‘त्यही भएर अलि बढी बुद्धि चाहिन्छ’

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ०१ अच्युत काेइराला
‘त्यही भएर अलि बढी बुद्धि चाहिन्छ’

टेलिभिजनकर्मीका रुपमा काम गर्दागर्दै ‘मिसन पैसा’ फिल्मबाट रङ्गीन संसारमा छिरेकी निशा अधिकारी अभिनेत्रीको सम्भावना छँदै फिल्म निर्मात्रीका रुपमा देखापरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ गत साताबाट सिनेमा हलमा प्रदर्शन भइरहेको छ । यस फिल्मको क्रिएटिभ डाइरेक्टरसमेत रहेकी अधिकारीसँग अच्युत कोइरालाले गरेको अन्तरङ्ग कुराकानीः
फिल्मको प्रारम्भिक व्यापार कस्तो भएको छ ?
आज रिलिजको दिन ओपनिङ निकै राम्रो दर्शक प्रतिक्रिया आइरहेको छ र त्यसमा म अत्यन्तै सन्तुष्ट छु । हाम्रो मुभी एकदमै राम्रो भइरहेको छ । यस्तो होला भन्ने हामीलाई विश्वास थिएन किनभने हामीले सशक्त प्रचार प्रसार गर्न पाएका थिएनौँ । यो मुभी अब मज्जाले चल्छ किनभने आज मैले हलमा जुन प्रतिक्रिया पाएँ, त्यसबाट म विश्वस्त भएँ– दर्शक तान्ने कन्टेन्टमा हामीले न्याय नै गरेका रहेछौँ ।
फिल्मको थिमअनुसार श्रीमतीले श्रीमान बोकेको पोस्टर देखेर धेरै जना हलभित्र आइरहेको देखियो । यो आइडिया कसरी आयो ?
फोटो सुट गर्ने बेलामा अचानक यस्तो आइडिया आयो र बेनिसाले पनि सौगातलाई जुरुक्कै र सहजताका साथ उचालिन् । यो आइडियाले काम गर्यो ।
फिल्ममा बेनिसाको ‘बोल्ड’ चरित्र देखिन्छ । महिला सशक्तीकरणजस्ता कुरामा तपाईंको रुचि पनि देखिन्छ । यो फिल्म त्यसैको झल्को हो ?
खासमा भन्ने हो भने म यो फिल्ममा निर्माण या क्रिएटिभ डाइरेक्टरका रुपमा जोडिनुअघि नै स्क्रिप्ट तयार भइसकेको थियो । निर्देशक सिमोस सुनुवारले मलाई अभिनेत्रीका रुपमा अफर गर्नुभएको थियो तर मेरो सहभागिता बढ्दै जाँदा यो भूमिका बेनिसाका लागि ठीक होलाजस्तो लाग्यो । सोचेअनुसार बेनिसाले पनि गज्जबकै काम गरेकी छन् ।
अभिनेत्री र निर्माता हुँदा के फरक पाउनु भो नि ?
धेरै फरक हुन्छ । अभिनेत्री हुँदा आफ्नो मात्र भूमिका हेरे पुग्छ अनि केही कुरामा चित्त नबुझे पनि सहनुपर्छ तर निर्माता हुँदा सबै आफ्नो नियन्त्रणमा पनि हुन्छ र जिम्मेवारी पनि धेरै हुन्छ । निर्माता भनेको अभिभावकजस्तै हो  कहीँ कतै चुक्नु हुँदैन । सेटदेखि भान्सा अनि डिस्ट्रिब्युसनसम्म पनि निर्माता भएपछि हेर्नुपर्छ, जुन कुरा यसअघि मैले अभिनेत्रीका रुपमा गर्दा गर्नु पर्थेन । कलाकार हुँदा वर्षमा ३÷४ वटा फिल्म खेल्न पाइन्छ तर निर्माताले त्यो फिल्म नसकिउञ्जेलसम्म त्यसैमा लागिरहनु पर्छ । अनि त फरक भइहाल्छ नि !
अहिले फिल्म उद्योगमा अभिनेत्रीका रुपमा पुरानो हुनुअघि नै फिल्म निर्माणमा आइरहेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
फिल्म क्षेत्रमा केही वर्ष बिताएपछि निर्माताका रुपमा अभिनेत्रीहरु देखिनु सकारात्मक पक्ष हो । यस क्षेत्रमा आउँदा पढेर–बुझेर आउनु पर्छ । अनुभवी अभिनेत्रीले यस क्षेत्रका सबै पाटा हेरेका हुन्छन् । यदि यो ट्रेन्ड नै हो भने पनि राम्रो हो । हामीजस्ता अभिनेत्रीहरु निर्माताका रुपमा आउनु लगानी मात्रै गर्दैनौँ, मिहिनेतका साथ काम पनि गर्छाैं । फिल्म सफल वा असफल हुनुमा निर्माताको मिहिनेतमा पनि भर पर्छ । कलाक्षेत्रमा लामो समयमा काम गरिसकेपछि, जे कुराको अनुभवी भइन्छ, त्यसैमा उद्यम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
यो त महँगो उद्यम हैन र ?
