राजनीतिमा कलाकार : पार्टीका ‘गहना’ मात्रै?

आइतबार, २६ कार्तिक २०७४, ११ : ३४ अनिल यादव , Kathmandu
राजनीतिमा कलाकार : पार्टीका ‘गहना’ मात्रै?

जब–जब चुनाव आउँछ, कलाकारले टिकट पाउने हल्ला बजारमा खुब चल्छ तर पाउने भने अर्कै हुन्छ । यसपाला पनि ‘देशका गहना’ मानिने कलाकारले टिकट पाउने हल्ला हल्लामै सीमित रह्यो । राजनीतिक दलहरुले कलाकारलाई किन पार्टीका ‘गहना’मै सीमित राखिरहेका छन् ? आखिर किन कलाकारलाई राष्ट्रका गहना भनेर फुस्ल्याउँदै लोप्पा खुवाइरहेका छन् ? अनिल यादवले तयार पारेको सामग्री ।

हल्लामा सीमित उम्मेदवारी

नेपाली फिल्म जगतमा ‘सदाबहार अभिनेता’का रुपमा परिचित भुवन केसी दोस्रो संविधान सभाको चुनावमा ‘नेता’बन्न जोडतोडले लागे । उनलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावमा उठाउने आशा पनि देखायो । टिकट पाउने आशामा उनी पनि रातदिन खटे । ‘जता संगठन कमजोर छ, त्यतैबाट भए पनि उठ्छु,’ भुवनले पार्टीसँग अनुनय पनि गरे तर पछि उनी उठ्ने हल्ला हल्लामै सीमित भयो । त्यस क्षेत्रबाट एमाले नेता विदुर मैनालीलाई उठाइयो र केसीको नाम समानुपातिक सभासदको सूचीमा समावेश गरियो तर समानुपातिकमा पनि उनी पर्न सकेनन् ।

एकताका अभिनेत्री रेखा थापाले एमाओवादीको सिंहदरबार घेराउ कार्यक्रममा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग कम्मर मर्काएको घटनाले खुब चर्चा पायो । त्यस घटनापछि रेखा पनि प्रचण्डसँग निकै निकट भइन् । भुवन एमालेबाट उठ्ने चर्चा चलिरहँदा उनले एमाओवादीका तर्फबाट पर्सा–१ मा टिकट पाएको हल्ला खुब चल्यो तर मतदाता नामावलीमा नाम लेखाउन भुलेको भन्दै चुनावमा उठिनन् । राप्रपा हुँदै हाल राप्रपा प्रजातान्त्रिकमा आबद्ध रहेकी अभिनेत्री थापाले यसपालि पनि कलाकारका तर्फबाट चुनावमा उठ्ने आशा आशामै सीमित रह्यो ।

अघिल्लो वर्ष रेडियो नेपालको जागिर छाडेर कमल थापा अध्यक्ष रहेको राप्रपा प्रवेश गरेकी लोकप्रिय गायिका कोमल वली राप्रपा टुक्रिएपछि हालसालै तामझामका साथ एमाले प्रवेश गरिन् । उनलाई एमाले अध्यक्ष केपी ओली लगायत वरिष्ठ नेताले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट दिने आश्वासन दिए । त्यसपछि मख्ख पर्दै पार्टी प्रवेश गरेकी उनलाई एमालेले अन्तिम समयमा जिल्ल पार्दै हिराचन्द्र केसीलाई उम्मेदवार बनायो । लगत्तै आफ्नो आत्मसम्मानमा चोट पुगेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी भए पनि दर्ता गराइन् तर जित्ने सम्भावना नदेखेपछि फिर्ता लिइहालिन् ।  

नेपाली कांग्रेसबाट कलाकारहरु तीर्थ थापा र जोगेन्द्र थापा पनि चुनावमा उठ्ने चर्चा थियो तर जति रोइकराई गरे पनि अन्तिममा त्यही भयो– धोका । उनीहरुलाई पनि कांग्रेसले जिल्लाराम पार्यो ।

सधैँ चुनाव आउँदा कलाकारले पनि चुनाव लड्ने हल्ला चल्छ । चुनावकै छेको पार्टीले पनि ‘पपुलर’ कलाकारलाई पार्टी प्रवेश गराउन थाल्छ । टिकट दिने आश्वासन पनि बाँड्छ तर अन्तिममा निराश बनाएर छाड्छ । नेपाली राजनीतिमा यो प्रचलन र प्रवृत्ति अब त पुरानै भइसक्यो ।

सबैलाई थाहा भएकै हो– सधैँ नेतालाई राजनीतिक सभा–सम्मेलनमा भिड जुटाउने माध्यम कलाकार नै हुन्छन् तर यिनलाई भूमिका दिने बेलामा भने पार्टीले उल्टो धोका दिइरहेको छ । माथिका केस यसैलाई पुष्टि गर्ने चर्चित उदाहरण हुन् ।

कलाकारलाई देशको ‘गहना’ भनिन्छ । देशको त थाहा भएन तर यतिबेला उनीहरु पार्टीका चाहिँ ‘गहना’ मात्रै भएका छन् । अवसर पाउनेभन्दा पनि पार्टीको चर्चा र प्रचारका लागि मात्र प्रयोग भइरहेका छन् । कलाकार पार्टीमा आउने र पछि जाने प्रवृत्तिले पनि पार्टीलाई खासै प्रभाव पारेको पाइँदैन । उनीहरुले ‘गहना’का रुपमा पार्टीलाई बाहिरबाट सुन्दर र दर्शकको चासोमा पार्ने काम त गरेका छन्, पार्टीको ‘स्वास्थ्य’मा भने कुनै असर पार्न सकेका  छैनन् । ‘गहनाले कहाँ असर गर्छ त ? यो लाए पनि नलाए पनि जीवन त चलिहाल्छ नि, औषधि नहुँदा, खाना नहुँदा पो तनाव हुने हो त,’ माओवादी केन्द्रका एक नेताले व्यंग्यात्मक शैलीमा बोले ।

