‘फेमिनिजमको कुरा गरेर आफैँलाई तल झारिरहेका छन्’

शनिबार, १५ पुष २०७४, १२ : ३३ अनिल यादव
‘फेमिनिजमको कुरा गरेर आफैँलाई तल झारिरहेका छन्’

अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काई–मर्काई नाचेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत अहिले पनि सर्वाधिक चर्चामा छ । युट्युबमा मात्रै चार करोड बढी हेरिसकिएको छ । फिल्म ‘होस्टेल रिटन्र्स’ बाट अभिनयमा डेब्यू गरेकी स्वस्तिमाले ‘लभ लभ लभ’ र ‘६क्कापञ्जा–२’मा पनि काम गरेकी छन् । निर्देशक निश्चल बस्नेतसँग बिहे–बन्धनमा बाँधिएपछि उनलाई धेरैले ‘राष्ट्रिय भाउजू’को उपनाम पनि दिएका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

केमा व्यस्त हुनुहुन्छ अचेल ?
‘कुटुमा कुटु’ हिट भएपछि स्टेजको अफर धेरै आइरहेको छ । स्टेज कार्यक्रममा व्यस्त भइरहेकी छु । नयाँ वर्षमा सिक्किम, दार्जिलिङ र काठमाडौंतिर कार्यक्रम फिक्स्ड भएका छन् ।

‘कुटुमा कुटु’ त युट्युबमा सर्वाधिक हेरिएको नेपाली फिल्मको गीत भइदियो । आफू नाचेको गीत यसरी हिट हुँदा कस्तो महसुस हुने रहेछ ?
खुसी त लागिहाल्छ नै तर त्यस्तो भयंकरै केही भएजस्तो पनि लागेको छैन । यति हिट होला भन्ने सोचेकी थिइनँ, भइदियो दङ्ग छु । अरु गीतमा काम गर्दा जसरी मिहिनेत गरिन्थ्यो, यो गीतमा पनि त्यसरी नै गरेको हो । ‘एक्स्ट्रा’ मिहिनेत गरेको भने होइन । गीतको सुटिङ चार दिन लगाएर सकिएको थियो । सुटिङका बेला इटहरीको गर्मीमा लगातार नाच्दा बेहोस हुन्छु कि जस्तो लागेको थियो, पछि त ठीकै भयो ।

आफू नाचेको गीत सार्वजनिक ठाउँतिर बजेको सुन्दा कस्तो महसुस हुन्छ, केही रमाइलो अनुभव छ कि ?
‘नर्मल’ नै ‘फिल’ गर्छु । अस्ति तिहारमा म र आमा घरमा बसेका थियौँ । त्यतिबेला पल्लो घरमा लगातार ‘कुटुमा कुटु’, ‘काले दाई, काले दाई’, ‘ए दाजु नसमाउ नाडीमा’ लगायत म र निश्चल नाचेको गीत मात्रै बज्यो । त्यतिबेला  रमाइलो ‘फिल’ भएको थियो ।

‘कुटुमा कुटु’मा पहिलोपल्ट आफ्नो श्रीमान्सँग स्क्रिन सेयर गर्नुभयो, नाच्नुभयो । श्रीमान्सँग फिल्मको पात्र सम्झिएर अभिनय गर्न कत्ति सहज थियो ?
पहिलो कुरा त हामी घरमा यत्तिकै पनि नाचिरहेका हुन्छौँ, रमाइलो गरिरहेका हुन्छौं । त्यहाँ काम गर्दा सुरुमा अलि अप्ठेरोजस्तो त महसुस भयो तर पछि सहजै भएँ । गीत गर्नुअघि नै मलाई ‘निश्चलसँग अलि आकर्षित भएजस्तो गरी नाच्नु’ भनेर भनिएको थियो । त्यसैले मलाई नाच्न थालेपछि निश्चलसँग नाचेजस्तो नै भएन । अरु नै कोही पात्रसँग नाचेको ‘फिल’ भयो ।

अब एकछिन पछाडि फर्कौं, खासमा तपाईंको अभिनेत्री बन्ने चाहना सानैदेखिको हो या पछि बनेको हो ?
धेरैले ‘बच्चैदेखि’ भनेर जवाफ दिएको सुन्छु (हाँस्दै) । खासमा मेरो पनि त्यस्तै–त्यस्तै नै हो ।  मैले वीरेन्द्र सैनिक स्कुल पढेँ । स्कुलदेखि नै म  नाच्न एकदमै रुचाउँथे । सानैदेखि टिभीमा हेर्दा पनि एकदिन हिरोइन बन्छु भन्ने भावना भित्रैदेखि पलाएर आउँथ्यो ।

