‘ब्रेकअपको कुरा दिमागमा आउन दिएको छैन’

आइतबार, २८ माघ २०७४, ०१ : ५१ अनिल यादव
‘ब्रेकअपको कुरा दिमागमा आउन दिएको छैन’ फोटो: श्रीधर पौडेल

दिन :  गत शुक्रबार । समय : रातको ९ बजे । स्थान : अनामनगर । हस्याङ–फस्याङ गर्दै आइपुगेका थिए– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी । प्रेम दिवस नजिकिँदै गर्दा उनीहरु शुक्रवारका लागि आफ्नो जोडीको फोटोसुट गर्न हतारिँदै थिए । आउनासाथ प्रियंका मेकअपमा लागिन् । छेउमा आयुष्मान बसे । अनी सुनाउन थाले  शुक्रबारकर्मी अनिल यादवसँग आफ्नो रसिक प्रेम कहानी :

कहाँ पुगेर आउनुभयो अहिले ?
प्रियंका–आयुष्मान : बिहेको पार्टीबाट ।

सुरुमै सोध्न मन लाग्यो । प्रायः सेलिब्रिटीहरू आफ्नो सम्बन्ध दर्शकसामु ‘पब्लिक’ गर्न चाहँदैनन् तर तपाईंंहरू पूरै खुलेर प्रस्तुत भइरहनुभएको छ । किन यति खुलमखुला ?
प्रियंका : किनभने मेरो एउटा मात्र ब्वायफ्रेन्ड छ के, त्यसैले हो । एउटा भयो भने लुकाउन जरुरी हुँदैन नि । धेरैजना भयो भने गाह्रो हुने हो ‘म्यानेज्ड’ गर्न ।
आयुष्मान : त्यो चाहिँ मलाई थाहा छैन उसैलाई थाहा होला ।
(दुवैजनाको संयुक्त हाँसोले वातावरण हाँसोमय भयो )
आयुष्मान :  सम्बन्धलाई ओपन गर्ने या क्लोज त्यो मान्छेको नितान्त निजी कुरा हो ।
(आयुष्मान बोल्दाबोल्दै प्रियंका बीचैमा बोलिन्)

प्रियंका : मान्छेले रिलेसन मात्र नभएर हरेक चिज त्यो बेला लुकाउँछ जब उनीहरूलाई खुलाउन ‘कम्फर्टेबल’ र ‘सियोर’ हुँदैन । या जब ला... आज ऊ भए पनि भोलि गएर चेन्ज हुने हो भन्ने डर हुन्छ । आफ्नो रिलेसनलाई हेर्नुहुन्छ, आफ्नो सम्बन्धलाई सम्मान गर्नुहुन्छ भने लुकाएर १० थरी कुरा गर्नुभन्दा ‘ओपन्ली एक्सेप्ट’ गरेको ‘मोर रेस्पेक्टफूल’ हुन्छ भन्ने लाग्छ ।

फ्यान फलोअर्स घट्ने र करिअरमा बाधा पुग्ने डरले पनि सेलिब्रिटी आफ्नो सम्बन्ध लुकाउने गर्छन् । तपार्इंंहरूलाई यी कुरामा डर छैन ?
आयुष्मान : फ्यान कमाउनलाई यो काम (अभिनय) गरेको होइन । मन परेर गरेको हुँ ।
प्रियंका : यदि फ्यान रियल हो भने यस्तो कुराले खुसी मात्रै हुन्छन् , दुःखी हुँदैन । जो रिसाउँछ, जसले डाहा गर्छ, जसले अन्यथा लिन्छ त्यो ‘लोयल’ फ्यान होइन ।

तपाईंहरू रिलेसनसिपमा रहेको ठ्याक्कै कति समय पुग्यो ?
प्रियंका–आयुष्मान : (एकै स्वरमा) ठ्याक्कै मार्चमा १ वर्ष पुग्छ ।