पार्टीमा ‘प्रयोग’ मात्रै
अब्राहम लिंकनले भनेका थिए, ‘बुलेटभन्दा ब्यालेट धेरै शक्तिशाली हुन्छ ।’ हो रहेछ । त्यसैले होला लोकप्रिय कलाकारहरु अहिले ‘ब्यालेट’का पछि लागिरहेका छन् तर उनीहरुको ‘आशा’लाई पार्टीले ‘प्रयोग’ गर्न छाडेको छैन । टिकट नदिएपछि ‘एमालेले धोका दियो’ भन्दै अभिव्यक्ति दिएकी कोमल वली अहिले उनलाई नै जिल्ल पार्दै उठाइएका उम्मेदवार हिराचन्द्र केसीलाई जिताउन दाङमा खटिइरहेकी छन् । ‘फेल भएकी छैन, फस्ट टर्मको परीक्षामा कम नम्बर ल्याएकी मात्र हुँ,’ टिकट नपाएपछि दाङमा रहेकी उनले शुक्रबारसँग फोन कुराकानीमा भनिन्, ‘मलाई आश्वासन दिएर पनि टिकट नदिएकोमा म दुःखी भएकी हुँ । टिकट दिएको भए चुनाव जित्थेँ तर स्वतन्त्रबाट उठ्दा मलाई जित्न गाह्रो हुने भयो । यता मेरो कारण बाम गठबन्धनले हार्ने स्थिति पनि भयो । त्यसैले फिर्ता लिएकी हुँ । अब चुनावपछि बाम गठबन्धनलाई जिताएर मात्रै काठमाडौं फर्कने हो ।’ राजनीतिक दलहरुले अझै पनि कलाकारलाई विश्वास नगरेको तीतो यथार्थ बताउँदै उनले थपिन्, ‘राजनीतिक दलले कलाकारलाई कुनै पनि स्थानमा राखेका छैनन् तर कलाकारहरु महान हुँदारहेछन् । दलहरुले के दिन्छन्/दिँदैनन् त्यो नसोची आफ्नो आस्था भएको पार्टीमा के दिन सक्छौँ भन्ने मात्र सोच्दा रहेछन् ।’

यता राजनीतिक दलहरुले आफ्ना सांस्कृतिक विभाग र संगठनहरुलाई मतदाताको ध्यान आफूतिर तान्नका लागि सक्रिय हुन निर्देशन दिइसकेका छन् । कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघमा आबद्ध कलाकारहरु यतिबेला चुनावी प्रचारप्रसारको सामग्री बनाउन र सभासम्मेलनमा सघाउन सक्रिय भइसकेका छन् । कलाकारहरु शिवहरि नेपाल, शिवशंकर रिजाल, राधिका हमाल, सुनिल थापा, मदन थापा, विमलराज क्षेत्री, दुर्गा रायमाझी, पशुपति शर्मा लगायत सक्रियतापूर्वक लागेको संघका अध्यक्ष तीर्थ थापा बताउँछन् । उनी सुनाइरहेका थिए, ‘गीत र विज्ञापनहरु दर्जनौंका संख्यामा बनिरहेका छन् । हामी आफ्नो पार्टीलाई जिताउन लागिपरेका छौं ।’ तर जब संवाददाताले उनीसँग राजनीतिक दलले कलाकारलाई गरेको व्यवहारमा सोधे तब उनी थोरै निराश सुनिए । अनि ‘सही प्रश्न सोध्नुभयो’ भन्दै निराशाका पोका खोल्न थाले, ‘हामी कलाकार दलबाट अछुतो भएका छौं, अपमानित छौं । कहीँकतै हाम्रो प्रतिनिधित्व भएन । हामीले पीडा कहाँ गएर भन्ने ? हाम्रो संविधान त समावेशिताका हिसाबले निर्माण भयो तर हाम्रो समावेशिता भएन । हामीलाई त पार्टीले सम्झिदैसम्झिएन । के कुनै पनि कुरा पाउनलाई यो देशमा अब आन्दोलन नै गर्नुपर्ने, अनसन नै बस्नुपर्ने ?’ उनले पार्टीलाई धेरै अनुरोध गर्दा पनि बेवास्ता गरेको सुनाए । ‘हामी पार्टी सभापतिकहाँ कम्तीमा हामीलाई प्रतिनिधित्व दिनुस्, प्रदेशमा भए पनि प्रतिनिधित्व दिनुस् भनेर अनुनय गर्यौँ तर केही सुनाउनुभएन । हाम्रा नेता प्रकाशसरण महतले त ‘तपाईंहरुलाई कहाँ टिकट दिन्छ र ?’ भन्दै सरल ढंगले अभिव्यक्ति दिँदा मन चसक्क घोचेको थियो । तैपनि हामी तनमन दिएर अहिले चुनावी प्रचारमा लागेका छौं ।’

‘नेता’ बन्न नसकेपछि फेरि ‘अभिनेता’मै सीमित रहेका भुवन केसी पनि राजनीतिक दलको व्यवहारदेखि धेरै रुष्ट छन् । भन्छन्, ‘जनताहरु नेताको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउँछन् तर हामीलाई सधैँ प्रेम गर्छन् । हामी लोकप्रियताका लागि राजनीतिमा गएका होइनौँ तर नेताहरुले हामीलाई उनीहरुको भाग खोस्न गएको मात्र महसुस गरे । मौकामा फाइदा लिए अनि इग्नोर गरे । यो कुरा तीन करोड जनताले बुझिरहेका छन् ।’

यता पार्टीले कलाकारलाई ‘गहना’मात्रै बनाएपछि हास्यअभिनेता जितु नेपालले फेसबुकमै लेखे, ‘कुनै पनि पार्टीले कलाकारहरूलाई आफ्नो स्वार्थको लागि बाहेक कुनै स्थान दिएनन् । यसको ज्वलन्त उदाहरण कोमल वली दिदी हुन्, जसलाई एमालेले हरीयो घाँस देखाएर खोरमा भित्राएर ठण्डाराम पार्यो । यो घटना पहिलो होइन यसभन्दा पहिले पनि भुवन केसी लगायत धेरैलाई ठण्डाराम पारेकै हो । नेताहरुलाई नै भाग पुगेको छैन, टिकट नपाएर उनीहरूकै रूवाबासी छ, कलाकारहरूले पार्टी छिर्नेबित्तिकै टिकट कहाँबाट पाऊन् ? यो कुरा सबै कलाकारहरुले बुझ्नुपर्ने हो ।’  

