हिजोकी ‘दिदी’ आजकी प्रेमिका

आइतबार, २८ माघ २०७४, ०१ : ४० शुक्रवार
हिजोकी ‘दिदी’ आजकी प्रेमिका फोटो: श्रीधर पौडेल

हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी । अनिल यादवले भ्यालेन्टाइन्स डेको छेकोमा यी दुईलाई पछ्याएर तयार पारेको सामग्री  ।

सन् २०१७, मार्च ६ तारिखमा एक युट्युब च्यानलमा अपलोड भएको अन्तरवार्तामा अभिनेता आयुष्मान देशराजले अभिनेत्री प्रियंका कार्कीलाई ‘दिदी’ भनेर सम्बोधन गरे ।  

फिल्म ‘कथा काठमाडौं’को घोषणाका बेला दिएको त्यस अन्तरवार्तामा उनले अभिनेत्री प्रियंका कार्कीसँग एकै चलचित्र खेल्ने आफ्नो चाह पटक–पटक व्यक्त गर्दै भने, ‘प्रियंका दिदीसँग स्क्रिन सेयर गर्ने चाहना थियो ।’

दुवै पहिलोपल्ट फिल्म ‘कथा काठमाडौं’मा स्क्रिन सेयर गर्दै थिए । पर्दामा प्रेमी–प्रेमिकाका रुपमा देखिने फिल्मी पण्डितहरुको आँकलन फ्लप भयो । दुवै पर्दामा हैन, वास्तविक जीवनमै प्रेमी–प्रेमिकाका रुपमा उदाए ।

 उनले जसलाई दिदी भनेर सम्बोधन गर्थे, अहिले आयुष्मानलाई रिस उठाउने शब्द त्यही हुने गरेको छ । तर वास्तविकता यही नै त हो ! हिजोकी ‘दिदी’ आज उनको प्रेमिका छिन् । सम्बोधन मात्रै हैन, उमेरले पनि आयुष्मान ५ वर्ष कान्छा नै छन् प्रियंकाभन्दा ।

आफ्नो सम्बन्ध पहिल्याउन धेरै कसरतसमेत भएन फिल्मी बजारमा ।  दुवैले सहजै सार्वजनिक गरेका थिए । यी दुवैको सम्बन्धका आयाम केही लुकेको पनि छैन । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी ।

उनीहरुको लभस्टोरी खोतल्ने क्रममा उनीहरुको प्रेमलाई ‘दिदी–भाइ’ या ‘जोडी सुहाएन’जस्ता प्रतिक्रिया आउने गरेको प्रश्न तेर्स्याउँदा आएको दुवैको भावले देखायो– आखिर यो शब्दले कति चिढिएका रैछन्, दुवै ।
सार्वजनिक कार्यक्रममा चुम्बनमा लिप्त प्रियंका र आयुष्मान ।

‘मैले कहिले पनि आफूलाई उमेरसँग दाँजेर हेरेकै छैन । यो उमेरको कुरा पनि होइन, सोचाइ र दृष्टिकोणको कुरा हो,’ आयुष्मान थोरै रिसाएर बोले, ‘जोडी सुहाएन भन्नेहरुको भित्तामा हाम्रो फोटो हाल्नुपर्ने होइन नि ! सुहाओस्/नसुहाओस् के अर्थ ?’ प्रियंकाले त्यसमै थपेकी थिइन्, ‘हो, उनीहरुलाई सुहाउनुपर्दैन क्या !’

