पर्दामा फरक–फरक भूमिका खोज्न रुचाउँछिन्, अभिनेत्री बेनिशा हमाल । आरजे, भिजेहुँदै उनी फिल्म ‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी थिइन् । ‘मोक्ष’ र ‘कालोपोथी’ फिल्ममा उनले गरेको अभिनयले प्रशंसा पाएको थियो । उनी अभिनित ‘झ्यानाकुटी’ मंसिर १ गतेदेखि प्रदर्शन हुँदैछ । यही सेरोफेरोमा उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
फेसबुकमा त आफ्नो नामै परिवर्तन गर्नुभएछ ?
हो । ‘झ्यानाकुटी’मा म ‘मालती खड्का विष्ट’को भूमिकामा छु । फेसबुकमा पनि बेनिशा हमाललाई चेन्ज गरेर यही क्यारेक्टरको नाम राखेकी हुँ । अहिले मेरो ध्यान पूरै यो फिल्मको प्रमोसनमा छ । फिल्मको प्रचारकै लागि दौडधुप गरिरहेकी छु । यसलाई पनि एउटा प्रचारकै शैली भन्नुपर्ला !
‘स्वर’देखि ‘झ्यानाकुटी’सम्म आइपुग्दा आफ्नो अभिनय यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ?
यस बीचमा मैले धेरै कुरा सिकेँ । ५–६ वर्षको यो समयलाई म आफ्नो ‘लर्निङ फेज’को रुपमा लिन्छु । अझै पनि पर्फेक्ट भइसकेको छैन, धेरै सिक्न बाँकी छ । एक्टर सधैँ एक्टिङको लोभी हुँदोरैछ । यो क्यारेक्टर गर्न पाए हुने भन्ने लोभ उसमा सधैँ भइरहँदोरहेछ । नेपाली फिल्ममा परिवर्तन भइरहेका बेला म यो क्षेत्रमा प्रवेश गरेकी थिएँ । समय, मान्छेहरुको संगत र आफूले गरेको कामले मलाई धेरै कुरा सिकायो ।
तपाईंले काम गरेका फिल्म र निर्वाह गरेको भूमिका एक–अर्कासँग मिल्दोजुल्दो लाग्दैन । फरक–फरक भूमिकामा काम गर्ने तपाईंको आफ्नो चाह हो या अफरै त्यस्तो मात्र आएको ?
एक त मेरो फिल्म संख्यात्मक हिसाबले कम छ । कम अफर आएकोमा पनि मैले सेलेक्ट गरेर मात्र खेल्दा संख्या कम हुन गएको हो । हो, मेरो सबै फिल्ममा क्यारेक्टर फरक–फरक छ । ‘कालोपोथी’ कै कुरा गर्नुपर्दा फिल्मको स्क्रिप्ट पढ्नेबित्तिकै मलाई यो फिल्मको पार्ट मात्रै हुन पाए हुन्थ्यो भन्ने भएको थियो । कति सिन, कस्तो रोलसँग मतलब थिएन । यसको अर्थ मलाई फिल्मको कथा र क्यारेक्टरले छोयो भने म थोरै सिन पाए पनि काम गर्न तयार हुन्छु भन्ने हो ।
‘कालोपोथी’मा सिन थोरै भए पनि मिहेनत त धेरै गर्नुपर्यो होला ?
सिन त त्यही १०–१२ थियो होला तर क्यारेक्टरका लागि निकै मिहिनेत गरियो । कर्णली गएर त्यहाँको लवज र परिवेशअनुसार काम गर्नुपर्ने थियो । खासमा मलाई यो फिल्मको स्क्रिप्ट निर्देशक मीन भामले ‘कस्तो छ ?’ भनेर बुझ्नका लागि मात्र पठाउनुभएको थियो । त्यतिबेला म फिल्मका लागि छानिएको थिइनँ तर छानिनुभन्दा अघिदेखि नै त्यो क्यारेक्टरका लागि काम गर्न थालेकी थिएँ । निर्देशकका दिमागमा त्यो क्यारेक्टरका लागि म छु कि छैन, म छानिन्छु कि छानिदिनँ केही थाहा नुहँदै काम गर्न थालेकी थिएँ ।
तपाईंका सहकर्मीहरु ‘बेनिशा चाहिनेभन्दा बढी मिहिनेत गर्छे’ भन्छन्, त्यही भएर हो कि ?