कला क्षेत्रसँग पनि नजिक रहेका एमालेका सचिव प्रदिप ज्ञवालीले कलाकारलाई पार्टीले ल्याएर भूमिका नदिने गरेको कुरामा पूरै सहमत हुन तयार भएनन् तर उचित सम्बोधन गर्न नसकेको स्वीकारे । ‘हामीसँग पहिलेको संविधानसभा चुनावमा एमालेबाट गायिका मधु गुरुङ, माओवादी केन्द्रबाट जेबी टुहुरे हुनुहुन्थ्यो । भलै कलाकारको उपस्थिति सन्तोषजनक नहोला तर हुँदै नभएको होइन,’ उनले भने, ‘हामीले चाहेर पनि आवश्यक संख्यामा कलाकारलाई समेट्न नसकेको हो । भुवन केसी, कोमल वलीलाई चाहँदाचाहँदै पनि हामीले सेटिङ गर्न सकेनौँ । यस्तो बेलामा पहिलेदेखि पार्टीमा योगदान गर्दै गरेको पंक्तिले हामी यसको खास हकदार हो भन्ने कुरा उठ्ने रहेछ । त्यसैले यो सबै ब्यालेन्स मिलाउन नसकिने रहेछ । ’

अहिले मात्रै होइन नेताहरूसँगै भूमिगत भएर जनताको घरदैलो गरेका, राजनीतिक चेतना पनि बलियो भएका कलाकारसमेत दलबाट पीडित भइसकेका छन् । ‘गाउँ गाउँबाट उठ’ जस्ता  गीत गाएर जनतालाई व्यवस्था परिवर्तन गर्न उक्साएका रामेश र रायनको योगदान नेताहरुको भन्दा कम थिएन तर उनीहरुलाई पार्टीले सधैँ छायाँमा पार्यो । आफ्नो जीवनको ऊर्जाशील र महत्वपुर्ण कालखण्ड एमालेमा बिताएका गायक जेबी टुहुरेले पनि जीवनको उत्तराद्र्धमा पार्टी छाडेर माओवादी प्रवेश गर्नुपर्यो । माओवादीबाट उनले सभासद्सम्म बन्ने मौका पाए ।

राजनीतिमा ‘रेखाको नृत्य’
रेखा थापाले सिंहदरबार घेराउ कार्यक्रममा प्रचण्डसँग नाचेको दृश्य नेपाली राजनीतिक वृत्तमै एउटा महत्वपूर्ण किस्सा भएको छ । कलाकारलाई राजनीतिसँग जोडेर कुरा गर्नसाथ धेरैको दिमागमा रेखाले स्टेज सेयर गरेको घटना ताजा बनेको पाइन्छ । शुक्रबारकर्मीले कलाकारको राजनीतिलाई लिएर केही राजनीतिज्ञ र फिल्मकर्मीसँग कुरा गर्दा अधिकांशले रेखालाई कटाक्ष गरेको पाइयो । माओवादी केन्द्रका सांस्कृतिक विभाग प्रमुख एवम् सचिवालय सदस्य आहुतिले भने, ‘नाच्याभरमा सबैकुरा खोजेर हुन्छ ? रेखा थापालाई टिकट दिएकै हो त । उहाँलाई त आफ्नो नाम भोटर लिस्टमा छैन भन्ने पनि थाहा रहेनछ । त्यस्ताहरुको कुरा गरेर साध्य छैन ।’

उता राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष लोकप्रिय गायक बद्री पँगेनीले पनि कुराकानीका क्रममा रेखाको नृत्यप्रति व्यंग्य गरेको सुनियो । उनले भने, ‘कलाकारले पनि पार्टीको एउटा गीत गाइदिएकै भरमा, नेतासँग स्टेजमा देखिएकै भरमा, कतै हाइहेल्लो गरेकै भरमा,  दुईचार पटक फोन गरेकै भरमा पार्टीले टिकट दिनुपर्छ, सांसद बनाउनुपर्छ भन्नु गलत बुझाइ हो । यद्यपि यो देशमा राज्यले, दलले, दलका नेताले कलाकारलाई जुन स्थान दिनुपर्ने हो त्यो दिएका छैनन् ।’

क–कसले पाए ?

यसपल्टको चुनावमा नयाँ शक्ति पार्टीले समानुपातिकबाट अभिनेत्री करिश्मा मानन्धरलाई उम्मेदवारको पहिलो नम्बर सूचीमा राखेको छ । नयाँ शक्तिको पार्टी प्रचारमा सक्रिय उनी भन्छिन्, ‘चुनाव लड्न चाहन्थेँ तर लड्दा भन्दा समानुपातिकमै बस्दा ठीक भन्ने सुझाव आएपछि नलडेकी हुँ तर अन्य पार्टीमा कलाकारलाई टिकट नदिएको सुन्दा दुःख लाग्यो ।’ उता माओवादी केन्द्रले कलाकार नवल खड्कालाई समानुपातिक उम्मेदवार बनाएको छ तर उनीहरु सांसद बन्छन् भन्नेमा अहिले नै ढुक्क हुन सकिँदैन किनभने यसअघि गायिका नलिना चित्रकारलाई त्यसैगरी नेपाल मधेसी जनाधिकार फोरमले समानुपातिक उम्मेदवार बनाएको थियो । उनले पनि आफ्नो गायनको लोकप्रियता पार्टी जिताउन भरपुर उपयोग गरिन् तर पछि उनलाई सभासद भने बनाइएन । त्यस्तै नेपाली कांग्रेसले निर्माता एवम् कलाकार मधुकुमार श्रेष्ठलाई धादिङ १ बाट प्रदेशसभाको उम्मेद्वार बनाएको छ । उनी केही कलाकारका साथ चुनावी प्रचारमा सक्रिय छन् । कला क्षेत्रमा उनी त्यति परिचित अनुहार भने होइनन् ।

कलाकारको यस्तो प्रवृत्ति
पार्टीले भूमिका नदिने कुरा त छँदैछ तर कलाकारहरुमा पनि पार्टी बदलिइरहने प्रवृत्ति छ । माओवादी केन्द्रका आहुति भन्छन्, ‘पुँजीवादले बनाएका केही सेलिब्रिटीहरुसँग न पार्टीले बोकेको विचार छ, न अनुभव ।  उनीहरुसँग केही हुन्न, न प्रतिस्पर्धा नै हुन्छ । नेता बन्न त संगठनमा काम गरेको हुनुपर्यो, कार्यकर्ता चिनेको हुनुपर्यो । राजनीति गर्न चाहनेले त राजनीतिक गतिविधिमा आउनुपर्यो। त्यसो नगर्ने अनि निर्वाचनमा मुखमा लौ न टिकट चाहियो भनेर हुन्छ ?’

