नारायण तिवारीका लघुकथा

शुक्रबार, ३१ असार २०७३, ०२ : ५९ शुक्रवार , Kathmandu
नारायण तिवारीका लघुकथा

सुखद मृत्यु
– मृत्यु सुखद पनि हुन सक्छ !
– कस्तो विचित्र कुरा...!
       मदनको घरकलहलाई मैले नजिकबाट महसुस गरेको हँु । उसकी स्वास्नीका फाटेका वस्त्र...! केटाकेटीको रुग्ण लालनपालन– मैले बारम्बार प्रत्यक्ष देख्दै आएको हुँ ।
       तर, अचानक सबैथोक बदलिएछ । मीठो गरी बदलिएछ भनौँ सबैथोक कि नमीठो गरी...? आजकाल केटाकेटीका आँखामा आँशु छैनन् । उसकी श्रीमतीको आङमा फाटेको वस्त्र छैन । मानौँ, खुशी छन् सबै ...! तर भित्रभित्र नमीठो पीडा त सबैलाई हुँदो हो । किनभने, मदनको अनुपस्थिति पनि छ त्यहाँ । यद्यपि, सधँैको घरझगडा पनि छैन । चकमन्नता छ । शान्ति छ ।
                     मदन हवाईजहाज दुर्घटनामा परेर मृत्युलाई वरण गर्न पुग्यो । तथापि स्वास्नी, छोराछोरीका निमित्त ‘जीवन’ छाडिदिएर ...। बीस हजार डलरको जीवन । कस्तो सुखद मृत्यु ...! बीस हजार डलर अर्थात् आजको खरिद दरले नेरु चौध लाख तेह्र हजार ...!
                     मदनको घर–परिवार, व्यवहार, अवस्था आदिप्रति म अलि बढी नै आकर्षित भएछु । सायद यस कारणले पनि कि मेरी पनि श्रीमतीका आङ फाटेका छन् । मेरा पनि केटाकेटीका आँखामा विपन्नताका आँशु छन् ।
         मानिसहरू हवाइजहाज चढ्दा डराउँछन् । तर, यस बेला म हवाईजहाजभित्र छु र मलाई कुनै डर छैन । म कामना गरिरहेको छु – प्लेन दुर्घटनाग्रस्त भइहालोस् । तथापि, म भित्रभित्रै भने भक्कानो फुटिरहेकै छ – सधँै यो छैन, त्यो छैन भन्ने छुच्ची श्रीमतीको टीठलाग्दो अनुहार सम्झेर ! मृत्युवरण गरियो नै भने मायालाग्दा छोराछोरीले बाबालाई नपाउँदा कति बेरसम्म हिक्का छाडेर रोइरहने हुन्– म कल्पीकल्पी सोचिरहेको छु ...!
      जे होस्, मृत्यु सुखद हुनेछ, डलर हुनेछ र फाटेको वर्तमान हुनेछैन । छोराछोरीको भविष्य हुनेछ; प्रिय ! तिम्रो आँखामा आँशु हुनेछैन ...मसितको सधैँको झगडा पनि हुनेछैन ...!
      मेरा आँखामा रहँदै–बस्दै, आँशु भरिँदै खस्दै छन् र प्लेन उडिरहेको छ– माथिमाथि धेरै माथि ...!
 
