‘घामकिरी’ फिटिक्कै मन परेन

शुक्रबार, २५ फागुन २०७४, ०५ : १९ शुक्रवार
‘घामकिरी’ फिटिक्कै मन परेन

पेसाले सगुना शाह प्राध्यापन गर्छिन् । उनी अङ्ग्रेजी महिनाको पहिलो शनिबार समसामयिक पुस्तक र लेखनबारे बहस चलाउँछिन् । बुक होलिस्टको संस्थापकसमेत रहेकी शाहसँग गरेको पठन संवाद


कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
केही सोच्न बाध्य हुने पुस्तक पढ्न रमाइलो लाग्छ । सुरुमा फिक्सन पढेँ । अङ्ग्रेजी साहित्य खुब पढियो । त्यसपछि नन्फिक्सन पढ्न केन्द्रित भएँ । दर्शन र आध्यात्मिक पुस्तक पनि रोजाइमा पर्ने गरेका छन् । कुनै पुस्तक पढ्दा पुस्तकमै हराउँ, पात्रसँगै रहुँ जस्तो लाग्छ । पुस्तक पढ्दा पुस्तकमै हराउन सकिएन जस्तो लाग्न थालेपछि त्यस्ता पुस्तक पढ्दापढ्दै छाडिदिन्छु । 

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
मेरो पढ्ने शैली अलि फरक छ । २÷३ वटा पुस्तक एकै पटक पढ्छु । पढ्दा कहिल्यै हतारिएर पढ्दिन । अहिले म ओह्रान पामुक ‘माइ नेम इज रेड’ र एड्रयुना हफ्लिङटनको ‘स्लीप रिभोलुसन’ एक साथ पढ्दै छु । पामुकको पुस्तकको प्रस्तुति शैलीले छोएको छ । हफ्लिङटनका पुस्तकमा सुत्नुको आवश्यकता औंल्याइएको छ । हामीले सुत्नुलाई कति महŒव दिन्छौं । आफ्ना लागि समय कति दिन्छौं भन्नेमा यो पुस्तक केन्द्रित छ । 

पुस्तकले जीवन परिवर्तन हुन्छ जस्तो लाग्छ ? 
लाग्छ । मेरो जीवन परिवर्तन गरिदिने पुस्तक धेरै छन् । नाम लिनुपर्दा जितुकृष्ण मूर्तिको ‘फस्ट एण्ड लास्ट ‘फ्रिडम’ र सद्गुरुको ‘इनर इन्जिनियरिङ’ हुन् । यी पुस्तकमा माया, प्रेम, सम्बन्ध, मृत्युबारे उल्लेख छ । यी पुस्तकले जीवनलाई सन्तुलनमा ल्याउन सहयोग गर्छन् । कहिलेकाहीँ हामीलाई जीवनमा आत्मविश्वास कमी भएको ‘फिल’ हुन्छ । त्यतिबेला यी पुस्तक पढ्दा ऊर्जा आएको महसुस हुन्छ । 

कुनै पुस्तक पढ्दा मैले पनि यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
नयनराज पाण्डेको ‘यार’ र पीजी टेन्जीगंको ‘डन्ट आक्स एन ओल्ड ब्लोक’ पढ्दा यस्तो लागेको थियो । ‘यार‘ पढेपछि मैले पनि मेरो ‘लाइफ’ को यस्तै पुस्तक लेख्न पाएँ भन्ने लागिरह्यो । टेन्जीगंको पुस्तक यात्रा निबन्ध हो । त्यसमा गन्तव्यहीन यात्रामा निस्किएपछिका रोचक प्रसंग छन् ।

तपाईंलाई मन परेका पुस्तक ?
भर्जनीया वोल्फको ‘रुम अफ वान्स मोर’, नयनराज पाण्डेको ‘उलार’ सुबिन भट्टराईको ‘कथाकी पात्र’, विप्लव प्रतीकको ‘अविजित’ बुद्धिसागरको ‘कर्नाली ब्लुज’ ‘फिरफिरे’, प्रतिमा वेदीको ‘टाइम पास’, मनिष गौचनको ‘ह्वाइट केन,’  मन परेका पुस्तक हुन् ।

मन नपरेका पुस्तक पनि होलान् नि ?
धेरै छन् । कुनै लेखकको अघिल्लो पुस्तक राम्रो लागेर अर्काे पुस्तक पनि पढ्यो त्यो राम्रो हुँदैन । खालेद हासेनीको ‘एण्ड दि माउन्टेन इचोड’ राम्रो लागेन । उनका अघिल्ला कृतिहरु ‘दि काइट रर्नर’ र ‘अ थाउजेन्ड स्पेलेन्डडसन्स राम्रो लागेर पढेको थिएँ । अनि नयनराज पाण्डेको ‘घामकिरी’ फिटिक्कै मन परेन । 

तपार्इंले उपहार दिँदा कस्तो पुस्तक दिने गर्नुहुन्छ ?
मान्छेको रुचि  हेरेर पुस्तक उपहार दिन्छु । कसैलाई फोटोग्राफीमा रुचि हुनसक्छ । उसलाई कुनै फोटोग्राफरको जीवनी दिन्छु । त्यस्तै कसैलाई लेखन, कसैलाई व्यापारी, कसैलाई चित्रकलासँग सम्बन्धित विषय मन पर्छ त्यही अनुसार दिन्छु । 

पुस्तक किन पढ्ने ?
सानो कोठामा बसेर संसार बुझ्न । म घुम्न रुचाउँदिन भन्न खोजेको होइन । मलाई पुस्तक पढ्न जति मन पर्छ, घुम्न पनि उत्तिकै मन पर्छ । पुस्तकमा आफूले नभोगेको समाज र परिस्थितिको दृश्य पाउन सकिन्छ । समाजको ऐना भेटिन्छ । जस्तो सरुभक्तको ‘तरुनी खेती’ पढ्दा पुरुषवादी मानसिकता छर्लङ्ग हुन्छ । माया ठकुरानीको ‘आमा जानुहोस्’ किताब अद्भूत छ ।

कस्ता पुस्तक लेखिऊन् भन्ने लाग्छ ?
अहिले धेरै पुस्तकले मुद्दा मात्रै उठाइरहेको देखिन्छ । समस्या मात्रै पहिल्याउने हैन समाधान दिने पुस्तक पनि लेखिऊन् भन्ने लाग्छ । 
 
 
 

Leave A Comment