रंगकर्मी तथा नाटककार अषेश मल्ल पेशाले पद्य कन्या क्याम्पसका नेपाली साहित्यतर्फ सहप्राध्यपक हुन् । हालसम्म उनका २२ वटा नाट्य पुस्तक साथै ‘अद्र्धविराम’ कथा संग्रह, ‘एक्लो एकान्त’ कविता संग्रह पनि प्रकाशित भइसकेका छन् ।
अहिले तपाईंले पढ्दै गर्नुभएको पुस्तक ?
अन्य पाठकभन्दा म अलि भिन्न छु । बजारमा जुन पुस्तकको चर्चा हुन्छ, त्यो पढ्दिनँ । चर्चित नभएका अति राम्रा पुस्तकहरु म पढ्छु । धेरै राम्रा पुस्तक लेखे पनि प्रचारप्रसार गर्न नरुचाउने अथवा भनौँ मिडियामा छाउन नचाहने थुप्रै लेखकाका पुस्तकहरु म पढ्छु । मैले भर्खरै सिध्याएको स्व. डा. जयराज पन्तको ‘विरासत’ भन्ने पुस्तक पढी भ्याएँ । यो पुस्तक यति राम्रो छ कि तर यसको चर्चा छैन । यो अद्भुत किसिमको पुस्तक हो । उहाँ आफू जीवित छँदा फेसबुकमा लेख नै राख्नुहुन्थ्यो । पछि यो पुस्तकको रुपमा आएको हो । यो किताब मूल त पूर्वीय संस्कृति र उत्प्रेरणासँग सम्बन्धित छ । त्यस्तै सूबसेनको ‘सहिद रगत’ भन्ने नाटक पढ्दैछु । यो पनि सशक्त ग्रन्थ हो । २००७ साल अगाडिका सहिदहरु कसरी सहिद भए, प्रजातन्त्र ल्याउन कति संघर्ष गरे भन्ने जीवन्त कथा छ । त्यस्तै, अर्काे डा. सावित्री कक्षपतिको ‘बालकृष्ण समको रंगशिल्प’ भन्ने पुस्तक पढ्दैछु । अहिलेको पुस्ताले बालकृष्ण समलाई बिर्सिएको छ तर उनी नेपालको नाट्यक्षेत्रका महत्वपूर्ण व्यक्ति हुन् भन्ने कुरा यो पुस्ताले बिर्सनुहुँदैन ।
त्यस्तै चर्चित पुस्तक पढ्दै नपढ्ने होइन । नवराज पराजुलीको ‘सगरमाथाको गहिराई’ कविता संग्रह भर्खरेै पढेर सिध्याएको छु ।
जीवन परिवर्तन गरिदिएका कुनै पुस्तक ?
खासगरी भगवत गीता, गौतम बुद्धका दर्शन, बुद्धका अष्टागं मार्गबारे व्याख्या गरेका पुस्तकहरु जसले मलाई जरैदेखि हल्लाएका छन् । ती पुस्तक मेरो पथ प्रदर्शक बनेका छन् । जीवनमै आमूल परिर्वतन गरिदिएका छन् । अझ मलाई ओशोका पुस्तकले पनि परिवर्तन हुन सघाउ पु¥याएका छन् ।
काश, त्यो पुस्तक मैले लेखेको भए भन्ने कुनै छ ?
आचार्य भरतमुनिको ‘भरतको नाट्यशास्त्र’ पुस्तक मलाई बडो अद्भूत प्रकारको लाग्छ । त्यो पुस्तक हामीले कहिले लेख्न सकौँला जस्तो लाग्छ । त्यो पुस्तक एक हजार वर्ष अगाडि लेखिएको हो । त्यो पुस्तक दैवीय शक्ति भएका मात्रैले लेख्न सक्छन् जस्तो लाग्छ । अभिनयका बारेमा व्यापक अर्थमा लेखिएको छ । पश्चिमा देशका कसैले यो पुस्तक लेखिएको हुन्थ्यो भने निकै उपयोगी हुन्थ्यो होला तर हाम्रोमा कसैले चिन्दैन । यस्तो पुस्तक लेख्न सक्न पाए हुने जस्तो त लाग्छ ।
सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक ?
