सर्पको सन्त्रास

आइतबार, ०२ साउन २०७३, ०१ : १३ मिलन खरेल , Kathmandu
सर्पको सन्त्रास

वर्षायाममा बढ्दो गर्मी सँगसँगै विषालु सर्पको डसाइसम्बन्धी घटना पनि बाक्लै रूपमा सञ्चारमाध्यममा आउन थालेका छन् । सर्प लुकेर बस्ने दुलादुलीमा पानी पसेपछि ओभानो ठाउँको खोजीमा सर्पहरू मानिसको घर छेउछाउ रहेका झ्यासझुस, काठदाउरा, घाँस, पराल, ढुंगा, इँटा आदि थुपारेको ठाउँमा लुकेर बस्ने गर्दछन् । अनौपचारिक तथ्यांकअनुसार  नेपालमा हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने गर्छन्, जसमा एक हजार जनाजति मानिसले ज्यान गुमाउने गर्छन् । प्रायः किसान, गोठाला, खेताला, माझी, वन तथा खेतबारीमा काम गर्ने व्यक्तिहरू सर्पदंशको उच्च जोखिममा हुन्छन् । सर्पले कहिल्यै पनि मानिसलाई शिकारको रूपमा खोजीखोजी डस्ने गर्दैन । तर, अन्जानवश कसैले सर्पलाई टेक्न पुगेमा वा त्यसलाई जिस्क्याएमा उसले खतरा महसुस गरी आफ्नो प्रतिरक्षाका लागि डस्ने गर्दछ ।  
कुन सर्प विषालु ?
नेपालबाट हालसम्म ८९ प्रजातिका सर्प फेला परेका छन् । जसमध्ये १७ प्रजातिका सर्प विषालु रहेका छन् (स्रोत ः नेपालका विषालु सर्पहरूसम्बन्धी निर्देशिका, २०६९) ।  नेपालमा पाइने विषालु सर्पहरूलाई ‘इलापिडी’ र ‘भाइपरिडी’ गरी मुख्यतः दुई समूहमा विभाजन गरिएको छ । इलापिडीमा  गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), मुगाकर्कट नाग (कोरल स्नेक) र करेतजस्ता विषालु सर्प पर्छन् । त्यस्तै, ‘भाइपरिडी’ मा बाघे तथा हरेउ प्रजातिका भ्यागुते सर्प, करनको हरेउ सर्प, गुरुबे सर्प आदि विषालु सर्प (भाइपर) पर्छन् । विषालु सर्पका डसाइबाट व्यक्तिमा स्नायुघात, पक्षघात, बाह्य तथा आन्तरिक रक्तस्रावजस्ता विभिन्न प्रकार लक्षण देखिनुका साथै बेलैमा उपचार नपाए मानिसको मृत्युसम्म हुन सक्छ ।
चिन्ने कसरी ?
बाहिरबाट हेर्दा धेरैजसो सर्प उस्तै–उस्तै देखिए पनि प्रत्येक सर्पको शारीरिक बनावटमा केही न केही फरक विशेषता अवश्य हुन्छन् । यिनै विशेषताका आधारमा विषालु र अविषालु सर्प छुट्याउने गरिन्छ । गोमन सर्पले आफ्नो घाँटीको छाला तन्काएर फणा बनाउँदछ । यसो गर्दा यिनीहरूको घाँटीमा गोलाकार वा अंग्रेजीको ‘भी’ आकारको चिन्ह प्रष्ट रूपमा देखिने गर्छ । यिनीहरूलाई जिस्क्याएमा यिनीहरूले आफ्नो शरीरको एकतिहाईजति अगाडिको भागलाई जमिनबाट माथि उठाई स्याँ–स्याँ गर्दै अवाज निकाल्ने गर्छन् । टाउको थेप्चो र त्रिकोणात्मक  भएका हरिया रङका हरेउ अर्थात् ‘ग्रिन पिट भाइपर’ समूहमा पर्ने हरिया रङका सर्पहरू विषालु हुन्छन् । यिनीहरूले भने आफ्नो शरीरलाई खुम्च्याएर स्प्रिङजस्तो बनाई आफ्नो शत्रुमाथि डस्न जाइलाग्ने गर्छन् । ढाडतिरको भागमा ठूलठूला अण्डाकार नियमित बुट्टाहरू भएका बाघे सर्प (रसेल्स भाइपर) अति विषालु हुने गर्छ । आँखा र नाकको प्वालको बीचमा ताप संवेदनशील अंग भएका ‘पिट भाइपर’ भनिने सर्पहरू पनि अति नै विषालु हुने गर्छन् ।
सर्पको विष के हो ?
सर्पको विष (भेनम) वास्तवमा एक प्रकारको परिवर्तित ¥यालग्रन्थीको उत्पादन हो, जसलाई सर्पले आफ्नो शिकारलाई मार्ने र पचाउने कार्यका लागि प्रयोग गर्छ । सबै सर्प विषालु हुँदैनन् र हरेक सर्पदंश घातक पनि हुँदैन । विषले मानिसमा पार्ने असर डस्ने सर्पको आकार, डसाइको पूर्णता, शरीरमा प्रवेश गरेको विषको मात्रा, डसेको व्यक्तिको उमेर, शारीरिक क्षमता तथा उसको मनोवैज्ञानिक अवस्थामा समेत भर पर्छ ।

