‘चङ्गा उडाउँदा उडाउँदै छतबाटै लडेँ’

सोमबार, ०९ असोज २०७४, १२ : २६ शुक्रवार
‘चङ्गा उडाउँदा उडाउँदै छतबाटै लडेँ’

निश्चल बस्नेत,अभिनेता

सानोछँदा दसैँ मलाई निकै रमाइलो लाग्थ्यो । दसैँ आउँदा हामी खुब रमाउँथ्यौँ । मेरो घर पूर्व झापाको बिर्तामोडमा हो । हजुरबुवा घरमा हुँदा पारिवारिक जमघट हुन्थ्यो । आफन्तको भिड हुन्थ्यो । घर नै मान्छेले भरिभराउ हुन्थ्यो । टीका लगाउनेको लाइन हुन्थ्यो । एकदम रमाइलो माहोल बन्थ्यो त्यो बेला । दसैँको बेला छोरी र चेलीबेटीले दक्षिणा पाउँथे । केटाहरुलाई टीका लगाएर दक्षिणा दिनुहँुदैन भन्ने मान्यता थियो । त्यसैले घरमा हामी केटालाई कसले पैसा दिन्थ्यो र ? छोरा मान्छे भएकाले घरमा दक्षिणा कहिल्यै पाइएन । मावल जाँदा मात्र दक्षिणा पाइन्थ्यो । त्यो बेला मावल जान आफूलाई बडो हतार हुन्थ्यो किनभने मावल जाँदा दक्षिणा पाइन्थ्यो नि त ? मावलमा जाँदा २ रुपैयाँदेखि ५ रुपैयाँसम्म दक्षिणा पाइन्थ्यो । मलाई अझैं याद छ । त्यो बेलाको २÷५ रुपैयाँको महत्व निकै ठूलो थियो । अलिक ठूलो हुँदै गएपछि मावलमा मलाई ५ सय रुपैयाँसम्म दक्षिणा दिएको याद छ । यो मेरालागि एकदमै ठूलो रकम थियो । दसैंको टीका थापेर पिङ खेल्न साथीभाइ मिलेर टाढाटाढासम्म पुगिन्थ्यो । घरमा फर्कंदा बेलुका हुन्थ्यो । बुबाआमाको गाली खुब खाइन्थ्यो ।
दसैँको बेला म चङ्गा उडाउन एकदमै मन पराउँथेँ । त्यही भएर दसैँमा खुब चङ्गा उडाउँथे । म बिर्तामोडको घरमा हुँदा एक दिन के भयो भने घरको छतमा चढेर चङ्गा उदाउँदै थिए, उडाउँदाउडाउँदै घरको छतबाट तल खसेको थाहै भएन । तल खस्दा बालुवामा खसेछु । धन्न बालुवा भएकोले बाँचियो । छतबाट खसेपछि मलाई सास फेर्न एकदमै गाह्रो भयो । घरका मान्छेहरुले हतारहतार अस्पताल लिएर जानुभयो । त्यो बेला घरमा सबैले पालैपिलो गाली गरेर हैरान !
जबजब दसैँ आउँछ, चङ्गाको साटो झण्डै आफैँ चैट् भएको सम्झना आउँछ । काठमाडाँै आएपछि त चङ्गा उडाउनै पाइएको छैन । यहाँ आए त सबैतिर घरैघर ! हाम्रो हजुरबुबा बित्नु भएपछि भने घरमा दसैँ रमाइलो नै हुन छाड्यो । पाहुनाहरु आउने क्रम पनि कम हुन थाल्यो । पारिवारिक जमघट हुने वातावरण कम हुँदै गयो । घरमा टीका लगाउन आउनेहरुको माहोल कम भएपछि दसैँको रमाइलो घट्न थाल्यो । अचेल मलाई दसैँ पहिलाको जस्तो रमाइलो लाग्दैन । जति रमाइलो हुन्थ्यो, सानै बेलामा हुन्थ्यो ।
दसैंको एउटा सांस्कृतिक महत्व छ । दसैं पारिवारिक भेट गराउने माध्यम हो । दसैँ नहुने हो भने आफ्नै घरका दाजुभाइ दिदीबहिनी एकैठाउँमा भेला हुन कहाँ सकिन्छ र ? टाढा गएका मान्छेहरु घर फर्काउने यो एउटा महत्वपूर्ण चाड हो । भनौँ, पारिवारिक माहोल र भेला गराउने माध्यम हो । आफन्त भेटघाट गराउने पर्व भएकाले पनि यसको एकदम महत्व छ । अरु बेला को कहाँ हुन्छ, को कता गएको हुन्छ । त्यसैले सबैलाई भेट गराउने यही एउटा दसैँले गराउँछ ।

Leave A Comment