‘मानसिक विकार फ्याँक्न पुस्तक पढ्छु’

बिहिबार, २० पुष २०७४, ०१ : २२ प्रजु पन्त
‘मानसिक विकार फ्याँक्न पुस्तक पढ्छु’

कवि विप्लप प्रतीकले भर्खरै ‘अविजित’ उपन्यास प्रकाशन गरेर आफ्नो परिचय उपन्यासकारमा उकालेका छन् । ‘नहारेको मान्छे’ र ‘अ पर्सन किस्ड बाई मुन’ उनका प्रकाशित कविता कृति हुन् । ‘अ पर्सन किस्ड बाइ द मुन’ त अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा समेत अनुवाद भइसकेको छ ।
तपाईंले पढ्दै गर्नुभएको पुस्तक ?
म अहिले ‘सेपियन्स’ भन्ने पुस्तक पढ्दै छु । खासमा मलाई यथार्थमा आधारित पुस्तक पढ्न मन पर्छ । यो पुस्तक मानव जातिको इतिहासबारे लेखिएको छ । मान्छेको प्रजाति र पितापुर्खाबारे लेखिएको छ । यो पुस्तकको सुन्दर पक्ष भनेको हामी सबै मान्छे अफ्रिकी मूलबाट आएका हौँ भन्ने निष्कर्ष हो । अहिले हामी यो जात, ऊ जात भने पनि वा यो देश, त्यो देशको भने पनि आखिरीमा हाम्रा पितापुर्खा त एउटै रहेछन् । हाम्रो एउटै जात छ, त्यो भनेको मान्छे हो । म आफू पनि यस्तै कुरामा विश्वास राख्ने हुँदा यो पुस्तक पनि यही प्रकृतिको भएकाले पढ्न बडो मज्जा आइरहेको छ ।
जीवन परिर्वतन गरिदिएको कुनै पुस्तक ?
कुनै एउटै पुस्तकले मान्छेको जीवनै परिर्वतन गर्छ जस्तो मलाई लाग्दैन । तसर्थ पुस्तकले सोच विचारमा भने परिवर्तन गर्छ । जस्तो हर्मन हेस्सेको ‘सिद्धार्थ’ । यो पुस्तक पढ्दा मानिसको जीवन के हो, चरित्र कस्तो हुनुपर्छ ? आफूले कस्तो जीवनशैली लिएको छौँ ? भन्नेबारे सोच्न र जस्तो शैली लियो पछि त्यस्तै हुने रहेछ भन्ने थाहा हुन्छ । त्यस्तै निकोलाई आस्त्रोभ्स्कीको नेपाली अनुवाद ‘अग्निदीक्षा’ पनि मलाई ज्यादै प्रभावित पार्ने पुस्तक हो । यो पुस्तकमा मान्छेको जीवनको कुनै टुंगो छैन, त्यसकारण अन्तिम श्वास लिनुभन्दा अघि कुनै पनि गलत कर्म नगरौँ जसले गर्दा पछुतो होस् भन्ने सन्देश दिन्छ । त्यस्तै आस्त्रोभ्स्कीकै ‘हाउ दि स्टिल वाज टेम्पर्ड,’ लियो टल्सटोयको ‘वार एन्ड पिस’, ‘अन्ना करेनिना’ र फ्योदोर दोस्तोएभ्स्कीको ‘द इडिएट’ ‘क्राइम एन्ड पनिस्मेन्ट’ आदि पुस्तकले पनि मलाई ज्यादै प्रभावित पारे । यस्ता पुस्तकले मान्छेको जीवनमा नराम्रा अवसर धेरै चोटी आँउछन् तर राम्रो गर्ने अवसर पटक पटक आउँदैन, त्यसकारण आफ्ना कारणले कसैको भलाई हुन्छ भने त्यस्तो मौका गुमाउनुहुन्न भन्ने कुरा सिकाउँछ । मेरो जीवन सिद्धान्त बनाउन यस्तै पुस्तकले भूमिका बनाएका छन् । यिनै पुस्तक पढेर म यो विन्दुमा आइपुगेको छु ।     
काश, त्यो पुस्तक मैले लेखेको भए भन्ने लाग्ने कुनै पुस्तक ?
मलाई कुनै पनि पुस्तक पढेर मैले लेख्न पाएको भए भन्ने कहिल्यै लागेन । त्यस्तो भावना मेरो मनमा आएन । मलाई के लाग्छ भने त्यस्तो सोच आउनु भनेको त्यो लेखकलाई सम्मान नगर्नु हो ।
तपाईंको लेखनीमा सबैभन्दा बढी प्रभाव पारेका पुस्तक वा लेखक ?
त्यस्तो त एउटा मात्र छैनन् । अघि माथि नाम लिइएका सबै पुस्तक अनि मार्खेजको ‘हन्ड्रेड इयर अफ सोलिच्युड’ त्यस्तै हिन्दुस्तानी लेखकहरु अज्ञेय, मोहन राकेश र निर्मल वर्माका पुस्तकहरुले मलाई प्रभाव पारेका छन् । त्यस्तै नेपाली लेखकहरुमा बिपी कोइरालाका पुस्तकले प्रभाव पारेका छन् । त्यस्तै बालकृष्ण समको ‘नियमित आकस्मिकता’ पनि प्रभाव पार्नेमध्येको पुस्तक पर्छ ।
सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक तपाईंलाई कुन लाग्छ ?