गायक बद्री पँगेनी पनि आहुतिसँग सहमत देखिए । उनी पार्टीले योगदान नगरेका कलाकारलाई ठाउँ दिन नहुने बताउँछन् । ‘कहिले पार्टी प्रवेश गरेको, कति योगदान गरेको भन्ने कुराको मूल्यांकन गरेर नै ठाउँ दिनुपर्छ,’ उनले भने ।

रेखा थापाले सायद यो कुरा महसुस गरिसकिन् ।  ‘अब म जनताको घरदैलोमा काम गर्छु त्यसपछि चुनाव उठ्छु,’ उनले भनिन्, ‘पहिले पनि मैले माओवादीबाट टिकट पाएको हो, आफ्नो कमजोरी गुम्यो । यो पल्ट सर्लाहीबाट मागेको धादिङबाट मात्र पाएँ, त्यसैले उठिनँ । जानीजानी को आत्महत्या गर्न तयार हुन्छ र ? ’

को–कलाकार कुन पार्टीमा ?
माथि उल्लेखितबाहेक नेपाली कांग्रेसमा नायिका झरना थापा, मेलिना मानन्धर, कलाकार मुकेश ढकाल, मदनदास श्रेष्ठ, किरण खरेल, निर्माता रोज राणा, मधुकुमार श्रेष्ठ, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, अभिनेत्री रूपा राना, जनकदीप पराजुली, ऋषि लामिछाने, योगेन्द्र श्रेष्ठ, आयुष रिजाललगायत खुलेर लागेका छन् । वरिष्ठ अभिनेता नीर शाह पनि कांग्रेससँग आबद्ध छन् । पहिला माओवादीले आशा देखाए पनि उनको आशा पूरा नगरेपछि कांग्रस निकट भएका उनलाई विमलेन्द्र निधि सूचना तथा सञ्चार मन्त्री हुँदा  नेपाल टेलिभिजनको निर्देशक बनाइएको थियो । त्यतिबेला लामो समयदेखि कांग्रेसमै आबद्ध कलाकार जिल्ल परेका थिए ।

त्यस्तै खुलेर लाग्ने फिल्मकर्मी नेकपा एमालेमा भने थोरै छन् । खुलेर लाग्नेमा भुवन केसीपछि केशव भट्टराईको नाम आउँछ । कोमल वली पनि थपिएकी छन् । लोकप्रिय कलाकारहरु मनोज गजुरेल, राजा राजेन्द्र र गायक बद्री पँगेनी एमाले निकट मानिन्छन् । पछिल्लो समय गायक सञ्जय श्रेष्ठ एमालेतर्फ लहसिएका छन् ।

त्यस्तै राप्रपामा फिल्मकर्मी उद्धव पौडेल, गायिका मीरा राणा सक्रिय छन् । भर्खरै निर्माता प्रदीपकुमार उदय राप्रपा प्रजातान्त्रिकका प्रवक्ता भएका छन् । रेखा थापा सह–महामन्त्री नियुक्त भएकी छन् ।

नयाँ शक्ति पार्टीमा करिश्मासँगै प्रवेश गरेका कलाकारहरु सरोज खनाल, अशोक शर्मा भने अहिले त्यति सक्रिय देखिँदैनन् ।  

‘गठबन्धन नभा’को भए रेखा थापा उठ्थी’


रेखा थापा,
अभिनेत्री

यसपालि पनि चुनावमा उठ्न पाइएन है ?   
अघिल्लो पटक पनि मलाई माओवादीले पर्सा–१ बाट टिकट दिएकै हो । मेरै कमजोरीले गडबडी भएको हो । यसपल्ट पनि धादिङ १ बाट टिकट दिइएको थियो तर मैले सर्लाही–३ मागेकी हुँ । हाम्रो पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेका हुनाले त्यहाँ कांग्रेसको उम्मेद्वार अगाडि नै पक्का भइसकेको रहेछ । त्यसैले कुरा मिलेन । समानुपातिकमा बस्ने प्रस्ताव पनि आएको हो तर म चुनाव लड्ने क्षमता राख्छु, त्यसैले मानिनँ ।

भनेपछि तपाईंको उम्मेदवारी अघिल्लो पटक मतदाता नामावलीमा नाम नभएर रोकियो, यसपालि लोकतान्त्रिक गठबन्धनका कारण ?
हो । गठबन्धन होला भन्ने त थाहै थिएन । अहिले बाम गठबन्धनले सबै आत्तिएका हुन् । गठबन्धन नभएको भए म काठमाडौंबाटै लड्थेँ होला । अहिलेको चुनाव त म जित्नेहरुलाई हराउने खेलजस्तो देखिरा’छु । देशको निमित्त काम गर्न चाहने नयाँ अनुहारलाई आउन नदिने षड्यन्त्र जस्तो पनि लागिरा’को छ । युथहरुलाई आउन नदिने बन्देज पनि हो जस्तो लाग्छ । त्यसैले यसपल्ट चुनावमा मैले पार्टीलाई सघाउने मात्र हो । मलाई जहाँबाट चुनाव उठ्न भनियो त्यहाँ बाम गठबन्धनको दबदबा छ । जानाजान त कोही पनि सुसाइड गर्दैन नि ! त्यसैले म नउठेकी हुँ । यो गठबन्धन नभा’को भए रेखा थापा उठ्थी ।

तर तपाईंलाई त पार्टीको सहमहामन्त्री बनाएर चित्त बुझाएको भन्ने हल्ला छ नि ?
यो गलत हो । म आफैँ होइन भन्दैछु भने अर्काले भनेको कुरा किन सुन्ने ? बरु मलाई त यसपल्ट पार्टीले नै उठ्नुपर्छ भनेर फोर्स गरेको हो । पशुपति समसेर, दीपक बोहोरा, विक्रम पाण्डेहरुले नै आग्रह गरेको हो तर पछि कांग्रेससँग सिट माग्ने क्रममा कुरा मिलेन । त्यसैले नउठेकी हुँ ।