त्यही भएर अलि बढी बुद्धि चाहिन्छ । काम गर्न सक्ने आँट पनि हुनुपर्छ । निर्माताका रुपमा नयाँ नायिकाहरु आउनुभएको छ, यो खुसीको कुरा हो । बुझेका र पढेका केकी अधिकारीजस्ता निर्माता यस क्षेत्रमा अझ बढी आउनुपर्छ ।
नेपालको पछिल्लो फिल्म मेकिङको ट्रेन्डलाई कसरी हेरिरहनु भएको छ ?
नेपालको फिल्म मेकिङ आधुनिक भइसक्यो । हामीले प्रविधिलाई  स्वीकार्नुपर्छ । जुन प्रविधि अहिले संसारमा चलिरहेको छ, त्यसलाई धान्न हामीसँग क्षमता छ । आवश्यक सबै सामग्री छन् । अन्तर्राष्ट्रिय मापदण्ड पनि पुगेको छ । कमी भनेको राम्रो स्क्रिप्ट, राम्रा मेकर र राम्रा आर्टिस्टको अझै पनि अभाव छ ।
तपाईंले ‘झ्यानाकुटी’ बनाउँदै गर्दा यस्ता कमी पूरा गर्न के गर्नुभयो ?
कलाकार लिन हामीलाई एकदमै गाह्रो भयो । तर हामीले अडिसन लिँदा नै विचार गरेर लियाँै, एकदमै मिहिनेत गर्यौँ । माथिको कुरामा कमी भएको छैन ।
नेपालका दिग्गज कलाकार अडिसन दिन कत्तिको लाज मान्छन् ?
अहिले यस्तो छैन । अडिसन दिँदा आफू अझै खारिने कुरा अब पक्का भइसक्यो । अडिसन लिँदा उहाँहरुले राम्रो मान्नुहुन्छ र यसो गर्दा अझ बढी खारिनु हुन्छ  । क्यारेक्टरलाई म्याच गर्छ कि गर्दैन भनेर हेर्ने भएकाले यो राम्रो कुरा पनि हो ।
कलाकार निर्माता भएपछि सेटमा केही फरक पर्छ ?
फरक त अवश्य नै हुँदोरहेछ । कलाकार भएपछि कलाकार होस् कि अरु, अभिभावकत्वको अनुभव हुन्छ । बढी ख्याल राखिन्छ, खायो खाएन हेरिन्छ । आफूले पहिला जे दुःख पाउँथ्यौँ, त्यो दुःख मेरा कलाकार र टिमले नपाओस् भन्ने भावना हुँदोरहेछ ।
तपाईं त सफल टेलिभिजनकर्मी हुनुहुन्थ्यो, अचानक नै फिल्ममा आउनु भयो नि ?
मलाई यस क्षेत्रमा सिमोस सुनुवारले ल्याउनु भएको हो । मलाई उहाँले कन्भिन्स गरेरै ल्याउनु भयो । त्यतिबेला खासै फिल्म चल्दैनथे, फिल्ममा क्वालिटी हुँदैनथे । ‘मिसन पैसा’को स्क्रिप्ट सुन्नेबित्तिकै एउटी केटीको भूमिका पाएँ । भिलेनहरुलाई धूलो चटाउने केटीको भूमिका पाएपछि र मैले पहिला एक्सन फिल्म मन पराउने हुनाले पनि म यसमा आकर्षित भएँ ।
सानो छँदा अभिनेत्री भइएला जस्तो त लागेको थिएन होला !
त्यै त, मैले त यता सोचेकै थिइनँ । मिडियामा काम गर्दै जाँदा चाहे त्यो सानो पर्दा होस् या ठूलो पर्दा सञ्चार र संवादको महत्व बुझ्ने अवसर पाएँ । त्यसले मलाई ठूलो पर्दातिर आकर्षित गर्यो ।
एउटा फिल्मको निर्माता भइसक्नु भयो । यहाँबाट भविष्यको दूर क्षितिज हेर्दा नेपाली फिल्मको भविष्य कस्तो देख्नुहुन्छ ?
विदेशमा नेपाली फिल्म भनेपछि मरिहत्ते गर्नुहुन्छ । त्यो विश्वासलाई हामीले कायम राख्नुपर्छ । हामीले जतिसुकै पिज्जा खाए पनि नेपालबाट मगाउँदा अचार नै मगाउँछौँ, तितौरा नै मगाउँछौँ । यो मायालाई हामीले गुणस्तरीय सामग्री दिएर सम्मान गर्नुपर्छ । जे पनि बिक्री हुन्छ भनेर निर्माताले लापरवाही गर्नु हुँदैन, झुक्याउने किसिमको हुनु हुँदैन ।
लेख्नेले पनि मिहिनेत गरेर लेख्नुपर्यो, फिल्म बनाउनेले पनि उस्तै राम्रो बनाउनु प¥यो । जतिसक्दो सिर्जनशील काम गर्नुप¥यो । गुणस्तर मेन्टेन गर्ने हिसाबले काम ग¥यो भने त्यसको फल पनि राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
यसका लागि पैसा पनि उत्तिकै खर्च हुन्छ होला नि ?
