जब होटलमा कोठा थिएन...

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : ०० शुक्रवार
जब होटलमा कोठा थिएन...

अमेरिकाको फिलाडेल्फियामा एउटा सानो होटल थियो, जसमा जर्ज नामक एक जना व्यक्ति फ्रन्ट डेस्कको जागिरे थिए । जर्ज एक पटक रात्रिकालीन सेवामा थिए । त्यसबेला एउटा जोडी होटल लबीमा देखा परे । जर्जले उनीहरु कुनै हाई–प्रोफाइलका व्यक्ति होलान् भन्ने अनुमान गरिहाले किनभने उनीहरुको लवाई नै त्यस्तै थियो । जर्जलाई त्यस जोडीले अनुरोधको भाषामा भने, ‘योङ म्यान, यहाँका सबै ठूला होटलमा कोठा पाइएन । म र मेरी पत्नीलाई एउटा कोठा चाहिएको थियो । सारा होटल चहार्यौँ । निराशा मात्र हात लाग्यो । हामीलाई यो होटलमा बास मिलाउन सक्छौ ?’
जर्ज अप्ठेरोमा परे । उनको होटलका कुनै कोठा खाली थिएनन् । उनले नम्र हुँदै भने, ‘मलाई माफ गर्नुहोला, सबै कोठा भरिभराऊ छन् । केही दिन अघिसम्म यस्तो समस्या थिएन । हिजोआज अचानक सहरमा एउटा कार्यक्रमका कारण कोठा भरिएको हो ।’
जर्ज ग्राहकलाई भगवान ठान्थे । कुनै पनि परिस्थितिमा सेवा दिनु आफ्नो धर्म मान्थे । बाहिर मुसलधारे पानी परिरहेको थियो । आकासले उग्र रुप लिएको थियो । गड्याङगुडुङसँगै बिजुली चम्किरहेको थियो । यस्तो प्रतिकूल मौसममा बास खोज्दै आएका जोडीलाई त्यसै फर्काउन जर्जको मनले मानेन । उनले असहज महसुस गरे । ढोकाबाहिर जानै लागेका जोडीलाई उनले आवाज दिए, ‘सर, बाहिर निकै चिसो छ । त्यसमाथि ठूलो झरी ! म यहाँहरुजस्तो असल जोडी बाहिरै चिसोमा उभिएको हेर्न चाहन्नँ । हामीकहाँ खाली कोठा नभए पनि तपाईंलाई आपत्ति हुँदैन भने मेरो निजी प्रयोगका लागि छुट्याइएको कोठा प्रयोग गर्न सक्नु हुन्छ ।’
कहाँ होटलको बास बस्न आएका जोडी, एउटा कामदारका लागि छुट्याइएको निजी कोठामा जानु ! त्यसैले जोडीले सो आग्रहलाई अस्वीकार गर्यो । जर्जले जोड दिँदै भने, ‘म बिहानसम्मै काममा हुन्छु । मलाई कोठाको आवश्यकता नपर्ने हुनाले त्यो खाली हुनुभन्दा यहाँहरुले उपयोग गर्नुस् भन्ने चाहेको मात्र हो । मैले यति राति र यस्तो अप्ठेरोमा गर्न सक्ने यति मात्र हो । कृपया यसलाई अन्यथा नलिई मनन् गर्नुहोस् ।’
त्यसपछि त्यो जोडी त्यही कोठामा बस्ने भए ।
अर्को दिन बिहान जोडीले होटलमा बसेको बिल तिरे । होटलबाट पाएको शिष्टाचार र सेवाबाट प्रशन्न भई ती जाडीमध्येका पुरुषले जर्जलाई आकर्षक टिप्स दिए र मुस्कुराउँदै भने, ‘योङ् म्यान ! तिमी जस्तो व्यक्ति अमेरिकाको उत्कृष्ट होटलको बोस बन्न लायक छौ । एक दिन म तिमी जस्ता योग्य व्यक्तिका लागि एउटा होटल निर्माण गर्न सकूँ ।’
ती त्यसपछि जर्जले ती जोडीको सुटकेस ट्याक्सीसम्म लैजान मद्दत गरे । ट्याक्सी नआउञ्जेलसम्म गफिए र बिदा लिए ।
यस घटनाको दुई वर्ष बितेको थियो । जर्जले ती जोडीसँगको भेट बिर्सिसकेका थिए । उनको काम गर्ने शैली र व्यवहार उत्कृष्ट थियो । विभिन्न पोस्टबाट प्रोमोसन हुँदै उनी अघि बढिरहेका थिए । उनी अझै ठुलो जिम्मेवारी चाहन्थे । उनलाई होटलको व्यवस्थापनसम्बन्धी सम्पूर्ण ज्ञान र अनुभव थियो । उनी चुनौती सामना गर्न रुचाउँथे । त्यसैले उनको नजर होटलको महाप्रबन्धक पदमा थियो ।
एक दिन उनलाई न्युयोर्कबाट चिठ्ठी आयो । चिठी तिनै व्यक्तिको थियो, जसलाई उनले दुई वर्ष अगाडि कोठा दिलाएका थिए । चिठीमा ती व्यक्ति र उनकी पत्नीलाई भेट्न आग्रह गरिएको थियो । साथमा दुईतर्फी टिकट पनि थियो ।
जर्जले जीवनमा यस्तो विनम्र निमन्त्रणा कहिल्यै पाएका थिएनन् र त्यस निमन्त्रणालाई बेवास्ता पनि गर्न सकेनन् । उनी निम्तालुलाई न्युयोर्क हान्निए । भेटका क्रममा बूढा व्यक्तिले जर्जलाई हेर्दै भने, ‘तिमी जुन ठाउँमा उभिएका छौ, यो होटल तिम्रै लागि बनाएको हुँ । तिमीले यो होटल सम्हालेको हेर्न म लालायित छु ।’
जर्जले विश्वासै गर्न सकेनन् । हाँसेरै उडाइदिए ।
ती व्यक्तिले गम्भीर हुँदै भने, ‘योङ म्यान, तिमी मेरो विश्वास गर । यो कुनै भद्दा मजाक होइन ।’
होटलको नाम वाल्डर्फ–एस्टोरिया थियो । यसका मालिकले जर्जलाई पहिलो व्यवस्थापकका रुपमा छानेका थिए ।
न्युयोर्ककै चर्चित नयाँ होटलमा आफू व्यवस्थापकका रुपमा चुनिएको पाउँदा जर्जले आफ्नो भाग्यमाथि विश्वासै गर्न सकेनन् ।
त्यस समयको सबैभन्दा आकर्षक होटल निर्माण गर्ने व्यक्ति विलियम वाल्डर्फ एस्टर थिए र त्यस होटलका प्रथम म्यानेजरका रुपमा छानिएका व्यक्ति थिए, जर्ज सी. बोल्ड ।
जर्जले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक गरेका थिए । त्यसको प्रतिफल प्राप्त गर्न उनले कुनै पारखी व्यक्तिको नजरमा पर्नुप¥यो । वर्षौंपछि जर्जको सपना साकार भए पनि आखिर राम्रो कामको प्रतिफल उत्कृष्ट नै हुन्छ । त्यसैले आज गरेको असल व्यवहारले आजै प्रतिफल नदेला तर निकट भविष्यमा अवश्य पाइन्छ । उत्कृष्ट काम गर्ने बानी बसालौँ ।

Leave A Comment