यौन उत्पीडन र कार्यालय

आइतबार, ०३ मङि्सर २०७४, ०२ : ०४ शुक्रवार
यौन उत्पीडन र कार्यालय

एउटा समय थियो, महिलाहरुलाई घर छाडेर कार्यालयमा काम गर्न जान दिइँदैनथ्यो । समयक्रमसँगै महिलाहरु पनि कार्यालयका महत्वपूर्ण अंग बन्न पुगे । जति धेरै महिला र पुरुषहरुको सहभागिता बढ्न थाल्यो, कार्यालयमा उति नै बढी महिलामाथि यौन उत्पीडनका घटना बढ्न थालेका छन् । त्यसो त यस्ता उत्पीडनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बुझेका महिलामाथि यस्तो आपत आइनपर्न सक्छ । तर कहिलेकाहीँ कुन बेला आफू नै यौन उत्पीडनमा फँसियो भन्ने नै महिलाहरुलाई थाहा नहुन सक्छ ।
कार्यालयमा प्रायः स्त्री–पुरुषबीच प्रेमपूर्ण सम्बन्ध बन्न पुग्छ । प्रेमिल सम्बन्ध बन्न पुग्नु र यौन उत्पीडनको सम्बन्धमा परिणत हुनु फरक हो । एउटा सानो गल्तीले प्रेमिल सम्बन्ध यौन उत्पीडनको सम्बन्धमा परिणत हुनसक्छ । कतिसम्म भने केही समयअघि ‘द भाइरल फिभर’ नामक अनलाइन मनोरञ्जन कम्पनीमा काम गरेका कैयौँ महिलाले कम्पनीका प्रमुख कार्यकारीविरुद्ध यौन उत्पीडन गरेको आरोप लगाएका थिए । कम्पनीले ती व्यक्तिमाथि लगाइएको आरोपको जाँच गरिरहेको छ ।
उता कम्पनीका प्रमुख कार्यकारीले आफूमाथि ती महिलाले किन आरोप लगाएका हुन् बुझ्न नसकेको र आफूले उनीहरुसँग सधैँ असल व्यवहार गरेको बयान दिएका छन् ।
कस्तो व्यवहार उचित हो, कस्तो अनुचित ?
एउटै कार्यालयमा काम गरिरहेका पुरुष र महिलाबीच सहमति लिएर राखिने हरेक सम्बन्ध चाहे त्यो मित्रतापूर्ण सम्बन्ध होस् या यौन सम्बन्ध, त्यसलाई उत्पीडन भन्न मिल्दैन । यहाँ महत्वपूर्ण पक्ष ‘सहमति’ वा ‘स्वीकृति’को हुन जान्छ । सहमतिले गरिएको भद्दा ठट्टा, प्रशंसा या त्यसका लागि उपयोग गरिएका ‘अश्लील’ भाषाले कुनै समस्या ल्याउँदैन ।
कसैसँग हात मिलाउँदा कस्से मिलाउनु, काँधमा हात राख्नु, बधाई दिँदै गर्दा अँगालो मार्नु, कार्यालयबाहिर रक्सी या चिया पिउनुजस्ता कुरामा सहमति छ भने त्यसलाई गलत मानिदैन ।
सहमतिबेगर गरिएका यी सबै क्रियाकलाप भने गलत मानिन्छन् ।
कस्तो व्यवहार यौन उत्पीडनमा पर्छ ?
कुनै पनि ठाउँमा काम गर्दागर्दै एउटा पुरुष र अर्की महिलाबीच आकर्षण हुनु, तिनीहरु प्रेममा पर्नु स्वाभाविक हुन जान्छ । यस्तो अवस्थामा कुनै पनि पुरुष वा महिलाले इशारा गरेर कैयौँ भावभंगिमा प्रयोग गर्ने गर्छन् ।
यस्तो अवस्थामा कुनै स्त्री या पुरुषले ती कुराकानीमा ‘यौन’ पाए वा यौनिक आशयले छोएका खण्डमा आपत्ति जनाए, ‘नाइँ’ भन्दा पनि पुरुषले आफ्नो व्यवहार परिवर्तन नगरे त्यसलाई यौन उत्पीडन मानिन्छ ।
यदि ती महिला वा पुरुष ठूलो पदमा आसिन छन् भने नोकरी नै जाला भन्ने डरले उनीहरु मुख खोल्न सक्तैनन् । न त आएको प्रस्तावलाई अस्वीकार नै गर्न सक्छन् । यस्तो अवस्थामा कुनै स्त्री वा पुरुषले आफ्ना हाकिमलाई ‘नाइँ’ भन्न नसक्दा जबरजस्ती नजिक हुने प्रयास गर्नु यौन उत्पीडन हो ।
कानुनले के भन्छ ?
कार्यस्थलमा हुने यौन उत्पीडन रोक्नका लागि विविध किसिमका कानुन बनाइएका छन् । कानुनअनुसार कुनै पनि कार्यस्थलमा कसैले अस्वीकार गरेपछि पनि कुनै व्यक्तिलाई छुनु, छुने प्रयास गर्नु, यौन सम्बन्धको माग गर्नु, अश्लील टिप्पणी गर्नु, पोर्नोग्राफी देखाउनु या व्यक्त वा अव्यक्त तरिकाले सहमति बिना नै सेक्सुअल व्यवहार गर्नु यौन उत्पीडन मानिन्छ ।
कार्यस्थल मात्र होइन, कार्यस्थल आउँदाजाँदा पनि वा कामका सिलसिलामा कहीँ कतै जाँदा अथवा घरमै पनि यी क्रियाकलापलाई कानुनले बन्देज लगाएको छ ।
यौन उत्पीडन भएको कसले निर्णय गर्छ ?
कानुन अनुसार १० भन्दा बढी कर्मचारी भएको हरेक कार्यालयका लागि एउटा ‘इन्टर्नल कम्प्लेन कमिटी’ बनाउनु आवश्यक हुन्छ । यसको अध्यक्षता एउटा उच्च महिला अधिकारीले गर्छिन् । यस किसिमको कमिटीमा आधाभन्दा बढी सदस्य महिला नै हुन्छन् । कम्तीमा पनि एक महिला सदस्य कुनै गैर सरकारी कार्यालयमा काम गरेकी हुनुपर्छ ।
यो कमिटीले दुवै पक्षको कुरा सुनेर गुनासो उचित हो कि होइन भनी सुनिश्चित गर्छन् । यसपछि आरोपीमाथि जागिरबाट सस्पेन्ड गर्ने, निकाल्ने वा जसले गुनासो गरेको हो उसलाई क्षतिपूर्ति दिने निर्णय गरिन्छ । जुन व्यक्तिले आरोप लगाएको हो, उसलाई मामिला अझै बढी गम्भीर भएको महसुस भएमा प्रहरीलाई केसका बारेमा जानकारी दिनुपर्छ ।
यदि लगाइएको आरोप गलत भएको खण्डमा जसले आरोप लगाएको हो, उसलाई कार्यालयको नियमानुसार उपयुक्त सजाय दिइन्छ ।

Leave A Comment