सर्पदंशका लक्षण ?
सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रासायनिक संरचनाअनुसार फरकफरक किसिमको हुने गर्छ । विशेषतः तराईमा हुने सर्पदंशमध्ये अधिकांश ‘इलापिडी’ भनिने समूहअन्तर्गत पर्ने गोमन र करेत प्रजातिका विषालु सर्पहरूको डसाइबाट हुने गरेको पाइएको छ । उक्त प्रजातिका सर्पको डसाइबाट व्यक्तिमा स्नायुघात भई निम्न लक्षण देखा पर्ने गर्छन्ः   
#    आँखाको ढकनी भारी महसुस भई हेर्न सक्ने गरी आँखा उघार्न नसक्नु
#    मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न नसक्नु
#   कुनै पनि कुरा निल्न नसक्नु
#    सास फेर्न गाह्रो हुनु
#    हातखुट्टाका मांसपेशी नचल्नु
#    मुखबाट निस्किएको ¥यालले घाँटी टालिएर सास फेर्न नसक्नु  
#   डसेको ठाउँको घाउ पाक्नु÷सुन्निनु र तन्तुहरू मर्न थाल्नु
#    ‘भाइपरिडी’ भनिने समूहअन्तर्गत पर्ने बाघे, हरेउजस्ता सर्पको डसाइबाट भने गिजा, पेट, आन्द्रा, आँखा तथा शरीरमा लागेका घाउ–चोट आदिबाट बाहिरी तथा आन्तरिक रक्तस्राव हुने गर्छ ।
कसरी बच्ने ?
#   कुनै पनि सर्प देखिएको खण्डमा त्यसलाई समात्ने, जिस्क्याउने तथा चलाउने जस्ता कार्य नगर्ने
#  रातको समयमा बाहिर निस्कनुपरेमा चप्पल लगाउनुको सट्टा कडा किसिमका जुत्ता तथा पूरै खुट्टा ढाक्ने खालको लामो, बाक्लो प्यान्ट वा ट्राउजर लगाउने  
#   घरखेत आदिमा देखिने दुलादुली तथा रूखका खोक्रा मुढा, बाक्लो घाँस, झाडी, काठको थुप्रो तथा इँटा, ढुंगाजस्ता निर्माणसामग्री थुपारेको ठाउँमा जथाभावी हात नहाल्ने  
#  घरवरिपरि मुसा बस्ने दुलादुली छन् भने समयमै टालटुल पार्ने  
#  घरमा मुसाको बिगबिगी छ भने त्यसलाई नियन्त्रण गर्ने, किनकि यिनीहरूले सर्पलाई आकर्षण गर्छन्
#    घरआँगन छेउछाउ तथा वरिपरि रहेका लामालामा घाँस, झारपात काट्ने
#   भुइँमा नसुत्ने, झुल टाँगेर मात्र सुत्ने  
#   राति बाहिर निस्कनुपरेमा सदैव टर्चलाइट अथवा बत्तीको प्रयोग गर्ने  
#   बच्चाहरूलाई सर्प लुकेर बस्न सक्ने ठाउँतिर जान नदिने   
#  आफ्नो घरबाट सबैभन्दा नजिकैको सर्पदंश उपचार केन्द्रबारे जानकारी राख्ने

