दुई कविता

शनिबार, २५ कार्तिक २०७४, ०२ : १५ शुक्रवार
दुई कविता

राजेन्द्र पराजुली

महिला हितमा जारी कविता

एक हुल अधिकारविहीन महिलाहरुले
पुरुषसत्ता र सरकारविरुद्ध नाराजुलुस गरे
बालुवाटार,
संसद्भवन,
महिला मन्त्रालय घेरे,
राष्ट्रपति कार्यालय पुगे,
विज्ञप्ति निकाले,
चक्काजाम गरे,
थाल र नाङ्लो ठटाए,
सरकारलाई दुत्कारे ।

आन्दोलनकारी तिनै महिलामध्ये
केही सांसद् भए, मन्त्री भए
सभामुख भए, दलका सचेतक भए
महिला हकहितका योजना बनाए
सबै क्षेत्रमा कम्तीमा एकतिहाइ
महिला प्रतिनिधित्वको कानुन तयार पारे
संविधान महिलामैत्री बनाए
केही महिला खुसीले उफ्रिए,
देशविदेश सयर गरे,
पाँचतारे होटेलमा डिनर गरे,
छड्के तिलहरी लगाए,
नौगेडी र मङ्गलशूत्र गलामा भिरे,
श्रीमान्को लामो आयुको कामनामा
तिजको व्रत बसे ।

केही महिला सडकमै बाँकी रहे
तिनले फेरि जुलुस निकाले
बालुवाटार,
संसद्भवन,
महिला मन्त्रालय घेरे,
राष्ट्रपति कार्यालय पुगे,
विज्ञप्ति निकाले,
चक्काजाम गरे,
थाल र नाङ्लो ठटाए,
सरकारलाई दुत्कारे ।

 
मलाई राम्रो लाग्दैन

म एक पुरुष
मलाई राम्रो लाग्दैन–
तिमीले अर्को पुरुषसँग बोलेको
पारदर्शी लुगा र शृङ्गार गरेको
राष्ट्रपति भएको
वा प्रधानन्यायाधीश, प्रधानमन्त्री
अथवा सभामुख भएको
मलाई पटक्कै राम्रो लाग्दैन
तिमी अग्लो कुर्सीमा बसेको...!!!

मेरो अभिमान जुर्मुराउन थाल्छ
जब देख्छु म
तिमीले राम्रो कविता लेखेको
मीठो स्वरमा गीत गाएको
ख्याति कमाएको
वा पुरुषहरुले तिमीलाई
बधाई र
शुभकामना दिएको...!!!
म एक पुरुष
मलाई राम्रो लाग्दैन

म भन्दा तिमी अघि हिँडेको
मेरो आरक्षणमा नबसेको
वा मैले जे भने नि सुटुक्क नमानेको
अथवा, मलाई नटेरेको
बढ्ता जान्ने–सुन्ने बनेको
मलाई बिलकुलै राम्रो लाग्दैन
पोथी बासेको...!!!
म एक पुरुष
मलाई राम्रो लाग्दैन

मेरो कन्पारो तात्छ
जब सुन्छु म
तिमीले महिला मुक्तिको कुरा गरेको
समान अधिकारको बहस छेडेको
घरदैलो नाघेर उड्न खोजेको
वा पुरुषहरुको नाम लिएको
अथवा तिनको अनुहारमा हेर्दै हिँडेको...!!!

मेरो पुरुषत्वमा प्रश्न उठ्न थाल्छ
जब बुझ्छु म
तिमीले आधा आकाश ओगटेको
देशको संविधान तिम्रो पक्षमा बनेको
मलाई मेरो सत्ता
डगमगाएको महसुस हुन्छ...!!!

म एक पुरुष
मलाई राम्रो लाग्दैन
पुरुषसँगै बसेर
तिमीले यसरी कविता सुनेको...!!!

 

Leave A Comment