स्कुलकी सिनियर, अहिले प्रेमिका
यी दुवै विद्यालय तहदेखिकै परिचित हुन् । दुवैको स्कुले शिक्षा रातो बंगला स्कुलमा सक्किएको हो । स्कुलमा प्रियंका आयुष्मानभन्दा पाँच कक्षा सिनियर थिइन् । आयुष्मानका अनुसार उनी पाँच कक्षामा पढ्दा प्रियंकासँग जम्काभेट भएको रहेछ । प्रियंका १० कक्षामा थिइन् ।
एक दिन स्कुलको एउटा कुनामा प्रियंका रोइरहेका आयुष्मानले देखेछन् । त्यो बेला उनले ‘नरुनुस् दिदी’ भनेर सम्झाउन खोजे । प्रियंकालाई भने त्यस क्षणका बारेमा रत्तिभर सम्झना छैन । आयुष्मान भने उनी रुनुको कारणसमेत थाहा भएको भन्छन् तर कारण खुलाउन चाहँदैनन् ।

‘किन रोएको पनि थाहा छ मलाई तर भन्दिनँ,’ उनले भने ।

चिनजान पुरानै भए पनि यी दुवैको सम्बन्ध त्यत्ति निकट भएन । दुवै आ–आफ्नै तरिकाले अगाडि बढे । प्रियंका टेलिभिजनको पर्दा हुँदै ठूलो पर्दामा जम्न पुगिन् । संयोग आयुष्मान पनि टेलिभिजनको पर्दा हुँदै फिल्मी दुनियामै पुगे र भेट जुराइदियो । र, दुवैको सम्बन्ध समेत मोडियो ।

दुवैका पुराना सम्बन्ध
समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘संसारमै सेलिब्रिटी भनेको सधैँ तलमाथि भइरहने वर्ग हो । उसको करिअर र जिन्दगी जसरी तलमाथि हुन्छ, त्यसकै प्रभाव सम्बन्धमा पनि पर्न थाल्छ ।’

समाजशास्त्री उप्रेतीले भनेझै प्रियंका र आयुष्मानको जीवन र सम्बन्ध निक्कै उतारचढावपूर्ण नै छ । न प्रियंका आयुष्मानको पहिलो प्रेमी हुन् न प्रियंका नै आयुष्मानको पहिलो प्रेमिका । भोलि दुवैको सम्बन्ध प्रेमी–प्रेमिकाबाट एकतह माथि उक्लिएर श्रीमान्–श्रीमतीमा रुपान्तरण भयो भने प्रियंका आयुष्मानकी पहिली श्रीमती हुनेछिन् तर आयुष्मान प्रियंकाको दोस्रो श्रीमान् ।


पहिलो श्रीमान् रोचकसँग प्रियंका ।

आठ वर्षअघि नै प्रियंकाको वैवाहिक यात्रा सुरु भएको थियो, रोचक मैनालीसँग । अमेरिकामा पढ्न गएको बेला उतै कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग उनको भेट भएको थियो । २०१० जुलाईमा भेट विवाहमा बदलियो । विवाहको २ वर्षपछि प्रियंका नेपाल आएकी थिइन् । त्यसको केही महिनामा मैनाली पनि नेपाल आए ।

दुवै नेपालमा रहेको बेला ‘जीवनसाथी’ टिभी कार्यक्रममा वैवाहिक जीवनबारे मज्जाले खुलेर बोलेका थिए ।‘हामीलाई बिहे भएको फिल भएको छैन, ब्वाइफ्रेन्ड÷गलफ्रेन्डजस्तो नै लागेको छ,’ प्रियंकाले त्यो बेला भनेकी थिइन्, ‘उनको इन्ट्रेस्टिङ पर्सानिलिटीका कारण नै म लोभिएकी थिएँ । उहाँजस्तो कामको कदर गर्ने हस्बेन्ड पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’

मैनाली कस्ता जीवनसाथी ? भन्ने प्रश्नमा प्रियंकाले लाडिदै जवाफ दिएकी थिइन्, ‘मलाई आँखामा साँचेर राख्नुभा’को छ । योभन्दा बेटर त के हुन्छ र ?’ तर दुबैको वैवाहिक सम्बन्ध तीन वर्षभन्दा अगाडि बढ्न सकेन । दुवै डिभोर्समा सहमत भए । डिभोर्सको कारणमा प्रियंकाले ‘व्यक्तिगत जीवनमा हस्तक्षेप भएको’ दाबी गरेकी थिइन् । मैनाली भने मौन नै रहे ।

