एक समय हरिदेवी कोइरालाले लोक गायनमा एकछत्र राज गरेकी थिइन् । पोखराबाटै नेपाली सांगीतिक फाँटमा केन्द्रलाई हाँक दिने हरिदेवी सन्देशमूलक गीत गायन तथा सिर्जनामा सक्रिय छिन् । २०४१ सालमा ‘पाइनँ खबर’ गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा उदाएकी हरिदेवी अहिलेसम्म गायनमै क्रियाशील छिन् । झन्डै ३ सय वटा पुरस्कार पाइसकेकी हरिदेवीले अहिलेसम्म एक सय १० क्यासेट निकालीसकेकी छन् भने चार सय जति भिसिडी । उनै लोक गायिका हरिदेवीसँग मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।
कसैले सुनाएको थियो– हरिदेवी कोइरालाले गीत गाएबापत पारिश्रामिक लिन्नन्, सत्य हो ?
जसले सुनाए पनि सही सुनाएछ । मैले गायनलाई पेसा बनाएर हिँडिनँ । त्यसैले गाएबापत पारिश्रामिक लिन्नँ । व्यावसायिक रुपमा कहिल्यै गाइएन तर कुनै ठाउँमा पनि छुटेन । सम्मानका लागि बोलाइन्थ्यो, सहयोगका लागि गाइन्थ्यो । त्यो बेला पारिश्रामिक दिने चलन पनि थिएन त्यतिबेला । रकम लिएर गाउन गइएन, रकम लिएर गाउँदिन पनि । पेसा नबनाएपछि जान पनि नसकिने । लोक गीतको मौलिकता संरक्षणका हिसाबले मात्रै गाइयो ।
गााएको पारिश्रामिक नलिने भएपछि यति लामो समय निरन्तर संगीतमा लागिरहने ऊर्जा केले दियो ?
सबैभन्दा ठूलो ऊर्जा मेरो इच्छा शक्ति हो । अर्को कुरा, मेरो श्रीमान् लगायत घरपरिवारले असाध्यै ठूलो सहयोग र सपोर्ट गरेको छ । यसले संगीत क्षेत्रमा निरन्तर लागिरहने ऊर्जा मिलेको छ ।
अहिले के गरिरहनुभएको छ ?
अब चाहिँ मेरा लोकगीतहरुलाई भिडियो बनाउने । पुरानापुराना गीत संकलन गरिएको छ तीनलाई रेकर्ड गर्ने । केही पुराना भाका पनि छन्, रेकर्ड भइरहेकै छन् । बच्चाहरुकै लागि भनेर दोस्रो गीति किताब आउँदैछ । पुराना गीतलाई भिजुअल गर्दैछु । लगानी एकदमै ठूलो छ । तर, खर्च कटाएर भए पनि निकै कम खर्चमा भिडियो बनाउँदै छौँ । ‘पाइनँ खबर’को पनि रिमेक गर्न लागिरहेको छु ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
एक सय १० वटा त क्यासेट मात्र निकालेँ । अहिले क्यासेटको जमाना गइसकेको छ । झन्डै चार सयबाट भिसिडी निकालेँ । हरेक वर्ष मौलिक तीज गीत निकाल्छु । ती ५५-६० वटा भए होलान् । तीनको भिजुअल र अडियो दुवै हुन्छ । ती सबै गीत मेरै शब्द, संकलन, लय र स्वरमा छन् ।
गायिका बन्ने सोच कसरी पलयो ?
