क्षयरोग (टीबी) फोक्सोको मात्र हुन्छ भन्ने धारणा जनमानसमा व्याप्त छ । त्यसैले उनीहरू पिसाब तथा प्रजननको टीबी शंका भएमा जँचाउनुपर्छ भन्दा निकैले असजिलो अनुभव गर्छन् । टीबीले ९० प्रतिशत फोक्सोमा असर गर्छ । बाँकी १० प्रतिशत अन्यत्र पुग्छ । टीबीका कीटाणुका निम्ति फोक्सोपछिको सबैभन्दा उपयुक्त ठाउँ मूत्र तथा प्रजनन प्रणाली हो । फोक्सो बाहिरको टीबीको ४० प्रतिशत मूत्र तथा प्रजनन प्रणालीको हिस्सामा पर्छ ।
कसरी पुग्छन् किटाणु ?
टीबीका कीटाणु मिर्गाैलाको इकाईको सुरुको भागको गुच्छामा गएर एकीकृत हुन्छन् । रक्त सञ्चारबाट फैलिएर मिर्गौलामा पुगेका कीटाणुबाटै रोगको सुरुवात हुन्छ । यसै गरी उपअण्ड, प्रोस्टेट ग्रन्थी र जनानामा डिम्बनलीसम्म कीटाणु पुग्ने गर्छन् । मूत्र तथा प्रजनन प्रणालीका अरू अंग भने लिम्फवाहिनी भएर वा कीटाणु सोझै नली हँुदै सरेर संक्रमित हुने गर्छन् । मूत्र थैलीमा मिर्गाैलाबाट मूत्रवाहिनी नली हुँदै बारम्बार टीबीका कीटाणु आइरहने भएकाले अन्तमा यो अंग नराम्रोसँग संक्रमित हुन पुग्छ ।
कस्तो देखिन्छ लक्षण ?
खास गरेर जीर्ण मूत्र शोथ जहाँ पिसाब जाँच्दा सेतो रक्तकोष प्रशस्त देखापर्छ । पिसाब अम्ल हुने र सामान्य कल्चर गराउँदा संक्रमण गर्ने कीटाणु नउम्रिने भए टीबीको शंका गर्नुपर्छ । पिसाबमा रगत देखापरे टीबीको शंका झन् बढ्छ । बिरामी दुब्लाउँदै गए, खानामा रुचि नभए, ज्वरो आए, राति पसिना आउने भए र असामान्य कमजोरी महसुस भए, पिसाब पोल्ने बिरामीको टीबी हुन सक्ने प्रबल सम्भावना हुन्छ । खास गरेर पहिला छातीको वा शरीरको कुनै भागमा टीबी भएका वा टीबी बिरामीसँग सम्पर्कमा भएकाहरूले पिसाब पोल्ने वा जीर्ण मूत्र संक्रमण हुँदा मूत्र प्रणालीको टीबीको शंका गर्नुपर्छ ।
यस्ता बिरामीको उपअण्ड ठूलो र सारो तर खासै नदुख्ने, शुक्रवाहिनी नली दानादार र मोटो हुन्छ । अण्डकोषको छालामा कनिकाजस्तो पिप आउने जीर्ण घाउ पनि हुन सक्छ । यस्तो अवस्था टीबीले गर्दा होइन भन्ने प्रमाणित नहुँदासम्मलाई टीबी नै हो भनेर सबै सुलभ जाँचपड्ताल गराउनुपर्छ । बाँझोपनको कारण पनि टीबी हुन सक्ने भएकाले निःसन्तान दम्पत्तिमा टीबी छैन भनी यकिन हुन सबै जाँच गर्नुपर्छ । बारम्बार वीर्यमा रगत देखिने अवस्थामा पनि टीबी कारण हुन सक्छ ।
निदानका उपाय
पिसाब वा प्रजनन प्रणालीबाट लिएको पदार्थमा टीबीका कीटाणु देखापरे रोगको कारण यकिन हुन्छ । तर, यो तरिकाबाट टीबी छ भनी प्रमाणित गर्न सधैँ सम्भव हँुदैन । त्यसैले टीबीका कीटाणु प्रदर्शन नहुँदैमा टीबी छैन भन्न मिल्दैन । बिरामी पहिला कुनै टीबी रोगीको सम्पर्कमा भए नभएको, बिरामीलाई खास गरी छातीको टीबी भएको वा नभएको, बिरामीको सामान्य अवस्था, उसको तौलमा कमी, खानामा रुचि नहुने, ज्वरो आउने, कमजोर महसुस गर्ने र पिसाब पोल्ने, छिटोछिटो हुने, पिसाबमा रगत देखापर्ने वा पिसाब पोल्दा पनि जाँच गर्दा अमिलो पिसाबमा सेतो रक्तकोष थुप्रै देखिने तर पिसाबलाई उमार्न दिँदा अरू संक्रमण नउम्रने अवस्थामा टीबीका निम्ति ज्यादै शंका हुन्छ । पिसाबमा टीबीका कीटाणु उमार्नलाई करिब छ हप्ताजस्तो समय लाग्ने र सबै प्रयोगशालामा यस्तो जाँच हुन नसक्ने तथा खर्चिलो भएकाले पनि नेपालमा अझै यो जाँच सबै बिरामीको पहुँचमा छैन ।
रगतको विभिन्न जाँचबाट पनि रोगको अवस्थाबारे थाहा पाउन सकिन्छ । यूएसजी, एक्सरे, सिटी स्क्यान तथा सिस्टोस्कोपी जाँचबाट रोगबारे विस्तृत विवरण संकलन गर्न सकिन्छ । सिस्टोस्कोपी गर्दा टीबीको शंका लागे बायोप्सी गरे पनि त्यसमा पर्याप्त मात्रामा यो रोगलाई समर्थन गर्ने रोग निदानको विशेष लक्षण उपलब्ध नहुन पनि सक्ने भएकाले यस्तो जाँच क्यान्सरको शंका मेटाउन भने गर्नैपर्छ ।
उपचार
मूत्र प्रणालीको टीबीको उपचार तुलनात्मक रूपमा छोटो र ज्यादै प्रभावशाली हुन्छ । उपचारमा प्रयोग धेरै औषधि मूत्र प्रणालीमा उच्च स्तरमा विद्यमान हुने भएकाले र कीटाणु संख्या सीमित हुने हुँदा उपचार छोटो र प्रभावशाली हुने हो । प्रायः छ महिनाको उपचारले चाहेजस्तो र राम्रो असर उपलब्ध हुन्छ । त्यसमध्ये पहिला दुई महिना चार प्रकारका औषधि दिने गरिन्छ । त्यसपछि चार महिनामा दुई प्रकारको औषधि मात्र दिने गरिन्छ । पहिलो दुई महिना मुख्यतः उपचार द्रुत गतिमा वृद्धि हुने कोष बाहिर घाउबाट बनेका प्वालभित्र क्षारीय वा तटस्थ वातावरणमा रहेका कीटाणुमाथि लक्षित हुन्छ । बाँकी चार महिना उपचारको इरादा बिस्तारै यदाकदा बढ्ने कीटाणु र कोषभित्र लुकेको कीटाणुलाई पूरै निर्मूल पार्ने हो । औषधि उपचार मूत्र तथा प्रजनन प्रणालीको टीबीमा निकै सफलताका साथ प्रयोग भए पनि आधाभन्दा बढी बिरामीमा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । तर, शल्यक्रिया गर्नु परे पनि करिब डेढ महिना औषधि उपचार गरेपछि मात्र शल्यक्रिया विधि अपनाउनुपर्छ ।
Leave A Comment