हो, अहिले त तपाईंले कुनै राम्रो फिल्म बनाउँछु भनेर सोच्नुभयो भने कम्तीमा पनि एक करोडको बजेट त राख्नै पर्छ । तर हामीले पैसालाई प्राथमिकतामा राख्नु हुँदैन । पैसा कमाउने भन्ने कुरालाई हामीले प्राथमिकतामा राख्नु हुँदैन । पैसालाई प्राथमिकतामा राख्यौँ भने बिग्रन सक्छ । सिर्जनशीलता मासिन सक्छ । योसँगै हामी फिल्ममेकर, आर्टिस्ट र टेक्निसियन पनि अपडेट हुनुपर्छ । अहिलेको जेनेरसन अमेरिका, अस्ट्रेलिया बसेको छ । उसले जे पनि खोज्छ, क्वालिटीको चिज खोज्छ । यसमा हामीले विचार गर्ने बेला आइसक्यो ।
अहिले फिल्म दुई किसिमका भनी बाँडिएको छ । सिङ्गल स्क्रिन र मल्टिस्क्रिनको फरक पनि छ । तपाईंले कसलाई ध्यानमा राखेर बनाउनु भएको हो, झ्यानाकुटी ?
यो दुवै खालका दर्शकका लागि बनाइएको हो । यो फिल्ममा हाम्रो मौलिक तत्व छ । त्यसैले यसलाई विदेशमा बस्ने नेपालीले पनि उत्तिकै रुचाउँछन्, यहाँका सहरियाले पनि मन पराउँछन् । सिंगल स्क्रिनका दर्शकले पनि आफ्नै कथा पर्दामा हेरेको महसुस गर्छन् । स्थानीय बोलीचाली, संस्कार र संस्कृति यो फिल्ममा उतारेका छौँ । गाउँठाउँमा देखिने भेटिने पात्रले संवेदनाको युनिभर्सल कथा भन्छन् । बच्चा हुर्काउन कति गाह्रो हुन्छ भन्ने कथा हरेक नेपालीलाई थाहा भएको कुरा हो, त्यसलाई हामीले रमाइलो पारामा देखाएका छौँ । यो कुरा संसारको जुनसुकै कुनामा पुगेकाले हेरे पनि रिलेट गर्छ ।
यो फिल्मपछि अर्को कुनै तयारी छ कि ?
हेर्नुस्, यो फिल्म सफल भयो भने तुरुन्तै अर्को बनाउने पक्षमा म छैन । फिल्म बन्ने कुरा एउटा प्रोसेसको कुरा हो । यो सुरुवात भयो, बन्ने र बनाउने क्रम चल्छ तर बनाउन समय लाग्छ । यो फिल्म नचलेको भए पनि मलाई भित्रैबाट छुने कथालाई जहिले पनि बनाउन सक्छु । अँ, पैसा बढी कमाएँ भने बनाउने क्रम अलि छिटो हुन सक्छ ।
फिल्म भन्नेबित्तिकै समाजलाई सन्देश दिनै पर्छ भन्ने मनोभाव तपाईंलाई कस्तो लाग्छ ?
मनोरञ्जनमा सन्देश घुसाउन सक्दा राम्रो कुरा हो तर जबरजस्ती ठुँस्ने कुराको पक्षमा भने म छैन । आफू कस्तो फिल्म हेर्न गइरहेको छु भन्ने कुरा दर्शकलाई पनि हेक्का हुनुपर्छ । कमेडी फिल्म हेर्न गएर फिल्मको गम्भीरता खोज्नु हुँदैन । फिल्मको विधाअनुसार त्यही ढाँचामा बनाइन्छन् । तर के छ भने आफूलाई चित्त नबुझेको कुरा भलाद्मी तरिकाले जसले पनि राख्न पाउनुपर्छ । फिल्ममा भएका कमीकमजोरीलाई निर्माता–निर्देशकले आउँदा प्रोजेक्टमा सुधार गर्ला नि !
तपाईं त फिल्म पढेर पनि आउनु भएको व्यक्ति, भविष्यमा फिल्म निर्देशन गर्नुभयो भने कस्ता फिल्म बनाउनु हुन्छ ?
खासमा मलाई ‘सिंहदरबार’ भन्ने टेलिभिजन शृंखला मन प¥यो । मलाई त्यस्ता कुराले छुन्छ । असमानता, समलैंगिक कुराले एउटा व्यक्तिलाई पारेको असरका कथाले छुन्छ ।

 

Leave A Comment