‘मोटो किताब भनेपछि तर्सिन्छु म’

शनिबार, १५ पुष २०७४, ०२ : ०८ प्रजु पन्त
‘मोटो किताब भनेपछि तर्सिन्छु म’

चर्चित उपन्यासकार नयनराज पाण्डे समकालीन लेखकहरूमा निकै नै रुचाइएका व्यक्तित्व हुन् । पाण्डेका उलार, लु, घामकिरी र सल्लिपरी लगायतका पुस्तक प्रकाशित छन् ।
१. अहिले पढ्दै गरेको पुस्तक ?
पुस्तकको रूपमा त हैन । तर, अहिले म एउटा पत्रिकामा छापिएको अफगानी लेखक अतिक रहिमीको उपन्यास ‘अ थाउजेन्ड रुम्स अफ ड्रिम्स एण्ड फियर’को हिन्दी अनुवाद पढिरहेको छु । अतिक रहिमी लेखकबाहेक सिनेमाका निर्देशक पनि हुन् । उनको ‘गन विद द विन्ड’ भन्ने फिल्म मलाई साह्रै मन परेको हो । निकै चर्चित सिनेमा पनि हो यो । उनको यो उपन्यासमा भने ७० को दशकको अन्तिमतिर सोभियत र अफगानिस्तानबीचको युद्धका कारण देशबाट विस्थापित हुन बाध्य भएको एउटा युवाको कथा भनिएको छ । यसको कथा भन्ने शैली मलाई साह्रै मन प¥यो ।

२ .जीवन परिवर्तन गरिदिएको पुस्तक ?
खै, कुनै पनि किताबले मेरो जीवन परिवर्तन गरिदिएको त थाहा छैन । तर, साहित्यप्रतिको सोच भने फेरिदिएका छन् केही पुस्तकले । किशोरावस्थामा साहित्य स्वान्तसुखायका लागि लेख्नुपर्छ भन्ने लाग्थ्यो । साहित्यले समाजमा पार्ने प्रभावको बारेमा खासै बुझेको थिइनँ । साहित्यको समाजशास्त्रीय पाटोबारे खासै चासो पनि राख्दिनथेँ । किताब पढ्यो, रोयो, हाँस्यो, सकियो । तर, पहिलोपल्ट एसएलसी दिएपछि म्याक्सिम गोर्कीको ‘आमा’ पढेँ । त्यसपछि भने साहित्यमा समकालीन समय, राजनीति र समाजहरू कसरी उपस्थित हुन्छन् भन्ने बुझेँ । साहित्य आफ्नो सुखका लागि हैन, अरूको चेतनामा हस्तक्षेप गर्ने विषय रहेछ भन्ने त्यसपछि बुझेँ ।

३. काश, त्यो पुस्तक मैले लेखेको भए ?
हरेक राम्रा किताब पढेपछि सबै लेखकलाई यस्तो लाग्छ । विश्व साहित्यमा त्यस्ता लोभलाग्दा हजारौँ किताब छन् । तर, म यहाँ नेपाली साहित्यकै कुरा गर्छु । सोताला र एक चिहान पढेपछि भने मलाई यो किताब मैले लेख्न पाएको भए यी उपन्यासको अन्त्यका दृश्यलाई मज्जाले पुनर्लेखन गर्थेँ भन्ने लाग्छ । यी आफ्नो समयका उत्कृष्ट कृति हुन् । तर, दुवै उपन्यासका अन्तिम दृश्यहरू लेखकले एकदम हतारमा लेखेजस्तो लाग्छ । उपन्यास टुंग्याउने हतार देखिन्छ दुवै उपन्यासमा । उसो त यो हामी धेरै आख्यानकारहरूको साझा समस्या नै हो ।

४. मेरो लेखनीमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक वा लेखक ?
धेरै छन् । तर, थोरैको नाम लिनु पर्दा नेपालीमा ध्रुवचन्द्र गौतम, बीपी कोइराला, बालकृष्ण सम र गोपालप्रसाद रिमालको नाम लिन्छु । ध्रुवचन्द्र गौतममा कथावाचनको शैलीमा नयाँ प्रयोग गरिरहने परिपाटी मन पर्छ । बीपीले उठान गरेका विषय र पात्रहरूको मनोविज्ञानमा प्रवेश गर्ने तरिका मन पर्छ । बालकृष्ण समको लेखनभित्र निहित दार्शनिकता गजब लाग्छ । रिमालका कविताहरूमा रहेको प्रखर राजनीतिक चेत गजब लाग्छ । चेखव र मोपासाँका कथा पढेपछि कथानकलाई कसरी उत्कर्षमा पु¥याउन सकिन्छ भन्ने बोध भएको हो मलाई । ओरहान पामुकका उपन्यासमा विषय र शिल्प दुवैको बेजोड सम्मिश्रण हुन्छ । त्यो लोभलाग्दो लाग्छ मलाई । म लेखन विषयलाई महŒव दिन्छु । तर, त्यो विषयलाई अभिव्यक्त गर्ने शैली र शिल्प कमजोर भयो भन्ने विषयले मात्र लेखनको गरिमालाई थेग्न सक्दैन । त्यसैले नाइजेरियन लेखक चिनुआ अचिबे र उनकै उत्तराधिकारी अहिलेको समयकी चर्चित चिमामाण्डा अदिचीको लेखनले मलाई आकर्षित गर्छन् ।

