‘फिल्म चलेन भने यो क्षेत्रै छाड्छु’

मङ्गलबार, ०७ कार्तिक २०७४, ०५ : २८ अनिल यादव
‘फिल्म चलेन भने यो क्षेत्रै छाड्छु’

एकताका दर्शकले निकै रुचाएका अभिनेता हुन्– रमेश उप्रेती । दर्शकले रुचाइरहेकै बेला उनी अमेरिका भासिएका थिए । करिब सात वर्षपछि फिल्म ‘ब्रासलेट’मार्फत उनी नेपाली फिल्ममा फर्किए तर फिल्म चलेन । अहिले उनले आफ्नै लगानी तथा ब्यानरमा फिल्म ‘ऐश्वर्य’ बनाएका छन् र भनिरहेका छन्, ‘यो मेरो कमब्याक हो ।’ उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

निकै व्यस्त हुनुहुन्छ, हगि ?
फिल्मको रिलिज हुने बेलामा एकदमै प्रेसर छ । मेकर्सका रुपमा फस्ट टाइम डेब्यु गर्दैछु, त्यसैले होला ।  

कलाकार भइञ्जेल निर्मातालाई कसरी हेरिन्थ्यो र अहिले कस्तो महसुस भयो ?
मलाई फिल्म मेकिङ यति ‘टफ’ होला भन्ने लागेको थिएन । यति प्रेसर होला भन्ने सोचको थिइनँ । सिनेमा बनाउनु एकदमै गाह्रो काम रहेछ । अझ नेपालको सन्दर्भमा त हामी कुनै पनि हिसाबले सुरक्षित छैनौं । फिल्म बनाउनु भनेको रिस्की गेम हो । आफैँ निर्माता भएपछि डर, टेन्सन, प्रेसर सबै एकैपल्ट खप्नुपर्ने रै’छ । 

फिल्म निर्माणको तनाव लिएर अभिनय गर्न गाह्रो भएन ?
भयो नि ! फिल्मको सुटिङताका एउटा क्यारेक्टरमा बसिरहेका बेला एउटा आएर ‘सर यो भएन’ भन्छ अर्को आएर ‘त्यो छैन’ भन्छ । क्यारेक्टरमा १०० पर्सेन्ट बसिरहन सकिँदैन । फिल्म बनाउन थालेको पहिलो दिनदेखि आजसम्म म प्रेसरमा छु । अहिले आफ्नो सिनेमा हेर्दा आफैँलाई ‘मैले यो कसरी गर्न सकेँ’ होला भन्ने लाग्छ तर कलाकार मात्र भएर काम गरेको भए अझ राम्रो गर्थें भन्ने त हुँदोरैछ । अब यो प्रेसर कार्तिक ९ (फिल्मको रिलिज डेट) गतेसम्म रहिरहन्छ । त्यसपछि के हुुन्छ, थाहा छैन । 

तपाईंले अमेरिकाबाट फर्किएपछि खेलेको फिल्म त ‘ब्रासलेट’ हो तर ‘ऐश्वर्य’लाई ‘कमब्याक’ भनिरहनुुभएको छ । यस्तो कसरी ?
पहिलो कुरा त म यस्तो कमब्याक भन्ने कुरामा विश्वास गर्दिनँ । केही वर्ष ग्याप मात्र भएको हो तर यदि कसैले कमब्याक भनेर कुरा उठाउँछ भने कमब्याक भनेको त धमाकेदार हुनुपर्छ । त्यो फिल्म यस्तो हुनुुपर्छ कि रमेशको कमब्याक भयानक भयो है भन्ने दर्शकलाई लाग्नुपर्छ । त्यो हिसाबले ‘ऐश्वर्य’ मेरा लागि कमब्याक हो ।

तपाईंलाई कमब्याक धमाकेदार हुनुपर्छ भन्ने लाग्थ्यो भने अमेरिकाबाट फर्र्किएपछि खेलेको पहिलो फिल्म नै किन त्यस्तो भएन ?
म एस्ट्रोलोजीमा विश्वास गर्ने मान्छे हुँ । मलाई ज्योतिषले पहिलो फिल्म अरुकै खेल्नुस् भनेर सल्लाह दिएअनुसार आफूले नबनाएको हुँ । अरु कुनै समस्या भएकाले नबनाएको होइन तर विडम्बना पहिलो फिल्म धमाकेदार हुन सकेन । हामी कहाँ चुक्यौँ, किन चुक्यौँ त्यो प्रश्नको जवाफ मसँग पनि छैन । अब त्यो प्रश्नको जवाफ ‘ऐश्वर्य’ले दिन्छ । 