पहिलोपल्ट तपाईंहरूको चिनजान कसरी भएको हो ?
प्रियंका : हामी एउटै स्कुल (रातोबंगला) पढ्या हो । त्यसैले पहिलादेखि नै चिन्थ्यौँ । ठ्याक्कै कहिले चिनेको भन्ने भने याद छैन । जहिल्यै देखिरा’को हो नि ।

प्रेमको महसुस कहिलेबाट भयो ?
प्रियंका : यो दिनबाट एकदमै लभ पर्यो भन्ने फिलिङ त कहिल्यै भएन ।
आयुष्मान : मलाई त दिनका दिन हुन्छ ।

प्रियंका : ग्रयाजुअल प्रोसेसमा भएको हो । एकअर्कालाई बुझ्दै अगाडि बढ्दै जाँदा प्रेम बढ्दै गएको हो ।
आयुष्मान : कुरा यस्तो रैछ क्या । ऊ जस्तो छ म पनि त्यस्तै रैछु । पहिल्यैदेखि म यसलाई एकदमै मनपराउँछु , त्यो छ नि एउटा शब्द ‘पट्याउँछु’ भन्ने त्यस्तो चाहिँ थिएन मेरो मनमा । मेरो साइडबाट अट्रयाक्सन पहिल्यैदेखि नै थियो, ऊ मान्छे नै मनपथ्र्यो ।

दुईजनाको पहिलो डेट त याद होला नि ?
आयुष्मान : याद छ । हामी मुभी हेर्न गा’का थियौं ।
त्यसपछि दुवैजनाले एकैस्वरमा भने– ‘बद्रीनाथकी दुल्हनियाँ’ ।
प्रियंका : मैले त्यो फिल्म पहिल्यै हेरिसकेको थिएँ तर उसले ‘तिमीले हेर्यौैँ ?’ भनेर सोध्दा मैले ‘हेरेको छैन’ भनेको थिएँ (हाँस्दै) ।

किन ढाँटेको नि ?
प्रियंका : उसँग हेर्न जानलाई (हाँस्दै) ।

दुईजनामध्ये प्रेम प्रस्ताव पहिला कसले राखेको हो ?
प्रियंका : त्यस्तो त गर्या छैन ।
आयुष्मान : त्यस्तो त थिएन ।
प्रियंका : हामीलाई थाहा भइसकेको थियो कि हामी एकअर्कालाई मनपराउँछौँ भन्ने । ‘आइ लभ यू’ अथवा ‘म तिमीलाई एकदमै मन पराउँछु’ टाइपको फर्मल्ली प्रपोज अहिलेसम्म भएको छैन ।

एकले अर्कालाई प्रेम गर्नुहुन्छ भन्ने फिल कहिले, कसरी भयो त ?
प्रियंका–आयुष्मान : (एकै स्वरमा) सँगसँगै भएको हो ।
प्रियंका : थाहा हुन्छ नि त । आफूलाई माया गर्ने मान्छेको व्यवहार अरू क्याजुअलको भन्दा अलि फरक हुन्छ । मुखले नभने पनि त्यो त देखिन्छ । त्यो एक्स्ट्रा केयर, एक्स्ट्रा एफेक्सन गरेको, त्यो त बुझिहाल्छ नि । एकअर्काले सायद त्यो बुझ्या होला (हाँस्दै) ।

दुवैजनालाई मनपर्ने एकअर्काको बानी के हो ? पालैपालो भन्दिनुस् न त ?
प्रियंका : आइ थिंक उसको मनपर्ने चिज त कति छ कति । ऊ एकदमै शान्त छ । उसको सहनसक्ने लेभल माथि छ । उसको लाइफको एम्बिसन र गोल एकदमै मज्जाले सेट छ । त्यो कसैले पनि चेन्ज गर्न सक्दैन । ऊ एकदमै फन्नी छ क्या, नपत्याउने खालको । म गर्लफ्रेन्ड भएर भनेको होइन । ऊ विशेषगरी गल्र्सहरूप्रति एकदमै जेन्टल छ । अचेल केटाहरू धेरैजना त्यस्तो हुँदैनन् ।