हो, सही सुन्नुभएछ । धेरैले मलाई त्यसो भन्छन् तर म त्यही चिजमा इन्जोय गर्छु । ‘कालोपोथी’मा मात्रै होइन, म प्रत्येक फिल्ममा त्यसरी नै काम गर्छु । सुटिङ हुनुभन्दाअघि नै म त्यो फिल्मको क्यारेक्टर जिउन थालिसक्छु । ‘अब त पुग्यो, भयो, धेरै नगर पागल होलास्’ पनि भन्छन् । वर्कसप सुरु हुनुअघिदेखि नै घरमा परिवार र नजिकका साथीभाइसँग त्यही क्यारेक्टरअनुसार बोल्न र व्यवहार गर्ने प्रयत्न थाल्छु । त्यसैले मलाई एउटा फिल्मको क्यारेक्टर निर्वाह गर्नका लागि कम्तीमा २० दिनको वर्कसप समय चाहिन्छ । नत्र जस्तोसुकै राम्रो प्रोजेक्टमा अफर आए पनि म स्वीकार्न सक्दिनँ । फिल्म भनेको त इतिहासमा पनि हेरिने कुरा हो नि । त्यसैले म सधैँ सोच्छु– मेरा फिल्म पछि हेर्दा रिग्रेट नहोस् ।
‘झ्यानाकुटी’मा चाहिँ तपाईंको भूमिका के छ नि ?
गाउँको विवाहित र एक सन्तानकी आमाको भूमिकामा छु । यो चरित्र एकदमै स्वभिमानी छे । बच्चा, घर, जँड्याहा श्रीमान्लाई उसले एकै समयमा सम्हाल्नुपर्छ । धम्पुसको गाउँमा फिल्म खिचिएको हो । स्क्रिप्टको पहिलो ड्राफ्ट पाएको ६ महिनापछि मात्र यो फिल्म फ्लोरमा गयो । त्यस बीचमा मैले ‘ब्लाइन्ड रक्स’पनि काम गरेँ । यो फिल्मका लागि म एक महिनाजति वर्कसपमा पनि सहभागी भएँ । अडिसन दिएँ । अडिसन दिँदा मैले दुई तरिकाले मालतीको भूमिका निर्वाह गरे । एउटा त ट्रेलरमा देखिहाल्यो । अर्कोमा चाहिँ मालतीको बोल्ने शैली अर्कै बनाइएको थियो । मैले ‘मालती’को क्यारेक्टर निर्वाह गर्ने भएपछि विवाहित र गाउँको महिला देख्नेबित्तिकै नियालेर हेर्थेँ । फोटो खिच्थेँ । निर्देशक सिमोस सुनुवारलाई पनि ‘त्यस्तो मान्छे देख्नुभयो भने फोटो खिचेर पठाउनू’ भन्थेँ । पछि लोकेसन हेर्ने क्रममा धम्पुस पुग्दा मैले मेरै बनावटसँग मिल्दोजुल्दो एकजना क्यारेक्टर पनि भेटेँ । उहाँको कानमा लगाउनेदेखि हिँड्ने, खाने सबै शैली पछ्याएँ । सुटिङ भइरहँदा ३५ दिनसम्म लगातार म त्यो क्यारेक्टरभन्दा बाहिर जान खोजेको थिइनँ । चाहे खाना खाँदा होस् या सुत्न म ‘मालती’कै व्यवहार गर्थेँ ।
तपाईंपछि आएका कलाकारहरु लगातार फिल्म साइन गरिरहेका छन्, तपाईंको फिल्मको संख्या कम हुनुको कारणचाहिँ के हो ? अफरै कम आएको हो या नगरेको हो ?
अरुलाई कसरी अफर आउँछ त्यो त मलाई थाहा छैन तर मलाई दिनहुँ फोनचाहिँ आउँदैन । ‘झ्यानाकुटी’पछि ५ वटा फिल्ममा अफर आयो तर कुनै खेल्ने निर्णय लिएको छैन । म फिल्म खेल्दा स्क्रिप्टमा सिरियस नै हुन खोज्छु, साथीभाइसँग सरसल्लाह पनि गर्छु ।
स्क्रिप्टको के कुराले छुन्छ र तपाई फिल्म खेल्न तयार बन्नुहुन्छ ?
स्टोरी कस्तो छ ? खासमा त फिल्म कस्तो बन्छ भन्ने कुरा त्यसको वन लाइन स्टोरीमै निर्भर हुन्छ । अब ‘कालोपोथी’ जस्तै फिल्म मलाई फेरि आयो भन्ने मैले सोच्नुपर्छ । मैले त्यही क्यारेक्टर, फरक नाममा फेरि किन गर्नु ? म सधैँ स्टोरीमा पहिले गरेको भन्दा सेटिङ फरक होस् भन्ने चाहन्छु । अर्को कुरा मलाई मेरो क्यारेक्टर मात्र राम्रो भएर हुँदैन, फिल्म पनि राम्रो हुनुपर्छ ।
‘झ्यानाकुटी’मा तपाईंको अपोजिटमा सौगात मल्ल हुनुहुन्छ । धेरैले उहाँलाई ‘बेजोड अभिनेता’भन्छन्, तपाईंलेचाहिँ कसरी चिन्नुभयो ?
