दुखियाका पक्षमा लेख्न सकूँ

आइतबार, १२ कार्तिक २०७४, १२ : ४१ शुक्रवार
दुखियाका पक्षमा लेख्न सकूँ

जर्ज साउन्डर्स
(जर्ज साउन्डर्सले सन् २०१७ को म्यान बुकर पुरस्कार हात पारेका छन् । उनले ‘लिंकन इन द बार्डो’ नामक पुस्तकका लागि गत साता पुरस्कार जितेका हुन् । पुरस्कार हात पारेपछि उनले व्यक्त गरेका भावनाको अनौपचारिक तथा भावानुवाद ।)
म्यान बुकर पुरस्कारका अध्यक्ष तथा पुरस्कारका निर्णायक अनि आलोचक र समीक्षक सबैलाई म धन्यवाद दिन्छु । म पुस्तक विक्रेतालाई पनि धन्यवाद दिन्छु, जसले मज्जैले मेरो पुस्तक बेचे । मलाई अचम्मै गरी उदेक किन लाग्थ्यो भने मैले लेखेका अन्य तीन पुस्तकमध्ये अधिकांश पुस्तक किनेर मैलेजस्तै बुझ्ने गरी पढ्नेहरु पनि रहेछन् !
मलाई प्रशंसक मन पर्छन् किनभने तिनले लेखकको आत्मविश्वास बढाउँछन् । मलाई जब जब लेखनीमा असन्तुष्टि बढ्छ, जब जब मलाई आफ्नो लेखनीप्रति विश्वास लाग्न छाड्छ, म मेरी पत्नीलाई पढ्न दिन्छु । जब उनले राम्रो छ भनी प्रतिक्रिया दिन्छिन्, मलाई आफैँप्रति ह्वात्तै विश्वास बढेर आउँछ । मेरी पत्नीले पनि यो उपन्यास पढिसकेपछि त्यस्तै कृपापूर्ण टिप्पणी लेखेकी थिइन् ।
यो मात्र किन, मेरा हरेक उपन्यास पढेर उनलाई मलाई यति हौस्याउँथिन् कि मेरो लेखनीको निरन्तरताको गुह्य रहस्य नै पत्नीको प्रशंसापूर्ण प्रतिक्रिया हो भनेर मैले यहाँ किन नखुलाउने ? पाउला, तिमीलाई धेरैधेरै धन्यवाद । तिमी मेरालागि मूल्यवान साथी मात्र होइनौ, मेरो आर्टिस्टिक हिरोसमेत हौ, जसले मलाई मेरो आधारभूमिभन्दा माथि उठाउन सधैँ प्रयास गरिरह्यौ ।
म त मेरा छोरी क्याटलिन र एलिना पनि धन्यवाद दिन्छु जसले मलाई उनीहरुको दयालुपन र आत्मसम्मानमार्फत् मलाई धेरै कुरा सिकाएका छन् । यस किसिमको गहिरो आत्मिक पुरस्कार मैले त्यसै पाएको होइन, यसमा कहीँ न कतै म र पाउलाको उचित अभिभावकत्व र लालनपालन जिम्मेवार होला भन्ने अपेक्षा गर्छु । हामी यस्तो अनौठो समयको साक्षी हौँ, जहाँ हामीमा परित्यक्त र नकारात्मकताको भाव बढी प्रष्फुटित र उद्भाषित हुने गरेको छ । यस्तो अवस्थामा मानिसले तत्काल प्रतिक्रिया दिनु र हिंसामार्फत् आफ्ना असुरक्षाका भावलाई प्रकट गर्नु स्वाभाविक बन्न जान्छ । यस्तो अवस्थामा आफूभन्दा अलग विचारयुक्त व्यक्ति वा विचार स्वयंलाई के हामीले प्राचीन गुण मानिएका विश्वास र प्रेमपूर्ण व्यवहार गर्न सक्छौँ ? प्रेमपूर्ण व्यवहार र विश्वासको वातावरण निर्माण गर्ने जिम्मेवारी कसको ? हाम्रै होइन र ?
अमेरिकामा हिजोआज संस्कृति जोगाउनुपर्छ भन्नेबारे धेरै कुरा सुनिरहेका छौँ । आखिर संस्कृति भनेको के हो ? आज हामी यस रातमा जहाँ उभिएर जेका लागि काम गरिरहेका छौँ, त्यो संस्कृति होइन र ? यो अन्तर्राष्ट्रिय संस्कृति हो, यो दयालुपन हो । यो अभियानकर्मी संस्कृति हो । हामी शब्दमा विश्वास गर्नेहरु शाब्दिक अस्पष्टता र सौन्दर्यमाथि खेल्ने संस्कृतिकर्मी हौँ । यस कोठामा भरिएकाहरु शब्द र यसका अर्थमा विश्वास गर्ने व्यक्ति हौँ । यसको सौन्दर्यमाथि विश्वास गर्नेहरु हौँ । अरुका भनाइ, सोच र कोणहरुलाई सुन्न चाहने व्यक्ति हौँ । हामी घृणा र निकृष्टता घटाउने व्यक्ति हौँ ।
मलाई यतिबेला अमेरिकी लेखक टिल्ली ओल्सनको एउटा चरित्र याद आइरहेको छ, जसमा एउटी दुखिया छोरीका लागि बाउले प्रार्थना गर्न लागिरहेको छ । बाउलाई लाग्छ, उसको प्रार्थनाले उसले पाएका दुःख र जेलनेलको हत्कडीले दिएको पीडामा केही भए पनि मल्हम लगाउने छ, सहन सक्ने शक्ति दिनेछ । जुन कुरा छोरीले भन्छे, त्यसले साहित्यको उच्चतम आकांक्षा देखाउँछ । जवाफमा दुखिया छोरी भन्छे– ‘म यस नेलमा बाँधिएकीलाई मात्र प्रार्थना नगर्नुस्, मजस्तै संसारभरिका मानिसहरु विविध किसिमका नेलमा बाँधिएका छन्, तिनलाई पनि सम्झनुस् । ती असहायलाई यसरी सम्झँदा नै मलाई खुसी लाग्नेछ । मेरो नेलको पीडा कम हुन्छ । तर मेरा लागि मात्र गरिने प्रार्थनाले मलाई प्रभाव तुल्याउने छैन ।’
ठीक यसै गरी हामीले शब्दमार्फत् पस्कने प्रार्थना, व्यक्त गरिने भावनाले पनि संसारभरिका दुखियाहरुका लागि ठूलो सेवा गर्नेछ । मैले गर्ने हरेक कार्य, हामी शब्दकर्मीले लेख्ने हरेक शब्दले ती युवतीले भनेजस्तै संसारभरिका दुखिया, पीडितहरुका पक्षमा केही गर्न सकौँ । हाम्रा कर्म र हाम्रा उत्पादनले संसारभरिका दुखियालाई कल्पनाशीलताको प्वाँख दिन सकोस् । यसो गर्न सक्दा उनीहरु प्रत्येक जो विविध किसिमका जेलनेलमा छन्, तिनीहरुले बुझ्न सकून्, संसारमा मेरालागि बोलिदिने, लेखिदिने मानिसहरु रहेछन्, हामीलाई सम्झनेहरु पनि रहेछन् भन्ने सन्देश पुग्न सकोस् ।
अन्त्यमा यस महान् सम्मानका लागि सबैलाई धन्यवाद र मेरा सिर्जनाले सोही किसिमको भावनालाई प्रतिनिधित्व गर्न सकोस् भन्ने कामना गर्छु ।

Leave A Comment