दर्शकको मनमा राज गरिरहेका बेला तपाईं अमेरिका जानुुभयो । अहिले फिल्म क्षेत्रमै तपाईंको करिअरको सेकेन्ड इनिङ सुुरु भएको छ । यो सुरुवात तपाईंलाई कस्तो लाग्दैछ ?
सुुरुवात त कार्तिक ९ पछि हुन्छ । अहिले त संघर्ष गरिरहेको छु । मभित्र रहेको कलाकारिताको भूतलाई म फेरि पनि प्रमाणित गर्न खोजिरहेको छु तर एकदमै गाह्रो हुँदोरहेछ । आफूलाई कति प्रमाणित गर्न सकेँ, त्यो फिल्म रिलिजपछि नै थाहा हुन्छ । 

फिल्मको व्यापारले तपाईंको करिअरमा कसरी प्रभाव पार्दैछ ?
यो मेरो जिन्दगीको ‘ड्रिम प्रोजेक्ट’ हो । मेरो पहिल्यैदेखिको सपना थियो, एउटा स्तरीय फिल्म बनाउने । प्रविधि, प्रस्तुति र लोकेसनका हिसाबले पनि स्तरीय फिल्म बनाउने चाह थियो । त्यसैले यो फिल्मलाई राम्रो बनाउन मेकरका हिसाबले मैले एकरत्ति पनि सम्झौता गरेको छैन । त्यसैले यो फिल्म चल्यो भने मेरो विश्वासको जित हुन्छ । म यही क्षेत्रमा लामो समयसम्म काम गर्न सक्छुु । फेरि फिल्म बनाउन सक्छु । चलेन भने पनि म सहज रुपमा लिन्छु । मैले कोसिस नगरेको होइन, त्यसैले मलाई पश्चाताप हुँदैन । फिल्म चलेन भने चाहिँ मेरो विश्वासमा कुुठराघात हुुन्छ । म आफूलाई फिल्म इन्डस्ट्रीमा रहनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छु । मैले यति गर्दागर्दै पनि दर्शकले किन तिरस्कार गर्नुभयो भन्ने प्रश्नचाहिँ रहिरहन्छ । मैले आफ्नो १०० पर्सेन्ट दिँदा पनि फिल्म चलेन भने मैले फेरि किन बनाउने ? कहाँबाट पैसा ल्याएर बनाउने ? म भयंकर पैसावाला मान्छे पनि त होइन । अर्को फिल्म बनाउने त हैसियत पनि हुँदैन ।
दोस्रो कुरा, मैले आफैँ सिनेमा नबनाउने भने पनि अरुकोबाट अफर आउन सक्ला तर म खेल्दिनँ । मैले सिनेमा कसका लागि खेल्ने भन्दा दर्शकका लागि हो । दर्शकले नै नस्वीकारेपछि अब कसका लागि खेल्ने हो ?

दर्शकले फिल्मलाई अस्वीकार गरे तर तपाईंलाई स्वीकार गरे भने..?
त्यो भयो भने त फिल्म चलिहाल्छ नि ! बरु कलाकारका रुपमा मैले ६० प्रतिशतमात्र दिएको होला तर निर्माताका रुपमा १ सय १० प्रतिशत दिएको छुु । कुुनै सम्झौता गरेको छैन । नेपालको बजारभन्दा बढी रिस्क लिएको छु । राजेश(हमाल) दाइलेसम्म ‘तिमीले यत्रो रिस्क किन लेको हो’ भनेर सोध्नुुभयो । मैले जिन्दगीमा कमाकै यस क्षेत्रबाट हो, गए पनि फरक पर्दैन भनेर भनेँ । 

कति लगानी गर्नुभयो ?
लगानी त १ करोड ७५ लाख रुपैयाँ जति पुुग्छ तर यहाँ पैसाको मात्र लगानी छैन् । सबैभन्दा ठूलो लगानी त विश्वासको छ । अनुुभवको लगानी छ,  दर्शकको माया लगायत थुप्रै कुरा दाउमा लगाको छुु । त्यसैले यो फिल्म मेरो जिन्दगीको ठूलो परीक्षा हो । 