‘होस्टेल रिटन्र्स’मा काम गर्ने अवसर कसरी जुर्यो ?
मैले ‘मिस टिन’ ब्युटी पेजेन्टमा भाग लिएकी थिएँ । टप फाइभ भएँ । केही फोटोहरु पनि फेसबुकमा हालेको थिएँ । मेरो फोटोहरु देखेर गायक उदेश श्रेष्ठले भिडियो खेल्न अफर गर्नुभयो । त्यसपछि सेकन्ड भिडियो ‘हनि बनी’ खेलियो । ‘हनि बनी’ रिलिज हुने बित्तिकै सुनील दाई (निर्माता सुनील रावल)ले कल गरेर कामका लागि अफर गर्नुभयो । म त्यतिबेला डिप्लोमा थर्ड इयरको परीक्षा दिएर बसिरहेको थिएँ । बच्चै थिएँ, १८ वर्षकी मात्र ! सानै भएकाले फिल्म खेल्ने बेला भइसकेको जस्तो लागेको थिएन । अहिले रुचि छैन भनेकी थिएँ तर सुनील दाइले ‘वर्कसप भइरहेको छ, हेर्न आऊ, मनप¥यो पनि काम गर’ भन्नुभयो । गएँ । गएपछि त स्क्रिप्ट पनि मनप¥यो, त्यसमाथि दुर्गिश ब्यानर ठूलो र हिट ब्यानर पनि थियो । त्यसैले काम गरियो ।  

सैनिक परिवारबाट हुनुहुन्छ । ग्ल्यामर क्षेत्रमा आउँदा परिवारको सपोर्ट कत्तिको छ/थियो ?
सुरुमा बुबा त्यति पोजिटिभ हुनुहुन्थेन । ‘गर्ने र ?’ भन्ने थियो । अहिलेजस्तो राम्रो मानसिकता भइसकेको पनि थिएन तर पछि मेरो खुसीमा उहाँहरु रमाउनु भयो । त्यस्तो असहमति जनाउनुभएन, सपोर्ट नै गर्नुभयो ।

तपाईंले काम गरेका तीनमध्ये ‘होस्टेल रिटन्र्स’ र ‘६क्का पञ्जा २’ले त हलमा पनि राम्रो व्यापार गर्यो । नाचेको गीतले उस्तै उधुम मचायो । अहिले अफर त धेरै आइरहेको होला तर फिल्म त कम गरिरहनुभएको छ नि ?
अफर त आइरहेका छन् । झन् ‘कुटुमा कुटु’ हिट भएपछि त थुप्रै अफर आए  । गीत रिलिजपछि मात्र १५–१६ वटा जति स्क्रिप्ट रिजेक्ट गरेँ होला ।

नयाँ फिल्ममा काम गर्न तयार बन्नुअघि तपाईंको प्रमुख सर्त के हुन्छ ?
म मुख्यतः स्क्रिप्टभन्दा पनि बढी राम्रो टिम खोज्छु । टिम राम्रो भएपछि अवश्य पनि फिल्म राम्रो बन्छ भन्ने लाग्छ ।   

एउटा राम्रो कलाकारका लागि त स्क्रिप्ट पनि महत्वपूर्ण कुरा होइन र ?
टिम राम्रो भयो भने स्क्रिप्ट राम्रो हुन्छ भन्ने लाग्छ । आफ्नो क्यारेक्टरको कुरा पनि उठ्न सक्छ । जति नै सिन भए पनि क्यारेक्टरलाई कसरी राम्रो भन्ने एक्टरको हातमा हुन्छ भन्ने लाग्छ । मेरो ‘होस्टेल रिटन्र्स’मा पूरा जोड्ने हो भने जम्माजम्मी १० मिनेटको पनि रोल छैन होला तर ‘नोटिस्ड’ भइयो त । निश्चलले पनि मलाई बिहेअघि नै भनेको थियो, ‘कलाकार भएपछि बाठो हुनुपर्छ । आफ्नो रोललाई कसरी नोटिसेबल बनाउने भन्ने उसको हातमा हुन्छ ।’ मलाई पनि त्यस्तै लाग्छ ।


तपाईंको अनुभवमा श्रीमान्–श्रीमती दुवै एउटै क्षेत्रमा रहँदाका फाइदा÷बेफाइदा के हुने रहेछन् ?
बेफाइदा त केही होलान् जस्तो लाग्दैन । पहिला त केही सोचेको थिइनँ तर एकदमै सजिलो हुँदोरहेछ । पहिलो कुरा त मैले निश्चललाई कलाकार या निर्देशकभन्दा राम्रो मान्छेका रुपमा चिनेपछि बिहे गरेको हुँ । उहाँ यो क्षेत्रमा नभएको भए मलाई काम गर्न यत्ति सजिलो हुने पनि थिएन होला । खासमा मैले उहाँसँग बिहे गरेपछि एउटै क्षेत्रमा रहेकाले काम गर्न सजिलो होला भनेर बिहे गरेको थिइनँ । मलाई कलाकार स्वस्तिमा भन्दा पनि व्यक्ति स्वस्तिमालाई उहाँसँग जीवन बिताउन सजिलो होला भन्ने लागेर नै गरेकी थिएँ ।  

