संगतले बनेकी मनीषा

शनिबार, २१ असोज २०७४, ०२ : ०३ विश्वमणि पाेखरेल
संगतले बनेकी मनीषा

‘म त सामान्य मान्छे हुँ तर क्यामरा लभ्स मि,’ चक्रपथस्थित घरमा बिहानीको चिया चुस्की लिँदै मनीषाले भनिन्, ‘मेकअप गरेपछि मात्र राम्रो देखिन्छु ।’
भदौ २३ को बिहानी मर्निङ वाकबाट फर्किएकी मनिषाको शिरमा ह्याट थियो, टि सर्ट, लेगिन अनि स्पोर्टस जुत्तामा रहेकी उनीसँग त्यही पहिरनमा वार्तालाप सुरू भयो ।
सहकर्मी अच्युत कोइरालाले उनको पहिलो हिन्दी फिल्म ‘१९४२ अ लभ स्टोरी’को पाश्र्व गीत ‘एक लडकीको देखा तो ऐसा लगा...’ का पछाडि मनीषा आफैँ रहेको भन्ने प्रसङ्ग उठाउँदा उनको जवाफ थियो त्यो । जावेद अख्तरले त्यसबेलाकी किशोरी मनीषाको खिलखिलाउँदो मुस्कान र चञ्चलतालाई गीतका शब्दमा व्यक्त गरेको हो भन्ने प्रश्नमा मनीषा भन्दै थिइन्, ‘त्यस्तो होइन क्या ! क्यामेरा लभ्स मि !’
मनीषाले क्यामरा लभ्स मी भनिरहँदा ग्ल्यामर फोटोग्राफर अर्जुन शाह, लिभिङ रुममा सुटिङको तयारी गर्दै थिए । ‘परिवार’ म्यागेजिनका लागि कभर फोटोको जिम्मेवारी सम्हालिरहेका अर्जुनको पूरै सुटिङ टोली त्यहाँ थियो, सबै सामग्री र सहकर्मी टिमसहित ।
करिव डेढ घण्टाको वार्तालाप र ३ घण्टाको सुटिङका क्रममा मनिषाका दुई भिन्न रुप अनुभूत भयो । कलाकारको क्यामेरा अघिल्तिरको जिन्दगी र पछाडिको जिन्दगी बेग्लै हुँदोरहेछ ।
केटाकेटी उमेरमा जागेको फिल्म खेल्ने चाहना र उनको बम्बैसम्मको यात्राका पाटाहरू, उनका सफलताका पछाडिको सूत्र के रहेछ त ? हामीले खोतल्ने प्रयास ग¥यौं । दिल्लीबाट कक्षा १२ को पढाइ सकेपछि मनिषाको चाहना डाक्टर बन्ने थियो, परिवार पनि त्यही चाहन्थ्यो । ‘त्यसबेला डाक्टर पढ्ने क्रेज थियो,’ मनिषाले भनिन्, ‘मलाई पनि डाक्टर नै बनुँ भन्ने चाहना थियो ।’


दिल्लीमा १२ कक्षाको पढाइ सकेर काठमाडौं आएकी मनिषालाई मामा प्रेम उपाध्यायले मेघा उलको विज्ञापनमा मोडलको रूपमा प्रस्तुत गरे । त्यसलगत्तै उनी ‘फेरि भेटौँला’ फिल्ममा नायिका बनिन् ।

