‘बिहेका लागि त टन्न समय छ’

मङ्गलबार, ०४ पुष २०७४, १० : ३१ सामीप्यराज तिमल्सेना
‘बिहेका लागि त टन्न समय छ’

फिल्म ‘रुद्र’बाट डेब्यु गरेकी अभिनेत्री सारा सिर्पालीको दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ माघ ४ बाट प्रदर्शनमा आउँदैछ । ‘रुद्र’ले बक्स अफिसमा अपेक्षित व्यापार नगरे पनि दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’बाट सारा निकै आशावादी छिन् । चार्टर्ड अकाउन्टको विद्यार्थी सारा फिल्म र अकाउन्टेन्सीलाई समानान्तर रुपमा अगाडि लैजाने सोचमा छिन् । शुक्रबारका लागि सारासँग सामीप्यराज तिमल्सेनाले गरेको अन्तरंग कुराकानी :
चार्टर्ड अकाउन्ट पढेको मान्छे, फिल्ममा आउने निर्णय गर्न गाह्रो भएन ?
गाह्रै भएको थियो । तर, मसँग उपलब्ध विकल्पमध्ये यो अलि रोमाञ्चक लाग्यो त्यही भएर फिल्ममा आउने आउने निर्णय गरेकी हुँ ।
भविष्य र करिअरका हिसाबले त चार्टर्ड अकाउन्ट सुरक्षित पेसा हैन र ?
पक्कै पनि तर मैले चार्टर्ड अकाउन्ट चटक्क छाडेकी छैन । मैले बेलायतको एक युनिभर्सिटीबाट ५ वर्ष चार्टर्ड अकाउन्ट पढेकी हुँ । सैद्धान्तिक पढाइ सके पनि सर्टिफाइड हुनका लागि हामीले थप तीन वर्ष काम गरेको अनुभव चाहिन्छ । म नेपाल त्यही अनुभवका लागि आएकी हुँ ।
अनि, फिल्मममा काम गरेको अनुभव त्यता काम लाग्छ त ?
(लामो हाँसो) नाइँ त्यो त लाग्दैन । नेपाल फर्किएको केही समयमै फिल्म खेल्ने अफर आयो । लन्डनमा हुँदा नै चार वटा जति म्युजिक भिडियोमा अभिनय गरेकी थिएँ । हल्काहल्का अभिनयको नशा लागेको थियो । एक वर्ष चैं फिल्मलाई दिन्छु भन्ने लागेर फिल्म खेल्न थालेकी हुँ । समय मिलाएर चार्टर्ड अकाउन्टसम्बन्धी अफिसमा पनि काम गर्छु ।
भनेपछि फिल्म खेल्ने रहर चैं पहिलादेखि नै थियो ?
त्यस्तो पनि थिएन हो दाइ ! म लन्डन जानुअघि सन् २००८ मा भएको मिस टिन प्रतियोगितामा फस्ट रनर अप भएकी थिएँ । त्यतिबेलै एउटा चिजबल्स र एनडिजको पिज्जाको एडमा काम गरेकी थिएँ । चाख थियो तर हिरोइन नै बन्छु भन्ने चैं लागेको थिएन ।
कसरी बन्नु भयो त हिरोइन ?
म नेपाल फर्किएर अकाउन्ट असिस्टेन्टको रुपमा काम गर्न थालिसकेकी थिएँ । मेरी माइजूलाई मेरो रुचि थाहा थियो । ‘रुद्र’ बनाउने भएपछि सबैजना हिरोइन खोजिरहनु भएको रहेछ । गोपाल दाइ (गोपालकाजी कायस्थ) र मेरो माइजूको चिनजान थियो । गोपाल दाइले प्रसंगवश कुरा गर्दा माइजुले मेरो नाम सिफारिस गर्नु भएछ । त्यसपछि भेट्ने कुरा भयो । भेटमा फिल्मका निर्देशक रामजी लामिछानेले मैले मोडलिङ गरेको गीत हेरेर हुन्छ भन्नु भयो ।
कसको गीत थियो त्यो ?
