पूर्व मुख्य सचिव एवं कवि विमल कोइराला एक कुशल प्रशासक हुन् । त्यसका अतिरिक्त साहित्य क्षेत्रमा पनि उनले कलम चलाएका छन् । उनका ‘मौन शिविरबाट’, ‘निजामती सेवामा विमल कोइरालाका २७ वर्ष’ जस्ता कविता र अनुभूति गरी पाँच पुस्तक प्रकाशित छन् । विविध विधामा उनका लेख तथा अन्य रचना विभिन्न पत्रपत्रिकामा प्रकाशन हुने छन् ।
अहिले पढ्दै गरेको पुस्तक ?
म अलि फरक ढंगले पढ्छु । एकै पटकमा धेरै पुस्तक पढ्छु । विश्वसनीय होस् भनेर सम्भव भएसम्म त्यस पुस्तकसँग सम्बन्धित वा त्यसमा उल्लेखित सन्दर्भ सामग्रीलाई पनि सँगसँगै पढिरहेको हुन्छु । मेरो पठन, विकास र शासन व्यवस्थासँग बढी जोडिएको हुन्छ । म हिजोआज प्रभातकुमारको ‘रिइन्भेन्टिङ इन्डियन डेमोक्रेसी’ र जेफ्री सोचको ‘द एज अफ सस्टेनेबल डेभलपमेन्ट’ पढ्दैछु ।
जीवन परिवर्तन गरिदिएको पुस्तक ?
मलाई धेरै पुस्तकले प्रभाव पारेको छ । जोसेफ स्टिगलिजको ‘लिब्रलाइजेसन एन्ड इट्स डिसकन्टेन्ट,’ जगदीश भगवतीका पुस्तक र कौशिक बसुका निबन्धहरुले मलाई धेरै प्रभाव पारेका छन् ।
काश, त्यो पुस्तक मैले लेखेको भए भन्ने कुनै पुस्तक छन् ?
मैले लेखेको भए भन्ने पुस्तक चाहिँ जोसेफ स्टिगलिजको ‘लिब्रलाइजेसन एन्ड इट्स डिसकनटेन्ट’ भन्ने पुस्तक नै हो । त्यो पुस्तक मैले लेख्न पाएको भए हुन्थ्यो जस्तो आजसम्म लागिरहन्छ ।
लेखनीमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक वा लेखक ?
मेरो लेखनी तथा चिन्तनमा ‘जेफ्री स्याच’ नै बढी आउने गर्छन् । शासन व्यवस्था, गरिबी, असमानताबारे आफूले लेख्दा पनि उनको प्रभाव आफूमा परेको थाहा पाउँछु ।
सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक ?
यस्ता पुस्तक थुप्रै छन् ।
पछिल्लो पुस्तक जसले तपाईंलाई रुवायो ?
भावनामा आधारित पुस्तकहरूले अलि बढी रुवाउँछन् । जस्तै नयनराज पाण्डेको लू, उलार, सल्लीपिर आदि पुस्तकले धेरै दिनसम्म मलाई नर्भस बनाउँछन् ।
एउटा यस्तो पुस्तक जुन पढेर म दिक्क छु ?
इ. एफ् स्कुमेकर मलाई मन पर्ने लेखकमा पर्थे । उनको ‘स्मल इज ब्युटिफुल’ किताब राम्रो थियो तर जब मैले उनको ‘अ गाइड अफ परप्लेक्सड’ भन्ने पुस्तक पढेँ, मलाई दिक्क लाग्यो । त्यो मैले पढ्नै सकिनँ ।
पछिल्लो एउटा पुस्तक जसले तपाईंलाई मज्जैले हँसायो ?
पछिल्लो भन्दा पनि अलि अगाडिकै भैेरव अर्यालको ‘जय भुँडी’ले मज्जैले हँसायो अनि केशवराज पिँडालीका सबै कृतिले मलाई हसाउँछन् ।
ती पुस्तक जो मैले कहिल्यै सुरुदेखि अन्त्यसम्म पढ्न सकिनँ ?
सबै पुस्तक अन्त्यसम्मै पढ्छु ।
पढ्न नपाएर लज्जित तुल्याएको त्यो पुस्तक ?
म बिपी कोइरालाको प्रशंसक हुँ । उनका कृति प्रायः सबै पढेको छु तर ‘हिटलर यहुदी’ पढ्न पाएको छैन । जसले गर्दा साथीभाइसँगको कुराकानीमा आफूले त्यो पुस्तक पढेको छैन भन्नु पर्दा निकै लज्जित हुन्छु ।
मैले प्रायः उपहारमा दिइरहने पुस्तक ?
आइज्याक इसिमोभका कथाहरू, थोरोको ‘वाल्डेन’ र भूपि शेरचनको ‘घुम्ने मेच माथि अन्धो मान्छे’ ।
पुस्तक किन पढ्ने ?
वैचारिक परिपक्वतासँगै जीवन प्रतिको सजगताका लागि पुस्तक पढ्न आवश्यक छ । नयाँ ज्ञान निर्माणका लागि पनि पुस्तक पढ्न अपिरहार्य छ ।
कस्ता पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
यही र यस्तै पुस्तक पढ्ने भन्दा पनि आफ्नो इच्छाअनुरूपको पुस्तक पढ्न म सल्लाह दिन्छु ।
पूर्व निजामती कर्मचारीको नाताले कर्मचारीले यस्ता पुस्तक किन पढ्नुपर्छ भनिदिनोस् न ?
निजामती कर्मचारीले त झन् पढ्नै पर्छ । यो त स्थायी सरकार हो । यसमा आबद्ध कर्मचारी खारिनका लागि पनि पढ्नै पर्छ ।
कस्ता पुस्तक लेखिनुपर्छ जस्तो लाग्छ ?
हाम्रोमा अब लेखिनुपर्ने पुस्तक भनेको शासन व्यवस्थासँग सम्बन्धित र गरिबी मुलुकबाट कसरी मुक्ति पाउने भन्ने सम्बन्धी खोजमूलक पुस्तक लेखिनुपर्छ ।
Leave A Comment