यी दुई अभिनयलाई उनी फुर्सदको बेलाको रमाइलो मान्दै थिइन् । त्यसैबेला भारतको फिल्मी राजधानी बलिउड जाने र फिल्म खेल्ने चाहनाले घर गर्यो । त्यो चाहनालाई पूरा गर्न उनले परिवारका सदस्यहरूबीच इमोससनल ब्ल्याकमेल गरिन् । परिवारकी मुली सुशीला कोइराला जो आफैँ कहलिएकी क्लासिकल डान्सर थिइन्, उनको मनमा पनि सायद फिल्ममा देखिने रहर हुँदो हो, किनभने उनले प्रायः फिल्म छुटाउँदिन थिइन् । ‘सुशीला आमा’सँग मनीषाले फिल्म खेल्ने अनुमति माग्दा उनले भनेकी थिइन्, ‘घाँस काट्ने काम गरे पनि नम्बर १ हुनु, काम सबै उस्तै हुन्, कुनै ठूलो वा सानो हुँदैन ।’ यसपछि मनीषाको बलिउड यात्राको बाटो फुक्यो । ड्याडी प्रकाश सुशीला आमाको कुरा अवज्ञा नगर्ने, सुष्मा सासूको आदेश काट्न नसक्ने । यस्तै भावनात्मक माहौलमा मनीषाले योजना बुनिन्– जन्मदिनमा के दिऊँ भन्नु भयो भने बम्बै जान्छु भनी उपहार माग्ने । सोचेजस्तै जन्मदिनको केही दिनअघि सुष्माले छोरीलाई सोधिन्, ‘के दिऊँ उपहार ?’
‘बम्बै घुमाइदिनुस्,’ उनको प्यारो आग्रह थियो ।
‘एक शर्तमा मात्र लैजान्छु, त्यहाँ एक हप्ता मात्र बस्ने, हुन्छ ?’ सुष्माको शर्त थियो ।
दुवैबीच सहमति भयो । मनीषाको चाहना थियो– बम्बे जाने, केही समय फिल्म खेल्ने र  पैसा जम्मा गरेर डाक्टरी पढ्ने ।
सुष्मालाई लाग्थ्यो, मलाई पो मेरी छोरी राम्री लाग्छे त ! फिल्म खेल्न कस्ताकस्ता पुग्छन् ! यसले के मौका पाउली ! जे भए पनि छोरीमा जागेको फिल्मी भूत बम्बे साम्य होस् !
आफैँ कत्थक, भरत नाट्यम र मणिपुरी नृत्यमा पारङ्गत सुष्पा छोरी फिल्मी क्षेत्रमा नजाओस् भन्ने  चाहना मात्र थिएन, त्यसै अनुसारको रणनीति पनि अपनाएकी थिइन् । फिल्म पत्रकार मीना ऐयर सुष्माकी साथी थिइन्, उनको सहयोगमा मनीषाको फिल्मी क्रेज हटाउने सुष्माको चाहना उल्टो पो भयो ।
एक साताको बम्बे बसाइमा मीनाले मनीषा र सुष्मालाई त्यस बेलाका कहलिएका निर्देशक बोनी कपुर, शेखर कपुर, ऋषि कपुरसँग भेट मात्र गराइनन्, शेखरले त भेटको १० मिनेटमै फिल्मका लागि हस्ताक्षर नै गरे । मनीषा र सुष्मासँगको कुराकानीबाट थाहा भयो, सुष्मा छोरीको फिल्मी चश्मा हटाउन नसकेकोमा हार मान्दै फर्किन् भने मनीषा आशा र आत्मविश्वास लिएर फर्किइन् । तीन जना कपुरहरूसँग कुराकानी भए पनि उनीहरूको फिल्ममा भने मनीषाले अवसर पाइनन् । एक साताको बम्बे यात्राबारे मनिषा भन्छिन्, ‘आमामा केटीमा केही रहेछ भन्ने भयो । त्यहाँको माहौल देखेर आमा केही पग्लिनु भयो । तीन जनासँगको कुराकानीले आशा दियो । आशा र आत्मविश्वास मानिसको जीवनका अहम् कुरा हुन् ।’ आशा र आत्मविश्वासकै बलमा आफू फिल्मी करिअरमा जमेको र क्यान्सरसँग जुधेर नयाँ जीवन पाएको अनुभव सुनाइन्, मनीषाले ।
बम्बैको अनुभव बटुलेर दिल्ली फर्किएकी मनिषाले मीनालाई पछ्याइरहिन् । तीन कपुरसँगको कुराकानी कार्यान्वयन हुने लामो प्रतीक्षा सकिएपछि मीनाले अर्का कहलिएका निर्देशक सुभाष घईकहाँ पुर्याइन्, जो आफ्नो नयाँ फिल्मका लागि नयाँ अनुहारको खोजीमा थिए । त्यसैबेला घईले भनेको मनीषालाई अझै ताजा छ । घईले भनेका थिए, ‘केही गरी मैले तिमीलाई फिल्ममा लिन सकिनँ भने तिमीले आफ्नो कमजोरी नठान्नू, यत्ति हो– मैले खोजेको जस्तो क्यारेक्टर तिमीमा फिट भएन ।’  घईले सुरुमा त्यसरी सम्झाए पनि उनी ‘सौदागर’मा पक्का भएपछि एकपछि अर्को गर्दै बलिउडमा उदाइन् ।