तपाईंको कुरा सुन्दा त लाग्यो, यो फिल्म चलेन भने तपाईंको जिन्दगी नै उथलपुथल हुन्छ !
त्योभन्दा पनि मेरो जिन्दगीलाई कहाँ डो¥याउने भन्ने निर्णय अब ‘एश्वर्य’ले गर्छ । फिल्म चलेन भने म रिलिजपछि म कुन कुनामा, कहाँ हुन्छु अहिले भन्न सक्दिनँ । हन्ड्रेड पर्सेन्ट दिँदादिँदै पनि असफल भयो भने मलाई साँच्चै गाह्रो हुन्छ । पहिल्यै असफल भएको भए बरु केही थिएन । अब असफल भइयो भने त विश्वास टुुट्छ । 

फिल्म राम्रो बन्नलाई एक्टरले राम्रो अभिनय गरेर मात्र पुुग्छ र ? पुग्दैन भने किन अभिनय नै छाड्ने ?
होइन, सबैथोक हुनुपर्छ तर मैले त्यो सबैथोकमा मिहिनेत गरेको छु नि त । मैले बुुझेअनुसार सिनेमा भनेको इन्टरटेनिङ हुनुपर्छ, लार्जर देन लाइफ हुनुपर्छ । सिनेमाले मान्छेलाई सोच्ने मौका दिनुपर्छ । कतिपय गाउँमा मात्र कथा हुन्छ भन्ने पनि ठान्छन् तर त्यसो होइन । नेपाली कथा सहरमा पनि हुन्छन् । सधैँ गाउँमा गएर दुःख पाको फिल्म मात्र किन बनाउने ? खासमा नेपाली जनता जति धनी यो दुनियाँमा बहुत कम छन् । विदेशीभन्दा नेपालीको लाइफ स्टाइल राम्रो छ । म थुप्रै देश घुमेको छुु त्यहाँको रहनसहन देखेको छु । नेपाली जनताको लाइफ स्टाइल एकदमै स्तरीय भइसक्यो । मैले बनाएको फिल्मको कथा पनि नेपाली हो, अर्गानिक हो । काठमाडौंको कथा हो । अघि नै भनिसकेँ, मेकर्सका हिसाबले मैले १ सय १० प्रतिशत दिएको छु । 

‘ऐश्वर्य’ तपाईंको ड्रिम प्रोजेक्ट भन्नुुभयो । यो नै किन तपाईंको ड्रिम भयो ?
मान्छेले आफ्नो जीवनको महŒवपूर्ण समय ऐश्वर्यकै पछि दौडिरहेको हुन्छ । यो फिल्मको कथा पनि यस्तै छ । खासमा भन्नुपर्दा एउटा स्तरीय फिल्म बनाउने मेरो ड्रिम थियो । त्यही ड्रिमलाई साकार बनाउने क्रममा यो फिल्म बनेको हो । 

हिरोइन पनि नयाँ राख्नुुभएछ ?
हाम्रो इन्डस्ट्रीलाई चाहिएको पनि छ नि, होइन र ?

यो फिल्मको कथा तपाईंको आफ्नै जिन्दगीसँग कति नजिक छ ?
फिल्मको फस्ट हाफभन्दा पनि सेकेन्ड हाफ मेरो जिन्दगीसँग नजिक छ । फस्ट हाफ अरुसँग नजिक छ । यो फिल्म लेख्नु, बनाउनुमा मुख्यतः निर्देशक दिवाकर भट्टराईकै हात छ । कथाचाहिँ मेरो हो ।

एकपल्ट हिट भइसकेको मान्छे फेरि करिअरलाई सुरु गर्नु पर्दा कत्ति सहज हुँदोरहेछ ?
म सकारात्मक सोच्ने मान्छे सायद अरु त टुटिसक्थेँ होला । एकचोटी आफूलाई प्रमाणित गरिसकेको मान्छे फेरि सुरुबाट संघर्ष गर्नुपर्दा गाह्रो त भइहाल्छ नि ! सम्झिएँ भने त गाह्रो हुन्छ । आफूलाई कत्ति चोटी प्रुुभ गर्ने भन्ने महसुस हुन्छ तर मलाई नचिन्ने नयाँ पुस्ता त छन् नि ! उनीहरुलाई प्रमाणित गर्नु छ भनेर मन बुुझाउछुु । 