उहाँ एकदमै राम्रो अभिनेता हो, त्यसमा कुनै शंका छैन । मलाई अभिनय गर्न समय चाहिन्छ तर उहाँ ठाउँको ठाउँ गरिदिनुहुन्छ । यस्तो क्षमता थोरै कलाकारसँग मात्र हुन्छ । एकदमै मिहिनेती र अनुशासित पनि हुनुहुँदोरहेछ । को–एक्टरलाई पनि धेरै सपोर्ट गर्ने । आफ्नो अगाडि क्षमतावान् कलाकार हुँदा आफूलाई पनि ‘मोटिभेट’ हुने रहेछ ।
तपाईंले दृष्टिविहीन सृष्टी केसीको जीवनमाथि आधारित फिल्म ‘ब्लाइन्ड रक्स’ पनि खेल्नुभयो । जिउँदो मान्छेको अभिनय गर्न कत्ति सहज भयो ?
खासमा निर्देशक मिलन चाम्ससँग ‘हसिँया–२’ फिल्ममा काम गर्ने कुरा थियो । पछि त्यो फिल्म ‘ड्रप’ भयो । उहाँसँग थप दुइटा फिल्म ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ थियो । दुईमध्ये एक रोज्न लगाउँदा मैले ‘ब्लाइन्ड रक्स’ रोजेकी हुँ । एक त हामीकहाँ बायोपिक फिल्म नै कम बन्छ त्यसमाथि सबैले पाउने चान्स हुँदैन । सुरुमा मैले यसलाई अवसरका रुपमा लिएँ तर यसमा खेल्नु ठूलो चुनौती थियो । मान्छेहरु बायोपिक फिल्म हेरिसकेपछि ‘ऊ त यसरी बोल्दैन नि, यसरी हिँड्दैन नि’ भनेर सजिलै रिलेट गरिदिने गर्छन् । यो चुनौतीका बाबजुद मैले फिल्म खेलेँ । फिल्म खेल्नुअघि म सृष्टिका बारेमा त्यस्तो धेरै परिचित थिइनँ । एक त दृष्टिविहीनको भूमिका त्यसमाथि बायोपिक– च्यालेन्ज त भइहाल्छ नि ! युकेमा फिल्मको प्रिमियर पनि भइसक्यो । राम्रो प्रतिक्रिया आएको छ, यता पनि मनपराउनुहुन्छ भन्ने आशा छ ।
सृष्टिको भूमिकालाई कत्तिको न्याय गरियो जस्तो लाग्छ ?
एक्टरका रुपमा अझै राम्रो गर्न सक्छु भन्ने त भइहाल्छ तर यो नै कलाकारको राम्रो पक्ष हो जस्तो लाग्छ । यसले कलाकारलाई अझ राम्रो गर्न प्रेरित गरिरहन्छ । मलाई दिइएको समयमा सतप्रतिशत न्याय गर्ने प्रयास गरेको छु । यस भूमिकाका लागि मैले करिब एक महिनाको समय सृष्टिसँग बिताए । त्यसपछि आफैँ पनि उहाँका बारेमा रिसर्च गरेँ, भिडियोहरु हेरेँ । उहाँजस्तै हुन तौल पनि ६ किलो घटाएँ ।
त्यस्तो कुनै दृश्य जुन गर्न गाह्रो भयो ?
स्कुलको एउटा सिन थियो जहाँ डान्स गर्दागर्दै सृष्टिले बिस्तारै आँखा देख्न छोड्दै थिइन् । यो सिनमा ३–४ पटक गर्दा पनि मलाई फिल नै आएन । त्यसपछि म भित्र गएर रोएँ । मेरा लागि त्यत्रो सेट लगाइएको थियो, त्यत्रा मान्छे बोलाइएका थिए तर मैले गर्न सकिनँ भनेर तनाव भयो, रुन मन लाग्यो । निर्देशकले एकछिन आराम गर्नु भन्नुभयो । त्यसपछि सिन ‘ओके’ भएको थियो ।
तपाईंको कामको प्रशंसा भए पनि तपाईंले सोलो हिरोइनका रुपमा काम गरेका फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेका छैनन्, यसले तपाईंको करिअरमा कस्तो प्रभाव पारेको छ ?
