनाइ छ ।
दसैँको खुसी
सामान किन्दा दसैँमा पाइने ‘अफर’ र नयाँ उत्पादनले किनमेल गर्न उत्साहित बनाउने ललितपुरकी अनुस्का श्रेष्ठ बताउँछिन् । विद्यालय, कलेज र कार्यालय लामो समय विदा हुने भएकाले फुर्सदले आफन्तसँग खुशी बाँड्न पाइने दसैँ महीनौंदेखि पर्खने गरेको उनको भनाइ छ । होटल व्यवस्थापनमा स्नातक उनलाई साथीहरू मिलेर किनमेल गर्दा र मन परेका परिकार घरमा पकाएर खाँदा खुब आनन्द महसूस हुने गर्छ ।
सिन्धुपाल्चोककी रीता मगर दसैँको बेला परिवारका सबै सदस्यलाई नयाँ सामान किनेर उपहार दिने गरेको सुनाउँछिन् । काठमाडौँ रत्नपार्कको सडक बजारमा किनमेल गरिरहेकी रीताले पैसा कम हुनाले र सस्तोमा सामान पाइने भएकाले रत्नपार्कमा सपिङ गर्नुको मज्जा नै छुट्टै भएको बताइन् । जाडोका लागि त्यही बजारमा सिरक÷डस्ना किन्दै गरेकी दीपा भण्डारीले चाहिँ दसैँमा परिवारका सबै सदस्य जम्मा हुने भएकाले आवश्यक सामानको जोहो गरेको सुनाइन् ।
छोरीको लागि किनमेल गर्न काठमाडौँ मल पुगेकी काठमाडौँकी मुना गुरुङलाई पनि दसैँको किनमेल भनेपछि भित्रैदेखि उत्साह जागेर आउँछ । मुना आफन्त जम्मा हुने चाडका लागि सबै किनमेल विशेष हुने बताउँछिन् । वर्षभरि जोगाएर राखेको पैसा अरूभन्दा फरक देखिने खालको सामान किन्न कञ्जुस्याइँ नगरी खर्च गर्ने गरेको उनको भनाइ छ । अभिभावकसँग सामान किन्न काठमाडौँ मल आएकी ६ वर्षीया एञ्जला गुरुङ  साथीभन्दा राम्रो देखिन कपडा र जुत्ता चप्पल किन्न मन लाग्ने बताउँछिन् ।

गोरखाकी सीता भण्डारी अरू वेला आफ्नो रोजाइको सामान नपाइने भएकाले दसैँमा विशेष किनमेल गर्ने गरेको बताउँछिन् । दसैँमा पेश्की पाउने भएकाले किनमेल गर्न सजिलो हुने बताउने सीता भन्छिन्, ‘यो दसैँमा राम्रो साडी किन्ने योजना बनाएकी छु ।’
खुसी बाँड्ने पर्व
आफन्तसँग भेटघाट हुने चाड दसैँलाई खुसी बाँड्ने पर्व भनेर पनि चिनिन्छ । यो चाडले सामाजिक सम्बन्ध बलियो बनाउँछ भने पिङ, भेटघाट, शुभकामना आदानप्रदान जस्ता कार्यक्रमले सामाजिक सद्भाव पनि बढाउँछ । यो चाडमा आफन्तलाई कोसेली दिने चलन छ । काठमाडौंको असनमा पाँच जोडा चप्पल किन्दै गरेकी ललितपुरकी जुना पौडेल हरेक दसंँमा नजिकका आफन्तलाई उपहार दिने गरेको बताउँछिन् । आफन्तहरूबाट पनि उपहार पाउने गरेको बताउँदै उनले भनिन्, उपहारले कसैलाई नपुग्ने भए पनि खुसी बाँड्न यो तरिका उपयोगी छ ।’
काठमाडौँ बजारमा दसैँको किनमेल गर्न व्यस्त देखिएका जुम्लाका अनिल श्रेष्ठ दसैँको अवसरमा आफन्तलाई मीठो खुवाउँदा अपूर्व आनन्द आउने बताउँछन् । दसैँको मसला किन्न व्यस्त रसुवाकी कमला लामालाई भने आराम गर्न र मीठो मसिनो खान पाइने चाड भएकाले दसैँ आउँदा असाध्य खुसी लाग्छ । काठमाडौँमा माछापालन गर्ने उनी दसंँमा माछाको बिक्री बढ्ने हुनाले पनि उत्साहित छिन् ।
बालकुमारी, ललितपुरकी सावित्री श्रेष्ठ (काली माता) नवदुर्गाको पूजाका लागि रु.३ लाखको सामग्री किनेको बताउँछिन् । नवदुर्गालाई खुसी राख्दा आफूले पनि खुसी पाउने विश्वास राख्ने उनी हरेक दसैँमा किनमेलका लागि खुलेर खर्च गर्ने गरेको सुनाउँछिन् । देवीका नौ बहिनीलाई खुसी पार्दा परिवारका सदस्यलाई वर्षभरि कुनै समस्या नआउने विश्वासमा उनले हरेक वर्ष नवदुर्गा स्थापना गरेर विशेष पूजा गर्ने गरेकी छन् । नवदुर्गालाई खुसी पार्न सबैले पूजा गर्नुपर्ने पनि उनको सुझाव छ । काठमाडौं, इन्द्रचोकमा तामाको थाली, काँसको थाल, दियो, घण्ट र खड्कुलो किन्दै गरेकी गोरखाकी मनोहरा खड्काले दसैँको पूजाका लागि किनमेल गरेको बताइन् ।

