‘मावलको पिङबाट लड्दा हिलोमा पछारिएँ’

आइतबार, ०८ असोज २०७४, ०१ : १४ शुक्रवार
‘मावलको पिङबाट लड्दा हिलोमा पछारिएँ’

दिपाश्री निरौला, हास्यअभिनेत्री/निर्देशक
दसैँ आउँदा मलाई साह्रै खुसी लाग्थ्यो । घरमा बुबालाई खसी किन्न जाऊँ भनेर ढिपी गर्थें किनभने त्यो बेला खसी काट्ने भनेकै दसैंमा हुन्थ्यो । अरु बेला खासै काटिदैनथ्यो । त्यो बेलाको दसैमा मासुभात खाने सोख हुन्थ्यो । अहिले पो भेजिटेरियन भएँ र मतलब लाग्दैन ! भेजिटेरियन भएको अहिले २० वर्ष भयो । हत्या हिंसा गर्नुहुँदैन भन्ने मानसिकताले छोडेको हुँ । त्योभन्दा पहिला त खसी काट्ने भने’सी हुरुक्कै हुन्थेँ म । दसैँ आउँदा म किन खुसी हुन्थेँ भने नयाँ लुगा लगाउन पाइन्छ । नयाँ लुगा किन्न आमालाई बुबालाई करकर गरिरहन्थेँ । लुगा किनेर ल्याएको दिनदेखि हाम्रो घरमा जो जो आउँथ्यो, उसलाई दराजबाट लुगा निकालेर देखाइहाल्थेँ । कहिले टीकाको दिन आउला र लगाएर अरुलाई देखाउँजस्तो हुन्थ्यो । आमालाई बाटोमा हिँड्दा जुन कुरा राम्रो लाग्थ्यो, त्यो किन्न लगाइहाल्थेँ । बजारमा ब्याग राम्रो लागे ब्याग किन्दिनू भन्थेँ, लुगा राम्रो लागे लुगा किन्दिनू भन्थेँ । आमाबुबालाई यो किन्दिनू, त्यो किन्दिनू भनेर हैरान पार्थें ।

 एउटा दसैँमा मलाई र बैनीलाई एउटै खाले लुगा किनिदिनुभएको थियो । दिदीबैनी त्यही उस्तै लुगा लगाएर मावल चक्रघटी गएका थियौँ । मेरो मामाघर सुनसरीको राजाबास चक्रघटी हो । मावल गएको बेला नजिकै पिङ हालेको रहेछ । म त्यो पिङ खेल्न बेलुकातिर गएका थियौँ । पिङ खेल्दाखेल्दै लडेर हिलोमा पछारिएँ । हिलोमा पछारिएपछि मेरो लुगा हिलैहिलो भयो । अनि लुगा हिलो भएपछि राति सुतेको बेला मैले बैनीको लुगा लुकाएँ । उस्तै भएको लुगा भएर होला बैनी र मेरो झगडा परेको याद खुब आउँछ ।
मावलमा मलाई टीका लगाएर ५ रुपैयाँ दिनुहुन्थ्यो । पैसा थोरै भयो भनेर म रिसले फालिदिन्थेँ । आमा र मामा लागेर मलाई फकाउनुहुन्थ्यो । म त फकिदैफकिन्न थेँ । मामाहरुले साइँली भान्जी रिसाइन भनेर थपेर दिनुहुन्थ्यो । म त एकदम जिद्दी स्वाभावकी थिएँ । भनेको कुरा चाहियो भनेपछि चाहियो चाहियो !
दसैँ आएको भनेकै पैसा कमाउनका लागि भन्ने लाथ्यो । अरु बेला पैसा पाइँदैनथ्यो दसैँका बेला मात्र पैसा खेलाउन पाइन्थ्यो । दसैँमा टीका लगाएर पाएको पैसा जम्मा गरेर राख्थेँ र कहिले फिलिम हेर्न जान्थँे । लुगा किन्न जान्थेँ । लुगा किन्न पैसाले पुगेन भने आमालाई मागेर भए पनि लुगा किनेरै छाड्थेँ । घरमा बुबाआमाले टीका लगाइदिँदा धेरै दक्षिणा दिनुहुँदैनथ्यो । छोरी फुर्मासी छे भनेर ५÷१० रुपैयाँ मात्रै दिनुहुन्थ्यो ।
दसैँ भनेको ठूला मान्छेको हातबाट आशीर्वाद लिन पाइन्छ भन्ने नै लाग्दैनथ्यो । यो त अलि पछि बाबुआमा, आफन्तको महत्व बुझ्दै गएपछि महसुस हुन थाल्यो । हुन त आफन्त र बूढाबूढीको अरु बेला पनि आशीर्वाद पाइन्छ तर दसँैको आशीष भनेको दसैँकै हो ।

प्रस्तुति : भोला अधिकारी
 

Leave A Comment