सात वर्षपछि फर्किएको रमेश अब पुरानै हो कि नयाँ ?
एकदमै परिमार्जित हो । दर्शकले मन पराएकै रमेश हो तर आफूलाई अपग्रेड गरेको । समयअनुसार परिवर्तन हुन तयार रमेश उप्रेती हो । 

तपाईंले अमेरिकाबाट फर्किएपछि पहिलोपल्ट क्यामेरा फेस गर्दा कस्तो महसुस भएको थियो ?
एकदमै नर्भस थिएँ । फस्ट टाइम क्यामेरा फेस गर्दाको भन्दा बढी नर्भस थिएँ । ब्रासलेटको सुुटिङ थियो पोखरामा । मन्दिरको सिन थियो । सामान्य डायलग बोल्नुपर्ने थियो । त्यही पनि गाह्रो भयो । पुरानो कलाकार, त्यसमाथि साथी नै निर्देशक भएकाले धेरै टेक लिनुु भएन । खतरनाक निर्देशक भएको भए गाह्रो पार्थे होला । 

जिन्दगीको कुन दिन तपाईं फेरि जिउन चाहनुहुन्छ ?
दर्शकको माया पाएर जिएको दिन । स्टार बनेर जिइसकेको दिन जुन म फेरि जिउन चाहन्छु र आज त्यसकै लागि फेरि संघर्ष गरिरहेको छु । 

मान्छेहरु अमेरिका जान आज पनि तछाडमछाड गर्छन् तर तपाईं गएर पनि फर्किनुभयो । अमेरिकाको सपना देख्नेहरुलाई केही सुझाव दिनुहुन्छ कि ?
अमेरिका जान चाहनेहरुलाई नगएर पनि सुख छैन, गएर पनि सुुख छैन । यत्ति भन्छु, पैसा खर्च गरेर अमेरिका नजानुस् । तपाईंले यहाँबाट कल्पना गरेको अमेरिका र मैले भोगेको अमेरिका फरक छ । त्यसैले कसैको प्रलोभनमा परेर पैसा खर्च गरेर नजानुुस् । नेपालमै स्वर्ग छ । बरु सक्नुहुन्छ भने नेपालमै केही गर्नुस् । 

तपाईंले अहिलेसम्म थुप्रै फिल्ममा खेल्नुभयो । कति फिल्म पैसाका लागि कति कलाका लागि गरियो होला ?
मैले धेरैजसो फिल्म पैसाकै लागि गरँे । कमै मात्र कलाका लागि गरेँ । मलाई धेरैले आजसम्म पनि ‘रमेश उप्रेतीले फिल्म छान्न जान्दैन’ भन्छन् । मैले त्यतिबेला राम्रो राम्रो फिल्म छाडेको भएर हो तर त्यसरी कमेन्ट गर्नेहरुलाई मेरो बाध्यता के थाहा ? टिक्नका लागि पैसा त चाहियो नि, होइन र ? हो, त्यही पैसाका लागि जस्तो पनि फिल्म खेलियो । मैले जीवनमा धेरै दुःख भोगेको छु । त्यसैले मेरो निष्कर्ष छ, जीवन भोग्न पैसा चाहिन्छ । पैसा बिना जीवन बाँच्नै गाह्रो हुन्छ । पहिला त मेरो घरमा नै चुल्हो बल्नुप¥यो । म रोएर त अरुलाई हँसाउन सक्दिन नि ! 