पार्टीले कलाकारलाई सधैँ गहना मात्रै बनाए । सधैँ चुनावका बेला कोही न कोही कलाकार उठ्ने हल्ला हुन्छ तर कोही उठ्दैनन् । त्यसो भए यस्तो किन हुन्छ ?
मेरो हकमा त्यस्तो छैन । म मेरो ठेक्का लिन सक्छु, अरुको लिन सक्दिनँ । म राजनीतिमा लागेको नौ वर्ष भयो । अब पाँच वर्ष कुर्नुस् अनि पनि चुनावमा उठिनँ भने यही प्रश्न सोध्नुस् । अहिले नै म गएर त्यहाँ केही परिवर्तन हुनेवाला पनि छैन । अब म जनताको घरदैलोमा काम गर्छु त्यसपछि चुनाव उठ्छु । अर्को कुरा मैले यहाँ नबुझिरा’को के हो भने कलाकारले आज लागेर भोलि नै पाउनुपर्ने त्यस्तो के छ र ? राजनीतिमा योगदान पनि त हुनुपर्यो । पार्टी प्रवेश गर्नेबित्तिकै टिकट पाउनुपर्छ भन्ने त छैन नि । कलाकार कुनै अर्को ग्रहबाट आएको त होइन नि ! यस्तो हठ राख्नु त राजनीति भएन नि ! यहाँ धेरै समयदेखि राजनीतिमै समय बिताएकाले त टिकट पाउँदैनन् भने हामी कलाकारले भनेको बेला कसरी पाइन्छ । संघर्ष गर्न त जरुरी छ । मलाई त लाग्छ, कलाकार आफ्नै कमजोरीले पछाडि परेका हुन् ।

तपाईंले राप्रपा नेपालमा प्रवेश गरेपछि पार्टी परिवर्तन नगर्ने बताउनुभएको थियो तर गर्नैपर्यो है?
अहिले राणातिर लाग्दैमा पार्टी परिवर्तन भन्न मिल्दैन । राप्रपा त राप्रपै हो । मात्र लाइन फरक हो । नबुझ्नेहरुले पार्टी परिवर्तन गरेको टिप्पणी गरिरहेका छन् । माओवादीको ट्याग लागेको भएर मलाई त्यस्तो आरोप लागेको होला ।

पार्टीभित्र दुइटा धार हुनु राम्रो हो र ?
त्यो त होइन तर यो पार्टी हाँक्ने मान्छेमा निर्भर हुन्छ । नेतृत्व तहमा बसेका मान्छेले मिलाउने कुरा हो । परिवारमा पनि आमाबाबुले राम्रोसँग घर ह्यान्डल गर्न नसक्दा छोराछोरी सन्किएर हिँड्छन् तर आमाबाबु नै त्याग गर्न मिल्छ ? मान्छेको सोच अग्रगामी हुन्छ । यथास्थितिमा कोही रहन सक्दैन । त्यहीमाथि पार्टीमा सबैको विचार एउटै नहुन सक्छ । कोही कम्प्रोमाइज गरेर बसिरहेका हुन्छन्, त्यो फरक कुरा हो । मलाई लाग्छ, मान्छे परिवर्तनशील र अग्रगामी हुन सक्नुपर्छ । फेरि यहाँ राप्रपा मात्रै फुटेको होइन, पहिलेदेखि नै यस्तो भइरहेको छ । विचार नमिल्दा त्यत्रो युद्ध गरेर आएकाहरु पनि टुक्राटुक्रा छन् ।

तपाईं पशुपति शमशेर राणातिर गएपछि फेसबुकमा ‘कामकुरा एकातिर, रेखा थापा पशुपतितिर’ भन्नेखालका प्रतिक्रिया पनि आएका थिए नि ?
त्यो त राम्रै हो । पशुपति मन्दिर त जो पनि गइरहेका छन् नि (हाँस्दै)! म हिम्मत गर्छु, अनि हिम्मतको डाह गर्नेले त्यस्तो कुरा गर्छन् । हिम्मत गर्नु ठूलो कुरा हो । कसले के भन्छ भन्ने सोच्नु हुँदैन । अरुको नजरमा राम्रो हुनका लागि म आफूलाई चित्त नबुझेको कुरामा सहमति जनाउन सक्दिनँ । म कसैको दासी होइन, स्वतन्त्र मान्छे हुँ । पशुपति शमशेरलाई माने भन्दैमा कमल थापा निकटकाहरुले मलाई नराम्रो भन्न पाउनुहुन्न । मैले मानेको कुरामा जज गर्ने अधिकार कसैलाई छैन ।


‘कलाकारितामा पाएको विश्वास राजनीतिमा नपाउन सकिन्छ’

राजेश हमाल,अभिनेता

राजनीतिमा जो पनि जान सक्छ । कलाकार पनि अछुत हुने कुरा भएन तर राजनीतिमा लागेपछि आफ्नो भूमिका के हुने भन्ने कुरा प्रवेश गर्ने व्यक्तिले पनि सोच्नुपर्छ । यो कलाकारले पनि सोच्नुपर्ने हो । खाली कार्यकर्ता बन्न चाहेको हो कि या कुनै पदमा रहेर काम गर्न खोजेको ? राजनीतिमा जानेबित्तिकै पद हासिल गरेर परिवर्तन गर्ने भन्ने हो कि ? पार्टीकै छत्रछायाँमा बसेर केही  गरौँ भन्ने हो ? यी कुरामा स्वयम् कलाकार प्रस्ट हुनुपर्छ ।

म कलाकार हुँ, पब्लिक फिगर भएँ अब त्यसलाई मैले राजनीतिमा क्यास गरुँ भन्दा दर्शकको दिएको त्यही विश्वास राजतिमा नपाउन पनि सकिन्छ । कला क्षेत्रबाट कमाएको चर्चा त्यहाँ काम नलाग्न पनि सक्छ । अब होइन मलाई जनसमुदायले पनि साथ दिनुहुन्छ भन्ने कुरामा विश्वस्त हो भने ठीकै छ तर जनताले तपाईंलाई कलाकारितामा चाहेको कि राजनीतिमा ? त्यो सोच्न जरुरी छ ।

