चर्चित गीतकार तथा समालोचक कृष्णहरि बराल पेसाले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनको ‘म भक्त हुँ यो देशको’, ‘के भुल भयो प्रिया’, ‘पहिलो पहिलो माया’, ‘जमाना खराब छ’, ‘पागल म बन्न सक्छु, ‘अरू कोही आऊ या नआऊ,’ ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘म त अलपत्रै पर्छु, ‘तिमी नभएको बेला’ आदि गीत चर्चित छन् भने मनोविश्लेषण र साहित्य वस्तुपरक समालोचना, मोतीराम भट्टको गजलकारिता, गीत कसरी लेख्ने आदि पुस्तक प्रकाशित भइसकेका छन् ।
तपार्इं अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
समालोचक भएको हुँदा धेरै समय पुस्तक पढेको हुन्छु । जुन पुस्तकको समालोचना गर्नुपर्छ, त्यो त पढ्नै पर्यो, अस्तिभर्खर ‘कैली’ उपन्यास पढेको थिएँ । लेखिकाको प्रथम पुस्तक भएकाले केही कुरा नमिले पनि खुलेर प्रस्तुत गरिएको छ । त्यस्तै आजभोलि समालोचनाको गतिविधि के–कस्तो छ भनेर सिद्धान्तका ठेली पल्टाउँदै छु । एलेन वाल्टरको ‘दी इङ्लिस नोभल’, ब्राउन इकेको ‘रिदम इन दी नोभल’, फेस्टर इएमको ‘एस्पेक्ट अफ दी नोभल’, ब्रासियर चाल्र्सको ‘इलिमिन्ट अफ सर्ट स्टोरी’ र कर्ण निरूपमाको ‘फेमस स्टोरिज फर्म अरेबियन राइट्’ आदि पुस्तक क्रमैले पल्टाउँदै छु । यसरी हामी गीत, गजल तथा कथाको समालोचना गर्नेले विश्वमा लेख्ने शैली कतातर्फ गइरहेको छ भनेर अध्ययन गर्नुपर्ने हुन्छ । समालोचकले अहिले चलेको शैली यस्तो छ भनेर कुनै पुस्तकको समालोचना गरेपछि लेखकले पनि त्यहीअनुसार लेख्दै जान्छन् ।
तपाईंको जीवन परिवर्तन गरिदिएको कुनै पुस्तक ?
पुस्तकले जीवनै परिवर्तन गरिदिएको त छैन तर नजानिँदो पाराले स्वभाव भने परिवर्तन हुने रहेछ । कुनै पनि साहित्यले सिधै ज्ञान दिँदैन घुमाउरो पाराले ज्ञान दिन्छ । हामी जस्तो पुस्तक पढ्छांै, उस्तै बन्छौं । शेक्सपियरका नाटकले मेरो मथिङ्गल नै हल्लाइदिएको थियो । त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको एउटा छोटो कविता छ ‘धन केही पनि चाहिन्न, दाजुभाइको सेवा गर्न समय कम छ’ भन्ने छोटो कविता जसले मेरो सोच्ने तौर तरिका नै बदलिदियो ।
काश, त्यो पुस्तक तपार्इंले लेखेको भए ?
पश्चिमा देशहरूमा निबन्धका विधामा धेरै काम भएको छ । हाम्रोमा नगण्य रूपमा मात्र काम भएको छ । भरतको ‘नाट्यशास्त्र’ भन्ने पुस्तक छ । यो आफूले लेख्न सकेको भए भन्ने त लाग्छ तर सकिन्न । भैरव अर्यालको हास्यव्यङ्ग देखेपछि मलाई नै त्यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर सकिएन । उनको ‘जयभुँडी’ निबन्ध सङ्ग्रह पढ्दा आफैँले लेखेको भए भन्ने सोचाइ त आउँछ । त्यस्तै कुनै राम्रो सिद्धान्त देखेँ भने आफूले लेख्न पाए भन्ने त लाग्छ नै तर आफूले जे काम गरेको छ, त्यसलाई उत्कर्षमा पु¥याउनुपर्छ भन्ने लाग्छ । सबैतिर गर्छु भनियो भने कतै हुँदैन ।
तपाईंको लेखनीमा सबैभन्दा बढी प्रभाव पारेको पुस्तक वा लेखक ?
गीत लेख्दा माधव घिमिरे, रत्नशमशेर किरण आदिबाट प्रवाहित भएर लेख्छु । म पहिले हास्यव्यङ्ग्य लेख्थेँ, भैरव अर्यालबाट निकै प्रभावित थिएँ । तर जसो गर्दा पनि भैरवको तुलनामा पुग्न सक्छु जस्तो लागेन अनि व्यङ्ग्य निबन्ध लेख्नै छोडिदिए । त्यस्तै तारानाथ शर्मा, रामकृष्ण शर्मा, वासुदेव त्रिपाठी, धु्रवचन्द्र गौतमको अलिखित बीपी कोइरालाका मनोविश्लेषणमा आधारित कथाले मेरो लेखनीमा प्रभाव पारेको छ ।
महत्वपूर्ण लागेको तर पढ्न नपाएको कुनै पुस्तक ?
