‘अन्तरमनबाट मात्रै लेख्छु’

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ५० शुक्रवार
‘अन्तरमनबाट मात्रै लेख्छु’

लेखिका रामेश्वरी पन्त
१. अहिले पढ्दै गरेको पुस्तक ?
केही दिनअघि हरिमाया भेटवालको उपन्यास ‘कल्ली’ पढेँ । यो उपन्यास पढ्दा साहै्र आनन्द  लाग्यो । यस उपन्यासमा सामाजिक वातावरण झल्किएको छ । यस उपन्यासमा समाजमा महिलामाथि हुने सबैखालका हिंसा समेटिएका छन् । यस उपन्यासमा महिलामाथि समाज र पुरुषको सोच कस्तो हुँदोरहेछ भन्ने छर्लङ्ग पारिएको छ । अहिले म भगवद्गीता पढ्दै छु । फुर्सदको समयमा यो पुस्तक पल्टाउने गर्छु ।
२ .जीवन परिवर्तन गरिदिएको पुस्तक ?
त्यस्तो जीवनै परिवर्तन गर्ने पुस्तक त भेटेकी छैन, तर जब मैले करिब १५ वर्षअघि सिमोन द बौवारको  ‘द सेकेण्ड सेक्स’ पढेँ त्यसपछि  मेरो सोचमा परिवर्तन आयो । यस्तै मेरो सोचमा परिवर्तन ल्याइदिएको अर्काे पुस्तक हो मेरी उलस्टोन क्राफ्टको ‘भिन्डिकेसन अफ द राइट्स अफ वमुन’ पनि हो ।
३.काश, त्यो पुस्तक मैले लेखेको भए ?
जुन कुनै पनि पुस्तक पढिसकेपछि त्यसको भित्री मर्म (गुदी) नै नभेटिँदा काश यो पुस्तक मैले लेखेको भए ? भन्ने लाग्छ । यस्ता किताब पनि छन् तर नाम नदिउँ ।
४.मेरो लेखनीमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक वा लेखक ?
मैले कुनै खास लेखक वा पुस्तकबाट प्रभावित भएर लेखेजस्तो लाग्दैन । म जे लेख्छु अन्तरमनबाट मात्रै लेख्छु ।
५.सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक ?
हरेकले पढ्नैपर्ने पुस्तक गिता हो तर कमैले चासो दिन्छन् यसलाई ।
६.पछिल्लो एउटा पुस्तक जसले मलाई रुवायो ?
पछिल्लोपटक त कल्लीले नै रुवायो । यसमा केही यस्ता दुःखद घटना छन् ती पढ्दा गला नै अवरुद्ध भएर आउँछ ।
७.पछिल्लो एउटा पुस्तक जसले मलाई मज्जैले हँसायो ?
त्यस्तो मज्जैले हँसाउने किताबहरू पढिए होला धेरै नै ।
८.पछिल्लो एउटा पुस्तक जुन पढेर मैले कपाल भुत्ल्याएँ ?
कपालै भुत्ल्याउने खालको किताब त पछिल्लो समय पढेकी छैन ।    
९. ती पुस्तक जो मैले कहिल्यै अन्त्यसम्म पढ्न सकिनँ ?
किताब पढ्न सुरु गरेपछि अन्त्यसम्मै पढ्ने बानी छ मेरो चाहे बेस्वादकै किन नहोस् । पुरै नपढी स्वाद कसरी थाहा पाउने ?
१०.पढ्न नपाएर लज्जित तुल्याएको त्यो पुस्तक ?
कुनै पुस्तक पढ्न नपाएर लज्जित बन्नुपरेको सम्झना भने छैन ।
११.मैले प्रायः उपहारमा दिइरहने पुस्तक ?
कसैलाई पुस्तक उपहार दिनुपर्यो भने जीवनोपयोगी पुस्तक दिने गर्छु जसबाट उसले केही कुरा सिकोस् ।
प्रस्तुति : प्रजु पन्त

Leave A Comment