म अहिले राजनीतिमा लाग्ने सोचमा छैन । सम्भावना त नलागेसम्म रहिरहने कुरा हो तर अहिले मेरो मन कलाकारिता र समाजसेवातिरै छ । राजनीतिमा त नागरिकका हिसाबले चासो राख्ने मात्रै हो ।


‘भुवन र कोमललाई चाहेर पनि सेटिङ गर्न सकेनौँ’

प्रदीप ज्ञवाली,एमाले सचिव

कलाकारलाई पार्टीमा ल्याएर भूमिका दिँदैनन् भनेर सामान्यकृत गर्नु मिल्छजस्तो मलाई लाग्दैन । हामीसँग पहिलेको संविधानसभा चुनावमा एमालेबाट गायिका मधु गुरुङ, माओवादी केन्द्रबाट जेबी टुहुरे हुनुहुन्थ्यो । भलै कलाकारको उपस्थिति सन्तोषजनक नहोला तर हुँदै नभएको होइन ।

राजनीतिमा कलाकारलाई भूमिका दिँदा सामाजिक नेचर, सामाजिक प्रतिष्ठाका कुराहरु पनि जोडिन्छन् । पार्टीको जनाधार बनाउन पनि कलाकारले भूमिका खेलून् भन्ने हुन्छ । हामीले चाहेर पनि आवश्यक संख्यामा कलाकारलाई समेट्न नसकेको हो । भुवन केसी, कोमल वलीलाई चाहँदाचाहँदै पनि हामीले सेटिङ गर्न सकेनौँ । यस्तो बेलामा पहिलेदेखि पार्टीमा योगदान गर्दै गरेको पंक्तिले हामी यसको खास हकदार हो भन्ने कुरा उठ्ने रहेछ । त्यसैले यो सबै ब्यालेन्स मिलाउन नसकिने रहेछ ।

अर्को कुरा राजनीतिलाई नै करिअर बनाएका कार्यकर्ताको निम्ति जाने ठाउँ भनेकै संविधानसभा हो, प्रदेश सभा हो । कलाकारका निम्ति त अरु पनि ठाउँ रहन्छन् । प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक प्रतिष्ठान, चलचित्र विकास बोर्ड लगायत ठाउँमा जान सक्छन् । हामीले यी पक्ष पनि ध्यानमा राखेका छौँ ।

हामीले कलाकारलाई उपयोग मात्रै गर्न खोजेको होइन तर भने जति प्रतिनिधित्व गराउन नसकेकै हो । एउटा नेताहरुसँग उहाँहरुले कुरा गर्नुभएको हुन्छ, उहाँहरुले ‘सोचौँला’ भन्दिनुहुन्छ । पछि संस्थागत रुपमा छलफल गर्दा फेरि कुरा मिल्दैन । समस्या त्यसैले हुन्छ  तर कलाकारलाई गहना मात्रै बनाएको भने होइन ।

‘म चुनावमा उठ्दा बाम गठबन्धन हाथ्र्यो’

कोमल वली,गायिका

राजनीतिमा लागेर साह्रै दुःख पाइयो है ?
दुःख भन्दा पनि कडा परिश्रम गर्दैछु । प्रतिस्पर्धा एकदमै छ । समयको कुरा पनि छ । एक त राजनीतिको प्लेटफर्ममा आउनु नै सुखद् कुरा हो । अब कसरी खरो उत्रिने भन्ने मात्र हो । जिन्दगीमा परीक्षा धेरै दिइन्छन् । मैले त भर्खरै फस्ट टर्मको एक्जाम मात्र दिएकी हुँ । फस्ट टर्ममा राम्रो नम्बर आएन, फेल नै त भएको छैन । फाइनल एक्जामसम्म पुग्दा सफल भइएला ।

पार्टीले विभिन्न आश्वासन दिएर कलाकारहरु ल्याउँछन् तर पछि वचनअनुसार भूमिका दिँदैनन्, तपाईं त्यसकै सिकार हुनुभएको हो ?
कलाकारहरुलाई धेरै विश्वास नगरेको होला । खासमा कलाकारितामा सिर्जनशिलता हुन्छ, निपुर्णता हुन्छ । उनीहरुले कहिल्यै तोड्दैनन्, सधैँ जोड्छन् । समभाव राख्छन् । धेरै भावनात्मक पनि हुन्छन्, लोभीपापी हुँदैनन् । जसले पाए त्यसले लेख्न सक्दैन, गाउन सक्दैन । यसका लागि दैविक र अतिरिक्त गुण भएको हुनुपर्छ । राजनीतिमा लागेकाहरुले त राजनीतिमा अवसर पाउने नै भए, भिन्न क्षेत्रबाट आएकाको पनि समावेश हुनुपर्छ, स्थान दिनुपर्छ भन्ने हो तर त्यसो हुन नसक्नु दुःखद् हो ।

चुनावमा टिकट नदिएर एमालेले धोका दियो भन्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पछि फेरि फिर्ता लिनुभयो नि, पार्टीले के भनेर फकायो ?  
कुनै ‘कमिटमेन्ट’का कारण उम्मेदवारी फिर्ता लिएको होइन । फेरि प्रतिवद्धताको कुरा गर्न आवश्यक रहेन । मैले रेडियो नेपालमा खाँदै गरेको जागिर छाडिसकेँ । अब मलाई राजनीति नै गर्नु छ । म दाङमा बस्छु । यहाँ जनाधार एमालेकै छ । पार्टीका नेताहरु, शुभेच्छुकहरु, शुभचिन्तकहरु, पत्रकारहरु सबैसँग छलफल गरेपछि मैले उम्मेदवारी फिर्ता लिएकी हुँ । अहिले देश नयाँ ढंगमा अघि बढ्दैछ । मैले उम्मेद्वारी फिर्ता लिन उपयुक्त देखेँ किनभने म उठ्दा बाम गठबन्धनलाई गाह्रो पर्ने स्थिति थियो ।