मलाई महत्वपूर्ण लागेको पुस्तक जसैगरी पनि किन्छु । यदि यहाँ पाइएन भने बाहिरबाट मगाएरै भए पनि किन्ने मेरो बानी छ । केही समयअगाडि फेस्टर इएमको ‘एस्पेक्ट अफ दी नोभल’ भन्ने पुस्तक बाहिरबाट मगाएरै पढियो । त्यस्तै मलाई समय नभएर नपढेको भन्ने हुँदैन, मानिसले चाह्यो भने समय नहुने भन्ने कुरै हुँदैन । मलाई महत्वपूर्ण लागेको किताब म जसरी पनि पढेकै हुन्छु ।
तपाईंलाई रुवाएको कुनै पुस्तक ?
मान्छेहरु सेन्टिमेन्टल गीत सुन्दा पनि रोइदिन्छन् । फिल्म हेर्दा पनि रुन्छन्, तर मलाई अहिलेसम्म कुनै पुस्तकले रुवाउन सकेको छैन ।
तपार्इं कुनै पुस्तक पढ्दा मज्जाले हाँस्नुभएको ?
आजभोलि त त्यस्तो खासै हाँसिन्न । पहिले पहिले भैरव अयार्लकै निबन्ध ‘जयभुँडी’ आदि पढेर खुब हाँसियो ।
तपार्इंले सुरुदेखि अन्त्यसम्म पढ्न नसकेको कुनै पुस्तक ?
म त समालोचक, समालोचना गर्नुपर्ने सबै पुस्तक पढेकै हुन्छु । मैले हातमा पुस्तक लिएपछि नसक्ने भन्ने हुँदैन ।
तपाईंले अरूलाई उपहार दिइरहने पुस्तक ?
पढ्ने नै खालको मान्छे छ भन्ने मलाई लाग्यो भने दिन्छु नभए दिन्न । यदि त्यो मान्छे गीत लेख्छ भने उसलाई म आफैंले लेखेको गीत कसरी लेख्नुपर्छ भन्ने पुस्तक दिन्छु । अनि गजल लेख्ने मान्छे रहेछ भने गजल सिद्धान्त र परम्परा आदि पुस्तक दिने गर्छु ।
पुस्तक किन पढ्ने ?
विद्यार्थीले पास हुनका लागि पढ्ला, गुरुले पढाउनका लागि पढ्ला तर म चाहिँ पुस्तक ज्ञानका लागि पढ्छु । कहिले काहीँ आनन्दका लागि पनि पढ्छु । कहिले विद्यार्थी, कहिले गुरु, कहिले पाठक भएर पढ्दा फरक अनुभूति हुन्छ । त्यसकारण यस प्रकारको फरक अनुभूति लिनका लागि पनि पुस्तक पढ्नुपर्छ ।
आजको युवा पुस्तालाई कस्तो पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
बजारमा धेरै थरिका पुस्तक आएका छन् । हामीले जस्तो पढ्छौं उस्तै लेख्छौं । केही स्तरीय र लोकप्रिय दुवै हुन्छन् भने केही स्तरीय लोकप्रिय नभएका र केही लोकप्रिय स्तरीय नभएका हुन्छन् । त्यसकारण पुस्तक छान्नु निकै गाह्रो काम हो । तर पनि पुस्तक पढ्दा कुन पुस्तक कस्तो छ भनेर बुझेर पढ्नुपर्छ । लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, रुद्रराज पाण्डेको ‘रूपमती’ र धु्रवचन्द्र गौतमका शिल्पशैली राम्रो भएका पुस्तक, आफूलाई यो पुस्तकले मार्गदर्शन गर्छ भन्ने लागेका पुस्तकहरू पढ्दा ठीक हुन्छ ।
नेपालका प्राध्यापकहरुले कम पढ्ने गर्छन् भनिन्छ नि ?
गज्जबको कुरा के छ भने हाम्रा प्राध्यापकलाई त्रिविले अल्छी बनाइदिएको छ । १०÷१५ वर्षसम्म कोर्स परिवर्तन गर्दैन अनि के पढ्नु ? तर पनि विषयवस्तुभन्दा बाहिरको कुरा पनि पढ्नुपर्छ, ज्ञानवृद्धिका लागि । नेपालमा पठन संस्कृति कमै छ । प्राध्यापकहरु हरेक कुरामा जानकार हुनैपर्छ । मुलुक, संसार कतातर्फ गइरहेको छ, पठनशैली र लेखनशैलीमा के–के परिवर्तन भएको छ छ भन्ने कुरा प्राध्यापकलाई सामान्य जानकारी हुनै पर्छ ।
Leave A Comment