दुई अर्बको मोबाइल व्यापार

आइतबार, ०२ साउन २०७३, ०१ : ३१ दिलीप पौडेल , Kathmandu
दुई अर्बको मोबाइल व्यापार

दैनिक जीवन सञ्चालनको सारथी बनेको ‘मोबाइल’ प्रयोगकर्ताको वृद्धिसँगै यसको व्यापार फस्टाएको छ । सञ्चार सूत्र मात्र नभई विभिन्न एप्सको माध्यमबाट हरेक सूचनाको जानकारी पाउने भएपछि मोबाइल जीवनको अभिन्न अंग बनिसकेको छ ।
व्यक्तिले प्रयोग गरेको ‘मोबाइल सेटको ब्रान्ड’लाई आफ्नो प्रतिष्ठाको रूपमा समेत हेर्न थालेपछि महँगामहँगा मोबाइल नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा १५ सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म चर्चित ब्रान्डको प्रवेशले यसको व्यवसाय बढेको हो । परिवारका सदस्य पिच्छे मोबाइल, आफूलाई ‘स्मार्ट’ देखाउन चाहने र व्यस्त हुने हरेक व्यक्तिले दुई मोबाइल सेट बोक्न थालेकोले पनि माग वृद्धि भएको छ ।
जीएसएम र सीडीएमए मोबाइलको सिम २ करोड ८२ लाख ५९ हजार १ सय ८४ र एलएमएस र जीएमपीसीएस सेवा ८ लाख ४६ हजार ९ सय ५२ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । मोबाइलमा इन्टरनेट चलाउनेको संख्या १ करोड २२ लाख ९५ हजार ७ सय ४५ पुगेको छ । यसले पुष्टी गर्छ कि मोबाइल प्रयोगकर्ताको संख्या । केही सिम बिग्रिएर चलाउन छाडे पनि जनसंख्याकै हाराहारीमा मोबाइलको व्यापार भएको छ । उच्चदेखि निम्न आम्दानी भएकाले आफ्नो गच्छेअनुसार मोबाइल चलाइरहेका छन् । नयाँनयाँ भर्सन आएसँगै मोबाइल सेट पनि फेरिरहन्छन् ।
सूचना प्रविधिको युगमा मोबाइलमा बहुप्रयोगका लागि सबै अभ्यस्त भइसकेका छन् । कुराकानी गर्न मात्र नभएर क्यामेरा, अनलाइन टेलिभिजन, मुभी हेर्न, गीत÷संगीत सुन्न, बैंकिङ सेवा, समाचार, सामाजिक सञ्जालको प्रयोग, इमेल, इन्टरनेट, मौसम, बजार, लोडसेडिङ तालिका, ट्राफिक जामबारे जानकारी लिन, गेम खेल्ने सहित सबै काम मोबाइलमा हुने भएकाले व्यापार फस्टाएको हो । तन्नेरी पुस्तादेखि वृद्धिवृद्धाको सहारा बनेको छ । मोबाइलका एप्सहरूको महŒव त्यतिकै छ । जसले विश्वलाई साँघुरो बनाएको छ ।
अहिले मासिक करिब दुई अर्ब रुपैयाँका मोबाइल सेट भित्रिएको मोबाइल बिक्रेताले जनाएका छन् । औपचारिक च्यानल (भन्सार)बाट एक वर्षमा करिब ३५ लाख सेट भित्रिएको देखिए पनि अनौपचारिक रूपमा ठूलो संख्यामा मोबाइल भित्रिने गरेको छ । वार्षिक २५ लाखभन्दा बढी ह्यान्डसेट बिक्री हुन्छन् ।
  गैर कानुनी रूपमा भित्रिएर ‘ग्रे मार्केट’मा समेत मोबाइलको किनबेच भएको भन्दै यसलाई नियन्त्रण गर्न व्यवसायीले नेपाल दूर सञ्चार प्राधिकरणलाई आग्रह गरेका छन् । नेपाली उपभोक्ताले अहिले सामसुङ, हुवावे, सोनी, एप्पल, एलजी, माइक्रोम्याक्स, कलर्स, जयोनी, साओमी, पानासोनिक , कार्बन, लाभा, बर्ड, वान प्लस, स्काइ, फ्लाई, स्पाइस, जी–फाइबसहित साढे दुई दर्जन स्वदेशी तथा विदेशी ब्रान्डका मोबाइल प्रयोग गरेका छन् ।
आर्थिक वर्ष ०६७÷६८ मा ४ अर्ब ४७ करोड ३६ लाख ९३ हजार मूल्य बराबरको १७ लाख ४३ हजार ७ सय ४३ मोबाइल सेट आयात भएकोमा आव ०७१÷७२ मा आइपुग्दा तेब्बर बढेर १३ अर्ब ४५ करोड १२ लाख मूल्य बराबरको ३८ लाख ९ हजार ६ सय २० मोबाइल सेट भित्रिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । नेपालमा सामसुङले मात्र वार्षिक पाँच अर्ब र हुवावेले दुई अर्बको कारोबार गर्ने गरेको दाबी गरेका छन् ।
व्यापारीले भन्सार छल्नका लागि खुल्ला बोर्डरको फाइदा उठाउँदै गैर कानुनी रूपमा उत्तिकै संख्यामा मोबाइल ल्याएर बेच्ने गरेका छन् । कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटेकका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ब्रान्डेड मोबाइल प्रयोगकर्ता बढेको बताउँछन् । ‘समय सापेक्ष रूपमा उपभोक्ता सस्तोदेखि महँगा मोबाइल उपभोग गर्न पाएका छन्,’ उनले भने, ‘उपभोक्ताको सन्तुष्टिसँगै व्यापार पनि फस्टाएको छ ।’
मोबाइल व्यापारलाई व्यवस्थित बनाउन नेपाल दूर सञ्चार प्राधिकरणले आईएमईआई (विशिष्ट पहिचान अंक) राख्न सुरु गरेको छ । अवैध रूपमा मोबाइल भित्रिने क्रम रोक्नको लागि यस्तो उपाय निकालेको हो । मोबाइल चोरीको समस्या समाधान गर्दै प्रयोगकर्ताको सुरक्षा प्रत्याभूति दिन नयाँ रणनीति अपनाएको दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए । ‘अब गैर कानुनी व्यापार बन्द गर्छ,’ खनालले भने, ‘यसले मोबाइलको व्यापार अझै बढाउने छ ।’ यो प्राविधिकले अब मोबाइल हराएमा, चोरी निकासी गरेर ल्याएमा बन्द गर्न वा ट्रयाकिङ गर्न सकिनेछ । अब विदेशबाट मोबाइल खरिद गरेर ल्याउने व्यापारीले अनिवार्य आईएमईआई नम्बर मोबाइलमा सेट नगरी बेच्न पाउँदैनन् ।
एप्पलका आधिकारिक वितरक जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले मोबाइलमा आईएमईआई नम्बर सुरु गरेपछि झोले व्यापार अन्त्य हुने विश्वास व्यक्त गरे । ‘अब उपभोक्ताले पनि सही मोबाइल पाउँछन्,’ उनले भने, ‘ग्रे मार्केट बन्द गरे व्यापार अझै फस्टाउँछ ।’

 

Leave A Comment