गाह्रो भन्नाले ?
सिधै भन्नुपर्दा म उठ्दा बाम गठबन्धन हार्ने स्थिति थियो । मैले घमण्ड गरेको जस्तो होला तर म यहाँ लोकप्रिय नै छु । मलाई धेरैले उम्मेदवारी फिर्ता नलिनु नै भन्नुभएको थियो । चुनाव जित्नलाई ३५ देखि ४० हजार मत ल्याउनुपर्छ । म स्वतन्त्र रुपमा उठ्दा १८ देखि २० हजार ल्याउने आंंकलन थियो । हामी चुनाव लड्ने स्थितिमा पुगेका थियौँ । पार्टीको चुनाव लडेको अनुभव त गरिसकेँ अब जनताको बीचमा जाने कुरा हो । पार्टीबाट टिकट पाएको भए म सतप्रतिशत जित्थेँ । स्वतन्त्रबाट उठ्दा जिरोबाट जानुपर्ने भयो । यो यथार्थ कुरालाई मैले नकार्न सकिनँ ।  

कलाकारलाई राजनीतिक दलले सधैं ‘गहना’कै रुपमा पार्टी प्रचारको अस्त्रमात्रै बनाइरहे, यो कुरा कलाकारले कहिले बुझ्ने हो ?
यो हाम्रो कमजोरी हो । हामी कलाकारले अहिले बुझेका छौं । राजनीतिक दलले कलाकारलाई कुनै पनि स्थानमा राखेका छैनन् । देश/विदेश जताततै नेपालीहरुमाझ कलाकारहरु जति लोकप्रिय सायद अरु हुनुहुन्न होला तर राजनीतिज्ञले हामीलाई हेर्ने दृष्टिकोण सधैँ उस्तै रह्यो । हामी कलाकारहरु कफी पिउँदा, टुर जाँदा यस विषयमा हामी खुब सल्लाह गर्ने गर्छौं । विस्तारै दृष्टिकोणमा सुधार होला ।  

सुरुमा राष्ट्रवादी पार्टी र देशको वैकल्पिक शक्ति भन्दै राप्रपा प्रवेश गर्नुभयो । राप्रपा विभाजनपछि एमाले रोज्नुभयो । अब एमालले धोका दियो, अर्कै पार्टी जोइन गर्ने सोचमा हुनुहुन्छ कि ?
छैन, छैन । मैले स्वतन्त्र उम्मेदवारी दिनुमा भावनाले पनि काम गरेको हो । मैले त्यतिबेला मेरो आत्मसम्मानमा चोट पुगेको महसुस गरेँ । कतिपयले ‘२० वर्षदेखि राजनीतिमा लाग्नेले त पाएको छैन, कोमलले यस्ते खोज्ने’ भनेर कमेन्ट गरेको पनि पढिरहेको छु । त्यसोभए ५० वर्षदेखि राजनीति गर्नेले टिकट पाएको खोइ त ? हिजो आएकोले पैसाको बलमा पाएको, डनको बलमा पाएको त छर्लङ्गै छ नि ! अर्को कुरा मलाई टिकट दिने मामिलामा हेरौँला भनेको भए म खोज्दिनँ थिएँ । अर्को कुरा पार्टी प्रवेश गर्नु नितान्त व्यक्तिको अधिकारको कुरा हो । यसलाई लिएर कसैले देशै बेच्न लाग्ने जस्तो टिकाटिप्पणी  गर्नु विल्कुल गलत कुरा हो । यहाँ जस्तो कमेन्ट अन्य मुलुकतिर पाइँदैन । उसलाई त्यहाँ मन परेन र अर्कोमा गई होला भनेर सामान्य रुपमा लिइन्छ । मलाई टिकट नदिए पनि म अब एमाले छोड्नेवाला छैन । यहीँ रहन्छु, यहीँ संघर्ष गर्छु ।

त्यसो भए पार्टीलाई चुनावमा कसरी सहयोग गर्दै हुनुहुन्छ ?
म प्रचारप्रसारमा व्यस्त छु । दाङमै छु । बाम गठबन्धनको हरेक सभासम्मेलन र भेलामा भाग लिइरहेकी छु । अब होल टाइम पार्टीलाई सहयोग गरिरहन्छु । चुनाव सम्पन्न गरेर मात्र काठमाडौं फर्किरहन्छु । कलाकारहरु यस्तै हुन्छन्, महान् हुन्छन् । दलहरुले के दिन्छन्÷दिँदैनन् भन्ने हेर्दैनन्, आफ्नो आस्था भएको पार्टीमा के दिन सक्छौँ भन्ने मात्र सोच्छौँ । मैले मात्र नभएर अन्य पार्टीमा आबद्ध कलाकारहरुले पनि त्यसै गरिरहनुभएको छ ।  


‘नेताहरुले मौकामा फाइदामात्र लिए’

भुवन केसी,अभिनेता

म झण्डा फरफराउन, ठूल्ठूलो भाषण दिन र मानप्रतिष्ठा कमाउन राजनीतिमा गएको होइन । मलाई देशविदेशमा बस्ने नेपाली दाजुभाइको माया प्रेम पर्याप्त छ । बरु अचेल नेताको नाम इज्जतसाथ लिएको सुनिदैन, नाम लिनासाथ नाक खुम्चाएको पाइन्छ । कमाएको नाम बदनाम गर्नलाई कलाकार राजनीतिमा पक्कै गएको होइन । राज्यको नीति निर्माण तहमा पुगेर कला क्षेत्रका लागि केही गर्न सकियोस् भन्ने चाहले नै गएको हो ।

हाम्रो क्षेत्रमा हामीलाई के पिर परिरहेको छ त्यो त हामीलाई पो थाहा हुन्छ त । अर्कोले आएर कसरी सम्बोधन गर्न सक्छ ? तर यो कुरामा हाम्रा नेताहरुको आँखा कहिल्यै खुलेन, उनीहरु कुर्सीको खिचातानीमै व्यस्त भए । हामी कलाकार प्रयोग मात्र भयौँ । नेताहरुले हामीले उनीहरुको भाग खोस्न मात्र गएको महसुस गरे, जुन हुँदै होइन ।