सानोसानो हुँदा गन्धर्व दाइहरु गुजाराको क्रममा हाम्रो घरतिर गाउँदै हिँड्नुहुन्थ्यो । दिनमै पाँच सात जाना आउनुहुन्थ्यो । मामा घर जाँदा पनि त्यस्तै देख्थेँ । मामाघर जाँदा हजुर आमाले शिलोक भन्नुहुन्थ्यो । शिलोक गाउनुहुन्थ्यो । म जन्मेको फेवातालको किनार भएकाले त्यहाँ धेरै खेती हुन्थ्यो । जतिबेला बैदाममा खेतालाहरुले गाउने । खाजा पुर्याउन जाँदा त्यस्तै गीत सुन्ने । कोदो गोड्दा पनि गीतै गाइने । यहाँको प्राकृतिक वातावरण पनि त्यस्तै माछापुच्छेको शिर हेर्दै फेवाताल वरपर घुम्दा मन पुलकित हुन्थ्यो अनि गीत गाउने र लेख्ने हुटहुटी बढ्थ्यो । अनि यहाँका स्रष्टा अलिममियाँ, धर्मराज थापा, झलकमान लगायतको प्रभाव रह्यो । अनि गायनमा लाग्ने रहर पलायो ।
गायन यात्रा कसरी सुरु भयो ?
म स्कुले हुँदै गाउँदै र गीत लेख्दै आएकी हुँ । ‘नौलो डाको’ भन्ने पत्रिकामा दसैँसम्बन्धी पहिलो कविता छापियो । यस्तै १४-१५ की थिएँ त्यसबेला । कक्षा ८ पढ्दा कविता र गीत गाएर तालबाराहीमा स्कुलमा हिरालाल विश्वकर्मा शिक्षा मन्त्रीको हातबाट पुरस्कार थापेपछि गाउने उत्कण्ठा अझ बढ्यो । सरहरुले तिम्रो स्वर राम्रो छ गाउँदै गर भन्नुभयो ।
त्यतिबेला त गीत गाउँदै हिँड्दा समाजले राम्रो मान्दैनथ्यो होला नि ?
मेरो समुदायभित्र गाउने नाच्नुलाई राम्रो मानिदैनथ्यो । म लुकिभागी कार्यक्रमहरुमा जान्थेँ । गीत गाउनु भनेको हाम्रो समुदायमा तिरस्कृत हुनुपथ्र्यो । विवाह भएपछि पनि लुकिलुकी गीत गाइयो । अहिलेजस्तो हौसला÷प्रेरणा दिने चलन थिएन । तैपनि लागियो र यहाँसम्म आइयो । त्यतिबेला छोरीचेलीले गीत गाउनु ठूलो विद्रोह थियो ।
पहिलो गीत रेकर्ड गर्दाको अनुभव कस्तो रह्यो ?
गायनमा लामो समय बिताइसक्दा पनि रेकर्ड भने धेरै पछि गरियो । मेरो श्रीमान् रामबहादुर कोइराला कृषि बैंकमा काम गर्नुहुन्थ्यो । म पनि लमजुङमै जागिर गर्थें । मेरा साथी देवी गुरुङ अनि पोखरा बाटुलेचौरका कुलबहादुर केसीले गीत रेकर्ड गराउनुपर्छ भनेपछि म हौसिएँ । श्रीमान्ले पनि हौसला दिनुभो । २०४१ सालमा मैले संकलन गरेका रचनाहरूमध्येबाट ८ ओटा गीत छानेर रेकर्ड गराउन काठमाडौँ गयौँ । म्युजिक नेपालमा पनि स्वर परीक्षा पास गर्नुपर्ने । रेडियो नेपाल त सपनाकै कुरा थियो । राजु मानन्धरको अध्याँरो स्टुडियोमा गीत रेकर्ड गराएँ । ती गीत रेकर्ड गराएको ८ हजार तिरेँ ।
गीत कस्तो भयो भन्ने कति दिनपछि थाह भयो ?
