दलहरुको मन्थन,जय गठबन्धन!

मङ्गलबार, २१ कार्तिक २०७४, १२ : १९ बद्रीप्रसाद दाहाल
दलहरुको मन्थन,जय गठबन्धन!

यतिखेर नेपालको चुनावी राजनीतिको एकमात्र सङ्ग्रामी सूत्र ‘गठबन्धन’ बन्न पुगेको छ । दलहरुका वाद, सिद्धान्त, दर्शन, मूल्य—मान्यता र कालीक मुद्दा मात्र सालिक बनेपछि ‘एनिहाउ जसरी पनि सत्तामा जाऊ’ भन्ने पिसापी तापमा यो मौसमी चिन्तनले खुट्टो घुमाएर पुठ्ठो नचाएको हो । हालको गठजोड कुनै नयाँ एजेन्डाको अठोट नभएर सत्ताको कोट लगाउन भोट बटुल्ने नौटङ्की होड हो भन्दा गठजोडवादीलाई चोट पुगे पनि भुत्रैसित !

शब्दमा  वामपन्थको सिउर ढल्काएका तर व्यवहारमा छेपारा र चमेरा समेतलाई  अलजिल्ल पार्ने क्षमता भएका नेपालका ठूला भन्ने दलका महापात्रहरुले (सत्तासीन र सत्ताविहीन) एक्कासि जब गठबन्धनको सुनामी ल्याए अनि लोकतन्त्रवादको जामा पहिरिएका मारुनीहरुले पनि भएभरका ऊग्र दक्षिणपन्थी, दक्षिणपन्थी र परेमा वामपन्थीको खोल ओढेर भद्रगोलमा पुगेका अलजिल्लरामसमेत थुपारेर जम्भो गठबन्धनलाई ‘जय शम्भो’ भन्न पुगेका छन् । जसको सशक्त उदाहरण गोर्खा, सिन्धुपालचोक लगायतका चुनावी मैदान हुन् । क्रमभङ्ग र छलाङ मार्न बुता राख्ने खप्पिस खेलाडी र झर्रा उखानमा बखान गर्न सिपालु मौसमी राष्ट्रवादका महाखेलाडी मिलेर नाङ्ले पसल थाप्ने कथित वामपन्थीदेखि दामपन्थी, हामपन्थी, खामपन्थी र बेकामपन्थी सबैलाई ‘¥याडिकल मोर्चामा’ कुर्चा खुवाउँदै एउटै खोरमा हुल्ने फरमान जारी गरेपछि पर्यवेक्षकहरु श्वान — मर्जारको अप्राकृतिक मित्रतामा विचित्रता भेट्टाएको प्रतिक्रिया पोखिरहेका छन् ।

