एकादेशमा ‘डेथ अफ अ साउन्ड मेन’ उत्कृष्ट

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : ०७ शुक्रवार
एकादेशमा ‘डेथ अफ अ साउन्ड मेन’ उत्कृष्ट आयोजकबाट सम्मान ग्रहण गर्दै महोत्सवका निर्णायकहरू बायाँबाट क्रमश ः पाउलो, मनिषा र मोस्तफा ।

दुई साउन्ड रेकर्डिस्टले फिल्म निर्माणको सिलसिलामा ध्वनि प्रयोगका सन्दर्भमा अनभूत गर्ने कुरालाई विषय बनाई प्रस्तुत गरेको फिल्म ५ औं संस्करणको एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ ।
थाइल्यान्डका निर्देशक सोरायोस प्रपानले निर्देशन गरेको १६ मिनेटको यो सर्ट फिल्मले मानिसको आवाज झैं फिल्ममा ध्वनिको महत्व हुन्छ भन्ने सन्देश दिन खोजेको थियो । ‘ चेन्जिङ पस्र्पेक्टिभ’ विधामा विजेता बनेको फिल्मले नगद ५० हजार रुपैयाँ हात पा¥यो ।  ।
अभिनेत्री  मनीषा कोइराला, इटलीका फिल्म समीक्षक तथा निर्माता पाओलो बेर्टोलिन र बंगलादेशी फिल्म लेखक मोस्ताफा सार्वर फारोकीको निर्णायक टोलीले आइतबार साँझ कुमारी हलमा आयोजित समारोहमा रोशनसिंह ठकुरी निर्देशित ‘सिल्भर ब्याङगल्स’ र सिरिया द्वन्द्वको पृष्ठभूमिमा बाबुछोरीको सम्बन्धको कथा पेस गर्ने ‘मरे नोस्ट्रम’लाई स्पेसल मेन्सन अवार्ड प्रदान गरेका थिए । जुरी संयोजकको रुपमा बोल्दै मनीषाले महोत्सवमा छनोट भएका सबै फिल्म  उत्कृष्ट भए पनि विचार र शिल्पको आधारमा विजेता छानेको बताइन् ।
भिन्न तीन अवधारणामा विभाजन गरी ४ दिनसम्म चलेको फिल्म महोत्सवमा  ‘फ्युचर अफ सिनेमा’ विधातर्फ बोस्निया र हर्जगोभिनाको ‘लैला’ अन्य फिल्मभन्दा उत्कृष्ट ठहरियो । वर्तमान र भविष्यको चाकाचुलीमा पिङ खेल्ने युवतीको कथा समेटिएको फिल्मलाई स्टिजिन बौउमाले निर्देशन गरेका हुन् । यो विधाको मुख्य निर्णायकको जिम्मेवारी अभिनेत्री नम्रता श्रेष्ठले निर्वाह गरेकी थिइन् । उनलाई बंगलादेशका फिल्ममेकर अबु साहेद इमोन र नेपाली फिल्म समीक्षक यज्ञशले सघाएका थिए । यस विधाको स्पेसल मेन्सन अवार्ड भने भारतको ‘आफ्टरनुन क्लाउड’ र जर्मनीको ‘सर्च’ले जिते । यो विधामा उत्कृष्ट बनेको फिल्मले २५ हजार नगद प्राप्त ग¥यो ।
आइतबार २६ फिल्मको प्रदर्शनसँगै समापन गरिएको फेस्टिभलमा अडियन्स अवार्ड विकास न्यौपाने निर्देशित ‘लछमनिया’ले पायो । सानै उमेरमा गौना गरेकी युवतीले वयस्क भएपछि भोग्ने मानसिक द्वन्द्वलाई पर्दामा प्रस्तुत गरेको फिल्मले विजेता बनेसँगै  २५ हजार नगद प्राप्त ग¥यो । तीनै विधाको नगद पुरस्कार फिल्म अध्यापन गराउने अस्कर कलेजले प्रायोजन गरेको थियो । चार दिनसम्म कुमारी हलका दुई पर्दामा चलेको महोत्सवमा ९९ वटा फिल्म प्रदर्शन गरिएका थिए । फेस्टिभलमा नेपालसहित ४३ देशले सहभागिता जनाएका थिए । फेस्टिभलमा नेपालबाट २१ वटा विभिन्न विधाको प्रतिस्पर्धामा सामेल थिए ।
अघिल्लो साल भुटानी फिल्म र फिल्म निर्मातालाई फेस्टिभलमा स्थान दिइएको यो साल बंगलादेशी फिल्म र फिल्ममेकरलाई प्राथमिकताका साथ सहभागी गराइएको थियो । बंगलादेशबाट सहभागी ११ फिल्म विभिन्न तीन खण्डमा राखेर प्रदर्शन भएका थिए ।
 

 

Leave A Comment