सबै प्रतीक्षामा
दसैँको किनमेलले आर्थिक मन्दी हटाउने विश्वासमा छन्, इन्द्रचोकमा भाँडाकुँडाको व्यापारी पदम ताम्राकार । पुस्तैनी व्यापारी उनी दसैँलगत्तै तिहार आउने हुनाले बजारको चहलपहल रहिरहने आशामा छन् । आफू जस्तै अरू व्यापारी पनि व्यापार बढाउने दसैँको प्रतीक्षामा रहने बताउँदै उनी भन्छन्, ‘भाँडाकुँडाको व्यापार तिहारमा बढी हुने भए पनि दसैँबाट थोरैले शुरुआत हुन्छ ।’ ११ वर्षदेखि भाँडाको व्यापार गर्दै आएका राजेश बानियाँका अनुसार, दसैँमा काँसको थाल, कचौरा, मूर्ति, घण्ट र गजुरको व्यापार राम्रो हुन्छ । दसैँमा मन्दिर स्थापना गर्ने र पूजापाठ गर्ने चलन भएकाले ती सामानको बिक्री हुने उनी बताउँछन् ।
२०६२ देखि ‘एनटिएम क्रिएसन’ चलाएका काठमाडौं न्युरोडका साडी व्यापारी अमित मित्तलले यो दसैँ नजिकिँदै गर्दा वर्षभरिभन्दा बढी व्यापार भएको बताए । महँगी र आर्थिक मन्दीले अघिल्ला वर्ष जति व्यापार नभए पनि दसैँले राहत दिएको उनी बताउँछन् । साडी, लेहेङ्गा, कुर्ता–सलवार बढी बिक्री भएको बताउँदै नेपाल बन्द भएन भने आर्थिक मन्दीको पुर्ताल दसैँबाट हुने उनको विश्वास छ ।
काठमाडौं असनका किराना व्यापारी सञ्जय तुलाधरले दसैँ लाग्नासाथ चिउरा, गेडागुडी, चामल, मसलाको व्यापार बढेको बताए । गेडागुडीको भाउ केही बढे पनि व्यापारमा असर नपरेको बताउँदै उनले भने, ‘वर्षमा एक पटक आउने चाडमा जति महँगी बढे पनि मानिसले किन्न छाड्दैनन् ।’
दसैँको बेला सालका पात र टपरीको व्यापार पनि बढ्ने गर्छ । काठमाडौंको असनमा सालका पात र टपरी बेच्ने निरञ्जन धिताल घटस्थापनादेखि आफ्नो व्यापार उल्लेखनीय रूपमा बढ्ने विश्वासमा छन् । आफूले सोचे जस्तो भयो भने फूलपातीसम्म पात र टपरीको माग बढेर पु¥याउनै नसकिने हो कि भन्ने उनको चिन्ता छ । ४० वर्षदेखि काठमाडौंमा मसला र पूजाका सामग्री बेच्दै आएका संजीव बज्राचार्यले पहिलेभन्दा यो दसैँमा किनमेल बढेको महसूस गरेका छन् । भन्सार दर ३० प्रतिशत बढेर सामान महँगो भए पनि दसैँका ग्राहक नघटेको उनी बताउँछन् ।
एटिएम झमेला
हस्याङफस्याङ गर्दै एक व्यक्ति नविल बैंकको शाखा कार्यालय कुलेश्वरको एटिएममा आइपुगे । निकै थकित अनुहार लिएर एटिएम पुगेका उनी केहीबेरमा हँसिलो मुहारमा फर्किए । कारण उनी आफूले चाहेजति पैसा निकाल्न सफल भएका थिए । धेरै ठाउँमा चाहर्दा पनि एटीएममा पैसा निकाल्न नसकेका बलबहादुर क्षेत्री बालाजुदेखि पैसा निकाल्न कुलेश्वर आइपुगेका थिए ।
बलबहादुर मात्रै होइन दसैँको समयमा पैसाको कारोबार धेरै हुने भएकाले एटिएमका बुथहरुदेखि पैसा छिट्टै सकिने गर्दछ । दसैँको समयमा ३ देखि ५ पटकसम्म कुनैमा ३० लाख त कुनैमा ५० लाखका दरले एटीएममा पैसा राख्ने गरेको नबिल बैंकले जनाएको छ । कम चल्ने एटीएमहरुमा भने एक पटकमात्रै राख्ने गरेको बैंकको भनाइ छ । नविल बैंकको मात्रै होइन प्रायः बैंकहरुको एटिएममा पैसा नहुने समस्या व्यापक मात्रामा छ । कालिमाटीस्थित नेपाल इन्भेस्टमेन्टको शाखा कार्यालयकै एटिएममा दिउँसो ३ बजेपछि पैसा सकिने स्थानीय सुबोध महर्जन बताउँछन् । उनले भने, ‘दसैँको समयमा सधैं यस्तै हो, बैंक खुलिरहेको हुन्छ तर एटिएममा पैसा सकियो, अब राख्न मिल्दैन भन्छ ।’
दसैँमा धेरै आर्थिक चहलपहल हुने भएकाले साना व्यावसायीदेखि ठूलासम्ममा उत्साह छाउने गर्दछ । सडकमा व्यापार गर्नेदेखि, ठूलै सपिङ मलमा व्यापार गर्नेहरु पनि अपार व्यापार हुने समय भएकाले दसैँको अर्को नाम नै किनमेल चाडजस्तो बन्न पुगेको बताउँछन् ।

 

Leave A Comment