चर्चित लेखकद्वय नयनराज पाण्डे र अमर न्यौपानेको क्रमशः ‘सल्लीपीर’ र ‘करोडौँ कस्तुरी’ पढ्न भ्याएको छैन । मलाई उनीहरुले लेख्ने आख्यानको शैली निकै मन पर्छ ।
कुनै पुस्तक, जसले तपाईंलाई रुवाएको होस्, छ कुनै ?
सानोछँदा ‘मुनामदन’ पढ्दा खुब रोइयो । पछिल्लो समय भने अफगानी लेखकको ‘द काईट रनर’ भन्ने पुस्तकले त मुर्छित नै बनाउने प्रकारको लाग्यो । त्यस्तै मलाई छोएको पुस्तक भनेको प्रज्ज्वल पराजुलीको ‘गोर्खाज डटर’ हो ।
पछिल्लो पटक पढेको एउटा यस्तो पुस्तक जसले तपाईंलाई मज्जैले हँसायो ?
सानोमा हिन्दीमा पाइन्थ्यो, तिलस्मी प्रकारका पुस्तकहरु । ती मज्जाले पढियो र हाँसियो तर हिजोआज लामो समय भयो, त्यस्ता प्रकारका पुस्तकहरु पढिएको छैन ।
अन्तिमसम्मै पढ्न नसकेका पुस्तक छन् कुनै ?
मैले रोजेर ल्याएका पुस्तकहरु सबै पूरै पढ्छु । तर मैले आदर गर्ने लेखकहरु जो कुनै वादमा आधारित भएर लेख्छन् नि, तब म पढ्दापढ्दै छाडिदिन्छु । मलाई कुनै वादमा आधारित भएर लेखेको मन पर्दैन । नामै त नभनौँ, त्यस्ता पुस्तक धेरै छन् ।
पढ्न नपाएर लज्जित तुलाएको कुनै पुस्तक ?
रंगमञ्चमा निकै चर्चित हुने भनेको पुस्तक ‘द लाइभली थिएटर’ हो । त्यो पुस्तक पढ्न नपाउँदा छटपटी हुन्छ र साथीभाइमाझ यस पुस्तकबारे चर्चा हुँदा निकै लज्जित महसुस गर्छु ।
तपाईंले उपहारमा दिइरहने पुस्तक ?
मैले प्राय उपहारमा दिइरहने पुस्तक भनेको कर्ण शाक्यको ‘सोच’ हो । त्यस्तै अचेल मदनकृष्ण श्रेष्ठको ‘महको म’ भन्ने पुस्तक पनि दिन थालेको छु ।
तपाईं पुस्तक किन पढ्नुहुन्छ ?
पुस्तकबिना चेतनाको ढोका खुल्न सक्दैन । सम्पूर्ण त होइन तर एउटा ढोका चैँ पुस्तक अवश्य हो । बाँकी ढोका त अनुभव हुन् । प्रकृतिको अध्ययन हो पुस्तक ।
युवालाई कस्तो पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
आजका युवामा अलि बढी नै निराशापन देख्छु । छिटो नतिजा खोज्ने भएका छन् । त्यसकारण म युवाहरुलाई कर्ण शाक्यको ‘सोच’, ‘खोज’ , ‘म सक्छु’ अनि विनोद चौधरीको जीवनी, अच्युत कोइरालाद्वारा लेखिएका स्टिभ जब्स, महाथिर मोहम्मद, लि क्वान युका जीवनी अनि त्यस्तै महात्मा गान्धीको आत्मकथा अहिलेका युवापुस्ताले पढ्न जरुरी छ ।
कस्तो पुस्तक लेखिए हुन्थ्यो जस्तो लाग्छ ?
हेर्नुस्, हाम्रो नेपाली संस्कृति यति धनी छ कि ती बारेमा लेखिएकै छैनन् । नेपाली लोकसंस्कृति समृद्ध तर अब बिस्तारै लोप हुने अवस्थामा छ । अब पनि यसबारेमा लेखिएन भने भावि पुस्ताले केही स्रोत नै पाउँदैनन् । त्यसकारण तत्काल यी विषयलाई समेटेर पुस्तक लेखिहाल्नु पर्छ ।
Leave A Comment