सर्पले डसेमा के गर्ने ?
सर्पदंशबाट व्यक्तिको मृत्यु हुने प्रमुख कारण समयमै सम्बन्धित उपचार केन्द्रसम्म पुग्न नसक्नु हो । सर्पले डसेको थाहा पाउनेबित्तिकै अथवा डसेको शंका लाग्नासाथ प्राथमिक उपचार गर्नुपर्छ । तत्काल गरिने प्राथमिक उपचारले बिरामीको शारीरिक तथा मानसिक पीडा कम गर्छ । साथै, यसले उपचारका लागि केही थप समय पनि प्रदान गर्छ । तर, सही तरिकाले नगरिएको प्राथमिक उपचारले थप जटिलता पनि निम्त्याउन सक्छ ।
# सर्पले डसेको व्यक्तिलाई गरिने एउटै मात्र प्रभावकारी उपचार विषप्रतिरोधी औषधि (एन्टिभेनम सेरम) को प्रयोग हो, जुन सरकारी अस्पताल, सैनिक अस्पताल, कतिपय निजी अस्पताल  तथा रेडक्रसद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा पाइन्छ ।  
# सर्पले डसेको व्यक्ति मानसिक तनावमा हुने भएकाले सकेसम्म उसलाई ढाडस दिई शान्त राख्नुपर्छ । डसेको भागलाई चलमल गर्न नदिईकन स्थिर राख्नुपर्छ । बिरामी अत्तालिएमा मुटुको धड्कनमा वृद्धि भई रक्तसञ्चारमार्फत विष शरीरमा चाँडो फैलिने गर्छ ।
#  सर्पले डसेको व्यक्तिले चुरा, औँठीजस्ता वस्तु लगाएको भए फुकाल्नुपर्छ । उक्त भाग पछि सुन्निन गई कसिलो हुन सक्छ ।
#  सर्पले डसेको स्थानमा साबुनपानी वा एन्टिसेप्टिक (डेटोल पानी) ले राम्रोसँग धोई सफा गर्नुपर्छ ।
#  सर्पले डसेको स्थानलाई (हातखुट्टा भएमा मात्र) लामो काठ, बाँस वा लौरो आदिको काम्रो बनाई नहल्लिने गरी बाँधेर स्थिर राख्नुपर्छ ।   
#  डसेको स्थानसहित सोको तल्लो र माथिल्लो भाग ढाकिने गरी चौडा किसिमको कपडा  अथवा ब्यान्डेजले ठिक्कको कसिलो पारी मर्किएको ठाउँमा बेरेको झैँ गरी फनफनी बेरेर बाँध्नुपर्छ । सम्भव भए हात वा खुट्टाको औँलाबाट बेर्न सुरु गरी पूरै हात वा खुट्टा छोपिने गरी बेरेर राख्नुपर्छ । यसो गर्नाले रक्तसञ्चार कम हुन गई विष चाँडो फैलन पाउँदैन ।   
#  सर्पलाई अघि नै मारिसकेको भए त्यसको पहिचानका लागि मरेको सर्पलाई पनि बिरामीसँगै उपचार केन्द्रमा सुरक्षित तवरले लैजानुपर्छ ।
# बिरामीलाई हतोत्साहित हुन नदिन सान्त्वना एवं ढाडस दिँदै जतिसक्दो चाँडो मोटरगाडी, नभए मोटरसाइकलबाट विष प्रतिरोधी औषधि उपलब्ध भएको सर्पदंश उपचार केन्द्र पु¥याउनुपर्छ ।