जिन्दगी

 
‘‘यसपल्ट अनिकाल पर्लाजस्तो छ ।’’ लोग्ने उदास भएर आकाशतिर हेर्दै बोल्छ ।
 ’’के भो त, यसपाली घर चुहेर भिज्नु नपरेकोमा म त खुशी नै छु ।’’ स्वास्नी विपरीत कुरा बोल्छे, घरको छानातिर नियाल्दै ।
 लोग्ने आश्चर्यचकित भएर स्वास्नीको आँखामा केही पढ्न खोज्छ । आँखा बोल्छन्– ‘के तँलाई थाहा छैन, पानी नपरे अलिकति भाको जमिनमा पनि धान रोपिने छैन । लालाबालाले खान पाउने छैनन् ।’
 स्वास्नीले लोग्नेको आँखाको भाव पढ्छे र आँखैले प्रत्युत्तर फर्काउँछे– ‘तिमीलाई थाहा छैन नि, पानीमा भिजेर गुजारा चलाउन सकिँदैन ! एक रात बिताउन कति कठिन पर्छ ? तिमीलाई थाहा छैन, पूरा वर्षा बिताउन सकिँदैन !’
भिखारी
       मलाई इच्छा नहुँदानहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण गरिदिने हुन् र सुख, सम्पत्ति, यश, समृद्धि र परिवारको हाँसो सबै तथास्तु प्रभुले नै गरिदिने हुन् भन्ने कुरामा ऊ ढुक्क थिई ।
       ‘भगवानले केही गर्दैनन्, जम्मै गर्ने हाम्ले नै हो’ भनेर जति तर्क, प्रमाण पेश गरे पनि ऊ एउटा कानले सुन्थी, अर्को कानले उडाउँथी । र, उल्टै ‘मेरो बूढो अबुझ छ भगवान, यिनलाई माफ गर’ भन्दै जबर्जस्ती भगवानका मूर्तिमा ढोग्न लगाउँथी । म हारेर उसको मन राख्न ढोगिदिन्थेँ– यदाकदा मन्दिर गइदिन्थेँ । ऊ मलाई मूर्ख ठान्दथी र म उसलाई मूर्ख ठान्दथेँ । ‘मूर्खदेखि दैव डरे’ सोच्दै मैले मन्दिर हातामा प्रवेश गरेँ । उसले मेरो हात छोडेकी थिइन । मानौँ, हात छोडिदिए म फुत्किएर कुलेलम ठोक्नेछु ।
       मन्दिर हातामा लहरै माग्नेहरू बसेका थिए । मलाई यी माग्नेहरूको याचनाले द्रवित बनायो र खल्तीबाट केही पैसा झोरझार गरी उनीहरूलाई चढाइदिएँ ।
       श्रीमतीले झन् मलाई घिसारूँला जत्तिकै गरी, मानौँ उसलाई लागिरहेको थियो– माग्नेहरूतिर धेरै हेमखेम गर्ने मौका यी बूढालाई प्रदान गरे, यिनले आफूसँग भएको सबै माग्नेलाई दिनेछन् । पैसा सिद्धिएपछि लगाएको सुइटर नै पनि खोलेर दिनेछन् ।
       ‘‘ए पख न ! विचरा...!’’ म भन्दै थिएँ ।
       ‘‘को विचरा ? हामी पनि विचरा ! भरे तरकारी छैन, त्यो भएको खुद्रा पैसाले त तरकारीको भरेको छाक टर्छ ! हिँड्नुस् छिटो...।’’ मेरी श्रीमतीले मलाई घिस्याउँदै लगिछोडी...।
       मन्दिर भित्र पुगेर देवीका मूर्तिमा ‘माथा’ टेक्न लगाई । मैले जसो–जसो भन्छे, उसै–उसै गरिदिंदै गएँ ।
       उसलाई धेरै रिस उठाउनु पनि ठीक थिएन । किनभने, खान दिने अन्नपूर्णादेवी उही थिई । अभावको तत्काल प्रभाव उसैमा पर्ने गरे पनि ऊ विचलित हुने गर्दैन थिई । यस अर्थमा म उसको प्रशंसक पनि थिएँ । यो धर्म, भगवान केही नमाने पनि उसको चित्त नदुखाउन पनि म उसले भनेका कुरा प्रायः मानिदिने गर्दथेँ ।
       मन्दिरबाट फर्किंदै गर्दा तिनै माग्नेहरूका झुण्डमा मेरा कदम फेरि मत्थर हुन थाले । श्रीमतीले मलाई नछाडी फेरि घिसारी । अचानक मेरा ओठ मुस्कुराए । श्रीमतीले घुरेर हेरी र सोधी – ‘‘किन पागलझैँ हाँस्नुभएको ?’’
       ‘‘भनुँ किन हाँसेको ? तिमी ऊ त्यही माग्ने भिखारी जस्तै माग्ने भएकीले हाँसेको...।’’ ऊ बोलिन, ट्वाल्ल परिरही । मैले नै फेरि थपेँ – ‘‘ती माग्नेहरू मान्छेसित माग्दछन् र तिमी ढुंगासित माग्दछ्यौ...! दुवै भिखारी, हा..हा..हा...!’’ साँच्चै म पागललेझैँ जोडजोडले ठहाका लगाएर हाँसेँ ।
       ‘‘कमसे कम, यी भिखारीले त मानिसबाट केही पाउँछन्, तिमीले ती मूर्तिहरूबाट के पाउँछ्यौ हँ ..? के पाउँछ्यौ...?’’ यसपल्ट मेरो स्वर गम्भीर भएको थियो र काँपिरहेको थियो । अनायासै श्रीमतीको हातबाट मेरो हात छुटेको थियो । उसको अनुहार पनि एकतमासको भएको थियो । मानौँ, त्यहाँ कालो मैलो भएर मेघ उठेको छ र अब केही बेरमै घनघोर वर्षा हुनेछ...!
 