५.सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक ?
मेरा अध्ययनका आफ्नै सीमाहरू छन् । चाहेर पनि सबै राम्रा किताब पढ्न सकिन्न । तर, धेरै लेखकहरूले चर्चा गर्ने मार्खेजको ‘वन हण्ड्रेड इयर्स अफ सलिच्युड’ धेरै पटक पढ्ने प्रयास गरेँ । कहिले चौथाइमा रोकिएँ, कहिले आधाउधिमै थामिएँ । नेपालमा माधवीसित पनि म त्यसरी नै दुर्घटित भएको छु । मोटो किताब भनेपछि यसै पनि तर्सिन्छु म । एकाग्रता भएन भने यी किताबहरू पढ्न र बुझ्न नसकिने रहेछ ।

६.पछिल्लो एउटा पुस्तक जसले मलाई रुवायो ?
म प्रायः किताब पढेर रुन्नँ । बरु सोच्छु, घोरिन्छु । तर, गतवर्ष राजव दाइले मलाई एली विसेल भन्ने लेखकको ‘नाइट’ भन्ने किताब पढ्न दिनु भएको थियो । उनी विख्यात लेखक हुन् । तर, उनले नोबेल पुरस्कार भने विश्व शान्तिका लागि पाएका छन् । उनको त्यस ‘नाइट’ भन्ने आत्मकथात्मक किताब पढेर भने धेरैपटक मेरो मुटु बटारिएको थियो । लेखक आफैँ हिटलरको कन्सन्ट्रेसन क्याम्पमा पुगेका व्यक्ति रहेछन् । किताबमा उनको र उनको पिताको कन्सन्ट्रेसन क्याम्पको बसाइ, त्यहाँ उनीहरूले भोगेको देखेको यातनाका बीच बाबुछोरा बीचको हार्दिकता अद्भूत लाग्छ । यो किताब पढिसकेपछि करिब एक महिना मैले अरू कुनै किताब पढ्न सकिनँ ।
७.पछिल्लो एउटा पुस्तक जसले मलाई मज्जैले हँसायो ?
पूरै हास्यव्यंग्यले भरिएको किताब त हालसालै पढेको छैन । तर, गतवर्ष  राजवको ‘सोटिट’ पढेर त्यसका केही दृश्यहरूले हँसाएका थिए । राजवको लेखनमा सेन्सअफ ह्युमर गजब हुन्छ । उनी हास्य र व्यंग्यको प्रयोग गरेर गम्भीर कुरा अभिव्यक्त गर्न खप्पिस छन् । बुद्धिसागरको ‘फिरफिरे’का कतिपय घटनाक्रमले पनि बाल्यकालका आफ्ना बदमासीहरू सम्झाउँछन् र हँसाउँछन् ।

८. पछिल्लो एउटा पुस्तक जुन पढेर मैले कपाल भुत्ल्याएँ ?
कुनै किताब पढेर मलाई अपसोच हुँदैन र म कपाल भुत्ल्याउँदिनँ । किनभने हरेक कमजोर किताबमा पनि उपयोगी कुरा केही न केही हुन्छ भन्ने विश्वास छ मलाई ।
    
९. ती पुस्तक जो मैले कहिल्यै अन्त्यसम्म पढ्न सकिनँ ?
थुप्रै छन् । मार्खेजको ‘वन हण्ड्रेड इयर्स अफ सलिच्युड’ र माधवीको कुरा माथि नै भनिसकेँ ।

१०. पढ्न नपाएर लज्जित तुल्याएको त्यो पुस्तक ?
सबै किताबहरू पढ्न सकिन्न । आफ्नो रुचिअनुसार पढ्ने हो । रुचि नै भयो भने पढ्न नपाउने भन्ने किताब कुनै हुन्नन् अचेल । तर, मुनामदन यस्तो किताब हो, जो मसित सधैँ छ तर मैले यो पूरै पढेको छैन आजसम्म । यो काव्य पढ्न थाल्दा जहिले पनि नारायण गोपालको आवाजले हस्तक्षेप गर्छ ।

११.मैले प्रायः उपहारमा दिइरहने पुस्तक ?
बुद्धिसागरको ‘कर्णाली ब्लूज’ र महेशविक्रम शाहका कथा संग्रहहरू ।
१२.पुस्तक किन पढ्ने ?
अरूले किन पढ्छन् थाहा छैन । तर, म भने आफ्नै जस्तो लाग्ने अर्को संसार र समाजलाई बुझ्न र आफ्नै जस्तालाग्ने चरित्रहरूसित भेटघाट गर्नका निम्ति नै किताब पढ्छु । किताब मेरा लागि म उभिएको ठाउँबाट अर्को दुनियाँ वा अर्को समाजसम्म पुग्ने पुल हो भन्ने लाग्छ ।
१३.कस्ता किताब पढ्न सल्लाह दिनुहुन्छ ?
सबैका भिन्न–भिन्न रुचि हुन्छन् । तर, साहित्यका किताबहरू पढ्न सुरुवात गर्दै हुनुहुन्छ भने पातला किताबबाट सुरु गर्नुस् । पातला किताब खराबै भए पनि तिनले तपाईंको उति धेरै समय नष्ट गरिदिँदैनन् ।
१४. कस्ता पुस्तक लेखिनुपर्छ जस्तो लाग्छ ?
यस्तै पुस्तक लेखिनुपर्छ भन्ने आधिकारिक व्यक्ति होइन म । समाजमा सबै खाले किताब उपलब्ध हुनुपर्छ र पाठकले आफ्नो छनोटको आधारमा किताब पढ्न पाउनु पर्छ भन्ने मान्यता राख्छु म ।
१५ पढ्न मन नलाग्नेले कसरी सुरु गर्ने ?
कविता, निबन्ध या कथाबाट सुरु गरेर मात्र उपन्यासहरूमा प्रवेश गर्नुस् । सफल व्यक्तिका आत्मकथाहरू पढ्नुस् । पढ्ने लत बसेपछि तपाईं आफैँले आफूलाई मन पर्ने किताब छनोट गर्न सक्षम भइसक्नु हुनेछ ।

Leave A Comment