स्टन्टवुमनको कथा

मङ्गलबार, २८ असार २०७३, १२ : ५३ शुक्रवार , Kathmandu
स्टन्टवुमनको कथा

बलिउडमा स्टन्टम्यानबारे धेरै सुनिन्छ । तर, बलिउडमा स्टन्टम्यान मात्रै छैनन्, स्टन्टवुमन पनि छन् । तीमध्ये एक हुन् गीता टन्डन । जसले दीपिका पादुकोण, प्रियंका चोपडा, करिना कपुर, आलिया भट्टलगायत अभिनेत्रीका लागि स्टन्ट गरेकी छिन् । गीताको बिहे १५ वर्षको उमेरमा भएको थियो । उनी बलात्कारपीडित पनि हुन् । हालै उनीबारे बनेको सर्ट फिल्म रिलिज भयो । त्यसमा उनले आफ्नो संघर्षको कथा भनेकी छिन्ः  

म १० वर्षकी हुँदा आमा बितिन् । १५ वर्षमा बुबाले हेर्दा राम्रो देखिने केटासँग मेरो बिहे गरिदिए । तर, बिहेपछि घरमा मलाई गलत व्यवहार गर्न थालियो । दुःख दिन थाले । श्रीमान्ले मलाई पिट्थ्यो । लुगा च्यातिदिन्थ्यो र बलात्कार गथ्र्यो । सासुले ग्यासको पाइप निकालेर खुला छोडिदिन्थिन् । म मरुँ भन्ने चाहना थियो उनीहरूको । तैपनि, एक दिन त उनीहरूको व्यवहार सामान्य होला भन्ने आशमा बाँचिरहेकी थिएँ । दुइटा बच्चा भइसकेपछि पनि उनीहरूको व्यवहारमा कुनै परिवर्तन आएन । जस्तो भए नि मेरो घर यही हो भनेर बसेँ ।
तर, एक दिन त अति नै भयो । श्रीमान्ले मलाई खूब पिट्यो र मेरो हत्या गर्ने नियतले तरबार लिएर लखेट्न थाल्यो । म दुइटा बच्चा लिएर त्यहाँबाट भागेँ । जसोतसो गरी म आफ्नो बहिनीको घर पुगेँ । केही दिन त्यहाँ बसेपछि मैले गुरुद्वारामा शरण लिएँ । त्यहाँ बस्ने ठाउँसँगै बच्चाहरू र मेरा लागि खाने व्यवस्था पनि भयो ।
पछि मैले आफैँ कमाउने निधो गरेँ । हिँड्दाहिँड्दै एउटा घरमा काम गर्ने मान्छेको आवश्यकताको बोर्ड देखेँ । त्यहाँ मैले रोटी पकाउने काम पाएँ । बिहान र बेलुका गरी पाँच सय रोटी पकाउनुपथ्र्यो । त्यसबापत मैले १२ सय रुपैयाँ पाउँथे । रोटी पकाउँदापकाउँदा हैरान भएर मैले अर्को कामको खोजी गर्न थालेँ । मसाज पार्लरमा काम गर्ने एउटी केटी भेटाएँ । उनीसँगै कामको खोजी गर्दै म पनि मसाज पार्लर पुगेँ । तर, त्यो त नामको मात्रै मसाज पार्लर रहेछ । त्यहाँ काम अर्कै हुने रहेछ । त्यसैले म त्यहाँबाट चुपचाप बाहिरिएँ ।
पछि बुबासँग कामका लागि कुरा गरेँ । उनले आफ्ना एकजना साथीको फोन नम्बर दिए । ती अंकललाई भेट्दा उनले सुटिङका लागि काममा राखे । पहिलो दिन चार सय रुपैयाँ दिए । यसरी मैले भांगडा गु्रपमा काम पाएँ । त्यही काम गर्दा एक दिन मेरो भेट एउटी केटीसँग भयो, जसले मलाई स्टन्टवुमनबारे बताइन् । मैले त्यतिखेर नै स्टन्टवुमन बन्ने निर्णय गरेँ । त्यही केटीको सहयोगले मैले एउटा फिल्ममा काम पाएँ, जसमा आगोको स्टन्ट थियो । त्यो मैले गरेँ र पहिलो पटक भएकाले आगोमा पोलिएँ पनि । धेरैले मलाई यो काम नगर्ने सल्लाह पनि दिए । तर, मैले छोडिनँ । आफ्नो कामलाई निरन्तरता दिइरहेँ ।

 

Leave A Comment