प्रेमराजा महत, नारायण रायमाझीको सहयोग पाएँ । श्रीमान्को पनि सहयोग थियो । आठ वटा गीतमध्ये ‘पाइनँ खबर’ले यति बजार पिट्यो कि त्यो सोच्दै सोचेको थिइनँ । रेडियोमा त्यो गीत बज्न थालेपछि बल्ला थाह पाएँ । ठूलो हल्लाखल्ला भएछ । झन्डै दुई महिनापछि मात्र यसबारे थाहा पाएँ । त्यतिबेला रत्नपार्कमा मेरो ठूलो ठूलो फोटो छपाएर ‘पाइनँ खबर’ यहाँ पाइन्छ भनेर क्यासेट बिक्री गरिएको धेरैपछि मात्र थाहा भयो ।
यत्रो किन चलेछ ?
यस गीतमा महिलाको पीडा छ । गीत चर्चित भएपछि मेराबारे पनि अनेक हल्ला चले बजारमा– हरिदेवीले यो गीत परदेश गएका श्रीमानलाई सम्झेर लेखेकी रे ! उसको बूढो लाहुरे हुन् रे ! आदि । हामी गाडीमा यात्रा गर्दै गर्दा कतिले त हरिदेवीको बूढो मेरै पल्टनको हो भन्नेसम्म पनि आफ्नै कानले सुनियो । बजारमा जेजस्ता हल्ला चले पनि त्यसले मेरो ख्याति बढायो भन्नु पर्यो ।
गीत बजारमा आएपछि कुनै त्यस्तो सम्झनायोग्य घटना छ ?
‘पाइनँ खबर’ निस्केपछि कर्मचारी मिलन केन्द्र लमजुङले मेरो सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गुरुङ समुदायका आमाहरू धेरै आउनुभएको थियो । बेसीसहरमा भएको त्यो कार्यक्रममा मैले ‘पाइनँ खबर’ गाएपछि माहोल गम्भीर बन्यो । रुवाबासी चल्यो, मेरो गला अवरुद्ध भयो । आमाहरूले मलाई आफ्नै समाजको कथाव्यथालाई गीत बनाएको भनेर स्याब्बासी दिनुभयो । मायास्वरूप मलाई सबैले माला लगाइदिनुभयो । गुरुङ समुदायमा राम्रो लाग्यो भने कानमा फूल सिउरीदिने चलन रहेछ पैसाको । कसैले रु १, कसैले २, केहीले ४ रुपैयाँ सम्मको फूल सिउरी दिए । त्यसबेलाका लागि त्यो ठूलो रकम थियो । झन्नै ३—४ सय उठ्यो । अन्त्यमा मैले सबै रकम सामाजिक रूपमा उपयोगी होस् भनेर कर्मचारी मिलन केन्द्रलाई नै हस्तान्तरण गरेँ ।
त्यसपछि के भो ?
‘पाइनँ खबर’को चर्चा चुलिएपछि म्युजिक नेपालले मलाई बोलायो । त्यहाँ ‘के सिन्दूर पहिरिएछु धर्मछाडाको’ र ‘एक पेट लाउन एक पेट खान, मेरो माया काँ हो का मुग्लान’ भन्ने गीत रेकर्ड गराएँ । लगत्तै ‘विदेशमा जानेलाई घर फर्क के भनौँ पुग्दैन खानलाई’ गीत निकालेँ । त्यो पनि एकमदै चल्यो । त्यतिबेला ५०–६० हजार क्यासेट बिक्री हुनु त मामुली हो । लाखौं बिक्री भयो । धेरैले यी गीतलाई ‘पाइनँ खबर’सँग जोडे । पहिलो गीत सुनेर धेरैलाई मेरा श्रीमान् विदेशमा हुनुहुन्छ भन्ने भान परेको थियो । ‘के सिन्दूर पहिरिएछु धर्मछाडाको’ सुनेपछि त विदेशबाट फर्केर श्रीमानले अर्कैसँग बिहे गरेछन्, हरिदेवीको जीवनमा सौता पसेपछि यो गीत गाउनु परेछ भनेर फेरि ‘कठैबरा’ भन्नेहरू बढे । हुँदाहुँदा घरमै आएर सोध्न थाले । आफन्तहरूले पनि टीकाटिप्पणी गरेको सुनियो । जवाफ दिँदादिँदा हैरान ! एकातिर रमाइलो लाग्थ्यो, अर्कोतिर दिक्क ।
संगीतबारे औपचारिक ज्ञान कति लिनुभयो ?
