कुञ्जना घिमिरे, हास्यकलाकार
मलाई दसैँ अरु चाड पर्वभन्दा विशेष लाग्छ । मेरो बाल्यकालको दसैँ निकै रमाइलो थियो । मिठो मिठो खाने नयाँ लुगा लगाउने भन्ने हुन्थ्यो । मलाई घाँघर निकै मन पथ्र्यो त्यसैले जसरी भए पनि ममीबुबालाई घुर्की लगाएर किनाइकन छाड्थेँ । अनि घाँघर लगाएर छरछिमेकीलाई देखाउन हिँडिहाल्ने मेरो बानी थियो । आफन्तकोमा होस् वा आफ्नो घरमा टीका लगाएर दक्षिणा कति भयो भनेर हतारहतार खाम हेर्ने गर्थें । दसैँका बेला गुच्चा खेल्ने, पिङ खेल्ने मेरो बानी थियो । अरु समय गुच्चा खेल्न नपाइने भएकाले दसैँका बेला गुच्चा खुब खेलिन्थ्यो ।
हामी छोरी मान्छेलाई घरमा होस् या मावलमा टीका लगाएपछि दक्षिणा पाइन्थ्यो । दक्षिणा कति परेछ भनेर हतार हतार खाम खोलेर हेर्थें । खसी काट्ने कुरामा भने हाम्रोमा चलन छैन । बुबाममी शाकाहारी भएकाले खसी काट्ने भन्ने हुँदैनथ्यो । दसैँमा मावलमा भने खसी काट्नु हुन्थ्यो । हामी मावलमा गएर नै मासु खान इच्छुक हुन्थ्यौँ । दसैँ भनेकै मावलमा मनाउनु हो जस्तो लाग्छ । मावल गएसी रमाइलो लाथ्यो । एक पटक दसैँमा मावलमा टीका लगाउन गएका थियौँ । अरु टीका लगाउन व्यस्त हुनुहुन्थ्यो । म भने बारीमा काँक्रो चोर्न गएकी थिएँ । काँक्रो चोरेर फर्कन लाग्दा लडेर मकैको ढोडले मेरो हात काट्यो । त्यो बेलाको खत अहिलेसम्म पनि छ । बाल्यकालको बिर्सन नसक्ने क्षण नै यही हो । आज पनि दसैँका बेला खतले बाल्यकालको दसैँ सम्झना गराउँछ ।
Leave A Comment