मैले लन्डन हुँदा चार वटा गीतमा मोडलिङ गरेकी थिएँ । तीमध्ये शर्मिला बर्देवाले गाएको ‘मेरो ठुम्कामा’ बोलको एउटा गीत थियो । त्यही गीतमा म नाचेको देखेर मन पराउनु भएछ । पछि भेटेपछि हुन्छ भन्नु भयो ।
तर, तपाईंको डेब्यु राम्रो भएन । ‘रुद्र’ पटक्कै चलेन नि ?
खै, सबैले चलेन भन्नु हुन्छ, होला पनि । के कति कमायो त्यो त मलाई थाहा भएन ।
फिल्म रिलिज भएपछि पाएको प्रतिक्रिया के थियो ?
धेरै थरि प्रतिक्रिया थिए । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने त्यो फिल्ममा मैले खासै राम्रो गर्न सकेको थिइनँ तर फिल्म हेर्नेले मेरो काम मन पराउनु भएको थियो । अनि केहीले चैं निखिल दाइ (निखिल उप्रेती)सँग तेरो जोडी सुहाएन भन्नु भएको थियो ।
तपाईंलाई अहिले त लाग्छ होला नि अर्कै फिल्मबाट डुेब्यु गर्न पाएको भए हुन्थ्यो ?
हेर्नुस्, त्यो सबै आ–आफ्नो नजरियाको कुरा हो । मलाई पहिला पनि त्यस्तो लागेको थिएन र अहिले पनि लागेको छैन । हिरोइन बन्नलाई कति धेरै संघर्ष गर्नुपर्छ भन्ने धेरै सुनेकी छु । त्यसको तुलनामा मैले केही पनि गर्न परेन । अनि अर्को कुरा निखिल दाइसँग काम गर्न पाएर कति धेरै कुरा सिकेकी छु जुन सायद मैले अरु कुनै फिल्म गर्दा नपाउन पनि सक्थेँ । निखिल दाइसँग काम गर्न पाएर नै मलाई धेरै नोटिस गर्नु भएको हो जस्तो लागेको छ । अनि अर्को कुरा म कर्ममा पनि विश्वास गर्छु । तपाईँको जीवनमा जे हुनुछ, त्यो हुन्छ नै ।
तपाईंको रिलिजको तर्खरमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’को कुरा गरौं । यो फिल्मको अफर चैं कसरी आयो ?
‘रुद्र’को सुटिङ गरिरहँदा नै हिमाल दाइ (हिमाल केसी)दाइले १ सय ५ रुपैयाँ दिएर साइन गराउनु भएको थियो ।
साइनिङ अमाउन्ट त टन्न लिनु हुँदो रै छ त ?
(हाँसो) हो त !  एक्चुअल्ली, हामी दासढुंगामा एउटा फाइट सिन गरिरहेका थियौं । हिमाल दाइले डोरीको सहारामा स्टन्ट गराउन खोज्नु भएको थियो । मलाई जिस्किएर सेफ्टीबिनै गर्न सक्छौ भनेर सोध्नु भयो । मैले पनि सोच्दै नसोची सक्छु भने । सँगैमा उहाँका सहयोगीहरू सेफ्टीबिना सकिन्न भनेर कुरा गरिरहनु भएको रहेछ । मेरो कन्फिडेन्स मन पराएर तुरुन्तै गोजीबाट १ सय ५ रुपैयाँ निकालेर ‘तिमी मेरो फिल्मकी हिरोइन भयौ’ भनेर भन्नु भयो । यसरी दोस्रो फिल्ममा अनुबन्ध भएँ ।
पहिलो फिल्म र यसमा के फरक छ ?
पहिलो फिल्मको चरित्र टिपिकल हिरोइनको जस्तो थियो । हिरोसँग नाच्ने गाउने रमाइलो गर्ने तर ‘पिंजडा ब्याक अगेन’मा गम्भीर भूमिकामा छु । यो फिल्ममा भने मलाई दर्शकले प्रेमिकासँगै आमाको भूमिकामा पनि देख्न सक्नु हुन्छ । एक खालको नारीवादी चरित्रलाई आत्मसात गरेकी छु ।
भर्खरको मान्छेलाई आमा बन्न सजिलो भयो त ?