संगीतका कुराहरु कहिल्यै केही सिकिएन । अहिलेसम्म सिकेको पनि छैन । जे जानेको छु, अध्ययन र साधनबाटै हो । कहिल्यै केही सिकिनँ । भन्छन् नि– गड गिफ्टेड, त्यही हो ।
बिहेपछि घरपरिवारबाट गायनमै लाग्न कत्तिको सहयोग पाउनुभयो ?
वि.सं. २०३४ साल वैशाखमा विवाह भयो । श्रीमान्ले कुरो बुझिदिँदा धेरै सजिलो भयो । त्यतिबेला समाजले अनेकन् कुरा काट्यो, हामीले नसुनेजस्तो गरेर हिँडियो । मैले म कलाकार हुँ भनेर पनि कहिल्यै बाहिर हिँडिन । घर पनि धानेर फुर्सदको समयलाई सदुपयोग गरेर गीत गाएँ । त्यतिबेलाको सामाजसँग ठूलो विद्रोह गरियो । जीवन भनेको अलिअलि सम्झौता पनि हो । सम्झौता र समय व्यवस्थापन गरियो । सम्झौता र समन्वय गर्न सकिएपछि सबै गर्न सकिन्छ । सबैलाई समन्वय गरेर लगेमा सफल पनि भइन्छ ।
ठूलै कलाकार बन्न उतिबेला काठमाडौं जानेको लर्कोमा तपाई किन पर्नु भएन ?
राम्रो काम गर्न काठमाडौं नै जानुपर्छ भन्ने छैन । त्यतिबेला घर छाडेर कलाकार भएपछि धेरै केन्द्रमै धाउनुपर्ने बाध्यता थियो । तर मैले रेकर्ड गर्नेबेला बाहेक काठमाडौं टेक्दैन । ती कुराहरुभन्दा पोखरामै बसेर आफ्नै आगनको आनन्द पनि छुट्टै मजा आउँछ । काठमाडौंमा सानो काम भए पनि धेरै हल्ला हुन्छ । त्यति हो फरक नत्र जहाँ बसे पनि कला र गला तिखार्न, निखार्न सकिन्छ ।
यति लामो समय संगीतमा लागेपछि के पाएँजस्तो लागेको छ ?
मैले नाफा र घाटा कहिल्यै हेरिनँ । यति धेरै गीतमा लगानी गर्दा पनि त्यहीअनुसार सोचेँ । पैसाको लागि नहिँड्नु, मोटरसाइल चढेर हिँड्नु कसैबाट पनि पारिश्राामिक नलिनु ठूलो कुरा हो । यसमा लागेर मैले आत्मसम्मान र आत्मसन्तुष्टि पाएकी छु । योभन्दा ठूलो कुरो अरु हुनै सक्दैन ।
गाह्रोसाह्रो हुँदा गायनमा लागेर गलत गरिएछ भन्ने लाग्दैन ?
आत्मसन्तुष्टिभन्दा ठूलो अरु नभएकाले त्यस्तै कहिल्यै लाग्दैन । लागेन । गाउनु भनेको मनको बह पोख्नु पनि हो । बह पोख्दा यस्तो आनन्द आउँछ । त्यो अरुसँग तुलना हुँदैन । तर कार्यक्रम हुँदा धेरै ठाउँमा बोलाउँछन् सम्मान गरेर, कतै समय नमिलेर जान पाइँदैन । शनिबार पनि फुर्सदले बस्न पाइँदैन । आफ्नो जीवन नै हुँदैन एक प्रकारले भन्ने हो भने । गइन, ठूली भई भन्छन् । त्यतिबेला चाहिँ समय छुट्याउन नसक्दा अलि दुःख लाग्छ ।
Leave A Comment