अनि आयुष्मानजीको सुधार्नुपर्ने बानी ?
प्रियंका : उसको ‘इटिङ ह्याबिट्स’ राम्रो छैन । गाडी चलाउँदा एकदमै रिसाउँछ ।
आयुष्मान : नेपालको बाटोमा चलाउँदा के हुन्छ ? आफूले जति स्थिर भएर चलाए पनि कसैले आएर ठोकाइदेला भन्ने पिर हुन्छ ।
प्रियंका : अनि मैले केही भनेँ भने मलाई कराउँछ गाडी चलाइरा’कै बेलामा ।
आयुष्मान : होइन, होइन उसको बानी कस्तो छ भने म गाडी चलाइरा’को बेलामा उसको मोबाइलमा केही देखाउनु छ भने मुखै अगाडि देखाइदिन्छ । नहेरिउञ्जेलसम्म मोबाइल त्यँहीको त्यँही । देखिसक्यो, फेरि ‘हेर न’ भन्छ । अनि को रिसाउँदैन ?

अब यही प्रश्न आयुष्मानजीलाई ।
आयुष्मान : प्रायः राम्रै छ । ऊ जति नै काममा फोकस्ड भए पनि जब मसँग हुन्छ, ऊ मसँग मात्रै हुन्छ । अरू कतै हुन्न, पूरै ध्यान मेरोमा राखिदिन्छ । त्यो मलाई एकदमै मनपर्छ । जति नै काममा बिजी भए पनि ‘भेट्नुपर्छ ल, म आउँछु है’ भन्दै साढे ११, १२ बजे राति भेट्छ । उसको यो स्वभावको म एकदमै सम्मान गर्छु । कामको कुरामा त कति मिहिनेत गर्छ त्यो सबैलाई थाहा भएकै हो । ‘ट्रुथफूल’ छ । मलाई राम्रो देखेको छ भने ‘छ’ भन्छ नत्र सिधैँ ‘छैन’ भन्न अप्ठेरो मान्दैन ।

अनि सुधार्नुपर्ने ?
आयुष्मान : फूड ह्याबिट्स नै हो ।

किन ?
आयुष्मान : यति काम गर्छ कि खानै बिर्सिन्छ ।
प्रियंका : नाई, खान्छु ।
आयुष्मान : खान त खान्छ हैन तर शरीरलाई चाहिने जति खाँदैन ।

यो त खराब बानी कि ‘केयरिङ’ ?
आयुष्मान : टाइममा त खानुपर्यो नि । त्यसैले कहिलेकाहीँ त ‘तिमीले नखाए, म पनि नखाने’ भन्ने टाइपको अवस्था पनि हुन्छ ।

भनेपछि घुर्की पनि लाइन्छ ?
प्रियंका : उसले मलाई खाने बनाउनलाई घुर्की लाउने तर मैले नटेर्दा–नटेर्दा लास्टमा ऊ नै नखाने भा’को क्या !

एउटै स्कुल पढ्नुभएको तर प्रेम यतिखेर आएर कसरी भयो होला भन्ने लाग्छ ? त्यतिबेलै किन भएन होला ?
आयुष्मान : त्यो बेला रिलेसन राखेको भए मान्छेले धेरै औँला उठाउँथ्यो । किनभने ऊ मभन्दा ५ वर्ष जेठी थिई । स्कुलमा म ५ कक्षामा हुँदा ऊ १० मा थिई ।
प्रियंका : सबैको राइट टाइम हुँदोरहेछ । अहिले पनि नहुन सक्थ्यो । यो सबै नियती र भाग्यको खेल रहेछ । ठ्याक्कै यो टाइममा प्रेम हुन लेख्या रैछ, भयो ।