समय व्यवस्थापन गर्ने मामिलामा त अप्ठेरो हुन्छ होला ?
हो, समयका मामिलामा समस्या हुन्छ । हामी कहिलेकाँही तीन–चार महिनासम्म लगातार घरमै समय बिताइरहेका हुन्छौं । कहिले दुवै सुटिङमा  व्यस्त भएर तीन–चार महिनै छुट्टिन्छौँ । दुवैका कामको प्रकृति नै यस्तो छ । त्यसैले यसलाई ‘नेगेटिभली’ लिँदैनौैँ । लामो समय भेट्न नपाउँदा कहिलेकाहीँ तनाव हुन्छ ।
 
तपाईं निश्चलका कारण हिट हुनु भएको भन्यो भने कस्तो लाग्छ ?
मलाई यसले फरक पार्दैन । आखिर निश्चल मेरो श्रीमान् नै हो क्यारे ! तर, म निश्चलको फिल्ममा काम गर्दा ‘आफ्नै बूढीलाई खेलाएछ’ भनेर प्रचार नहोस् भन्ने चाहन्छु । सम्बन्धका कारणभन्दा पनि मेरो क्षमताका कारण फिल्म हिट होस् भन्ने चाहन्छु । त्यसैले म निश्चलका फिल्ममा काम गरेपछि दमदार रुपमै काम गर्न चाहन्छु । अरुका फिल्ममा गर्न नपाएको अभ्यास र मोल्न नसकेको जोखिम उहाँको फिल्मबाट मोल्न चाहन्छु ।  म निश्चलको फिल्मबाट रिस्क लिन चाहन्छु ।

तपाईंको भूमिका र अभिनयबारे निश्चलको प्रतिक्रिया कस्तो हुन्छ ?
उहाँ प्रतिक्रिया नदिने व्यक्तिमा पर्नुहुन्छ । बरु मैले उहाँको फिल्म हेरेर राम्रो÷नराम्रो टिप्पणी गर्ने गर्छु । उहाँले मेरो फिल्म हेरेपछि मेरो कामबारे केही टिप्पणी गर्नुहुन्न । फेरि निश्चल धेरै बोल्ने मान्छे पनि होइन । ‘६क्कापञ्जा–२’का बेला दीपा दिदीले पनि निश्चलले फिल्मबारे के भन्यो भनेर सोध्नुभएको थियो । ‘खोइ, केही भनेको छैन’ भन्दा उहाँ नै चकित बन्नुभयो ।

निश्चलसँग बिहे गरेपछि तपाईंलाई एउटा उपमा दिइएको सुनिन्छ– ‘राष्ट्रिय भाउजू’ । विभिन्न ट्रोल पनि बन्ने गर्छन् । तपाईंलाई कस्तो लाग्छ ?
मलाई  त्यस्तो केही पनि  लाग्दैन । बिहेपछि विभिन्न कार्यक्रममा म निश्चलसँग जान थाले । त्यहाँ जाँदा धेरैले मलाई ‘भाउजू भनौँ, भाउजू भनौँ’ भन्न थाले । त्यत्तिकैमा मलाई ‘राष्ट्रिय भाउजू’ भन्न थाले । मलाई मन नपराउनेहरुले ‘यस्तो पनि राष्ट्रिय भाउजू रे !’ भनेर खिल्ली उडाएको पनि सुन्छु । तर मलाई राम्रो सोचले भने पनि ठीकै छ, नराम्रो सोचले भने पनि ठीकै छ । पछिल्लो समय ट्रोलमा पनि विकृति देखिन थाल्यो, त्यसैले म फलो गर्दिन । ‘कबड्डी’ फिल्मको ‘यसलाई भाउजू भन्’ भन्ने सिनको डायलगमा निश्चल र मेरो फोटो राखेर बनाइएको ट्रोल देख्दाचाहिँ मलाई रमाइलो लागेको थियो ।  