बलिउडमा ठूलो संघर्षबिना नै आफू स्थापित भएको मनीषाले बताउँदै थपिन्, ‘करिअरको सुरुवातमै राम्रो भूमिकामा खेल्न पाएकाले समस्या परेन तर त्यस्तो होइन कि कुनै समस्या नै थिएनन् । रातदिन, वर्षाघाम केही नभनी रिहर्सल गरेँ, लामो–लामो समय खटेँ । लामो खटाइ बरदान भयो, आलस्यका लागि कुनै ठाउँ रहेन ।’
सफल हुनु पछाडिको मूल कारण आफूले छानेको राम्रो संगतको ठूलो भूमिका रहेको उनी बताउँछिन् । ‘मेरो संगत राम्रो रह्यो । म आफ्नो निर्णयमा हिँड्न सकेँ,’ मनिषाले भनिन्, ‘ब्लेसिङ बाई गड !’ क्लासिक डान्समा पारङ्गत सुशीला आमाले फिल्मी दुनियाँको बाटो खोलिदिइन् । हजुरबा बिपी कोइराला, साथ दिने बाबु प्रकाश र आमा सुष्मा अनि बम्बैका एकसे एक निर्देशक, फिल्मकर्मीबाट प्रोत्साहन पाएको उनले सुनाइन् । ‘मलाई संगतले बनाएको हो, सुशीला आमाको संगत, आमाको प्रोत्साहन, अरुहरूका प्रोत्साहन, सबैले मलाई सघाए,’ मनीषाले भनिन्, ‘राम्रो संगत, भाग्यको कुरा हो । यसको क्रेडिट म कसैलाई दिन्न, म आफैँलाई दिन्न, परिरवारलाई पनि दिन्नँ ।’
व्यक्तिहरूबाहेक किताबहरूले आफ्नो जीवनमा प्रभाव पारेको उनले बताइन् । जीवन, जगत र दर्शनका पुस्तकको संगत बाल्यकालदेखिकै रहेको उनी बताउँछिन् । आफू १०/११ वर्षकी हुँदा बाबु प्रकाशबाट बर्थ डे उपहारमा  हार्पर लिको ‘टु किल अ मोकिङ बर्ड’ पुस्तक पाएको र अर्का दाजु विकास कोइरालाले एनी राइन्डको पुस्तक ‘फाउन्टेन हेड’ पढेपछि त संसारै परिवर्तन भएको स्मरण सुनाउँदै मनिषाले भनिन्, ‘म सानै छँदा मेरासामू त्यस्ता पुस्तकहरू अगाडि राखियो ।’ किशोरावस्थामा आफूले एकदुई वटा मात्र जासुसी उपन्यास पढेको तर तिनले नतानेको उनी बताउँछिन् ।
मनीषा अहिले पनि फिल्म खेल्दैछिन् र आफैँ नेपाली सिनेमा बनाउने योजनामा रहेको बताइन् । भारतीय फिल्म र नेपाली फिल्ममा कस्तो अन्तर रहेछ ? मनीषाको बुझाइमा भारतमा नयाँ नयाँ  अनुहार आएका छन्, उनीहरू आर्टिस्टिक फिल्ममा जोड दिइरहेका छन् । यहाँ नेपालमा ? उनले भनिन्, ‘बलिउडका नराम्रो कुराको कपी, नराम्रा फिल्मको कपी ।’
फिल्म अभिनयसँगै अर्को व्यवसाय मोटिभेसनल स्पिकरको भूमिकामा आफूलाई तिखार्दै गरेकी मनीषाले कस्तो नेपाली सिनेमा बनाउने योजनाबारे धेरै भेद खोलिनन् । ‘हाम्रो माटो सुहाउँदो फिल्म थौरे बजेटमा पनि बन्नसक्छ, चल्नसक्छ,’ उनले भनिन् । फिल्म बनाउने बजेटको समस्या पो हो कि भन्ने प्रश्नमा मनीषाको सटिक उत्तर थियो, ‘त्यो माइन्डसेट मात्र हो, पहिला बजेट चाहिन्छ भन्ने कुराको म विरोधी हो ।’ फिल्म बनाउँदा पहिल्यै बजेट खोज्न नहुने उनको धारणा छ । ‘पहिलो कुरा फिल्मको कन्टेन्ट हो, पहिले विषय रोज्ने हो, कथावस्तु ठीक पार्ने हो, त्यसपछि मात्र बजेट हाल्ने मानिस खोज्नुपर्छ,’ मनीषाले भनिन्, ‘पहिले बजेट खोज्यो भने त पैसा हाल्नेले आफ्नो दिमाग पनि हालिहाल्छ नि फिल्ममा !’ 

Leave A Comment