स्कुलमा पढ्दा एकअर्कालाई नोटिस्ड त गरिएको थियो होला नि ?
आयुष्मान : थियो नि । ऊ १० कक्षामा हुँदा एकचोटी स्कुलको साइडको बिल्डिङमा आएर रोइरहेकी थिई । किन रोइरा’को भन्दा म भन्दिनँ तर थाहा छ मलाई (हाँस्दै) । त्यतिबेला मैले गएर उसलाई नरोऊ भनेको थिएँ ।

प्रियंकाजीलाई याद छ त उहाँले नरुनु भनेको ?
प्रियंका : उसले मलाई सुनाउँदाखेरी ‘ए, अँ.अँ.’ त भनेँ तर मलाई अझै पनि ठ्याक्कै याद भने छैन (हाँस्दै) ।
आयुष्मान : किन भनेर मैले अहिलेसम्म भनेको छैन उसलाई ।

अहिले दुवैजना आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ । व्यस्तताका बाबजुद पनि भेटघाट त दह्रै हुँदो हो ?
आयुष्मान : हुन्छ नि, किन नहुनु ?
प्रियंका : त्यो भने ‘कन्सियस एफोर्ट’ हो । हुनु पनि पर्छ । नत्र त बिजी सेड्युअलमा हिँड्दाहिँड्दै एकअर्काका लागि समय नै हुँदैन । हामीले पहिल्यै कमिटमेन्ट गरेको एउटा राम्रो कुरा बिजी भए पनि वर्षमा दुईटा ट्रिप भने ‘वि विल डू’ भन्ने नै हो ।
आयुष्मान : सेतो कागजमा ल्याप्चे नै हानिएको छ (हाँस्दै) ।
प्रियंका : ल्याप्चे त हानेकी छैन । तर जस्तै बिजी भए पनि वर्षमा मिनिमम एउटा देशभित्र र अर्को देशबाहिर घुम्ने भन्ने हो ।

अफेयरमा रहेको १ वर्ष त पुग्नै लाग्यो । कमिटमेन्ट पूरा भइसक्यो त ?
प्रियंका : अस्ती न्यू इयरको बेलामा ५ दिनका लागि पोखरा गएका थियौँ । अब भ्यालेन्टाइनको हप्ता पारेर कम्बोडिया जाँदैछाँै ।

भनेपछि भ्यालेन्टाइन डे उतै मनाइँदैछ ?
प्रियंका : भ्यालेन्टाइनमा हाम्रो काम छ । त्यो भन्दा अगाडि नै आइपुग्छौँ ।

त्यसो भए भ्यालेन्टाइन डे अगाडि नै भ्यालेन्टाइन डे मनाइदिने ?
प्रियंका : अँ, त्यस्तै छ (हाँस्दै) ।
आयुष्मान : भ्यालेन्टाइन किन एक दिन मात्र मनाउने ?
प्रियंका : हाम्रा लागि एभ्री डे भ्यालेन्टाइन ।

एक–अर्काको फिल्मको सुटिङमा पनि भेट्न पुगिन्छ है ?
प्रियंका–आयुष्मान : (एकै स्वरमा) गइन्छ नि, भ्याएसम्म ।

‘कथा काठमाडौं’मा दुवैजनाले सँगै काम गर्नुभएको छ । रियल लभर रिलमा काम गर्दाका सजिला र अप्ठ्यारा के–के हुने रहेछन् ?
आयुष्मान : म एकदमै प्रोफेसन मान्छे हुँ । उसँग काम गरुँ या अरूसँग प्रोफेसन भनेको प्रोफेसन हो । सेटमा जाँदा म आयुष्मान जोशी हो । त्यहाँ गएर कसैले मलाई बेबी, बु भन्न थाल्यो भने म मान्दिनँ ।