रोचकसँग बिहे भएको बेला प्रियंका भर्खर आफ्नो करिअर अगाडि बढाउने प्रयासमा थिइन् । सन् २००५ की मिस टिन विजेता उनको पारपाचुकेपछि फिल्मी करिअरलाई घोडाको गतिमा दौडाइन् ।

‘थ्रि लभर्स’ फिल्मबाट सुरु भएको उनको फिल्मी करिअरमा संख्या थपेको थप्यै गरिन् । त्यसले उनको करिअरलाई नयाँ उचाइ दिन भने खासै सघाएन । यही बेला हास्यविधामा बनेको ‘६क्कापञ्जा’ र ‘६क्कापञ्जा–२’ले भने प्रियंकालाई व्यस्त बनाइदियो ।

मैनालीसँगको सम्बन्धको पूर्णविरामपछि डिभोर्सी प्रियंकाको नाम विवाहित अभिनेता दयाहाङ राईसँग जोडियो । फिल्म ‘झोले’बाट उनीहरुले सँगै स्क्रिन सेयर गरेका थिए, त्यतिबेलै नजिक भएका थिए दुवै । प्र्रियंकालाई अफर आउने फिल्ममा दयाहाङको डिमान्ड गर्ने र दयाहाङलाई अफर आउने फिल्ममा प्रियंकालाई लिनुपर्छ भन्ने मागको ओइरो लागेको खबरहरु सार्वजनिक भए ।

सम्बन्धको गसिपले बजार गर्माएको बेला दुवैले ‘सँगै मिलेर सन् २०१८ मा पोस्ट प्रोडक्सन खोल्ने’ योजना सार्वजनिक गरेर गसिपको झिल्को मिडियामा झोसे तर आगो फैलिएन ।

बेलाबखत चर्चामा छाइरहने बैंकर्स रविना देशराजका जेठा छोरा आयुष्मानको खातामा पहिलो फिल्म ‘चपलीहाइट–२’ प¥यो । ‘हट’ दृश्यहरूले भरिएको फिल्म भए पनि त्यत्ति नजमे पनि आयुष्मान फिल्म पण्डितको नजरमा परे । त्यसैले त फिल्म उत्रिए पनि आयुष्मान चर्चामा रहिरहे । चर्चाको कारण थियो उनी र ‘चपली हाइट–२’ की अभिनेत्री पारमिताराज्य लक्ष्मी शाह बीचको अफेयर ।
अफेयर बजार हल्ला मात्रै थिएन । दुवैले सार्वजनिक रुपमै आफ्नो सम्बन्ध स्वीकारेका थिए । दुवै आफ्नो सम्बन्ध टिकाइराख्न प्रतिबद्ध रहेको बताउँथे ।
पहिलो प्रेमिका पारमितासँग आयष्मान ।

एक्कासि शाह र आयुष्मानबीच ब्रेकअपको खबरले फिल्मी बजार गर्मायो । ब्रेकअपको खबर सेलाउन नपाउँदै एक सातामै आयुष्मान र प्रियंकाको प्रेम सम्बन्ध गहिरियो मात्र होइन, गसिपमार्फत् बाहिरियो । प्रियंकाले पारमिताको प्रेम खोसेको आरोपले बजार गर्मायो ।
दुवैको सम्बन्ध टुट्नुको कारणबारे पारमिता नै बोलिन्, ‘सम्बन्ध टुट्नुमा दुवै दोषी’ रहेको भन्दै । भद्र सहमतिमै ब्रेकअपको निर्णय लिएको बताएर आयुष्मानको नयाँ प्रेमयात्रा सहज बनाइदिने प्रयास पारमिताले गरिन् ।