एउटा बहस कार्यक्रममा अभिनेत्री ऋचा शर्माले ‘६क्कापञ्जा–२’ फिल्मभित्र भएको महिला चरित्र चित्रणलाई लिएर गर्नुभएको टिप्पणीविरुद्ध पूरा फिल्म युनिट नै खनियो । ऋचालाई ‘गेट वेल सुन’सम्म लेख्नुभयो । तपाईं जत्तिको शिक्षित अभिनेत्रीबाट त्यस्तो अपेक्षा थिएन भन्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिएका थिए, यसबारे के भन्नुहुन्छ ?
ऋचाजी एउटा फिल्मकर्मी हो । उहाँले कुनै सार्वजनिक कार्यक्रममा गएर अर्को फिल्मकर्मीको फिल्मविरुद्ध बोल्नु मलाई ठीक हो जस्तो लागेन । यो कुरामा दीपक–दीपाभन्दा बढी चित्त मलाई बुझेको थिएन । त्यसैले मैले यो कुरा उठाएको हो । ‘६क्कापञ्जाका दर्शक मूर्ख’ भनेर चल्तीका मिडियामा पनि खबर आएका थिए, अनि हामीले मिडियालाई विश्वास नगर्ने ? उहाँले आफूलाई चित्त नबुझेको कुरा भन्नुभयो, हामीले पनि चित्त नबुझेको लेख्यौं ।

तपाईंहरुलाई आफ्नो फिल्ममाथिको आलोचना सुन्न नरुचाउने आरोप पनि लाग्न थालेको छ ?
मेरा तीनटा फिल्म रिलिज भए । यत्रो काम गरियो । युट्युबमा कत्ति नराम्रो कमेन्टहरु गरेर देखियो । कहिले कसैमाथि त्यसरी लेखियो ? तर ऋचाजी त फिल्ममेकर्स भएर जानुभएको थियो त्यस कार्यक्रममा, अर्काको फिल्ममाथि त्यसरी बोल्न मिल्छ ? अर्को फिल्मकर्मीको नयाँ प्रोजेक्टलाई असर पर्ने गरी बोल्न मिल्छ ?

तपाईंले ऋचाविरुद्ध फेसबुकमा लेखेको स्टाटस पछि हटाउनुभएको थियो । गल्ती गरेको महसुस भएर हटाएको जस्तो देखियो नि ?
हटाएको त मात्र ३–४ दिनमात्र भयो । ‘हाइड’ भएको हुनसक्छ । प्रायःजसो म स्टाटसै लेख्दिनँ, लेखेपनि लामो समय राख्दिन तर त्यो स्टाटस मैले सोचविचार गरेरै लेखेको हो ।

नेपाली फिल्ममा हुने गरेको कमजोर महिला चरित्र चित्रणलाई लिएर धेरै बहस हुने गरेका छन् । यस विषयमा तपाईंको धारणा के छ ?  
‘६क्कापञ्जा–२’को एउटा सिनलाई लिएर महिलालाई तल देखाइयो भन्दै विरोध गरिएको सुनेको छु तर त्यो पुरै फिल्मको प्लट त त्यस्तो छैन नि ! लास्टमा गएर त केटालाई सुधार्ने त केटी नै हुन्छ । त्यो त कसैले नोटिस्ड गरेन नि, किन ?  मलाई लाग्छ ‘फ्रि टाइम’ भएको मान्छेले यसरी फिल्मको आलोचना गर्छन् ।  फिल्मबाट इन्जोय लिनेभन्दा पनि के आलोचना गरौं, के गर्दा बढी लाइक र कमेन्ट आउँछ ? के गर्दा बौद्धिक भइन्छ भन्ने सोच्ने मान्छेहरुले यसरी हेर्छन् ।  मलाई लाग्छ फिल्म ‘लाइटहार्टेड’ हुन्छ, गहिराइमा जाने होइन ।

फिल्म हेर्दा गम्भीर हुनुपर्दैन भन्नु खोज्नुभएको ?
हो । कमेडी फिल्म हेर्दा गम्भीर कुरा खोजेर हुन्छ ? फिल्मको प्रकृतिअनुसार पो फिल्म हुन्छ त ! त्यसको अर्थ जे पाए त्यही गर्न पाइन्छ भन्ने पनि होइन । यहाँ जे पाए त्यही त महिलाको हकमा मात्र होइन, पुरुषको हकमा पनि पाइँदैन । हामी महिला–पुरुष बराबर पनि भन्छौं अनि फेमिनिजमको कुरा गरेर महिलाले आफैँलाई तल झारिरहेका छन् ।

तपाईंलाई गर्न मन लागेको कुनै भूमिका छ ?
मलाई लाग्छ– एक्टर भनेको पानीजस्तै हुनुपर्छ । ठ्याक्कै यो रोल गर्न मन छ भन्ने छैन । जे होस् चुनौतीपूर्ण भूमिकामा काम गर्ने मौका आओस् भन्ने चाहन्छु ।

Leave A Comment