चाँदनी हमाल
विगत दुई दसकयता भीरमौरीको मह काढिरहेका पूर्वी पहाडका मौलीधन राईले पहिलो पटक ठूलो पर्दामा आफैँलाई नायकका रुपमा उभ्याएको डकुमेन्ट्री हेरेर दङ्ग परे । काठमाडौँमा हालै सम्पन्न काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा ‘द लास्ट हनिहन्टर’मा उनको कौशल देखाइएको थियो ।
पहाडी गाउँबाट भिडभाडको शहरमा यात्रा नगरेका उनी आफ्नै फिल्म हेर्न जीवनमै पहिलोपल्ट गाडी चढेर आफ्नै फिल्म हेर्न काठमाडौँ आइपुगेका थिए । काठमाडौँको कुमारी हलमा अगाडिको लाइनमा बसेर आफ्नै फिल्म हेरिरहँदा उनी छक्क परेका थिए । ‘यत्रो ठूलो उज्यालो पर्दामा आफैँलाई देख्यो,’ उनले पूर्वी पहाडी लवजमा भने, ‘गाउँमा यस्तो देखेको छैन ।’
गाडी चढ्दाको अनौठो अनुभव उनको दिमागमै अडकिएको छ । ‘गाडी त हल्लिदोरहेछ, कानमा जतिखेर पनि झ्याङ झ्याङ गरिरहन्छ,’ लामो यात्राको ह्याङओभरमा रहेका उनले भने, ‘तर रमाइलो हुँदोरहेछ । अहिले पनि हल्लिरहेझैँ लाग्छ ।’ पहिलोपल्ट राजधानी आएका उनले जाउलाखेलस्थित चिडियाघर पनि हेरे । ‘जनावर नै जनावर रहेछ,’ उनले हाँस्दै भने, ‘त्यहाँ त मान्छेजस्तै बाँदर पनि रहेछ ।’ अनौठा मान्छे, बस्ती र सहरको रमझम देखेर उनी अलमल पनि परे ।
सपनामा देउताले देखाएको बाटो पछ्याउदै उनी भिरमौरीको मह काढ्न थालेका हुन् । ‘सपनामा निकै राम्री सुन्दरी केटीहरु आउँथे अनि मलाई म्वाई खाएर जान्थे,’ उनले फिल्ममै पनि साटेको अनुभव सुनाए, ‘कता–कता माकुराको जालोमा पसेजस्तो देखिन्थ्यो पछि त त्यो मौरीको घार रहेछ भनेर थाहा पाएँ ।’
उनका बाबु र उनका दौंतरीले काढ्ने गरेको भिरमौरीको महसँगको निकटता उनले किशोरवस्था भएपछि मात्र अनुभव गर्न पाए । उनीहरुको सिको गर्दागर्दै उनले पनि भिरमौरीको मह काढ्न सिके । तर भिरमौरीको मह सितिमिति कसैले काढ्न सक्दैन भन्ने मान्यता मौलीधन र गाउँले सबैलाई थाहा छ । कुनै दैवीशक्तिकै भरमा मात्र त्यो काम गर्न सकिने विश्वास उनीहरुभित्र छ । गाउँबाट तीन दिन नदी, खोंच, पहाड तर्दै जाँदा बल्ल उच्च पहाडमा बसेका भिरमौरी भेट्न सकिन्छ । अग्लो पहाडमा फेदमा बालिएको आगोको धुँवाका भरमा मह काढ्दा मौरीले टोकेर कतिको कति विष लागे उनलाई पत्तो छैन तर पनि उनलाई केही नहुनु देवताकै देन भएको उनका सहयोगीहरु बताउँछन् ।
उमेरले साठीको आसपास रहेका उनीभित्र भिरमौरी काढ्दाको एकनासे अनुभव गढेर रहेको छ । देउताले अह्राएको काम गर्दागर्दै उनलाई मरेका मौरीको ‘सराप’ आफ्नो जीवनमा लागेको महसुस कहिलेकाहीँ गर्छन् । हुन पनि तीन वटी बिहे गरेका उनका तीनै वटी पत्नी बिते । ‘मौरीको चाकामा साना बच्चा हुन्छन् अनि त्यही ठूला मौरीले पनि खाएर बाँचेका हुन्छन्,’ उनी फिल्ममा बोलेका सम्वाद दोहो¥याउँछन्, ‘तिनकै सराप लागो कि जस्तो लाग्छ ।’ शारीरिक रुपले गल्दै गएकाले फेरि भिरमौरीको मह काढ्न नसक्ने अवस्था आफू पुग्दै गरेको बताए ।
त्यही कारण नै फिल्मको नाम उनकै कामअनुसार ‘द लास्ट हनी हन्टर’ राखेको निर्माता बेन इयरले बताए । वर्षको दुई चोटीसम्म काढ्न सकिने मह खिच्न निर्माता बेनलाई सहज भने भएन । यसअघि नेपालकै पश्चिम लमजुङमा भिरमौरीको मह काढेको वृतचित्र नेशनल जियोग्राफीकै एरिक भ्यालीले खिचेका थिए । उनले त्यहाँको मानिसको क्रियाकलापसँग जोडेर वृत्तचित्र बनाएका थिए । ‘तर मैले मौलीधनलाई नै हिरो बनाएर उसले कसरी त्यो काम गरिरहेका छन् भनेर फिल्म बनाएको छु,’ उनले भने, ‘एरिकसँगै मिलेर बनाउने प्रयास गरे पनि उनको समय मिलेन ।’ एरिकको वृत्तचित्र अंग्रेजीमा रहे पनि मौलीधनका कुरा नेपाली र स्थानीय भाषामै उतारेका छन् । अंग्रेजीलाई भने सबटाइटलमा राखेका छन् । मौलीधनलाई जस्तै सपना अब अरुलाई नआए त्यो काम उनीसँगै अन्त्य हुने उनले दाबी गरे । उनीसँगै हिँडेर अनि डोरीमा झुण्डिएर फिल्म खिच्दा सात हप्ता लागेको अनुभव उनले सुनाए । दश वर्षअघि सोचेको कथा गत वर्ष मात्र पूरा भएको भन्दै ड्रोन क्यामराले खिच्ने प्रयास गरे पनि त्यो सफल हुन नसकेको अनुभव साटे । एक लाख डलरमा बनेको ‘द लास्ट हनिहन्टर’ले आधा दर्जन बढी अवार्डसमेत हात पारिसकेको छ । उनकै गाउँ वरपर सामाजिक संस्थामा काम गर्ने इयरले धेरै हप्ता लगाएर फिल्म खिच्नका लागि मौलीधनलाई राजी गराएका थिए । ‘विदेशी भिरमौरी भएका ठाउँमा पुग्यो भने बौलाहा हुन्छ भन्ने धारणा रहेछ,’ उनले भने, ‘त्यो हटाउन नै समय लाग्यो ।’
Leave A Comment