हामीलाई राजनीतिक दलले मौकामा फाइदा लिने अनि इग्नोर गरेको पक्कै हो । यो कुरा तीन करोड दाजुभाईले राम्रोसँग बुझिरहनुभएको छ।  कतिपयले यो लोभका कारण पनि गयो भन्ने आरोप लाउने गर्छन् छन् नितान्त होइन । मेरै कुरा गर्दा मलाई शीर्ष नेताहरुले पार्टीले तपाईंजस्तो कलाकार आउनुपर्छ , मनोनित हुनुपर्छ भनेर आश्वासन दिनुभएको हो । मैले तपार्इंको पार्टी जहाँ कमजोर छ, त्यही क्षेत्रबाट उठेर चुनाव जित्छु भनेकै हो तर पनि टिकट दिइएन ।  

राजनीतिमा जुन क्षेत्रबाट आए पनि पढेलेखेका मान्छे जानुपर्छ । म पनि पोलिटिकल साइन्समा त्रिचन्द्र कलेजबाट ग्र्याजुएसन गरेको व्यक्ति हुँ । म स्वार्थका कारण राजनीतिमा प्रवेश गरेको भए उहिल्यै एमाले छोडिसक्थेँ । अरु पार्टीले पनि धेरै पल्ट बोलाइसके तर म कहीँकतै गएको छैन ।  


‘गीत गाइदिएकै भरमा नेता भइँदैन’

बद्री पंगेनी,लोक गायक

पहिलो कुरा राज्य, राजनीतिक दल र तीनका नेताहरुले कलाकारलाई जुन भूमिका दिनुपर्ने हो त्यसमा चुकेका छन् । नेता त झन् बढी नै चुकेका छन् । दोस्रो कुरा कलाकारले पनि पार्टीको एउटा गीत गाइदिएकै भरमा, नेतासँग स्टेजमा देखिएकै भरमा, कतै हाइहेल्लो गरेकै भरमा,  दुई चार पटक फोन गरेकै भरमा पार्टीले टिकट दिनुपर्छ, सांसद बनाउनुपर्छ भन्नु गलत बुझाइ हो । यद्यपि यो देशमा राज्यले, दलले, दलका नेताले कलाकारलाई जुन स्थान दिनुपर्ने हो त्यो दिएका छैनन् ।

पार्टीले पनि कलाकारलाई बिना योगदान ठाउँ दिनु हुँदैन । कहिले पार्टी प्रवेश गरेको, कति योगदान गरेको भन्ने कुराको मूल्यांकन गरेर नै ठाउँ दिनुपर्छ । मलाई पनि गीत गाएरमात्र नेता बनिन्छ जस्तो लाग्दैन । क्षमता पनि हुनुपर्छ । नेता बन्नलाई त जनताका समस्या बुझ्नुपर्यो, संगठन र कार्यकर्ता बुझेको हुनुप¥यो । मलाई अहिलेसम्म चुनाव उठ्ने चाह छैन । भोलि कुनै दिन जनतालाई यसले गर्न सक्छ भन्ने लागेछ भने विचार गरौँला ।

मुख्य कुरा नेताको दैलो चहारेर नेता बन्न खोज्नेले जनताको लागि केही गर्न सक्दैन । नेताको होइन जनताकै दैलो चहानुपर्यो नि ! कोमल वलीलाई टिकट दिइयो भने मैले एमालेका गीत गाउन छोड्दिन्छु भन्ने हल्ला सरासर हावा हो । कोमल दिदी मेरो अग्रज हो । उहाँले एमाले प्रवेश गर्नुअघि मलाई फोन गर्नुभएको थियोे । मैले उहाँलाई त्यतिबेलै भनेको थिएँ, ‘हामी कलाकार भावनाले चल्छौँ, नेताहरु दिमागले चल्छन् । चुनावमा टिकट पाउँदा पनि नपाउँदा पनि तपाईं एमालेमै बस्ने हो भने ठीक छ नत्र तपाईं राप्रपामै बस्नुस् । परिस्थितिवश टिकट नदिन पनि सक्छन् ।’ अहिले उहाँलाई टिकट दिन्छु भनेर नदिएकोमा म दुःखी छु तर त्यति कोमल दिदीले पार्टी प्रवेश गर्नेबित्तिकै टिकट पाउनैपर्छ भन्नु पनि गलत हो ।


‘नाच्याभरमा सबैकुरा खोजेर हुन्छ ?’

आहुति, सांस्कृतिक विभाग प्रमुख तथा सचिवालय सदस्य (माओवादी केन्द्र)

सिनेमामा खेलेका, गीत गाएका मात्र कलाकार होइनन् । कलाको दायरा भनेको त्यति मात्र होइन । वैचारिक हिसाबले प्रस्ट कलाकार पार्टीभित्रै लड्छन् अनि आफ्नो भूमिका खोज्छन् । यो पुँजीवादले बनाएको सेलिब्रिटीप्रति मेरो विश्वास छैन । न पार्टीले बोकेको विचार उनीहरुसँग हुन्छ, न अनुभव हुन्छ । केही पनि हुन्न । न प्रतिस्पर्धा नै हुन्छ । बदल्न सक्ने उमेरमा पनि हुँदैनन् उनीहरु । समस्या त्यहीँनेर भएको हो ।

निर्देशक केपी पाठक, गायक चेतन सापकोटा लगायत पहिलेदेखि हामीसँगै छन् त । नाच्याभरमा सबैकुरा खोजेर हुन्छ ? रेखा थापालाई टिकट दिएकै हो त । उहाँलाई त आफ्नो नाम भोटर लिस्टमा छैन भन्ने पनि थाहा रहेनछ  । त्यस्ताहरुको कुरा गरेर साध्य छैन । यसपालि पनि कलाकार नवल खड्का हाम्रोतर्फबाट समानुपातिक उम्मेदवारका रुपमा रहेका छन् ।

खासमा भन्नुपर्दा नेता बन्न चाहने कलाकारले संगठनमा काम गरेको हुनुपर्यो ।  कार्यकर्ता चिनेको हुनुपर्यो । अरुबेला केही पनि नभन्ने अनि चुनावको मुखमा म पनि उठ्नुपर्यो भन्ने हुन्छ ? राजनीति गर्न चाहनेले त राजनीतिक गतिविधिमा आउनुपर्यो । नआउने अनि निर्वाचनमा मुखमा लौ न टिकट चाहियो भन्ने ? यसरी नआएपछि पार्टीले राख्ने भनेको समानुपातिककै सूचीमा हो । त्यसैले नेपालमा यो धेरै ठूलो विषय होइन ।  

 

 

 

Leave A Comment