कलाकारको अभिनय क्षमतालाई फिल्मको व्यापारसँग निर्धारण गर्दा मलाई एकदमै दुःख लाग्छ । फिल्म चल्ने/नचल्ने त्यो त मेरो हातमा त हुँदैन नि ! फिल्म युनिटका प्रत्येक सदस्यले फिल्म चलोस् भनेरै काम गर्ने हो । सबैले त्यही हिसाबले नै मिहिनेत गरिरहेका हुन्छन् तर फिल्म चलेन भने यो फिल्म चलेको छैन्, एक्टर पनि चलेन भन्ने गरिन्छ । यो गलत बुझाइ हो । यो चिजमा कलाकारले केही पनि गर्न सक्दैन । हामीकहाँ एक्टरको फी राख्नेबित्तिकै फिल्म चल्ने, एउटा एक्टरको पर्फमेन्सले भन्दा पनि पर्सानिलिटीले फिल्म चल्ने भन्ने मान्यता छ । यस्तो प्रवृत्तिले मिहिनेत गर्ने मान्छेहरुलाई भने निराश बनाउँछ भन्ने लाग्छ ।
तपाईंका फिल्म कम भए पनि म्युजिक भिडियो धेरै छन् । भिडियो खेल्ने मामिलामा किन सिरियस नहुनु भएको ?
सिरियस नै छु । सुरुसुरुमा म जस्तो म्युजिक भिडियो पनि गरिदिन्थँे । को एक्टर, को डिरेक्टर केही ख्याल गर्दिनँ थिएँ । ‘इजी मनी’ पनि भयो र एक दिनमा सकिने काम पनि । पछिल्लो समय भने सबै सुझावलाई सकारात्मक लिँदै म्युजिक भिडियोलाई मैले एकदमै सिरियस रुपमा लिइरहेकी छु ।
फिल्म त ‘झ्यानाकुटी’भइसक्यो, रियलमा कहिले गर्ने हो ?
सही समय आएपछि गर्ने हो । अहिले त त्यस्तो केही सोचेकै छैन । घरबाट प्रेसर त आउँछ तर मैले समय आएको महसुस गरेको छैन ।
कसैसँग अफेयर त होला नि ?
छैन ।
आफ्नो ‘लाइफ पार्टनर’ कस्तो होस् भन्ने लाग्छ ?
समझदारी हुनुपर्छ । माया गर्ने त हुनैपर्यो (हाँस्दै) । बौद्धिक पनि होस् । न्यूनतम सर्तहरु यिनै हुन् ।
तपाईं आफूलाई कस्तो खालको हिरोइनका रुपमा चिनाउन चाहनुहुन्छ ?
मान्छेहरुले ‘यो मान्छेले मिहनेतचाहिँ गर्छ क्या’ भनून् । मेरो नाम लिँदा एउटा छुट्टै इमेज बसोस् । म आमिर खानबाट एकदमै प्रेरित छु । म यस्तो हिरोइनको पहिचान बनाउन चाहन्छु ताकि मान्छेहरुले मलाई झुर फिल्म अफर गर्नुभन्दा अगाडि सोचुन् । कसैले राम्रो क्यारेक्टर लेख्यो भने यो बेनिशालाई गराउनुपर्छ भन्ने होस्, पहिलो अप्सन बन्न सकूँ । अर्को कुरा मलाई यो ‘एक्ट्रेस’को लाइफ छोटो हुन्छ भनिन्छ नि, त्यो कुरा मनपर्दैन ।
कलाकारको त छोटो हुँदैन होला ?
हामी त आफूलाई कलाकार भन्न रुचाउँछु नि तर अरुले हिरोइनको रुपमा व्याख्या गरिदिनुहुन्छ । के गर्ने ?
तपाईंका फ्यानहरु कस्ता–कस्ता छन् ?
थरीथरीका छन् । धेरैले आइ लभ यु, आइ मिस युभन्दा पनि सिधै बिहे गर्न चाहन्छु भनेर म्यासेज पठाउने फ्यान धेरै हुनुहुन्छ । एकजनाले फ्यानले अस्ष्ट्रेलियाबाट ‘हे बेनिशा, एक दिन म तिमीलाई बिहे गर्छु, लेखेर राख्नू’ भनेर म्यासेस पठाउनुभएको थियो । त्यो म बिर्सन सक्दिनँ ।
अहिलेसम्म निर्वाह गरेकोमध्ये तपाईंलाई गर्न मन लागेको क्यारेक्टर ?
मलाई समलिङ्गी क्यारेक्टर गर्न मन छ । त्यो क्यारेक्टर भए म एकदमै राम्रोसँग निभाउँथे ।
Leave A Comment