प्रियंकाजीले पनि भन्न नपाउने ?
आयुष्मान : पाउँछिन् नि किन नपाउनु ? त्यहाँ गएर म प्रिन्सिपल हुने हो र ? तर कामलाई कदर गर्छु भन्न खोजेको । प्राइभेट्ली त हामी के गर्छौं त्यो कसलाई थाहा हुन्छ र ? जति हामीले बाहिर देखाएका छौँ त्यो ४ प्रतिशत पो देखाको त । अरू नदेखिएको पाटो त कति छ कति ।

भनेपछि ९६ प्रतिशत देखाउनै बाँकी छ ?
आयुष्मान : त्यो किन देखाउने र ?
प्रियंका : म त झन् कति प्रोफेसनल छु, छु ।

जति नै प्रोफेसनल भए पनि तपाईंहरू प्रेम जोडी त हो । त्यसैले मैले सोध्न खोजेको कहिलेकाहीँ फिल्ममा सँगै स्क्रिन सेयर गर्दा रियल व्यवहार रिलमा पनि हावी भयो कि भएन भन्ने हो ?
प्रियंका : ‘कथा काठमाडौं’मा हाम्रो एउटा पनि सिन छैन ।
आयुष्मान : हाम्रो यो ‘कथा काठमाडौं’ नेपाली ‘पद्मावत’ हो । एउटै फ्रेममा पनि हामी सँगै छैनौँ ।

तपाईंहरूबीच एकअर्काको काममा सहकार्य कत्तिको हुन्छ ?
प्रियंका : म त उसको कुनै पनि काममा इन्टरफेयर गर्दिन, उसले पनि मेरोमा गर्दैन ।

सामान्य सहकार्य र सुझाव आदानप्रदान पनि हुन्न र ?
आयुष्मान : थाकेर आउँदा खुट्टा मिच्दिने टाइपको सहकार्य मात्र हुन्छ ।
प्रियंका :  भोलि सुट छ ? भनेर उसले सोध्दा मैले ‘छ’ भनेँ भने उसले ‘राम्ररी गर’ भन्छ, त्यति हो । उसले मलाई ‘कोसँग सुट हो ? के हो ? ’ भनेर सोेधेको अहिलेसम्म याद छैन । म पनि सोध्दिन । हामी दुवैको इन्डिपेन्डेन्ट करिअर हो । हामी एक–अर्काको प्रोफेसनल इन्डिपेन्डेन्समा इन्टरफेयर गर्दैनौँ । मेरो लाइफ ऊ नहुँदा पनि चलिरहेको थियो, उसको पनि चलिरहेको थियो । अहिले एकअर्काको लाइफमा आउँदा कुनै चेन्ज हुन जरुरी छैन ।
आयुष्मान :  हो । (मुन्टो हल्लाएर उनले प्रियंकाको कुरामा स्वीकारोक्ति जनाए)

मिडियामा आएका अन्तरवार्तालाई आधार मान्ने हो भने तपाईंहरूको सम्बन्धबारे परिवार जानकार मात्रै हैन खुसी नै देखिन्छ । तपाईंहरूको रिलेसन यति ओपन छ कि श्रीमान–श्रीमतीभन्दा कम छैन । लगनगाँठो कस्न भने किन ढिला त ? केही समस्या छ र ?
प्रियंका–आयुष्मान : छैन, केही समस्या (एकै स्वरमा)
आयुष्मान : बिहे भनेको भोलि गर्ने भन्नेबित्तिकै हुने चिज होइन । यो जिन्दगीको ठूलो निर्णय हो । दुईटा परिवार मात्र मिल्ने होइन, दुईटा परिवारले कहिले मिलाउने भन्ने कुरा पनि हो नि ।

के ले रोकेको हो भन्न खोजेको ?
आयुष्मान : रोकेकै होइन, झन् बढिरहेको छ । उताबाट ‘अब गर्ने हो भन्दा, हुन्छ’ भन्ने स्थितिमै हो हामी । रोक छैन ।
प्रियंका : बिहे नै गर्नुपर्छ भन्ने हतार छैन । तपाईंले भनेजस्तो कुनै पनि चिज फेमिलीबाट लुकेको छैन । अब बिहेको खबर समय आएपछि आउँछ ।