मूलतः दुई ध्रुवमा विभाजित नेपालका दलदलमा फसेका दलहरु ककसको बुई चढेर वा सुई लिएर यो नयाँ गठबन्धनको धुरीमा मुरीमुरी बनेका हुन्, त्यो त केही समयपछि देखिँदै जाला । चुनाव नै नयाँ संविधान कार्यान्वयनको एकमात्र अचूक सूत्र हो भन्ने मान्यता भएको यो पिसापको तातोले भोलिको राजनीतिक दिशा र दशालाई   सातोलिएर कुन हबिगतमा पुग्छ ठेगान छैन । ‘लोकतन्त्र भनेको आचार र व्यवहार हो ’ भन्ने सार्वभौम गुरुवाणीलाई ठट्टामा  गट्टा खेलेर परिवर्तनको जनचाहना रनभुल्ल पार्ने कसरत हुनु पक्कै सुखद पक्ष होइन । मुखमा जनवाद , लोकतन्त्र र बहुदलीय जनवादको बाजा बजाए पनि काममा भनौँ वा सारमा सधैँ हैकमवाद , अधिनायकीपन र जर्जर सामन्त चिन्तनले मौलो गाडेको गाड्यै छ शीर्षस्थका टाउका । आफ्नै दलका आफ्नै लहरमा बसेका नेता, दोस्रो दर्जाका बहर नेता र तेस्रो तहका बाच्छा नेता सबैलाई अनुचर बनाएर सुप्रिमोहरु जङ्गबहादुर बन्ने स्वच्छन्दताले त महेन्द्रपथ उछिन्ला कि भन्ने शङ्का जाग्न थाल्यो ।
च्याउसरी उम्रेका नाम मात्रका दलहरु थ्रेसहोल्डले कोल्ड बनाउने भो भनेर चेत् बाबा काशी हुँदै बासी ठूला दलका प्रतिपुच्छर बनेर हातमा टिकट लिनमै मख्ख छन् । हो ठूला दलका दूरगामी योजना, नीति र व्यवहारबाट प्रभावित हुँदै साना दल त्यसमा समाहित हुने कुरालाई बिप्ल्याँटो यात्रा भन्न त मिल्दैन । तर फगत् उनै पुराना अनि नयाँको नाममा धनवादी, डनवादी तथा नातावादीमा दलको टिकट थमाएर मतदातालाई ‘खाए खा नखाए घिच्’— को एम्बुस गठबन्धनहरुले थाप्नु महापाप र सतीको श्राप त हैन ? भन्ने आवाज पनि घनीभूत भएर मडारिएका छन् । मूल्य, मान्यता, विचार र आदर्शलाई निरीह बनाएर थोत्रिएका, धोद्रिएका र कोत्रिएका कयौँ कुपात्रलाई गठबन्धनका हर्ताकर्ताले टिकटको टेन्डर पारिदिए भनेर अलाप—विलापका आलाप यत्रतत्र चल्नु अपशकुनको सङ्केत हैन र ? गठबन्धन जबसम्म जनताको मुटुको स्पन्दन हुन सक्दैन तबसम्म यसको औचित्य कामयाबी हुन्छ भन्नु चौधौँ शताब्दीतिरको महापश्चगामी यात्रातिर फर्कनु हो । कट्टर धर्म सापेक्षतावादीदेखि उग्र धर्म निरपेक्षवादीसम्म, राजालाई विष्णु औतार मान्नेदेखि राजा र राजसंस्थालाई सिस्नु तथा काँडा नै सम्झने बीचको गठजोडले चुनावपछि जनतालाई कस्तो ओत देला ? उता लम्पसारवाद र प्रभु कृपामा आश्रित हुन पुगेको, मुखले नयाँ मुद्दा स्थापित गरेको गर्व गर्ने तागत र गोरुगाडाबाट अमेरिका यात्रा सम्भव नदेख्ने अर्को शक्तिबीचको गठजोडे भक्ति कति दिन चल्ला ? केही समयअघि जसलाई महाभारतको शिखण्डी भनी खहरे क्रान्तिकारीले आरोप लगाए । आज त्यही तागतलाई वामपन्थीको नेतृत्वको लगाम थमाइएको विद्रूप रुप हेर्दा केटाकेटीको गुलेली खेलजस्तै देखिन्छ । ‘क्षणे रुष्टः क्षणे तुष्टः, रुष्टः तुष्टः क्षणे क्षणे’ भनेझैँ एकै छिनमा खुसी हुने एकै छिनमा रिसाउने क्रमभङ्गवादका नाइकेको आइते हुने अहम्मा कथम् हानि भयो भने तत्कालै हान्ने गोरु बनेर हुक्काँ र फ्वाँफ्वाँ गर्न थाल्ने हुन् बेठेगान छ । यो बालुवा पेल्न उखान शिरोमणिले किन जाँगर उठाए रहस्यकै विषय छ, गाँठे !

उता पुराना राजा नयाँ बन्न माइतीघरमा एक झुण्डलाई मैन बत्ती बाल्न लगाएर राजकीय सान पुनर्ताजगी गर्न गठबन्धनको अर्को नाट्यमञ्चन गरिरहेको दृश्य यतिखेर आँखामा ठुङ मार्न पनि आइरहेको छ । यसरी हेर्दा नेपालका राजनी—तिक शक्तिगृहहरुको सत्तामा पुग्ने राजनीतिको रणनीति वा संग्रामनीति ‘जय—गठबन्धन’ भन्नमै अभ्यस्त छ ।

यतिखेरको गठबन्धनको समग्र हर्कत कसरी सत्तामा स्थापित भएर पाँच वर्षसम्म आफ्नो अधिनायकत्वमा देश लुटेर शेष बनाउने त भन्ने नै प्रतियोगिता जस्तो लाग्छ विगतका क्रियाकलापलाई हेर्दा । गठबन्धनवाद भागवण्डावादकै सहोदर भाइ हो । जे जस्तो भए पनि यतिखेर तप्कातप्का खप्का खाएर गठबन्धनवाद जिन्दावाद भन्नै पर्ने विवशता र विडम्वनाले आक्रान्त छ । चुरो नभेट्टाउने प्याज जस्तो, गुदी नभएको ओखर र फगत् उडन्ते जोकर जस्तो खोक्रो, छोक्रो, बोक्रो र भुसको धोक्रोसमान ‘गठबन्धनवाद’ जिन्दावाद भन्नै पर्ने बाध्यता सबैलाई छ । मुटुमा गाँठो पारेर विश्वासमा हारेर पनि ‘जय गठबन्धन, नेपाली राजनीतिको कालीक चिन्तन’ भन्नै परेको छ । ‘जय गठबन्धन’ ! नेपाली राजनीतिको बेकामे गन्थन हैन है नयाँ मन्थन हो, तीस वर्षे अनुभवको नवीनतम प्रयोग । सदाबहार सत्तासीन बनिरहन बाउन्न थप्पड र त्रिपन्न घुस्सा खाएकाहरुको सम्यक् योग हो ।

 

Leave A Comment