कसरी निकाल्ने कानेगुजी ?

आइतबार, ०२ साउन २०७३, ०१ : १९ शुक्रवार , Kathmandu
कसरी निकाल्ने कानेगुजी ?

कानेगुजी भनेको कानको प्वालमा जम्मा हुने पदार्थ हो, जुन कानको स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कानभित्र फोहोर पदार्थ पस्नबाट रोक्नुको साथै कानभित्र हुने ब्याक्टेरियाको संक्रमणलाई पनि रोकिदिन्छ ।

किन जम्मा हुन्छ ?
कानभित्र जम्मा भएको कानेगुजी सीमित मात्रामा आफैँ बाहिर निस्किन्छ र नयाँ कानेगुजी भित्र बन्दै जान्छ । यो नियमित प्रक्रिया हो । तर, कसैकसैको कानमा बढी कानेगुजी जम्मा हुने गर्छ । यस्तो किन हुन्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

कनकर्नु प्रयोग गर्नु हुँदैन
कानभित्र कानेगुजी निरन्तर जम्मा हुँदै र कडा हुँदै गयो भने कानेगुजीले कान भरिँदै जान्छ । यस्तो भए पनि हामी कनकर्नु (इयरबर्ड) कानभित्र हालेर सफा गर्न खोज्छौँ । तर, यसले कानेगुजीलाई कानको भित्री भागसम्म अझ धकेल्ने र यसलाई थप कडा बनाउने काम गर्छ ।

कानेगुजी भरिएको कसरी थाहा हुन्छ ?
–    अरूलाई कानभित्र हेर्न लगाएमा थाहा हुन्छ ।
–    कान भरिएजस्तो महसुस भएमा पनि कानेगुजी भरिएको हुनसक्छ ।
–    कानेगुजी भरिएमा कसैकसैको कान एकनासले कराउने गर्छ ।
–    बढी कानेगुजी हुँदा श्रवणशक्ति पनि कम हुन्छ ।

कसरी निकाल्ने ?
कानेगुजी निकाल्न अस्पताल जानुभयो भने डाक्टरले कानेगुजीलाई नरम गर्ने झोल पदार्थ कानमा केही सातासम्म हाल्न लगाउँछन् । कानेगुजी नरम भइसकेपछि सिरिन्जबाट मनतातो पानी कानभित्र जोडसँग हालेर कान सफा गरिदिन्छ । यसो गर्दा तपाईंको पैसा र समय दुवै खर्च हुन्छ । घरमै पनि यसरी कानेगुजी निकाल्न सकिन्छ ः

नुनपानी
आधा कप मनतातो पानीमा एक चम्चा नुन मिसाउने र यसलाई राम्रोसँग घोल्ने । घोलिएको पानीमा कपास भिजाउने र निचोरेर कानमा त्यसको थोपा झार्ने । कानमा हालेको पानी नपोखियोस् भन्नका लागि कानलाई माथिपट्टि पार्ने । केही समयसम्म यही आसनमा बस्ने र पानीलाई भित्रैसम्म पस्न दिने । त्यसको केही समयपछि निहुरिएर कानलाई तलतिर पार्ने । केही दिन यो प्रक्रिया अपनाएमा कानेगुजी निस्किन्छ ।

बच्चालाई लगाउने तेल
बच्चालाई लगाउने तेलको केही थोपा कानमा हाल्ने र तेल नपोखियोस् भन्नका लागि कानको प्वालमा कपासको डल्लो खाँद्ने । केही दिनसम्म नियमित यसो गर्नाले कानेगुजी नरम हुन्छ र आफैँ बाहिर निस्किन्छ ।

जैतुनको तेल
कानेगुजी निकाल्ने उत्तम तरिकामध्ये जैतुनको तेलको प्रयोग पनि एक हो । राति सुत्ने बेलामा कानमा दुईतीन थोपा जैतुनको तेल हाल्ने । तीनचार दिन लगातार यसो गर्नाले कानेगुजी निस्किन्छ ।

मनतातो पानी
सफा मनतातो पानी कानेगुजी भरिएको कानमा हाल्ने र केही समयसम्म त्यसै छोड्ने । त्यसपछि कानलाई तलतिर पारेर पानी झार्ने । केही दिनसम्म यसो गर्नाले कानेगुजी कम हुँदै जान्छ ।

 

Leave A Comment