कहिलेसम्म आउँछ त ?
प्रियंका : छैन, अहिले ।
आयुष्मान : भएपछि निम्ता पठाइहाल्छौं नि (हाँस्दै) ।
प्रियंका : हाम्रो बिहे विराट र अनुष्का स्टाइलमा गर्ने हो । एकैचोटी फोटो देख्नुहुन्छ ।

मिडियासँग लुकाउने भनेपछि ?
प्रियंका :
मिडिया मात्रै होइन, हाम्रो बाउआमाबाहेक कसैलाई पनि थाहा हुँदैन ।

विराट–अनुष्काको बिहेबाट प्रभावित भएको हो ?
प्रियंका–आयुष्मान : हाम्रो पहिलेदेखिकै प्लानिङ हो ।

तपाईंहरूको योजना विराट–अनुष्काले कपी गरेका हुन् त त्यसो भए !
प्रियंका : होइन, उनीहरूको पनि त्यस्तै थियो होला ।
आयुष्मान : हो, अस्ति मुम्बईमा जाँदा हाम्लाई भेट्न आ’को थियो क्या । (लामो हाँसोसहित ठट्यौली शैलीमा उनी प्रस्तुत भएका थिए)

विदेशमै गएर बिहे गर्ने योजना छ कि ?
प्रियंका : त्यस्तो त छैन तर हाम्रो योजना एकदमै सानो बिहे गर्ने र लिमिटेड फेमिली र फ्रेन्ड्स मात्र बोलाउने भन्ने हो ।
आयुष्मान : रिसेप्सन पार्टी ठूलो गरौँला ।

तपाईंहरूबीच एज ग्याप रहेछ । दुईमध्ये कसले कसलाई गाइड गरिरहेको छ ?
आयुष्मान : के अनुसार चाहिँ गाइड ?

पर्सनल रिलेसन, करिअरलाई लिएर । कसको निर्णय, निर्देशन बढी हावी हुन्छ ?
आयुष्मान : कोही पनि हावी छैन । मैले कहिले पनि आफूलाई उमेरसँग दाँजेर हेरेकै छैन । उमेरको कुरा होइन, सोचाइ र दृष्टिकोणको कुरा हो ।

तपाईंहरूको जोडीलाई लिएर सामाजिक सञ्जालमा ‘जोडी सुहाएन’ भन्ने कमेन्ट पनि देखिएको थियो । के भन्नुहुन्छ ?
आयुष्मान : हामी दुईजनाको फोटो राखेर उनीहरूको भित्तामा हाल्नुपर्ने त होइन नि । सुहाओस्÷नसुहाओस् के अर्थ ?
प्रियंका : उनीहरूलाई सुहाउन पर्दैन क्या ।

कपलको लाइफ सामान्यतयाः तीनवटा स्टेजमा चल्छ– अफेयर, म्यारिज र प्यारेन्ट्स ।  थ्रि वे प्लानिङ नै रेडी हो तपाईंहरूको ?
आयुष्मान : त्यो अहिले नै रेडी हुने हो भने त रमाइलो चाहिँ के नि ?