 बाघ आतंक
त्यो गाउँमा एक किसिमले आतंक नै छाएको थियो । गाउँका मानिसहरूलाई बाघले खुबै दुःख दिइरहेको थियो ।
‘साह्रै भयो अब त सहन ।’
 ‘कति अभावमा बाँचिरहनु !’
 ‘जति कमायो खाने चाहिँ त्यही बाघ ।’
 ‘जति खेत जोते पनि सुकुम्बासी !’
 गाउँलेहरू एकआपसमा यसरी नै खासखुस गरिरहन्थे ।
 गाउँका ससाना झुपडीहरूबीचमा एउटा भव्य महल नै थियो । बाघ त्यसैमा बस्थ्यो । र, यो बाघले मानिसको रगत होइन, पसिना खान्थ्यो....।
 
 
दसैँ
       “आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैँ आयो रे !”
       सुन्तलीले नसुनेझैँ गरी । आफ्नै घरभित्रको युद्धमा संलग्न भएको आफ्नो लोग्नेलाई सम्झिँदै अनुहार मलिन पारी ।
       उसको सानोे छोरो फेरि बोल्यो– “आमा–आमा ! रेडियोले भनेको दसैँ आयो रे ।”
       उसले मुख अर्काेपट्टि फर्काई र छोराले नदेख्ने गरी आँशु झारी ।
       छोराले फेरि आमालाई कोट्यायो । आफ्नो दुई हत्केलाले आमाकोे अनुहार आफूतिर पा¥यो । उसले आमाको आँखामा आँशु देख्यो र प्रसंग बदल्दै फेरि बोल्यो– “आमा ! हाम्रो बा कहिले आउनुहुन्छ ?”
       सुन्तलीले आफूलाई सम्हाल्न सकिन र छोरालाई अँगालो हालेर रोई ।
       छोरो बोल्दै थियो– “आमा ! हामीलाई हाम्रा बा आए हुन्छ, बरु दसैँ नआए पनि हुन्छ ! है आमा...!”
 
आफ्नो भाग
 
भर्खर ११ कक्षामा पढ्दै गरेको छोराले भनेको कुरा घरीघरी सम्झिन्छु । उसको कुराबाट खुशी भएकी छु भनुँ कि दुःखी ? तर, उसको कुराले कताकता हृदयमा छोएको छ मलाई । ओठमा भने उसको कुराले मुस्कान उमारिदिएको छ ।
कुरा के थियो भने म उसलाई खाना ख्वाउन बसेकी थिएँ । आज मासु ल्याएकी थिएँ । उही त हो हामी औसत नेपालीको भाग्य– अभाव, विपन्नता, दरिद्रता...!  त्यो मेरो भागमा पनि परेकै थियो ।
उसले, ‘मासु छ अरू मम्मी ?’ भन्यो । मैले मिलिक्क सम्झिएँ– आफ्नो लागि बाँकी रहेको अलिकति मासु ! तर, छिनभरमै आफैँलाई बिर्सिएँ र उसलाई बाँकी मासु थपी दिएँ ।
“अनि तपार्इंलाई छ नि...?”
“छ, छ, तँ पीर नगरी खा न...!” म झुटो बोलिरहेकी थिएँ ।
उसले मासुभात खाइसकेपछि के सोचेर हो मासु पकाएको भाँडा हे¥यो र भन्यो, “हेर, मम्मीले आफूलाई नराखी सबै मलाई दिनुभएछ...!”
यसो भन्दा ऊ गम्भीर नै देखिएको थियो । त्यसपछि के सोचेर हो ऊ खुल्ला हृदयले हाँस्यो र भन्यो– “के मैले पनि पछि तपाईंले जस्तै गरी आफू नखाई, नखाई आफ्नो छोराछोरीलाई ख्वाउन सकुँला...?”
म छाँगाबाट खसेकी थिएँ उसको कुरा सुनेर । कहाँ, मैले त सोचिरहेकी थिएँ उसले यसो भन्नेछ– ‘के मैले पनि पछि आफू खाइनखाई तपाईंलाई ख्वाउन सकँुला....?’
बाको फोटो
–‘बाको गन्जी फाटेको देख्छु, किनिदिनु पर्ने ?’
–“अनि छोरीको लागि दूध...।”
–‘बाको धोती पनि लाउनेै नहुने भएर फाटेको छ, किनिदिन पाए...?’
–“अनि छोराछोरीको स्कुलको फिस नि...!”
–‘बा विरामी भएर साहै्र गलिसक्नुभयो, उपचार गराइदिनु पर्ने ...?’
    –“अनि छोरालाई पनि त ‘सिटी स्क्यान’ गर्न कि सिलिगुडी, कि काठमाडौँ लैजानु पर्ने कुरा बिर्सिनुभयो !”
    म श्रीमतीसित सधैँ परास्त हुन्छु ।
    यस्तैमा बा बित्नुहुन्छ । म धेरै कल्पिन्छु– “बा ! मैले तपाईंका निमित्त केही गर्न सकिन । धिक्कार छ मेरो जन्मलाई । म पापी हुँ ।” यसरी बाको फोटोलाई सिरानीमा राखेर आँशु चुहाउन थालेँ...।
       एकदिन श्रीमतीलाई भनेँ– “बाको फोटो अलिक ठूलो पारेर भित्तामा टाङ्न पाए...!”
       उसले पनि उदास हुँदै भनी– “टाङ्नु न त ।”
       “तर पैसा, तीनचार सय जति लाग्छ ।”
       उसले गम्भीर हँुदै भनी– “जति लागे पनि गर्नुपर्छ नि, पटक–पटक गर्ने कुरा होइन...।”
       मलाई चसक्क बिभ्mछ ।
       हो ! मेरा बालाई पटक–पटक अब मैले केही गरिदिन असमर्थ बन्नु परेन, केवल एकपल्ट फोटो टाङ्न समर्थ भएर सधैँ फोटोलाई खाली–खाली दण्डवत् गरे पुग्नेभयो ।
       म कल्पिन्छु, रुन्छु – “त्यसबेला पनि बा जिउँदो फोटो नै त हुनुहुन्थ्यो ...!”