तपाईंका जीवनका तीन घुम्तीहरु क्रमशैसँग भन्नुपर्दा...?
सिनेमा क्षेत्रमा छिर्नु । त्यसपछि अमेरिकामा गुमनाम जिन्दगी बताउनु । अनि अहिले फेरि सिनेमा क्षेत्रमै आएर संघर्ष गर्नु । 

यहाँ नाम कमाइरहेको मान्छेलाई त्यहाँ गुमनाम जिन्दगी बिताउन निकै गाह्रो भयो होला ?
मैले जब नेपालको एयरपोर्ट छाडेँ, त्यतिबेलै म कलाकार भन्ने बिर्सिसकेको थिएँ । अमेरिका छिरेपछि साधारण मान्छे भइसकेको थिएँ । तर जब नेपाली समुदायभित्र पुुग्थेँ, एकदमै गाह्रो बनाइदिनु हुन्थ्यो । तपाईं त सेलिब्रिटी हो भनेर भन्नु हुन्थ्यो । 
धेरैले मलाई पलायन भयो भनेर भने । म त भन्छु यदि साँच्चै तपाईंहरुलाई कलाकारको माया छ भने नेपालमै रहने वातावरण बनाइदिउँ न । नेपाली कलाकारलाई घर, गाडी किस्ताबन्दीमा दिउँ न । आदर्शको कुरा मात्र गरेर भएन नि ? नेताहरु भ्रष्टाचार गर्नु हुन्छ भने कलाकारलाई बिना ब्याज पैसा त दिन सकिन्छ नि ? कलाकारलाई राष्ट्रको गहना भनेको छ । गहनालाई लाउने ठाउँ पनि दिनुप¥यो नि ! खाली पेटमा आदर्शको कुरा अलि पच्दैन । कोही पनि रहरले आफ्नो रुचिको जिन्दगी छोडेर विदेश जाँदैन । म रहरले पलायन हुन गा’को हो र? त्यो पनि गुमनाम जिन्दगी बिताउन ?
यहाँमान्छे नेता बन्नासाथ एक वर्षमा घरगाडी जोड्छ । कलाकारले २० वर्षदेखि काम गर्दा पनि केही हुँदैन । 

अब फिल्मकै कुरा गरौं, तपाईंकी फिल्मकी अभिनेत्री केकी अधिकारी फिल्मको पब्लिसिटीमा कहीँकतैँ देखिनुहुन्न । ट्रेलर लन्चमा पनि देखिनु भएन । उहाँलाई फिल्म युनिटले नै इग्नोर गरेको कि उहाँले सहयोग नगरेको ?
केकीजी फिल्मको मुख्य कलाकार नै हो । मेरो निकै प्यारो बहिनी हो । हामीले सुरुमा उहाँलाई नल्याउनु हाम्रो मार्केटिङ स्ट्राटेजी नै हो । प्रोमोबाट उहाँलाई एक्सपोज गर्न चाहेका हौँ । तर उहाँ बिरामी भएर प्रोमो रिलिजका बेला आउन सक्नुभएन । 

उहाँ फिल्म युनिटसँग असन्तुष्ट हुनुहुन्छ भन्ने हल्ला छ नि ?
असन्तुुष्ट हुने कारण नै छैन । 

त्यसो भए प्रमोशनमा अरु कलाकार हिँडिरहेका छन्, उहाँ देखिनु भएन नि ?
त्यो त थाहा भएन । मैले अस्ति निर्माताभन्दा पनि कलाकारका हिसाबले उहाँलाई बोलाको हो । हामी करोडौँ लगानी गरेर फिल्म बनाउँछौँ । उहाँले सपोर्ट गर्नुुभएन भने उहाँलाई नै गाह्रो होला । उहाँले त्यो कुरा पक्कै बुुझ्नुुभएको छ । उहाँले मसँग अहिलेसम्म केही गुनासो गर्नुभएको छैन । बद्रि अधिकारीको छोरी भएकाले म उहाँलाई हिरोइनभन्दा पनि बढी बहिनीका रुपमा लिन्छु । मैले एकपल्ट कल गरेँ, उहाँ आउनु भएन । अब मैले फेरि किन गर्ने ? अब उहाँले मलाई गर्ने हो नि ! म त सिनियर पनि हुँ उहाँभन्दा । कलाकार पनि हुँ । मैले निर्माताका हिसाबले मैले बोल्नु प¥यो भने उहाँलाई समस्या हुन्छ र म त्यो चाहन्न । अहिले हाम्रो फिल्म क्षेत्रमा निर्माताको पैसा हावामा गइरहेको छ । फिल्म बनाउनु एकदमै रिस्क छ । यस्तो अवस्थामा अझै पनि कलाकारले घमण्ड गरेर निर्मातालाई असहयोग गर्नुहुन्छ भने त त्यसले फाइदा पु¥याउला र ?
 

Leave A Comment