उता पारमिता निकट सूत्रका अनुसार ब्रेकअपको एक हप्तापछि नै प्रियंकासँग आयुष्मानको नाम जोडिदा उनी चकित परेकी थिइन् रे !
आयुष्मानसँगको सम्बन्ध छुटेपछि परमिताले इन्ट्राग्राममा सन्देश पोस्ट गरिन्, ‘आयुष्मान र मैले सधैँका लागि बलियो सम्बन्ध गाँस्ने प्रण गरेका थियौँ तर समयले हाम्रो सम्बन्ध परिवर्तन ग¥यो । आज ऊ मेरो एउटा साथी हो भनेर नकार्न सक्दिनँ ।’

खुलमखुला प्रेम
बजारमा प्रियंका–आयुष्मानको प्रेमलाई ‘मोडर्न’ भनेर टिप्पणी गरिन्छ । छ, पनि त्यस्तै । सेलिब्रिटीहरु आफ्नो प्रेमजीवन हत्तपत्त सार्वजनिक गर्न चाहँदैनन् तर उनीहरु खुलमखुला छन् । आत्मिय क्षणहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका हुन्छन् । सार्वजनिक कार्यक्रममा ‘लिप–किस’ दिनसमेत हिच्किचाउँदैनन् दुवै ।

दुवैको परिवार उनीहरुको सम्बन्धबारे जानकार छ । दुवैका बाबु मौन छन्, आमा सञ्चारमाध्यममा खुलेर बोल्छन् । न प्रियंकाकी आमालाई छोरीको प्रेमी भेट्न संकोच लाग्छ, न आयुष्मानको आमालाई नै ।

आखिर किन यत्ति धेरै खुलापन ? शुक्रवारकर्मीको जिज्ञासामा प्रियंकाले भनिन्, ‘किनभने मेरो एउटा मात्र ब्वाइफ्रेन्ड छ क्या ! धेरैजना भयो भने गाह्रो हुने हो ‘म्यानेज’ गर्न । एउटा हुँदा लुकाउनुपर्दैन ।’

सम्बन्ध सार्वजनिक हुँदा फ्यान घट्छन् भन्नेमा विश्वास छैन, दुवैलाई । प्रियंका हाकाहाकी भन्छिन्, ‘जो रिसाउँछ, डाहा गर्छ र अन्यथा लिन्छ, त्यो लोयल फ्यान हुनै सक्दैन ।’

भोलि अनिश्चित छ । दुवै आजमा रमाउन चाहन्छन् । आज दुवै प्रेमी–प्रेमिका हुन् । श्रीमान्–श्रीमतीको सम्बन्ध भोलिको हो । के यी दुवैको सम्बन्ध विवाहसम्म पुग्ला ?

दुवैले विवाहको योजना दिमागमा कोरिसकेका छन्, भारतीय क्रिकेटर विराट कोहली र भारतीय अभिनेत्री अनुष्का शर्माकोझैँ सरप्राइजवाला बिहे । तर दुवै यस प्रसंगमा निश्चित छैन । दुवै एक साथ भन्छन्, ‘हामी आजमा रमाउने हो, भोलिको चिन्ता लिँदैनौँ ।’
आयष्मानको आमासँग ‘टु पिस’मा प्रियंका । 

अझ रोमान्टिक हुँदै प्रियंका थप्छिन्, ‘हाम्रो बिहेबारे कसैले चाल नै पाउनुहुन्न । एक्कै चोटि फोटो सार्वजनिक भएर थाहा पनि हुनसक्छ र कहिल्यै बिहे नहुने पनि हुन सक्छ ।’

विवाह पक्का हुन्छ नि ? यस जिज्ञासामा उनले दार्शनिक उत्तर दिइन्, ‘भोलिको के थाहा, म सुतेर नउठ्न पनि सक्छु !’

Leave A Comment