सट्टामा
‘आओ–आओ लेओ फूल र प्रसाद...।’ सबै खुरुरुरु दौडँदै आउँछन् । उसले पालैपालो आफ्ना सबै छोराछोरीलाई पूmल शिरमा लगाइदिन्छ र हातमा ससाना सेता गुलिया मिठाई राखिदिन्छ ।
उसकी स्वास्नी भर्खर दुई घरको धन्दा सकेर आफ्नो घरमा भात पकाउने मेलो गर्न लागेकी हुन्छे । भित्रैबाट फतफताउँछे, ‘केही काम भा’ पो ! खालि मन्दिर भन्या’ छ कुद्या’ छ....।’
 केटाकेटी ‘पर्सादी’ खाएर फेरि धूलो माटोमा खेल्न थाल्छन् ।
 ऊ बोल्दैन । उसले बोल्ने ठाउँ राखेको पनि छैन । बिहानै उठेर मन्दिर हिँडेपछि नौ, साढे नौतिर घर आउँछ । त्यसपछि दिनभरि सुत्छ । साँझमा पनि सत्संग भन्या’ छ, हिँड्या’ छ ।
 
स्वास्नी फतफत गरिरहन्छे, ‘छोराछोरीको भविष्य कहिल्यै सोच्या’ छ ?’
 छोराछोरीका कान ठाडा हुन्छन् । ती सबैका आँखामा एउटा चमक देखिन्छ ।
 आमाले कोट्याएको भविष्यको प्रसंगसितै टीठलाग्दो पाराले बाबुका आँखामा हेरिरहन्छन्, मानौँ याचना गरिरहेका हुन्– बा ! हाम्रा लागि पर्सादीको सट्टामा पाटी–खरी ल्याइदिए हुन्न ?
 