के नगर्ने ?
तल उल्लिखित तरिकाहरू वैज्ञानिक हिसाबले आधारहीन भएकाले नगरौँः
#  सामाजिक सञ्जाल तथा कतिपय मिडियामा भ्रामक समाचार पनि आउँछन् । जस्तो, सुइरो (निडल) विनाको सुई (इन्जेक्सन) को मद्दतले सर्पले डसेको ठाउँको रगत तानेमा सर्पको विष सम्पूर्ण रूपमा बाहिर निस्कन्छ । यो भ्रामक कुरा हो । विषालु सर्पले डस्नेबित्तिकै (डसेको केवल तीन मिनेटपछि) सुईको मद्दतले विष तान्ने कोसिस गरेता पनि विषको थोरै मात्रा (एक हजार भागको एक भाग जति) मात्र निकाल्न सकिन्छ । अझ मुखले सर्पले डसेको ठाउँको रगत चुस्नु भनेको त आफ्नो ज्यान जोखिममा पार्नु हो ।
#  सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइको खतरा मोल्नु हुँदैन । यस्तो कोसिसले उपचारमा ढिलाइ भई बिरामीको ज्यानैसमेत जान सक्छ । डाक्टरले बिरामीको लक्षण तथा प्रयोगशालामा रगत, ¥याल आदिको परीक्षणमार्फत सर्पको विषको प्रकार पहिचान गर्न सक्छन् ।
#  अविषालु सर्पले डसेको भए विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, रबर, विद्युतीय तार आदिले हातखुट्टा कसेर बाँध्नु हुँदैन । जसले गर्दा उक्त अंगमा रक्त प्रवाह बन्द भई पछि हातखुट्टा नै बिग्रिएर काट्नुपर्नेसम्मको अवस्था आउन सक्छ ।   
#  सपेरा वा अन्य व्यक्तिले तन्त्रमन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी भनिने वस्तुहरूको कदापि भर पर्नु हुँदैन ।
#  विषालु सर्पले डसेको व्यक्तिलाई जाँड, रक्सी, तातोपानी या कुनै पनि प्रकारको झोलिलो वा ठोस खाद्यपदार्थ खान दिनु हुँदैन । अन्यथा, शरीरमा हुने रासायनिक प्रतिक्रिया (मेटाबोलिजम) मा वृद्धि भई विष चाँडो फैलन सक्ने खतरा हुन्छ ।
#  विषालु सर्पले डसेको व्यक्तिलाई खुर्सानी खुवाउँदा पिरो महसुस हुँदैन भन्ने धारणा गलत हो । यस्तो काम गर्नु हुँदैन ।
#  सर्पले डसेको ठाउँमा मुखले चुसेर, सुई अथवा कुनै यन्त्र प्रयोग गरेर रगत तान्ने कोसिस गर्नु हुँदैन । यसो गर्नाले विषको नगण्य मात्रा मात्रै बाहिर निकाल्न सकिन्छ, त्यो पनि सर्पले डसेको पाँच मिनेटभित्र विष तान्न सुरु गरेमा ।
#  सर्पले डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाएमा विष चुस्छ भन्ने धारणा पनि गलत हो ।
#  सर्पले डसेको ठाउँमा बरफ वा कुनै पनि चिसो वस्तुको प्रयोग गर्नु हुँदैन । अध्ययनका अनुसार यस्तो गर्नाले बढी हानि हुने देखिएको छ ।   
#  सर्पले डसेको ठाउँलाई ढाकेर (छोपेर) राख्न हुँदैन । साथै, उक्त ठाउँलाई धारिलो वस्तुले काट्ने, चिर्ने, आगो अथवा कुनै तातो वस्तुले डाम्ने, तातोपानीमा वा अमिलो दूधमा डुबाउने गर्नु हुँदैन । यसो गर्नाले बिरामीलाई कुनै फाइदा पुग्दैन । उल्टै, संक्रमण र  रक्तस्राव हुन सक्छन् ।
#  कथित नागमणि, झारमौरो, घरायसी तथा जंगली झारपात तथा जडीबुटीको प्रयोग गरी वा बिजुलीको झट्का दिएर उपचार गर्ने कोसिस गर्नु हुँदैन । यसले बिरामीलाई नराम्रो असर गर्न सक्छ ।

 

Leave A Comment