पहिलो शेर्पा फिल्म

सोमबार, ३० असोज २०७४, १२ : २७ शुक्रवार
पहिलो शेर्पा फिल्म

गीत, संगीत र चलचित्र क्षेत्रमा केही गर्ने हुटहुटीले सोलुखुम्बु, गुदेलकी आङङिमा शेपा ‘कुङ्गा’लाई काठमाडौँ ल्याइपु¥यायो । काठमाडौँको परिवेश उनले सोचेजस्तो सहज थिएन । जता फर्के पनि पैसाकै कुरो हुन्थ्यो तर उनको खल्तीमा आफूले इच्छाएका काम गर्न चाहिए जति पैसा थिएन । संघर्षका बीच उनले गायक प्रेम लोप्चनसँग २०११ मा ‘हाम्मैलिला खैलाला’ गीत गाइन् । प्रतिभाभन्दा पैसा चाहिने समयमा उनलाई लाग्यो ‘यसरी त आफ्नो सपना कहिलै पनि पूरा हुँदैन ।’ त्यसपछि उनी पहिला पैसा कमाउने अनि आफ्ना इच्छा पूरा गर्ने निर्णयमा पुगिन् । उनले निर्णय मात्रै गरिनन्, साइप्रस, पोर्चुगल, रसिया र नर्वे लगायतका युरोपेली देशमा करिब नौ वर्ष बिताइन् । यस बीचमा उनले दर्जनौँ गीत, गजल तथा कविता कोरिन् अनि शेर्पा भाषाको एउटा चलचित्र आफ्नै कथा, निर्देशन र लगानीमा बनाउने विचारले नेपाल फर्किन् । कुंगा नेपाल बस्न थालेको करिब नौ महिना भयो । तर यस बीचमा ५ गीत रेकर्ड, करिब १५ वटा गीतको म्युजिक भिडियोको निर्देशन र शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फमा’को निर्देशन गरिसकिन् ।

अलि–अलि जान्ने बुझ्ने भएदेखि नै चलचित्र बनाउने सपना देखेकी थिइन् उनले । अहिले त्यो सपना पूरा भएकोमा उनी अहिले निकै हर्षित छिन् । तर चलचित्र निर्माण गर्दाको कठिनाइ र अहिले कसरी लगानी उठाउने भन्ने चिन्ताले भने कहिलेकाहीँ उनलाई बेचैन बनाउँछ । अन्य भाषाभाषीका चलचित्रजस्तै शेर्पा भाषाको यो चलचित्रले पनि लगानी उठाउन विभिन्न च्यारिटी र विशेष सोकै भर पर्नुपर्ने बाध्यता छ । युरोप तथा अमेरिकामा रहेका शेर्पा समुदायले आफू रहेको देशमा चलचित्र प्रदर्शन गरेर लगानी उठाउने वातावरण मिलाइ दिन्छौँ भनेर आश्वासन दिएकाले उनलाई केही राहत महसुस भएको छ । प्रथम विश्व शेर्पा सम्मेलनको अवसर पारेर उनले असोज २६ गतेदेखि आफ्नो चलचित्र विशेष सोमार्फत् प्रदर्शन गर्दैछिन् । गोपीकृष्ण र केएल टावरस्थित एफक्युबबाट उनको चलचित्र ‘टिन्छेन फमा’ प्रदर्शन हुँदैछ । चलचित्रमा कुङ्गा शेर्पा, छोङ्वा शेर्पा, सोनाम याङ्जी शेर्पा, छिरिङ डोल्मा शेर्पा लगायतले अभिनय गरेका छन् । चलचित्र निर्माणमा कुङ्गा शेर्पा, छोङ्वा शेर्पा र तेञ्जि शेर्पाले पनि सहयोग गरेका छन् ।

Leave A Comment