खासै गाह्रो भएन । कतिपय चरित्र यस्ता हुन्छन् जुन तपाईँ सजिलै महसुस गर्न सक्नु हुन्छ, आत्मसात गर्न सक्नुहुन्छ । यो फिल्मको पनि चरित्र यस्तै छ जो कोहीले पनि उसको इमोसनलाई रिलेट गर्न सक्छन् । तपाईंलाई एउटा घटना सुनाउँछु । फिल्मभित्र एकदमै रुनुपर्ने दृश्य थियो । लामो समयसम्म । जब एकपल्ट रुन सुरु गरे निर्देशकले कटभन्दा पनि रोइरहेकी थिएँ । अर्को सिन सुरु गर्न लाग्दासम्म पनि आफूलाई रुनबाट रोक्न सकिइरहेकी थिइनँ । यसबाट पनि तपाईँ अनुमान गर्न सक्नुहुन्छ, मैले चरित्रलाई कति आफ्नो बनाएकी छु ।
तपाईंले ‘पिंजडा’ हेर्नु भएको थियो ?
हेरेको थिइनँ । फिल्म गर्ने भएपछि हेरेकी थिएँ । त्यो फिल्म हेर्दा पहिला र अहिलेको अभिनय शैलीमा कत्ति धेरै परिवर्तन भएछ भन्ने लागेको थियो ।
तर यो फिल्म सिक्वेल त होइन होला ?
होइन । पहिलाका फिल्ममा साँच्चिकै मान्छेलाई पिँजडामा राखेर शीर्षक सार्थक बनाउने प्रयास गरिएको छ । तर, यसमा एउटी महिलाको संसार कसरी पिंजडामा झैं आफैंमा कैद हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ । यो फिल्मबाट एकदमै होप छ ।
तेस्रो फिल्म कस्तो हुन्छ साराको ?
थाहा छैन । अहिलेसम्म तेस्रो फिल्मको कुरा आएको छैन । आए पनि एकदमै सोचविचार गरेर गर्नेवाला छु ।
कस्तो चरित्रमा देखिन मन छ ?
मलाई एकदमै कलात्मक फिल्ममा काम गर्न मन छ । सकभर संवाद नभएको, विम्ब र भिज्युवलमा ज्यादा खेल्ने खालको । ‘कागबेनी’ टाइपको ।
फ्यानले कत्तिको फलो गर्छन् हिजोआज ?
अलि अलि । निखिल दाइसँग फिल्म खेलेकोले होला सबले दिदी दिदी भन्छन् ।
‘आइ लभ यु’ भन्ने पनि त होलान् नि ?
छैन । एकदमै सिंगल छु ।
कसरी पत्याउनु ?
साँच्चि हो क्या ! लन्डन बसेर होला केटाको मामलामा अलि सेलेक्टिभ छु म । नेपालमा त केटाहरू भेट्यो कि अगाडि नै सिधै फ्लर्ट गर्न थालिहाल्छन् । मलाई त के लाग्छ भने पहिला साथी होस्, सेयरिङ होस् अनि बल्ल अर्को लेभलमा जानु पर्छ । यहाँका केटाहरू यसको ठीकविपरीत मात्र भेट्छु म ।
भनेपछि एकैचोटि बिहे गर्ने ? घरमा बिहेका लागि प्रेसर होला नि ?
कहाँको प्रेसर हुनु ? बाबा ममीले त मेरो बिहेको कुरै गर्नुहुन्न । उल्टै मैले गर्नुपर्छ । ममीले त ‘बेलै भाको छैन तेरो । बुढी नै भाछैनस्’ भनेर भन्नु हुन्छ । ज्योतिषीले पनि ३१ वर्ष लागेपछि बल्ल राम्रो केटा भेटिन्छ भन्नु भएको छ । त्यसैले बिहेका लागि त टन्न समय छ ।
भर्खरै मैले समाचार पढेको थिएँ, अनमोल केसीले फलो गर्ने सीमित सेलिब्रेटीमा सारा पनि पर्छिन् भनेर । सारालाई चैँ को–को मन पर्छ ?
ला हो र ? मलाई त थाहा छैन । अनमोलसँग कहिले भेट त भएको छैन तर ‘रुद्र’ रिलिज हुँदा इन्स्टामा गुड लक भनेको थियो । मलाई अभिनयका हिसाबले केकी अधिकारी र नाजिर बेस्ट लाग्छ । अनि पर्सनालिटी चैं राजेश हमाल सरको राम्रो लाग्छ ।

Leave A Comment