कपालका लागि प्याजको रस

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : १३ शुक्रवार
कपालका लागि प्याजको रस

प्याज सजिलै पाइने खाद्य वस्तुमा पर्छ । धेरैजसो मानिस प्याज काट्दा आँसु आउने भएकाले यसलाई मन पराउँदैनन् तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ । प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ । सल्फरले कपाललाई दह्रो र लामो बनाउन मद्दत गर्छ । त्यसकारण धेरै जसो मानिसहरू कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्छन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिन्छ । यस किसिमको घरेलु उपायले कपाल चम्किलो र बलियो बनाउन सकिन्छ । तपाईं पनि आफ्नो कपाललाई स्वस्थ, चम्किलो र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसले बनाएको हेयर प्याक प्रयोग गर्न सक्नुहुन्छ ।
–    प्याजको रस निकालेर त्यसलाई आफ्नो कपालभित्रैसम्म पु¥याई टाउकोको छालामा पुग्ने गरी लगाएर २०–३० मिनेटसम्म यत्तिकै छाड्नुहोस् । यसपछि कपाल सफा गर्दा कपाल बलियो बन्छ । प्याज लगाएर कपाल सफा गर्नु हुँदा स्याम्पुले राम्रोसँग कपाल सफा गर्नुहोस् ।
–    कपाललाई प्राकृतिक रुपमा चम्किलो बनाउने अर्को उपाय बियर पनि हो । कतिपयले बियर खान्छन् तर त्यही बियर हामीले कपालमा लगाउँदा यसले कपाललाई प्राकृतिक रूपमा चम्किलो बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउँदा कपाल चाँडै बढ्नुका साथै चम्किलो पनि हुन्छ । कपाल बढाउने यस उपायलाई एक हप्तामा दुई पटक प्रयोग गर्न सकिन्छ ।
–    तेलमा प्याजको रस मिसाएर लगाउँदा पनि कपाल राम्रोसँग बढ्ने गर्छ । यसले कपाललाई पर्याप्त पोषण दिन्छ । प्याजको रसमा तेल मिसाई टाउकोमा मसाज गर्नुपर्छ । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउनु पर्छ । त्यस रुमाललाई मज्जाले निचोरेर कपाललाई बेर्नुपर्छ । यसले कपाललाई बलियो र चम्किलो बनाउने गर्छ ।

–    कपालको सुरक्षाका लागि कपालमा मह र प्याजको प्याक लगाउन सकिन्छ । यो प्याक बनाउनका लागि प्याजको पेस्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनु पर्छ । यो पेस्टलाई कपाल कम भएको ठाउँमा लगाउनुपर्छ ।
–    कागती र प्याजको रस प्रयोग गर्दा पनि कपाल बढ्न सघाउ पुग्छ । कागतीको रसले टाउकाको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गर्छ ।
–    लामो कपालको चाहना राख्नेहरूका लागि प्याज र अण्डाले बनेको हेयर प्याक पनि उत्तम उपाय हुन सक्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुपर्छ । त्यसपछि यस प्याकलाई २० देखि ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पु लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

Leave A Comment