त्यसो भए तपाईंहरूको लाइफ प्रिजेन्ट मात्रै हो कि फ्यूचर पनि छ त ?
प्रियंका : फ्यूचर त कसैले देखेको छैन । म आज राति सुतेर भोलि नउठ्न पनि सक्छु ।
आयुष्मान : आजलाई हेर्ने हो ।
प्रियंका : हो, वर्तमानमा बाँच्नुपर्छ क्या ।
आयुष्मान : तर लक्ष्य भने राख्नुपर्छ जुन हामीसँग छ ।

दुवैजनासँग पुरानो सम्बन्धको अनुभव छ । प्रियंकाजी डिभोर्सी पनि हो, आयुष्मानजीको पनि ब्रेकअप अनुभव छ । यो नयाँ सम्बन्धलाई बलियो बनाउन टुटेकोे सम्बन्धले केही पाठ सिकायो कि ?
आयुष्मान : पहिलाको सोचेर अहिले सम्बन्ध अघि बढाउने होइन । म ऊ (प्रियंका) सँग हुँदा अर्कै मान्छे हो, म एक्लै हुँदा मात्र म हो ।
प्रियंका : रिलेसनसिपको अन्त्य पर्याप्त माया र समझदारीको अभावले मात्र हुँदैन । धेरै कारणहरू हुन्छन् । कुनै पनि कपलको सम्बन्ध टुट्नुको थोरै पर्सेन्ट मात्र अरूलाई थाहा हुन्छ । सेलिब्रिटी भएकाले हाम्रा यी कुरा चर्चामा आउँछन् तर यो आम कुरा हो । हरेकले जिन्दगीमा अप्स एन्ड डाउन्स भोग्छन् । कसैको लाइफ लङ लास्टिङ हुन्छ, कसैको हुँदैन । कसैको म्यारिजको ब्यूटिफूल इन्डिङ हुन्छ, कसैको हुँदैन ।

आयुष्मानजीको कुरा सुन्दा तपाईंको प्राथमिकतामा पहिलो पर्सनल फ्रिडम दोस्रो प्रियंका हो ?
आयुष्मान : म त्यो रिलेसनसिपसँग जोडेर हेर्छु । म आफू स्वयं ठिक छैन भने उसँग कसरी ठिक हुन्छु ? जसरी हवाईजहाजमा समस्या आए पहिले आफू मास्क लगा अनि अरूलाई मास्क लगाइदे भनेजस्तै त हो नि जीवन ।

तपाईंहरूबीच झगडा पनि हुन्न कि क्या हो ।
आयुष्मान : किन नहुनु ? आफैँले बिहे गरेको कपलजस्तो देख्छ भन्ने अनि झगडा नहुने भन्ने हुन्छ ?

के विषयमा हुन्छ बढी ?
प्रियंका : हरेक कुरामा हुन्छ । झगडा हुनुपर्छ । झगडा भयो भने मात्र अझ प्रेम हुन्छ ।
आयुष्मान : ठाकठुक त परिहाल्छ नि ।

अलि बढी पर्ने विषय चाहिँ ?
आयुष्मान : बढी पर्ने विषय के पो छ ? (प्रियंकातर्फ हेर्दै)
प्रियंका : त्यही खाना खाएन ।

यो अफेयरको १० महिनाको पिरियडमा ब्रेकअप नै होला कि भन्ने अवस्था आउनेगरी झगडा परेको छ ?
आयुष्मान : त्यस्तो त छैन । दिमागमा अहिलेसम्म त्यस्तो कुरा आको पनि छैन र आउन देको पनि छैन ।
प्रियंका : छैन ।

दुईजनाको सम्बन्धको विषयमा एकअर्काको अभिभावक भेट्दा प्रतिक्रिया कस्तो आउँछ ?
आयुष्मान : त्यस्तो खासै कुरा त भा’को छैन । प्रियंकाले उसको मम ड्याड भेट्दा बिहेको कुरा गर्नु भन्छ । किनभने हात माग्ने काम त मेरो हो नि । बिस्तारै हुँदैछ । एकवर्ष भनेको पनि छोटै समय हो । भेट हुँदा बढी उसको हेल्थ र कामको कुरा हुन्छ ।

प्रियंका : मेरो पनि त्यस्तो खासै प्रतिक्रिया आउँदैन । तिमीहरूको लाइफ हो, तिमीहरू खुसी छौँ, ठिकै छ भन्ने हो ।

Leave A Comment