श्रद्धाको सुगन्ध
       रामप्रसाद ‘बाजे’ भएर पनि सुकिला थिएनन् ।
—     छ्या पण्डित बाजे भएर पनि क्या फोहोरी...!
—  पण्डितजी जस्तो मान्छे त सुकिलो पो हुनुपर्दछ ।
उनी जब–जब मकहाँ आउँथे, मभित्र उनीप्रति यस्तै भाव उत्पन्न हुन्थ्यो । तर, पनि  म उनीसितै जजमानी गराउँथेँ । मेरो बाध्यता के थियो भने म सस्तो पण्डित चाहन्थेँ र उनी सस्तो उपलब्ध हुने पण्डित थिए ।
      म शहरमा थिएँ र यी रामप्रसाद पण्डित गाउँदेखि धाएर मकहाँ उपलब्ध हुने गर्थे ।
       एकदिन म अनायासै उनको गाउँ पुग्दा उनलाई हलो जोतिरहेको देखेँ । असिन–पसिन, मकहाँ आउने बेलाका पण्डितभन्दा झन् फोहोरी...! झल्याँस्स कालिस्थानका पण्डितको चित्र आँखामा उत्रियो– क्या सुकिला धोती, कमिजको पहिरनमा ...! उनी भक्तजनहरूबाट चढाइएका असंख्य नोट सिक्काहरू मन्द–मन्द मुस्कानका साथ टिपिरहेका ...! र यी पण्डित असिनपसिन हँुदै, चिन्तित धान फल्ने हो कि नफल्ने हो – हलो जोतिरहेका ....!
       अचानक मेरो भावमा परिवर्तन आएको मैले चालै पाइनछु । यी रामप्रसाद पण्डितको फोहरी पसिनाको गन्ध त मलाई श्रद्धाको सुगन्ध पो हुन पुगेको आभास भएछ...।
       ‘‘रामप्रसाद जी ! रामप्रसाद जी !!’’ म चिच्याएँ । उनले अकमकिएर मतिर हेरे ।
       ‘‘पसिना रोप्दै हुनुहुँदो रहेछ, सुन फलाउनुहोला !’’
       अचानक मलाई त्यहाँ देख्दा उनी अकमकिए हुन् । त्यसमाथि म उनीसित असहज भइरहने मान्छे प्रफुल्ल मुद्रामा बोलिरहेको देख्दा झनै अकमकिए हुन् ।
       ‘‘तपाईंको फोहर मन पर्छ है मलाई, तपाईंको पसिना पनि मन पर्छ !’’ यति भन्दै मैले साइकल अघि बढाएँ । उनी हलो जोत्न छोडेर अझ ट्वाल्ल पर्दै टाढासम्म मैलाई हेर्दै थिए ...!
 
सधैँ अगाडि
 
उसले दुईजना युवाले एकापसमा कुरा गर्दै गरेको सुनिहाल्यो ।
 
पहिलोः स्साला ! ‘कुर्सी’मा ढसमस्स बसुञ्जेल मात्रै हो यसको तुजुक ! कुन प्रतिभाशाली हो र ?
दोस्रोः भुत्रो प्रतिभाशाली हुन्थ्यो ! हामीलाई थाहा छैन र कुन पार्टीको भ¥याङ चढेर त्यहाँ पुग्या हो ?
पहिलोः ‘जेनुइन’ लेखक पनि बन्नु र ? प्रतिभाशाली लेखकलाई कसैले महŒव नै दिँदैनन् !’
 दोस्रोः रचनामा शक्ति भएका लेखकहरू ओझेलमा छन् र रचनामा होइन राजनीतिक संलग्नतामा शक्ति हुनेहरू सधैँ अगाडि ! जस्तो कि त्यो स्साला सधैँ अगाडि छ ।’
 उसले पछाडि फर्किएर हे¥यो । उसले फर्केर हेरेको देखेर ती दुईजना चुप लागे । उसलाई लागेको थियो ती दुई भाइले जायज कुरा गरेका छन् । र, अब उसलाई देखेर सम्मानजनक व्यवहार गर्नेछन् । किनभने, ऊ उनीहरूले भनेजस्तै, खोजेजस्तै, चाहेजस्तै शक्तिशाली लेखक थियो, राजनीतिमा शक्तिशाली संलग्नता भएको लेखक होइन ।
 ऊ उनीहरूसित आँखा जुध्दा किञ्चित मुस्कुरायो तर ती दुई भाइका अनुहार खुलेनन् । ती दुई भाइले उसलाई चिनेको जस्तो व्यवहार पनि गरेनन्, सम्मानजनक व्यवहारको कुरा के कुरा...!
 कार्यक्रम सकिएपछि ती दुई भाइ हतार–हतार उठे र मञ्चतर्फ अगाडि बढे जहाँ उनीहरूले भर्खरै ‘साइडटक’ गर्दा प्रस्तुत गरिएका ‘स्साला लेखक’ थिए ।
 
ऊ देखिरहेछ – उनीहरूले धनुषटंकार मुद्रामा ती स्साला लेखकलाई दण्डवत गरे । ‘स्साला लेखक’ भनेर केही क्षणअघि मात्र पदवी प्राप्त गरेको त्यो मञ्चमा ढसमस्स बसेको लेखक गजक्क परेर मुस्कान फालिरहेको थियो...!

 

Leave A Comment