मेरो बानी के छ भने आफूले पढ्न नपाएको पुस्तक सकेसम्म किनेर  साथीभाइलाई बाँड्न मन लाग्छ । त्यस्ता पुस्तकमध्ये इर्भिङ स्टोनले प्रख्यात चित्रकार भ्यान गगको जीवनीमा आधारित उपन्यास ‘लस्ट फर लाइफ’ मैले पढ्न पाएको छैन तर साथीभाइलाई भने बाँडेको छु ।  
मज्जैले रुवाएको पुस्तक ?
किताब पढेर घुँक्क हुने गरी रोएको त छैन तर पुस्तक पढेपछि धेरै दिनसम्म त्यसको प्रभाव परिरहेको भने छ । धच गोतामेको ‘घामका पाइला,’ त्यस्तै तारिणीप्रसाद कोइरालाको ‘सर्पदंश’, भवानी भिक्षुका सबै कथाहरुले मलाई धेरै दिनसम्म ‘ह्याङ’ गरेका छन् । यो सूचीमा छुटाउनै नहुने नाम  धु्रवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ भन्ने उपन्यास पनि हो । यो पुस्तक पढेपछि अन्तिममा आफ्सेआफ आँखाबाट आँसु आँउछ । त्यस्तै भारतीय लेखक प्रेमचन्दको ‘गोदान’ पुस्तकले पनि आँसु ल्याएको थियो ।
पछिल्लो पटक पढेको कुनै पुस्तकले तपाईंलाई मज्जाले हँसाएको छ ?
कुनै पुस्तकले त मज्जाले हसाउँछन् । पछिल्लो पटक पढेको जेम्स हेरिएटको ‘अल थिङ स्मल एन्ड ब्युटिफुल’ भन्ने पुस्तकले हसाँयो । यो पुस्तक भेटनरी डाक्टरका बारे लखिएको हो ।
तपाईंलाई दिक्क लगाउने पुस्तक कुनै छन् ?
दिक्क लाग्ने खालको जस्तो देखेँ भने म १/२ पाना पढेर छोडिदिन्छु । त्यस्ता पुस्तकहरु धेरै छन् । नामै त नलिऊँ क्यारे !
अन्त्यसम्मै पढ्न नसक्नु भएका कुनै पुस्तक ?
मोटो पुस्तक देखेपछि मलाई अत्यास लाग्छ । लियो टल्सटोयको ‘वार एन्ड पिस’ धेरै मोटो छ । मैले पूरै पढ्न सकिनँ अनि फिल्म हेरेँ तर फिल्म हेरेर सन्तुष्ट हुन सकिनँ । यो पुस्तकै पूरा पढ्ने धोको छ । त्यसकारण इबुक डाउनलोड गरेर राखेको छु । कुनै बेला अवश्य पढ्छु ।
पढ्न नपाएर लज्जित तुल्याएको कुनै पुस्तक ?
म खासमा देखाउन पढ्दिनँ । पुस्तक फुर्ती देखाउन पढ्ने होइन । म यो पढेँ भनेर भन्दिनँ पनि । त्यसकारण पुस्तक नपढेर लज्जितै हुनुपर्ने अवस्था आएको छैन ।
तपाईंले उपहार दिइरहने पुस्तक ?
मैले उपहारमा दिइरहने पुस्तकको नाम लिनुपर्दा ‘लस्ट फर लाइफ’, कामुको ‘आउट साइडर’, ‘जेन एन्ड दि आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ खलिल जिब्रानका पुस्तकहरु हुन् ।
तपाईं पुस्तक किन पढ्नुहुन्छ ?
पुस्तक किन पढ्ने भन्ने कुरालाई एकै वाक्यमा भन्नुपर्दा आफूभित्र रहेको मानसिक टक्सिन अर्थात् मानसिक विकार फाल्ने भनेकै पुस्तक हो । त्यसकारण म विकार फाल्न पुस्तक पढ्छु ।
युवालाई कस्तो पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
आजको पुस्ताले गहिरो अध्ययन गर्नुपर्छ किनभने अध्ययनले नै मानिसलाई फराकिलो सोच बनाउन सहयोग गर्छ । मैले भन्नुपर्दा माथि नाम लिइएका सबै पुस्तक, त्यस्तै १९७० सम्म लेखिएका रुसी, हिन्दुस्तानी र नेपाली साहित्यहरु पढ्दा राम्रो । त्यस्तै वाल्ट ह्विटम्यान र पाब्लो नेरुदाका कविताहरु, त्यस्तै गोपालप्रसाद रिमाल, दुर्गालाल श्रेष्ठ र सिद्धिचरण श्रेष्ठका कविताहरु पढ्न जरुरी छ । यति पुस्तक पढेपछि राम्रो पुस्तक, राम्रो साहित्य के रहेछ भन्ने थाहा हुन्छ । त्यसपछि पाठक आफैँलाई कस्तो पुस्तक पढ्ने भन्ने थाहा हुन्छ ।
कस्तो पुस्तक लेखिए हुन्थ्यो जस्तो लाग्छ ?
जुन सुकै विधामा लेखिए पनि गहिराईमा पुगेर लेखियोस् । मानव सम्बन्ध, प्रकृति र मानव बीचको सम्बन्ध, त्यस्तै मानिसको भावनामा आधारित भएर पुस्तकहरु लेखिन जरुरी छ ।
अन्त्यमा पुस्तक बिनाको संसार कल्पना गर्नुभएको छ ?

 

Leave A Comment